‘म्युजिक भनेको गानाबजाना मात्रै होइन’

कुराकानी
कान्तिपुर संवाददाता

काठमाडौँ — क्लासिकल गिटारवादनमा नाम कमाएका किशोर गुरूङ नेपाली लोकसंगीत विधाका समेत स्थापित अध्येता हुन् । उनले गुरूङ जातिको घाटु संस्कृतिमाथि अमेरिकाको हवाई विश्वविद्यालयबाट शोध गरेका छन् । उनको शोध पुस्तक ‘घाटु : अ न्यारेटिभ रिच्युवल म्युजिक ट्रेडिसन एज अब्जर्ड बाई द गुरूङ्ज अफ नेपाल’ विश्वसंगीतको शब्दकोश मानिने ‘गारालान्ड इन्साइक्लोपेडिया’ मा समेटिएको छ ।

उनले तयार पारेको ‘संगीतको आवश्यक शब्दकोश’ पनि नेपालीपछि अंग्रेजी संस्करणमा प्रकाशित हुने क्रममा छ । गुरूङले ‘इथ्नोम्युजिकोलोजी’ विषयमा जर्मनीको हाइडलवर्ग युनिभर्सिटी, अमेरिकाको सेन्ट लरेन्स युनिभर्सिटीलगायतमा विद्वत् प्रवचन दिएका छन् ।


किशोर एक दशकयता ‘फोकल डिस्टोनिया’ रोगको सिकार भएका छन् । यो नसासम्बन्धी रोग हो, प्राय:जसो म्युजिसियनलाई हुने । एकोहोरो वा एकोहोरिएर काम गर्ने अवस्थामा मस्तिष्कले त्यो एकोहोरोपनालाई ‘रिजेक्ट’ गरेको अवस्थामा यो रोग लाग्न सक्छ । किशोरका हकमा भने बाजा बजाउँदा चलाउने औंलाको नसामा पर्ने असरले बाजा बजाउनै नसकिने अवस्था आएको थियो, यो एउटा महारोग हो— म्युजिसियनका लागि । जस्तो, किशोरलाई हिजोआज ठूलो गिटार बजाउन मुस्किल पर्छ । आफू साथमा मिनी–गिटार (स्वनिर्मित) राखेका छन् । दुई वर्षअघि मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ का भरमा अहिले किशोरको जीवन चलिरहेको छ । आफूले पढिरहेका पुस्तक, संगीतको ट्रेन्ड र बुझाइका बारे किशोर भन्छन्–

Yamaha


हामीकहाँ अचम्म के छ भने यहाँ म्युजिक खासै जान्नु पर्दैन । खासमा म्युजिक कम्पोजर भनेको औपचारिक ज्ञान भएको, म्युजिक लेख्न वा अन्य जानकारी भएको भन्ने हुनैपर्छ । बाहिरी विश्व र अन्तर्राष्ट्रिय रूपमा ‘सङ राइटिङ’ भनिन्छ, कम्पोजर भनिंदैन । हामीकहाँ के सङ–राइटर, के कम्पोजर जस्तो अनुभूति हुन्छ कहिलेकाहीं ? यता जसले गीत बनायो, उसले एरेन्ज गर्न नसक्ने भएकाले अर्को व्यक्तिको सहयोग लिइएको अवस्था छ, रहन्छ । त्यही कारणले गर्दा ‘एरेन्जमेन्ट’ एकै किसिमको जस्तो हुने गरेको हो । एरेन्जमेन्टमा कुनै नौलोपना देखिन्न, सुनिन्न । थोरबहुत संगीत विधामा ‘टेक्निकल’ क्षेत्रको स्तरोन्नति भए पनि एरेन्जमेन्ट, गीतको शब्द पक्ष निकै कमजोर (वर्ड–प्ले मात्रै) भएर गएको म देख्छु । सबैले देख्ने र बुझ्ने गरी भनौं न, हामीकहाँ नारायणगोपालपछिको ‘ग्याप’ खोइ पुरियो र ? रिक्तता उस्तै छ ।


म्युजिक भनेको गानाबजाना र मनोरञ्जन मात्रै होइन, यो प्राज्ञिक र बौद्धिक कुरासमेत हो । हामीकहाँ म्युजिक मन पराउनु भनेको धुन मन पराउनु र शब्दमा तानिनुजस्तो मात्रै भएको छ । तर, यो सही होइन । विशुद्ध संगीतले अझ गहिरिएर संगीत बुझ्न र हेर्न सिकाउँछ, झन्डै संगीतमा प्राविधिक विषयको पनि जानकार गराउँछ । ‘इन्स्ट्रुमेन्टल म्युजिक’ मा विशेष गहिराइ हुन्छ संगीतको, बुझाइ र शिल्पीको । अर्कातिर, लोकसंगीतको व्याख्या, दायरा र क्षेत्र एकदमै व्यापक छ । यो नेपालमा मात्रै होइन, विश्वमै छरिएको विषय हो । अंग्रेजीमा ‘इथ्नोम्युजिकोलोजी’ भनिए पनि नेपालीमा यो शब्दको ठेट अर्थ र सटीक व्याख्या पाउनै मुस्किल छ । आजको पश्चिमा दुनियाँले लोकसंगीतलाई ‘विश्व संगीत’ भन्न थालेको छ । ‘इथ्नोम्युजिक’ लाई बुझाउन शब्द र अर्थको अभाव भएर पनि हुन सक्छ ।


हिजोआज हामीकहाँ संगीत विषयको औपचारिक पढाइ र सोधीखोजी खुबै हुन थालेको छ । संगीतमा प्रयुक्त हुने पढाइ र बुझाइका अधिकांश शब्दहरू नेपालीमा पाउनै मुस्किल छ । पश्चिमा जगत्मा पनि इटालियन भाषा र शब्दावलीबाट जन्मेका ‘टर्मिनोलोजी’ लाई संगीतको शब्दकोशमा प्रयोग गरिएको छ । विश्वभर नै इटालियन शब्दार्थलाई संगीतको साझा भाषा मान्ने गरिन्छ । जर्मनी, कोरिया, जापान सबैतिर यही (इटालियन) समानअर्थी टर्मिनोलोजी प्रयोग गर्छन् ।


बाजागाजा र परम्परागत संगीतको कुरा गर्दा नेपालमा पनि विशेषगरी नेवारी समुदाय भने निकै समृद्ध छ । उनीहरूले प्रयोग गर्ने बाजाहरू जस्तो : तियान्च (सारंगीजस्तै), खि, धिमे, पोंगा निकै मौलिक छन् । जस्तो रेट्ने बाजामा उर्मी (धिमाल जातिको) मात्रै मौलिक देखिन्छ । अर्कातिर, झाझर, ढोलकजस्ता बाजाहरू दक्षिण एसियाभर नै उपयोग हुन्छ । यसमा पनि लोकसंगीतको सिद्धान्तले ‘डिफ्युजनिस्ट’ (विनिर्माणजस्तै) सिद्धान्तलाई खुबै मान्ने गरेको छ जहाँ जातजाति र समुदाय एक थलोबाट अर्कोमा बसाइसराइ गर्दा बाजागाजा (वाद्यवादन) पनि सरेको हुन्छ । जस्तो पश्चिमा विद्वान् (ब्रिटिस अध्येता केरोल टिंगी) ले नौमती बाजामा एउटा अध्ययन गरेर किताब निकालेकी छन् जहाँ नौमतीलाई भारतबाट आयातित बाजा भनिएको छ । सारंगी पनि त्यस्तै हो । नगरा, टेम्को, कर्नाल, नर्सिङ आदि भारतबाट आएको हो भनिएको छ । यो त ‘हार्डवेयर’ कुरा हो, बरु हामी ‘सफ्टवेयर’ कुरा गरौं न ।
यो बाजा बजाउने तरिका, शैली र शिल्पी भनेको सफ्टवेयर हो । यो हाम्रोमा अलग छ, अरूतिर निकै भिन्न । हाम्रो अलग पहिचान र विशेषता पनि यही हो । सिद्धान्तत: सांगीतिक ‘डिटेल्स’ भनेको प्राविधिक कुरा हो, त्यही भएर यहाँ धेरैलाई मतलब छैन । यहाँ यतिसम्म छ कि यहाँ स्वयम् संगीतकारले पनि ‘टेक्निकल डिटेल’ बुझ्न नचाहेको वा नखोजेको स्थिति छ ।


जस्तो आफ्नोपनाको शब्द ‘क्वाइन’ गर्ने कुरामा आफ्नै नेपाली गीत–संगीतमा जोडिएका भावार्थलाई उपयोग किन नगर्ने भनेर मैले शब्दकोश (संगीतको आवश्यक शब्दकोश) मा त्यस्तै प्रयोग गर्न चाहेको छु । यो कोश तयार गर्ने क्रममा संगीतमा प्रयुक्त नेपाली शब्दको खोजी नै आफैंमा मुस्किलको काम भयो । जस्तो : लोकनृत्यमा प्रयोग गरिने शब्दमा ‘अल्ला सिसिलिआना’ भनेको इटालीको सिसिली प्रान्तमा सुन्न र देख्न सकिने लोकनृत्य शैली हो । यस्तै, स्कटल्यान्डको शैलीलाई ‘अल्ला स्कुज्जेसी’ भनिन्छ, भेनेसियाको शैलीलाई ‘अल्ला भेनेसियाना’ भनिन्छ । अब हाम्रो चुड्के गीतको शैलीलाई नामकरण किन नगर्ने (?) भनेर मैले शब्दकोशमा ‘अल्ला चुड्के’ नाम दिएको छु । मैले ‘अल्ला तामाङ सेलो’ नाम पनि दिएको छु ।

(किशोरले आफैं बनाएको १० इन्च लम्बाइ र ५ इन्च चौडाइको मिनी–गितार)


अहिले मैले १६ जना विद्यार्थीलाई कलेज लेभलकै भर्सनमा म्युजिक सिकाइरहेको छु । यो झन्डै ४ वर्षे कोर्स हो । कक्षामा एउटा मुख्य बाजाबाहेक गायन, नोटेसन, इतिहास, प्राविधिक पक्ष, अर्केस्ट्रेसन सबै सिकाउँछु । म्युजिक सिद्धान्त सिक्न सबै कुरा जान्नैपर्छ । बाजा पनि ‘मोनोफोनिक’ र ‘पोलिफोनिक’ हुन्छ । एउटा बाजाबाट एकचोटिमा एकभन्दा बढी आवाज निस्कने अवस्था ‘पोलिफोनी’ मा हुन्छ, फेरि गायन भनेको ‘मोनोफोनी’ हो । बाँसुरी, सेक्सोफोन ‘मोनोफोनिक’ हो । गिटार, पियानो र हारमुनियम ‘पोलिफोनिक’ हो ।


समग्रमा हेर्ने हो भने हाम्रो संगीत क्षेत्र निराशाजनक छ, अरू क्षेत्र हेरीकन सांगीतिक विकासको गति उत्साहजनक छैन । सामान्य कुरा सम्झनुस् न— सिम्फोनी अर्केस्ट्रालाई कसले सहयोग गर्ने यहाँ ? बीबीसीको जस्तै हाम्रो रेडियो नेपालको अर्केस्ट्रा किन हुन सक्दैन ? किनभने यहाँ सोचाइ नै छैन । म एउटा उदाहरणमा भन्छु— म सरकारी छात्रवृत्तिमा छानिएर (सन् १९९२) अमेरिका पढ्न गएको थिएँ जहाँ शिक्षा मन्त्रालय, योजना आयोगका प्रतिनिधिसमेत छनोट समितिमा थिए । मसँगै अमेरिका पढ्न गएकाहरू बंगलादेश, मलेसियाका पनि थिए । उनीहरू पढाइ सकेर फिर्नेबित्तिकै सरकारी प्रबन्धमा जागिरे भइसकेका थिए । हामीकहाँ भने म पढेर फर्किएँ तर न सोधपुछ छ अथवा न ‘तँ के गरिखान्छस्’ भनेर चासो राखिएको छ । हाम्रो समग्र सिकाइ, बुझाइ र पद्धति नै ‘कृतघ्न’ हो कि जस्तो लाग्छ ।


म अहिले ‘डस्ट’ भन्ने पुस्तक पढ्दै छु, एक फ्रेन्च वैज्ञानिकको । सुरुमा पृथ्वीमा कीटाणु उत्पन्न हुनै पनि धूलो चाहियो, त्यही कीटाणुबाट मानव जीवन उत्पन्न भएको हो भन्ने तर्क छ यसमा । नेपालीमा भने दोहोर्‍याएर शंकर लामिछाने पढ्दै छु— गोधूलि संसार । मेरा विद्यार्थीलाई पनि यो पढाउँदै छु । मेरो सिरानीमै हुने अरू किताब हुन्— बाबुराम आचार्यको ‘नेपालको संक्षिप्त वृत्तान्त’, डा.तारानाथ शर्माको ‘नेपाली साहित्यको ऐतिहासिक परिचय’ आदि । पछिल्ला दिनमा भने चिनियाँ पियानोवादक एवं लेखक लेङलेङको आत्मकथा (जर्नी अफ अ थाउजेन्ड माइल्स : माई स्टोरी) पढ्दै छु ।


एकैसाथ बाबा (अम्बर गुरुङ) का केही कम्पोजिसनहरू रेकर्ड गर्दै छु । जस्तो— यो लटमा बैरागी काइँलाको ‘खोजिरहेछु निस्तार प्यार’ र ईश्वर वल्लभको ‘मलाई भाँचिदे, मलाई मारिदे’ जस्ता गीतहरू परेका छन् । बाबाका १ सयभन्दा बढी गीतहरू रेकर्डमा छैनन्, त्यसलाई रेकर्ड गर्ने योजना छ मेरो ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

तामाङ संस्कृति र इतिहास विमर्श

समीक्षा
कान्तिपुर संवाददाता

काठमाडौँ — गर्भवती तामाङ महिलाले गाईबस्तुको दाम्लो नाग्दैनन् । कुनै जन्तु काटमार गर्दैनन्, काटेको–मारेको हेर्दैनन् । जीव जनावर काटमार गर्दा जुन गतिले मर्छ, त्यस्तै सकलमा जन्मिन्छ भनिन्छ । गाईबस्तुको दाम्लो नाग्दा र शव बाँधेको हेरेमा पेटभित्रको शिशुलाई आन्द्राले बेर्छ भन्ने धारणा छ । जुनसुकै फलफूल राम्रो नफुली नपाकी टिप्दैनन् । सुनचाँदी गालेको हेर्दैनन् । बाँसको टुसा पनि भाँच्दैनन् ।

तामाङ समाजमा गैरतामाङ युवती बिहे गर्ने छुट छ । केटाले गैरतामाङ कन्यासँग बिहे गरेमा, केटीलाई लामा वा ताम्बाद्वारा एक समारोह गरी चल्दोमिल्दो कुटुम्ब थर (क्लान) प्रदान गरिन्छ । थर प्रदान गर्ने यस्तो समारोहमा कोही कसैले चेलीको माइतीको रूपमा उभिदिनुपर्छ । त्यस्ती चेलीलाई भेदभाव, छोइछिटा वा हेयको दृष्टिले हेर्न पाइँदैन ।


मृत्यु संस्कारको बेलामा पनि तामाङ समुदायमा गीत गाउने चलन छ । थुन्दा सोर्बा (मृतकलाई बाटो खर्च दिने) काम सकेपछि मृतकले बाँच्दाको दैनिक जीवनचर्याको विषयमा ज्वाइँ (माक्पा) ले गीत गाउनुपर्दछ । यस्तो गीतलाई ‘कल्पला व्हाई’ भनिन्छ । यसरी ज्वाइँले गीत गाएमा मृतकले जीवनमा पापै गरेको रहेछ भने पनि मुक्ति मिल्छ भन्ने मत पाइन्छ ।


तामाङहरू तिब्बतलाई मात्रै भोट क्षेत्र मान्दैनन् । नेपालमा मनाङ भोट, मुस्ताङ भोट, तिनगाउँ भोट, लार्के भोटलगायत कैयौं भोटहरू छन् । काभ्रेको बनेपालाई नेवारहरू ‘भोट’ (बोंद) भन्छन् । त्यही भोट बस्नेलाई (भोट्पा) र बोंदपा भनिँदै बनेपा बनेको हो ।


तामाङ समुदायसित जोडिएका यस्ता थुप्रै रोचक, ऐतिहासिक र सांस्कृतिक नालीबेलीसहित परशुराम तामाङले चार कृति एकसाथ ल्याएका छन् । झन्डै दुई दशकअघि अनुसन्धानमूलक रूपमा निकालिएका यी कृतिहरू परिमार्जनसहित उनले हालै नयाँ संस्करण ल्याएका हुन् । ‘तामाङ जाति’, ‘तामाङ वंशावली’, ‘तामाङ संस्कार’ र ‘ताम्बा काअीतेन’ नामक खोज अनुसन्धानमुलक कृतिहरू आफंैमा तामाङ संस्कृति र इतिहास विमर्शका लागि अर्थपूर्ण स्रोत सामग्री बनेका छन् ।


सीमाविहीन खुला बजार र चर्को रूपमा हावी हुँदै गइरहेको उपभोक्तावादी संस्कृतिका कारण नेपालभित्रको मौलिक ज्ञान, अभ्यास र परम्पराहरू धराशायी बन्दै गइरहेको बेला तामाङ समुदायको संस्कृति, इतिहास र जीवनचर्चाको मसिना विश्लेषणहरूसहित आएका यी कृतिहरू आफैंमा अर्थपूर्ण छन् । लेखक परशुराम तामाङले यी कृतिहरूमार्फत तामाङ समुदायप्रति मात्रै हैन, सिंगो नेपाली मौलिक पहिचानको अभिलेखीकरणमा समेत योगदान पुर्‍याएको मान्न सकिन्छ ।


नेपाल तामाङ घेदुङको केन्द्रीय अध्यक्ष, अन्तर्राष्ट्रिय तामाङ परिषद्को संस्थापक अध्यक्ष, संयुक्त राष्ट्र संघ आदिवासी स्थायी मञ्चका सदस्यसमेत रहिसकेका परशुरामको लेखन व्यक्तित्व हुन त संस्कृति र इतिहास विमर्शभन्दा पर र निकै फराकिलो पनि छ । लामो समय अर्थशास्त्र र तथ्याङ्कशास्त्रको प्राध्यापनमा बिताएका उनले राजनीतिक विश्लेषण, आदिवासी जनजाति अधिकार, पहिचान, अर्थ–राजनीतिक बहसलगायतका सन्दर्भमाथि डेढ दर्जनभन्दा बढी पुस्तकहरू पनि लेखेका छन् । यी पुस्तकहरूको तुलनामा हालै सार्वजनिक चार कृतिको भिन्न महत्त्व छ ।


तामाङ जीवन, दर्शन र संस्कारमा मुख्यतया तीन सांस्कृतिक निकाय लामो समयदेखि प्रचलनमा छ । बोन्बो, लामा र ताम्बा । बौद्ध सम्प्रदायमा बदलिनुअघि तामाङहरू प्राकृत बोन थिए । पछि लामावाद पनि मिसियो । त्यसअघि नै मौखिक इतिहासविद्, संस्कृतिविद्को रूपमा ताम्बा (कथा भन्ने मान्छे) तामाङ समुदायमा अस्तित्वमा थिए । तामाङ संस्कृतिको तीन खम्बा मानिने यी सांस्कृतिक धरोहरको कार्य, अर्थ र महत्त्वसहितको संस्कृति सविस्तार ‘तामाङ संस्कार’ पुस्तकमा लेखकले उतारेका छन् । त्यस्तै विवाहका प्रकार, सम्बन्धविच्छेददेखि मृत्युसंस्कार, त्यसको सामाजिकीकरण र तामाङ संस्कारका चुनौतीहरू पुस्तकमा छन् । संस्कृतिविहीन आधुनिक शिक्षा, धर्म परिवर्तन, तान्त्रिक पद्धति र सुधारवादी बौद्धधर्मबीचको तनाव, बसाइँ सराइजस्ता समस्याहरूका कारण चेपुवा पर्दै आएको तामाङ संस्कृतिको दस्ताबेज बुझ्न पुस्तकले सघाउँछ ।


‘ताम्बा काअीतेन’ भने तामाङ समाजमा प्रचलित ताम्बा संस्कृति, दर्शन र कार्यहरू आधारित पुस्तक हो । यसमा तामाङ समुदायमा जन्मदेखि न्वारान, छेवर, विवाह र मृत्य संस्कारसम्ममा ताम्बाले गर्ने कार्य, उनीहरूले गाउने गीत, पूजा विधिसमेत समेटिएको छ । संस्कृति मर्मज्ञ, प्रतिपादक, वंशावलीकार, सामाजिक–धार्मिक कर्मकाण्डका अगुवा,
निरीक्षक र मूल्यांकनकर्ताको रूपमा समेत मानिने ताम्बाहरू अचेल तीव्र सहरीकरण र सांस्कृतिक विचलनका कारण लोपोन्मुख छ । उनीहरूले गाउने गीतहरू पनि फ्युजन भएर क्षयीकरणतिर गएकाले मौलिकता संकटमा छ । यस्तो परशुरामको ‘ताम्बा काअीतेन’ ले नयाँ पुस्तालाई राम्रै खुराक दिन्छ । यद्यपि यसअघि नै सन्तविर पाख्रिनले विसं २०१६ मा ‘ताम्बा काअीतेन व्हाई रिमठिम’ ल्याइसकेका थिए । रत्न पुस्तकबाट प्रकाशित सन्तवीरको यो पुस्तक सर्वाधिक बिक्री हुने तामाङ पुस्तक पनि मानिन्छ । परशुरामले भने काभ्रे, सिन्धुपाल्चोक लगायतका ताम्बा र स्रोतव्यक्तिहरूको सहयोगमा ‘ताम्बा काअीतेन’ तयार पारेका हुन् ।


‘तामाङ वंशावली’ मा परशुरामले थरको उत्पति र विभाजनदेखि तामाङ समुदायमा ‘स्वाँगे भाइ’ (सहगोत्री) को महत्त्वबारे पनि प्रकाश पारेका छन् र केही विभिन्न २२ वटा थरको वंशावली, उनीहरूको किपट र कुलदेउतासमेत उतारेका छन् । तर, यो कृति भने अपुरो लाग्छ । केही थरको वंशावली नितान्त व्यक्ति केन्द्रित र साँघुरो देखिन्छ । यसमा बृहत् अध्ययन, खोज र विश्लेषण खट्किन्छ ।


चौथो पुस्तक ‘तामाङ जाति’ मा एकमुष्ट रूपमा तामाङ इतिहास, सामाजिक संरचना, संस्कृति, भाषा, लोक साहित्यदेखि अर्थतन्त्रसम्मको सविस्तार व्याख्या पाइछ । चित्र, नक्सा र सन्दर्भ तस्बिरहरूसहितको ४१६ पेजको यो पुस्तक उत्तिकै गहन छ । यसमा समग्र तामाङ जातिको चित्र पाइन्छ । सन्दर्भसूची र फुटनोट्सहरूको प्रयोगले पुस्तकलाई विश्वसनीय र वैज्ञानिक बनाएको छ । पुस्तक पढ्दै जाँदा नेपाल एकीकरणपछि तामाङ समुदायमाथि भएको विभेद, कानुन बनाएर गरिएको दमन, तामाङहरूले गरेको ऐतिहासिक विद्रोहजस्ता तथ्यहरू मात्र नभई थकाली, गुरुङ, ह्योल्मो, छन्त्याललगायतका समुदायसित तामाङ समुदायको भाषिक निकटताका रोचक तथ्यहरू पनि परख गर्न पाइन्छ । यद्यपि यो पुस्तकमा अन्य तीन पुस्तकका केही सामग्रीहरू दोहोरिएको अनुभूति हुन्छ ।


जनसंख्याको हिसाबले प्रदेश नम्बर ३ को पहिलो समुदायको तामाङ । राजधानी छेउछाउ घनाबस्ती भएको यो समुदाय यतिबेला सबैभन्दा बढी सांस्कृतिक संक्रमणमा छ । मौलिक ज्ञान, जीवनदर्शन, धार्मिक आस्था, खानपान, संस्कृतिदेखि जीवनशैलीमा तीव्र विचलन आइरहेको यो समुदायको सुन्दर सांस्कृतिक विगत भने परशुरामका चार कृतिमा कैद छ । किताबमै उल्लेख भएजस्तो शुद्ध सांस्कृतिक जीवन अम्ंभव भइरहेको बेला सांस्कृतिक अभ्यासको संक्रमित र नयाँ आयामका केही सन्दर्भहरूसहित पुस्तक परिमार्जन गरिएको भए सुनमा सुगन्ध हुने थियो । सबै पुस्तक सैलुङ प्रकाशनले छापेको हो ।
– फूलमान वल

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT