कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उहिले बाजेका पालामा

योगदान
घनश्याम खड्का

काठमाडौँ —  पत्रकार भैरव रिसाल यो साता ९१ वर्ष लाग्दै छन् । तर, उनको तन–मन–वचन भने कुनै तन्नेरीको झैं छ । जीवनमा बिघ्न–बाधा र कठिनाइ कसलाई नआउला ? तर, जीवनमा सकारात्मक हुन सक्यो भने एक बारको जुनी कटाउन निकै सहज हुने रहेछ भन्ने ‘भैरव–मन्त्र’ आज सबैले आत्मसात् गर्नु जरुरी देखिन्छ ।

उहिले बाजेका पालामा

मनोविज्ञानले भन्छ, मान्छेका तीनथरी उमेर हुन्छन्– रेखीय, जैविक र मानसिक । कोही ६० वर्षमा पनि २० वर्षे युवाझैं फुर्तिलो र तन्दुरुस्त छ भने रेखीय आयु बढी भए पनि जैविक आयुमा चाहिँ ऊ यौवनकालमै भएको मानिन्छ । कोहीचाहिँ २० वर्षकै उमेरमा चाउरी पर्न थालेको, गलेको वा थाकेको देखिन सक्छ । यस्तोमा उसको रेखीय आयु कम भए पनि जैविक हिसाबले ऊ बूढो मानिन्छ ।


यसभन्दा पर उमेरको गणना अझ मानसिक रूपले गर्छन् मनोविद्हरू । रेखीय हिसाबले ८० वर्षको उमेरमा पनि कोही हरक्षण मुस्कुराउँछ, दु:खमा पनि आनन्दित नै रहन्छ र १६ वर्षे पट्ठोझैं सधैं जागृत देखिन्छ भने मानसिक रूपले ऊ युवा नै ठानिन्छ ।


खासमा यहाँ यही साता (साउन २९) मा ९१ वर्ष लाग्दै गरेका पत्रकार तथा सामाजिक अभियन्ता भैरव रिसालको कुरो गर्न लागिएको हो । रेखीय ढाँचाले रिसालको उमेर गणना गरियो भने उनको जीवनको ‘सत्त्व’ नै छुट्न जान्छ, जसरी सुगन्ध छुटयो भने फूलको प्राण नै छुट्छ ।


शताब्दी पुरुष हुन ९ वर्ष मात्रै टाढा रहेका रिसालका धेरै सहपाठीले यो धर्ती छाडिसके । बाँकी बचेका ऋषिराम पोखरेललाई अल्जाइमरले थला पारेको छ । तर, भैरव भने पूरा सक्रियताका साथ जीवन बिताइरहेका छन् र पत्रकारिता गरिरहेकै छन् ।


बिहान ठीक ४:३५ मा उनलाई अलार्मले जगाइदिन्छ । त्यसपछि उनी नुहाउँछन्, केही बेर व्यायाम गर्छन्, घामको किरणले जस्केलोलाई स्पर्श गर्नुअघि नै रेडियो–पत्रपत्रिकाले ल्याएका खबरसँग उनी जानकार भइसक्छन् । बिहान छिप्पिनै लाग्दा उनी कि कुनै पुस्तक पढिरहेका हुन्छन् कि कुनै विषयमाथि अखबारका लागि लेखिरहेका । त्यसबाहेक हरेक मंगलबार रेडियो सगरमाथामा बिहान ७ बजे लाइभ कार्यक्रम चलाउँछन्, डिल्लीबजारस्थित घरको फोनबाटै जो स्टुडियोसँग त्यतिबेला सिधै जोडिएको हुन्छ । हप्तामा दुई अखबारमा छाप्नका लागि नियमित लेख तयार पार्ने उनको नित्य अभ्यासले गर्दा साँझ छिप्पिसक्दा पनि लेखपढ गर्ने उनको चर्या चलिरहेकै हुन्छ । बेलुका साढे ९ बजेपछि बिछयौनामा घुस्रने उनको बानी छ र घुस्रिसकेपछि तुरुन्त निदाइहाल्ने स्वभाव । स्वस्थ, सक्रिय र सिर्जनात्मक दैनिकी उनको जीवनमा कहिल्यै टुटेको छैन । झर्रा शब्दहरू मिसाएर तिख्खर वाणीमा उनी जसरी बोल्छन्, लेख्छन् पनि त्यस्तै धारिलो । ९१ औं जन्म दिनमा कान्छा पुस्ताका पत्रकार भरतराज पोखरेलसँग मिलेर तयार पारेको पुस्तक ‘नेपालका मन्त्री र सांसदहरू’ सार्वजनिक गर्ने तयारीमा जुटेका भैरव भन्छन्, ‘हात चलुन्जेल म लेखी नै रहनेछु ।’
***

विक्रम संवत् १९८५ साउन २९ गते भक्तपुरको गुन्डुस्थित तिथली गाउँमा भैरव रिसालले जीवनको पहिलो बिहान देख्न पाए । उनकी आमा तीन वर्षपछि बितिन् । भैरवलाई आमाको मिरमिरे सम्झना पनि छैन । झाडाले सिकिस्त पारेकी उनकी आमालाई बाबु गोबर्धन रिसालले अस्पताल होइन, सिधै पशुपति आर्यघाट लगेछन् । यो सम्झँदा भैरवको अनुहारमा अनौठो विस्मय–भाव झल्किन्छ ।


‘आमा सायद बाँच्थिन् होली अस्पताल लगेको भए, तर त्यो जमानै उस्तै’ भैरव भन्छन्, ‘केही नभए पनि वीर अस्पताल त खुलिसकेको थियो, पशुपति ल्याउन सक्नेले वीर अस्पताल लैजान नसक्ने कुरो त थिएन । तर हेर्नुस्, लगेनन् ।’


हुम्लामा उज्यालो पर्‍याउने र जाजरकोटमा पुस्तक लैजानेजस्ता सामाजिक अभियानमा पनि उत्तिकै जोडिएका भैरवले सायद कल्पनामा आमालाई धेरै पटक अस्पताल लगेर निको भएको देखेका होलान् । जीवनका हरेक घटनालाई उज्यालो दृष्टिले हेर्नुपर्छ भन्ने उनी आमा बितेको दु:खमा पनि चाँदीको उज्यालो घेरा देख्दा रहेछन् । ‘भन्नु नै हुन्छ भने आमा नबितेको भए मैले पढ्नै नपाउने रहेछु,’ उनी भन्छन्, ‘किनभने गुन्डु वरपर तिनताक स्कुल थिएन र आमा जीवितै हुँदा बा बसाइ सर्ने अवस्थै नआउने हुँदा मैले निरक्षरै भएर बाँच्नुको विकल्प थिएन ।’


पत्नी विरहमा उनका बा जोगी बन्न आँटेका रहेछन् । दधिकोटतिरका उनका ढकालघरे जजमानहरूले केही जमिन दिएर बिरक्तिएका पण्डितलाई गाउँबाट सारेछन् र जोगी हुनबाट रोकेछन् । त्यहाँबाट लुभुको भाषा पाठशाला जान ज्यादा पायक पर्ने हुनाले भैरवले पढ्न पाएका रहेछन् ।


आठ कक्षासम्म लुभुको सत्तलजस्तो पाठशालामा उनी नाङ्गा गोडाले नित्य पढ्न जान्थे । लघु सिद्धान्त कौमदी र कालिदासको काव्यकृति रघुवंश स्कुलमा पढाइने ग्रन्थहरू थिए । त्यसपछि उनी रानीपोखरी तीनधारामा संस्कृत पढ्न थाले । जाँच दिन बनारस पुग्नुपर्ने जुगमा पनि उनले शास्त्रीसम्म गरे । स्नातकोत्तर तहको आचार्य उपाधिका लागि तीन वर्ष पढ्नुपथ्र्याे । भैरवले दुई वर्ष लगातार उत्तीर्ण गरे । तेस्रो वर्षमा ‘रसगंगाधर’ भन्ने पुस्तक पढ्नुपर्ने रहेछ जो उनका लागि अति दुरूह काम भयो ।


‘अनि मैले पढाइ छाडिदिएँ,’ भैरव उहिलेका कुरा सम्झन्छन् । संस्कृत पाठशाला पढ्दाखेरि नै भैरव कम्युनिस्ट पार्टीको सदस्य भइसकेका थिए । १२ सालमा लोक सेवा पास गरेर अधिकृतको जागिरमा नाम निकाले पनि ‘श्री ५ को सरकार’ ले उनलाई हाजिर हुन दिएन ।
***

भक्तपुर कटुन्जेमा पूर्णप्रसाद उपाध्याय भन्ने एक जना ब्राह्मण थिए जो राजाको प्रमुख जनसम्पर्क अधिकृत भएकाले निकै पावरफुल मानिन्थे । कतै जागिर नपाएपछि भैरव एक दिन उनकोमा गए र दु:ख बिसाए । प्रतिउत्तरमा पूर्णप्रसादले एउटा चिट लेखिदिए, हालखबर दैनिकमा गएर त्यो चिट देखाउँदा उनले समाचार लेख्ने जागिर पाए ।


हालखबरका प्रकाशक थिए रंगनाथ शर्मा अनि सम्पादकचाहिँ दाताराम शर्मा । शर्मा बन्धुले भैरवलाई सय रुपैयाँ तलबसहित एउटा नयाँ साइकल पनि दिए । यो थियो— २०१३ सालको कुरो । पत्रकारिता कहिल्यै नपढेका उनले छिट्टै नै फरक धारका धेरै समाचार लेखे र मानिसका आँखामा एक जिउँदोजाग्दो पत्रकार भन्ने छवि बनाइहाले ।


समाचार सुँघ्ने (घ्राण) सामथ्र्य भैरवमा अचम्मकै थियो । अरूले सामान्य ठानेका र अनदेखा गरेका विषयलाई उनी टपक्कै टिपेर हल्लीखल्ली हुने गरी अखबारमा ल्याइदिन्थे ।
चारखाल अड्डामा तिनताक प्रहरी र कर्मचारी मिलेर खसी काटी मासु भाग लगाएर बेच्ने गर्थे । सरकारी अड्डामा यसो गरेको भनेर भैरवले समाचार लेखे । भोलिपल्ट हालखबर दैनिकमा बक्स न्युज बनेर छापियो । तिनताक प्रधानमन्त्री थिए— मातृकाप्रसाद कोइराला । समाचार पढेपछि कोइरालाको कन्सिरीको रौं तातेछ ।


‘उनले मलाई सिंहदरबारमा झिकाए र यस्तो पनि समाचार हुन्छ भनेर झपारे,’ भैरवले ती दिन सम्झिए, ‘ठूलो मान्छेले झपार्नु पनि उन्नति नै हुनु रहेछ, त्यसपछि त मेरो मानमनितो बजारमा ह्वात्तै बढ्यो ।’


समाचार खोज्न भनेर भैरव बरोबर नेपाली कांग्रेसका सभापति बीपी कोइराला र तराई कांग्रेसका सभापति वेदानन्द झाकोमा गइरहन्थे । गयाप्रसाद शाह भन्ने एक जना पात्र थिए खाद्य बोर्डका सदस्य जसको ज्ञानेश्वरस्थित घरमा धेरैथरी मानिसको चहलपहल भइरहन्थ्यो । भैरव बिहानै उनकोमा जान्थे र नास्ता गर्दै समाचारहरू जम्मा पार्थे ।


हालखबर सरकारविरोधी पत्रिका मानिन्थ्यो र यसको लोकप्रियता ज्यादै थियो । अनि भैरव त्यस पत्रिकाका ‘लोकप्रिय पत्रकार’ भइसकेका थिए । तर, अचानक त्यो बन्द हुन पुग्यो, अनि भैरव बेराजेगार ।
***

खर्च जुटाउन भएको एउटा खण्डेथाल पनि बेच्नुपर्ला भन्ने मनस्थितिमा पुगेका भैरवले २०१७ सालमा राष्ट्रिय जनगणनाका लागि २६ महिने अस्थायी गणना अधिकृतको काम पाए । जनगणना गर्न उनी डडेलधुरा, डोटी र बैतडी पुगे । महाकालीको लिम्पियाधुरामा जनगणना गर्ने काम पनि उनले त्यस दौरान गरे जो कालान्तरमा एक ऐतिहासिक प्रमाण बन्न पुग्यो । सन् १९५० को सुगौली सन्धिअनुसार भारतसँग सीमा जोडिएको महाकालीको अन्तिम गाउँ लिम्पियाधुरा हो र त्यसमा ‘आफैं पुगेर जनगणना गरेको छु’ भनी जिउँदो प्रमाण पेस गर्ने मौका बेलाबेलामा मिल्दा उनी निकै खुसी हुन्छन् ।


२६ महिना अस्थायी जागिर सकिएपछि उनलाई फेरि बेरोजगारीले सतायो । संयोग कस्तो भने राष्ट्रिय समाचार समितिमा केही पत्रकारको पद खाली रहेछ । उनले आवेदन थिए । तर, फसाद कहाँ पर्न गयो भने कहिल्यै अंग्रेजी नपढेका उनले जागिरे परीक्षामा अंग्रेजीमा जाँच दिनुपर्‍यो ।


‘मैले त्यस दिन केही नलेखी फर्किएँ, नतिजा राम्रो आउने कुरै थिएन,’ भैरव भन्छन्, ‘तर म पत्रकारै हुन जुरेको रहेछ क्यार, नाम निकाल्नेमध्येको एउटाले जागिर खान आएनछ । अनि म फेल भएकालाई लौ आइज भनेर स्थायी नियुक्ति नै पो दिए बा ।’


यसरी उनी २०२० को भदौदेखि सरकारी पत्रकार हुन गए । ‘हालखबर’ मा जिउँदोजाग्दो पत्रकारिता गरेका उनलाई सरकारी संवाददाता हुनमा ज्यादा रमाइलो लागेन सुरुमा । तर, २ सय ७५ रुपैयाँको सुरु नियुक्ति चानचुने कुरो थिएन त्यतिबेला ।


देखेको कुरो प्रस्टसँग भन्न नपाइने जमाना थियो त्यो । हिन्दुस्तानबाट आएको डेलिगेसनसँग सरकारको वार्ता भंग हुँदा हेडलाइन लेखिने गथ्र्याे— सौहार्दपूर्ण वातावरणमा वार्ता विफल ।
बजारमा नुन, तेल, चिनी र मट्टीतेलको हाहाकार हुँदा अञ्चलाधीश र सचिवहरू ‘अभाव छैन’ भनेर लेख्न उर्दी दिन्थे । यस्तोमा भैरव चलाखीका साथ समाचार बनाउँथे— फलानाका अनुसार नुन–तेल जत्ति पनि बजारमा पाइन्छ ।


यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई फाँसी दिन लागिएको रहेछ । भैरवले एक कर्मचारीबाट बिहानै यसबारे थाहा पाइसकेका थिए । २०३५ माघ २६ गतेको ठिहिर्‍याउने दिन अञ्चलाधीश सूर्यबहादुर श्रेष्ठले उनलाई मोटर पठाएर बोलाए । त्यतिबेला उनी राससका चिफ रिपोर्टर भइसकेकाले प्रधानमन्त्रीसमेत पनि काम पर्दा मोटर पठाएर उनलाई बोलाउँथे ।
‘आज एउटा समाचार छ, ल भन्नुस् त भैरवजी के होला ?’ अञ्चलाधीशले कफी पिउँदै गर्दा उनलाई सोधेका थिए ।


‘त्यही दुई जनालाई फाँसी दिने कुरो त होला नि ?’ भैरवले फयाट्टै भनिदिए ।


‘त्यसपछि अञ्चलाधीशको अनुहार एकदम रातो भएर आयो,’ भैरव भन्छन्, ‘कहाँबाट यो सूचना थाहा पाउनुभयो भनेर केरकारजस्तो पनि गर्न थाले । अन्तमा मात्रै तपाईंले सुनेको सही हो भने ।’


त्यतिबेलाका प्रधानमन्त्रीहरूसँग भैरवको बरोबरजसो भेट भइरहन्थ्यो । सामान्य समाचारबारेमा पनि चित्त नबुझे सिधै भैरवसँग कुरा गर्थे प्रधानमन्त्रीहरू । सूचनाको यो खुला युगमा अहिलेका पत्रकारलाई पनि यस्तो उच्च पहुँच नजुरेको देख्दा भैरवलाई आफू एउटा बेग्लै र विशिष्ट कालखण्डमा काम गर्ने अवसरबाट गुज्रेको रहेछु भन्ने बोध हुन्छ ।
‘अहिलेको पत्रकारितामा त्यो धार छैन,’ भैरव भन्छन्, ‘त्यतिबेला हामी नपढेका मानिसले निरंकुश कालखण्डमा गरेको पत्रकारितामा बरु कता हो कता ओज थियो, यस्तो खुला जमानामा यतिका पढे–लेखेका मानिसले गरेको पत्रकारितामा त अचम्मैको खुबी हुनुपर्ने हो ।


तर, बरु आफ्नै जमानाको काम पो गतिलो लागिरहेको छ मलाई ।’


२० वर्ष काम गरेपछि उनी राससबाट अलग भए, अनि लागे सामाजिक काममा । डा. देवेन्द्रराज पाण्डेले सुरु गरेको ‘इन्स्टिच्युट अफ इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’ (आईआईडीएस) भन्ने संस्थामा सामाजिक परिचालक भएर उनी नेपालका विभिन्न ठाउँमा घुमे, भुइँ मानिसहरूसँग विकासका संवाद गरे । यसै उपक्रममा नेपाल वातावरण पत्रकार समूहको स्थापनामा उनी सक्रिय भएर लागे ।


२०४६ मा उनी त्यसको अध्यक्ष पनि भए । २०४८ सालमा उनी भक्तपुर क्षेत्र नं २ बाट नेमकिपाका उम्मेदवार भएर चुनाव पनि लडे । १३ सय मतले उनलाई कांग्रेसका जगन्नाथ आचार्यले पराजित गरे । तर भैरव कहिल्यै हार मान्ने मानिस होइनन् । उनी पत्रकारिता र समाज सुधारका काममा लागि नै रहे । २०५४ मा वातावरण पत्रकार समूहले रेडियो सगरमाथाको स्थापना गर्‍यो जो दक्षिण एसियाकै पहिलो सामुदायिक एफएम रेडियो हुन पुग्यो । त्यसमा उनले ‘उहिले बाजेका पालामा’ भन्ने साप्ताहिक कार्यक्रम चलाउन थाले जो केही वर्षअघिसम्म पनि चल्यो । बुढ्यौलीका कारण घुँडा दुख्न थालेपछि हुन गएको हिँडडुल कमीले यो कार्यक्रम केही वर्षयता बन्द छ । तर, उनले अन्तर्वार्ता गरेका ७ सय प्रतिनिधि पात्रको सम्झना भने उनको स्मृतिमा सधैं रहिरहनेछ ।


‘एसियाली मापदण्ड : नेपाली मन्त्रीको ठगी खाने भाँडो’ भन्ने लेख लेखेबापत पञ्चायतकालमा १० महिना जेल परेका भैरवले त्यसबारे पछि पुस्तक लेखे— साधुलाई सुली । आफ्ना जीवनका अनेक अनुभव र ज्ञानबारेमा उनले त्यसपछि पनि आठ पुस्तक लेखिसकेका छन् ।


सधैं नै सक्रियतापूर्वक बाँचेका भैरवलाई केही अघि हात काँप्ने रोक ‘पार्किन्सन’ ले थला पार्लाजस्तो भएको थियो । हात काँपेर केही समय लेख्न नसक्ने पनि भएका थिए । तर उनले नियमित व्यायाम गरेर रोगलाई जिते । अहिले फेरि उनको हातले कलम समात्न थालेको छ ।


‘अब त म दाह्री पनि आफैं खौरन सक्छु,’ भैरव भन्छन्, ‘आफूलाई चाहिने औषधि, मन पर्ने मिठाई र खानेकुरा लेख लेखेकै पैसाले जोहो गर्न सक्छु । बस्, जीवन जति चल्छ, यसरी नै चलिरहोस्, आफ्नै बुतामा ।’

प्रकाशित : श्रावण २६, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?