कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उही सरिता मिस

उद्यम
हरेक घरबाट एकाबिहानै फालिने दूधको खोल र प्लास्टिकजन्य अरू कच्चा पदार्थ बटुलेर काठमाडौंकी सरिता बज्राचार्यले देखाएको लघु–उद्यमको तरक्की टीठलाग्दो छ, उदाहरणीय पनि ।
कान्तिपुर संवाददाता

काठमाडौँ — राजधानी फोहोरले आक्रान्त छ अहिले । यहाँको फोहोर व्यवस्थापनको समस्या धेरै पुरानो हो । यस्तै व्यवस्थापन समस्या झेलिरहेको काठमाडौं–१८ मा फोहोरलाई तह लगाउने सत्पात्र बनेकी छन्— सरिता मिस अर्थात् सरिता बज्राचार्य ।

उही सरिता मिस

दूधको खोल र अन्य प्लास्टिकजन्य सामग्रीबाट धागो कात्ने अथवा फालिएका टुक्रा कपडाको खेलौना बनाउने । कौशी खेतीमा चाहिने कम्पोस्ट मल उत्पादन गर्ने अथवा आलु चिप्स, दालमोठ, अचार आदि बनाउने काममा सरिता मिस पोख्त छिन् । उनी भन्छिन्, ‘जाँगर हुनेहरूका लागि घरैमा बसीबसी राम्रो आम्दानी हुने सीप हो यो ।’


यो साता भर्खर दैलेखबाट फर्केकी छन् सरिता मिस । कर्णालीको एक घरेलु उद्योगलाई तालिम दिएर फर्केकी हुन् उनी । दैलेख जानुअघि आलुचिप्स र दालमोठ बनाउने तालिम साँखुमा दिएकी थिइन् । झन्डै दैनिकी बनेको यसरी तालिम दिने कुरा । ‘काठमाडौंका विभिन्न वडा र देशभरका अनेक जिल्लामा गरेर हजारभन्दा बढी नै पटक तालिम दिइयो होला,’ उनी भन्छिन् ।


सरिता मिसबाट नाम्चेकी पेम्बा लामाले १५ दिने तालिम लिएकी थिइन्— काठमाडौं आएर । उनै पेम्बा अहिले नाम्चे गाउँमा प्रशिक्षक छिन् । यसरी सीप बाँड्दा निकै आनन्द लागेको सरिता बताउँछिन् । हाँस्दै भन्छिन्, ‘ज्ञान जति बाँड्यो त्यति नै बढ्ने त हो नि ।’


सरिता मिस फाल्नुपर्ने कुनै पनि सामग्री पुनप्र्रयोगमा आउन सक्ने बताउँछिन् । प्लास्टिक, कागज, कपडा, तरकारीका बोक्रा आदि सदैव उपयोगी हुन्छ नै । नकुहिने चीजबाट अनेक सामान बन्छ, कुहिनेबाट मल । एकातर्फ आम्दानी र स्वरोजगारी, अर्कातर्फ वातावरण सफाइ । वातावरण प्रदूषण कम गर्न उनले पुर्‍याएको योगदानको कदर गर्दै सरिताले सन् २०१५ मा ‘पोजेटिभ प्लानेट अवार्ड’ समेत पाएकी थिइन् । एक छोरा–एक छोरीकी आमा सरिताले औपचारिक तहमा आइसम्म पढेकी छिन् ।


होचो कद र हँसिलो मुहारमा वाकपटुताको गुणले सरिता मिस चिनिएकी छन् । हरेक कुरामा उदाहरण जोडेर उनी बोल्छिन् । उनले जापान, अस्ट्रेलिया, अमेरिका, जर्मनी, कोरिया, फिलिपिन्स, बेलायत आदि देशबाट आएका प्रशिक्षार्थीलाई समेत उनले तालिम दिएकी छन् । तर, दु:खको कुरा भने एउटै छ । तालिमबाट बनेका सामग्री किन्न र आफ्नो देशमा लैजान भने विदेशीहरू पनि चाहँदैनन् । किन त ? ‘यो वातावरण मैत्री भएन भन्छन् उनीहरू,’ सरिता मिसले सुनाइन् ।


२०४४ सालमा भोटाहिटीमा रहेको गीता सिलाइ प्रशिक्षण केन्द्रबाट सिलाइबुनाइ तालिम लिएकी थिइन् सरिताले । आफ्नो सीपलाई परिष्कृत गर्दै ०४७ सालदेखि उनले नेहा प्रशिक्षण केन्द्र खोलेकी हुन् । प्रशिक्षणमा व्यस्त रहेकै बेला दोबाटोमा फयाँकिएको प्लास्टिक र अन्य फोहोर देखेर निकै रिस उठ्थ्यो सरितालाई । त्यही बीचमा कन्या मन्दिर स्कुलमा प्लास्टिक पुनप्र्रयोग प्रशिक्षणको आठदिने कार्यक्रम सञ्चालन हुने सुनिन् उनले । प्रशिक्षक दिलशोभा तुलाधर दिदी उनकै टोले थिइन् । यो २०६० सालतिरको कुरा हो । यसअघि स्विटर बुन्न सिपालु भइसकेकी सरिता दूधका खाली खोलबाट धागो कात्न र आवश्यक सामान सिउने/बुन्ने सीपमा समेत पारंगत भइन् ।


दूधको प्लास्टिक खोल पहिले काट्ने, पखाल्ने, सुकाउने अनि एक–एक इन्च लम्बाइ मिलाएर मिहिन रूपमा काट्ने । प्लास्टिक रेसा तान्ने, गाँठो बनाउने अनि उनको डल्लोजस्तो पार्ने । यी प्रक्रिया जानिसकेपछि क्रुसका भरमा आवश्यक सामान बुन्ने, सिलाउने । छिटो हात चलाउन सक्नेले एक–डेढ घण्टामै एउटा टि–म्याट बनाउन सक्छन् । एउटा टि–म्याट बनाउन १५–२० वटा दूधका प्लास्टिक जरुरी हुन्छ । एउटा दूधको प्लास्टिकबाट एउटा आकर्षक कि–रिङ पनि बन्न सक्छ । दूध प्लास्टिक, प्लास्टिक झोला, पाउरोटी, बिस्कुट, चाउचाउ वा चकलेटका खोल जे भए पनि हुन्छ कच्चा पदार्थ । यसबाट बन्न सक्छ— टेबल म्याट, कि–रिङ, साइडब्याग, हयान्डब्याग, पर्स, बडीवास, बास्केट, साबुन राख्ने थैली, ढकी आदि । यो सिकाइ बिस्तारै फराकिलो हुँदै गयो । कौशी खेती र मल बनाउने तालिम, अचार बनाउने सीप हुँदै आलुचिप्स र दालमोठ बनाउनेसम्म सीप सिकिन् सरिताले ।


कसले किन्छ त यो उत्पादन ? ‘उत्पादन मात्रै होस् न, बजारको कमी छैन यहाँ,’ भन्छिन् सरिता । थुप्रै प्रशिक्षार्थीको उत्पादन सरिता आफैं पनि खरिद गर्छिन् । उनी भन्छिन्, ‘यो कामलाई घरेलु उद्योगका रूपमा मात्रै हेरिनु हुन्न । यो उपत्यकालाई सफा राख्न नागरिकस्तरबाट गर्न सकिने अभियानसमेत हो ।’
–शिशिर वैद्य

प्रकाशित : श्रावण १२, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?