प्रलेस : हिङ बाँधेको टालो

बहस
प्रलेस आफैंलाई समेत हेक्का रहेन कि लेखकहरू सत्ताका स्थायी प्रतिपक्षी हुन्, ती सत्ताका ताबेदार होइनन् ।
केही महिनाअघि प्रलेसबारे गम्भीर बहस चल्यो । भनियो, ‘कम्युनिस्ट पार्टीहरूको सत्तारोहणपछि सत्ताका जनविरोधी कृत्यको कुनै आलोचना नगर्ने प्रलेसको अब औचित्य छैन । प्रलेस भन्ने संस्था अब नरहे पनि हुन्छ ।’
सरिता तिवारी

काठमाडौँ — प्रगतीशिल लेखक संघले नियमित रूपमा परिसंवाद र छलफल नगर्ने होइन । प्रकाशन पनि नगरेको होइन । भेला र बैठक पनि भइरहन्छन् । तर, यसको चरित्र लगभग कर्मकाण्डी भइसकेको छ । पछिल्लो समय प्रलेस दिशा बिर्सिएर महासागरमा भौंतारिइहरेको जहाजजस्तो बनेको छ ।

सत्तरीवर्षे हुन लागेको प्रगतिशील लेखक संघ (२००९) स्थापनादेखि नै एउटा साहित्यक समूह वा संस्था मात्रै थिएन विचार र दर्शनको आन्दोलनसमेत थियो । अनेक सीमा र कमजोरीका बाबजुद पनि यसले आफ्नो आन्दोलनात्मक चरित्र लामै समयसम्म कायम राख्दै आयो । नेपाली साहित्य र विशेष वैचारिक धारामा यसको भूमिका के कति कारणले स्मरणीय र ऐतिहासिक छ, यसबारे साहित्यका विज्ञ, सचेत पाठक र लेखकवर्ग जानकार भएकै कुरो हो । २००७ सालको परिवर्तनबाट राणातन्त्रको अन्त्यसँगै देश वैश्विक जीवनका खुला विचार र आन्दोलनबाट प्रभावित हुने क्रम थालियो । पुस्तकालय स्थापना गर्ने, संघसंस्था खोल्ने, पत्रपत्रिका/पुस्तक आदि प्रकाशन गर्नेजस्ता कामले तीव्रता पाए । नवचेतनाको त्यही मेहरोमा निबन्धकार, सम्पादक श्यामप्रसाद शर्माको अगुवाइमा प्रलेस गठन भएको हो । प्रलेसको इतिहास लेख्ने साहित्यकार विष्णु प्रभातका अनुसार फ्रेन्च क्रान्ति, रुसी अक्टोबर क्रान्ति, चिनियाँ जनक्रान्ति, भारतीय स्वाधीनता संग्राम र यिनै विश्व परिवेशको प्रभावबाट नेपालमा भर्खरै (२००७ मा) सम्पन्न जनक्रान्तिको आलोकमा प्रलेस जन्मिएको हो । सेवा सदन वीरगन्जमा भेला भएको सानो समूहबाट संवत् २००९ मा थालिएको प्रलेसको यात्रा यहाँसम्म आइपुग्दा झन्डै डेढ सय जनाको केन्द्रीय संगठन संरचना र देशका ५५ जिल्लामा पुगेका शाखाहरूमा विस्तारित छ । यसले निरपेक्ष कला–साहित्यको एकोहोरो तर्क नगरी जनमुखी र वैचारिक प्रतिबद्धतासहित लेखन/विमर्शको आन्दोलन हाँक्दै आयो । कतिपय सांगठनिक अन्तरविरोधहरू, विवाद र बहसहरू हुँदाहुँदै पनि यसले देशमा चलेका राजनीतिक सांस्कृतिक आन्दोलनहरूको परिपोषक र सहकारी भएर निर्वाह गरेको भूमिका प्रशंसनीय छ । पञ्चायत हुँदै संसदीय प्रजातन्त्रकाल, राजाको प्रत्यक्ष शासनकाल र लोकतान्त्रिक गणतन्त्र प्राप्तिको संघर्षकालसम्म आइपुग्दा पनि यसले आफ्नो साख र प्रभाव घटाएन । तर, व्यापकस्तरमा जनपक्षीय साहित्य–कलाको रचना र प्रसारमा यसको अपेक्षित र उल्लेख्य भूमिका रहन नसकेको पनि सत्य हो । तैपनि प्रलेसले जे–जति गर्‍यो भौतिक आधार र अनुकूलताको विपरित परिस्थितिमा पनि गर्‍यो । यसको सबैभन्दा आलोचनात्मक पक्ष संगठनात्मक संरचना–निर्माणमा वैचारिक सामथ्र्य र हस्तक्षेप गर्ने लेखक होइन घटकीय तदर्थतामा अट्ने लेखकको बाहुल्य रहनु हो । यसबारे संगठनभित्र र बाहिर दुवैतिरबाट निरन्तर आलोचना हुँदै आएको छ । तर पनि देशका लगभग सबै धारा र क्षेत्रका वामपन्थी लेखकहरू यसको छातामा गोलबद्ध भइरहे । यसलाई कम आँक्न मिल्दैन ।

Yamaha

परीक्षित समय
स्थिति अतीतको भन्दा भिन्दै छ । सत्ता, संस्थापन र आफूलाई माक्र्सवादी भन्न रुचाउने लेखक दुवैको अवस्था आज ‘क्रिटिकल’ छ । दुवैको विश्वसनीयता परीक्षित छ । तर, राजनीतिक सत्ताको बग्गी हाँकेर हिँड्ने ‘प्रगतिशील’ हरूको भन्दा कति हो कति चर्को र खरो परीक्षा प्रगतिशील लेखकहरूको हिस्सामा परेको छ । विगतको सत्ता संस्थापनसँग वैचारिक सांस्कृतिक आन्दोलन गरुन्जेलको प्रगतिशील लेखक संघ जति धारिलो र स्पष्ट थियो आज त्यो धार र स्पष्टताको संकट सहजै अनुभव हुन्छ । यद्यपि माथि भनिएजस्तै नेपाली साहित्यमाथिको समग्र प्रभावका दृष्टिले यसमा अपेक्षित गुरुत्व र ओजको कमी पहिले पनि नभएको होइन । तर, कम्तीमा पनि राजनीतिक र सांस्कृतिक रूपले सचेत तप्काको बाहुल्यले यसको आन्दोलनात्मक चरित्रमा यसअघि त्यस्तो उल्लेख्य संकट देखिएन जति आज गोचर हुन्छ । जसै हिजोका प्रगतिशील र ‘क्रान्तिकारी’ राजनीतिक शक्तिहरू सत्ताको ‘कुट’ राजनीतिभित्र भासिँदै गए र अन्तत: सांस्कृतिक रूपले नै उनीहरूको इमान र प्रतिबद्धता संशयको घेरामा पर्न थाल्यो तसै प्रलेसको निधारमा त्यसको दुरुस्त प्रतिच्छायाको दुखान्त देखिन थाल्यो । यो बहुतै डरलाग्दो कुरा हो । प्रलेससम्बद्ध लेखकले बिस्र्यो वा मान्न इन्कार गर्‍यो कि पार्टीसत्ता वा तत्जन्य प्रतिदानभन्दा कता हो कता माथि छ वैचारिक प्रतिबद्धताले सुसज्जित लेखनसत्ता । प्रलेस आफैंलाई समेत हेक्का रहेन कि लेखकहरू सत्ताका स्थायी प्रतिपक्षी हुन्, ती सत्ताका ताबेदार होइनन् । लेखकको भूमिका जहिलेसुकै र जहाँसुकै रचनात्मक आलोचकको रूपमा रहन्छ ।

एउटा प्रतिबद्ध विचारवान लेखक र उसको सम्बद्ध संगठन आफैंमा शक्तिशाली सत्ता हुन् । त्यस्ता लेखक र संगठन कुनै अर्कोथरी सत्ताको निगाहमा बाँच्ने बफादार प्राणी होइनन् । यो प्रगतिशील भन्न रुचाउने हरेक लेखकले दिमागमा गाँठो पारेर राख्ने कुरा हो । तर, रमाइलो कुरा के छ भने आजको मितिको हाम्रो ‘प्रगतिशील’ लेखक बडो चलाख र ‘समझदार’ भएको छ । प्रतिबद्धता र पक्षधरताजस्ता आधारभूत प्रश्नलाई ऊ विचारको ठूलो फलक बोक्ने प्रगतिशील र समाजवादी आन्दोलनसँग होइन र मात्रै लोभ, स्वार्थ र छुद्रता मिल्ने स्वार्थ समूहअनुकूलको पार्टी प्रतिबद्धतासँग जोड्छ । त्यही कुराको तरफदारी र ताबेदारी गर्छ ।


सत्ता राजनीतिमा अनुकूल भाषाको लेपन गर्न जानेपछि, परिस्थितिलाई विशिष्ट राजनीतिक ध्वनि र पदावलीले सिँगार्ने कला भएपछि पतनको अन्तिम विन्दुसम्म पुग्दा पनि त्यसको भेउ नपाइँदो हो । यो अनुमान गर्न सकिन्छ । राजनीतिक नेतृत्वमा उन्माद आउन सक्छ । त्यसले विगतमा हिँडेको दुष्कर बाटोलाई बिर्सेर अर्कै बाटो हिँडिदिन पनि सक्छ । तर, सत्यको अन्वेषण गर्ने कसम खाएर हिँडेको आफूलाई माक्र्सवादी दाबी गर्ने लेखक सत्यच्यूत र नैतिकहीन हुनु किमार्थ ग्राह्य मानिँदैन । उसले त सकेसम्म दिशाहीन हुन लागेको राजनीतिक नेतृत्वलाई तिनले छोडिरहेको विचारको लिकबारे सतर्क बनाउन पो सक्नुपर्छ । रचनात्मक आलोचक पो बन्न सक्नुपर्छ ।

लेखकको प्रतिबद्धता केमा ?
यो देशको नयाँ इतिहास रचनामा कम्युनिस्ट पार्टीहरूले दिएको योगदानको कदर गर्नैपर्छ । तिनले हाँकेका आन्दोलन, विद्रोह र चलाएको वैचारिक दीक्षाको प्रभाव बलियो थियो र त आज उनीहरू सत्तासीन हुन सके । आजको अवस्था मूलत: विगतका संघर्षहरूको परिणति नै हो । तर, आजको मितिमा कम्युनिस्ट नेतृत्वसँग न्यूनतम कम्युनिस्ट चरित्र छ कि छैन ? सरोकार यहाँनेर हो । हामी लेखकलाई समेत राजनीतिक कार्यकर्ता मान्छौं तर त्यो परम्परित अर्थमा होइन । लेख्नु आफैंमा एउटा ‘पोलिटिकल एक्ट’ हो भन्ने मान्छौं । लेखक विचारले प्रतिबद्ध र दिशाबोधले सुसज्जित कर्मी हो भन्छौं । उसले विचारको हस्तक्षेपबाट आफ्नो समयको बौद्धिक नेतृत्व गर्छ । ऊ आफ्नो स्वायत्त विवेकले विचारमा कन्भिन्स हुन्जेल पार्टीका एजेन्डा र प्रस्तावनाको समर्थनसमेत गर्छ । उसको लेखन आन्दोलन र विद्रोहहरूको सहवर्ती पनि बन्छ । तर, निसर्त र निरपेक्ष रूपले होइन । पार्टीको नियत र नीतिमा संरचनागत खोट नजर नहुँदासम्म लेखकले केवल आफ्नो विवेकको सर्तमा पार्टीलाई समर्थन गर्छ । तर, जसै त्यहाँ खोट र बद्नियत गोचर हुन्छन् लेखक सतर्क हुनैपर्छ । लेखक कसैका बदनियतलाई पिठ्युँमा बोकेर हिँड्ने निर्धो प्राणी होइन । ऊ विचारको उत्पादन गर्ने कर्ता हो । ऊ आफैं एउटा शक्तिशाली निर्णायक हो । आफूजस्तै लेखकहरूको समुदायको एउटा बलियो हिस्सा हो । शक्तिकेन्द्र र सत्ताको भरिया होइन । यस अर्थमा लेखकको प्रतिबद्धता मूलत: वैचारिक हुन्छ । र विचार केवल झन्डा र चुनावचिह्नले चिनिने त्यति दरिद्र र सीमित कुरा होइन ।


सैन्य तानाशाहसँग लड्दै ल्याटिन अमेरिकाको सामाजिक संघर्षसँग जोडिएर जीवन बिताएका उरुग्वेली लेखक एडुआर्डो गालेआनो लेख्नु मृत्युसँग लड्नुजस्तै हो भन्छन् । ‘लेख्नका लागि’ भन्ने निबन्धमा उनी भन्छन्, लेखनले लड्नु हामीभित्र र बाहिर जतासुकै फैलिरहेको मुर्दा उदासी र शुष्कताविरुद्ध उभिनु हो । अन्यायको विरुद्ध जितको सुखद अनुभूति बाँड्नु हो । आफू र अरूलाई समेत एक्लै छु भन्ने डरबाट बाहिर निकाल्नु हो ।’ यस भनाइको आलोकमा आजका प्रलेससम्बद्ध लेखकका अनुहार जाँच्ने हो भने अधिकांशमा एउटा यस्तो भगौडा र चतुर आकृति देखिन्छ जसले आवरणमा माक्र्सवाद त ओढेको छ तर लेखन र ब्यवहारमा पूरै प्रतिक्रियावादी र संस्थापनका विचारको पक्षपोषण गरिरहेको छ । यस्तो बेला प्रतिबद्धता शब्द आफैं सरमले निहुरिन्छ । जनजीवनका ज्वलन्त प्रश्न एकातिर छन् । दलाल पुँजीवादको छातामुनि माफिया संरक्षणको बलमा बाँडिएको समाजवादको सपना र आर्थिक समृद्धिको तर्क भद्दा मजाकजस्तो लागिरहेको छ । देश खाडीमा बगेको रगत पसिनाको मूल्यमा चलेको छ । उत्पीडित वर्ग र समुदायका आन्दोलन यत्तिकै थाती छन् । यौनजन्य हिंसा र बर्बर हत्याले समाज यातनागृहजस्तो बनिसक्यो । तर, हाम्रो प्रगतिशील लेखक आवाजहीनहरूको आवाज बन्ने कुनै त्यस्तो चुनौतीपूर्ण इच्छा पाल्दैन । ऊ संगठनमा आबद्ध छ । बस्, यही नै उसको प्रतिबद्धताको दसी हो । चाकरी र दासता नै जब प्रतिबद्धताको रूप बन्छ, त्यहाँ हरेक क्षण ‘प्रगतिशील’ शब्दको मानमर्दन भइरहेको हुन्छ । यतिबेला प्रलेस इतिहासकै सबैभन्दा गम्भीर मोडमा उभिएको छ । यो प्रलेस हो वा पार्टीका कृतदास र अनुचरहरूको मण्डली मात्रै ? यसको जवाफ प्रलेसका हरेक सदस्यसँग हुनुपर्छ ।

वैचारिक संकट र प्रलेस प्रेत
एक माक्र्सवादी मित्रले सप्रसंग भने, ‘प्रलेस विचारले त उहिल्यै मरिसक्यो, अहिले त्यसको प्रेतमात्रै बाँकी छ ।’ म स्वयम् प्रलेससँग २०६३ देखि जोडिएकी छु । ०६९ देखि ०७२ सम्म चितवन शाखाको अध्यक्ष रहें । आफ्नो बुताले भ्याएसम्म रचनात्मक सम्भावनाहरू खोज्दै काम गरें । यसरी काम गर्दा कतिपय परम्परित शैली र ढर्रामा सापेक्षित सुधारको प्रयत्न पनि गरें । मेरो टिम उस्तो गतिलो थिएन । तर, चितवनका शुभेच्छु लेखकहरू रामहरि श्रेष्ठ, इन्द्र रेग्मी, प्रकाश चापागाईं आदिको सहयोग र हौसलाले मलाई नैतिक बल दिइरह्यो । हरेकपल्ट नौलो अभ्यास गर्दै काम गर्दा कहिलेकाहीं प्रलेस, केन्द्रसँग टकराव हुन्थ्यो र हरेकपल्ट त्यसलाई सल्टाउँदै अघि बढियो । प्रकाशन र छलफलहरू भए । प्रलेसका पुराना सदस्य र वर्तमान समयका निख्खर आलोचकहरूलाई समेत निम्ताएर सकेसम्म वामपन्थका सबै धाराहरू र प्रजातान्त्रिक विचारलाई समेत समेट्दै विमर्शहरू गरियो । जिल्लामा प्रलेस अन्य संस्था र समूहका लागि समेत एउटा बलियो चुनौतीका रूपमा दरियो । यसरी काम गर्दा म सन्तुष्ट नै थिएँ । एकसरो मान्छे, साना बच्चा, गृहस्थीको बोझ र थोरै आम्दानी भएकी म त्योबेला सानोतिनो उत्साह र प्रतिबद्धताले लागेकी थिइनँ । त्यसको एउटै मात्र प्रेरणा प्रलेसको विगत इतिहास थियो । यसले पक्रेको माक्र्सवादी र सामाजिक न्याय पक्षधर विचार थियो ।


अहिले प्रलेसको केन्द्रमा छु । एकप्रकारले भन्दा एउटा महत्त्वपूर्ण पद ओगटेर बसेकी छु । तर, मैले केही काम गरेकी छैन । काम गर्न नसक्नुका पछाडि केही वैयक्तिक कारण मौजुद छन् । भौतिक दूरी अर्को कारण हो । तर, तीभन्दा बलिया कारण वैचारिक हुन् । प्रलेस केन्द्रले नियमित रूपमा परिसंवाद र छलफल नगर्ने होइन । प्रकाशन पनि नगरेको होइन । भेला र बैठक पनि भइरहन्छन् । तर, यसको चरित्र लगभग कर्मकाण्डी भइसकेको छ । पछिल्लो समय प्रलेस दिशा बिर्सिएर महासागरमा भौंतारिइहरेको जहाजजस्तो बनेको छ । क्याप्टेनलाई दु:ख अवश्य छ । उनका दु:ख वैचारिकभन्दा पनि कसको चित्त कसरी बुझाएर आफ्नो कार्यकाल पूरा गरौं भन्ने नै देखिन्छ । जोकोही आउँछन्, विचार र कार्यसूचीको तर्क होइन, पार्टी, गुट र समूहको अहंकार बान्ता गर्दै दन्तबझान गर्छन् । तिनलाई थान्को लगाउँदै डुंगाको स्टेरिङ घुमाउँदा क्याप्टेनको मुहारमा प्रकट उदासी बाहिरबाटै देखिन्छ । के यसरी प्रलेस चल्छ ? चल्दैन । के यस्तो संस्था प्रलेस हुन्छ ? हुँदैन ।


केही महिनाअघि प्रलेसबारे गम्भीर बहस चल्यो । भनियो, ‘कम्युनिस्ट पार्टीहरूको सत्तारोहणपछि सत्ताका जनविरोधी कृत्यको कुनै आलोचना नगर्ने प्रलेसको अब औचित्य छैन । प्रलेस भन्ने संस्था अब नरहे पनि हुन्छ ।’ त्यसमा जमेर समर्थन, आलोचना र प्रत्यालोचना भयो । प्रलेस मर्नुपर्छ भन्ने तर्कले मलाई कतै नमीठोसँग पोलेको हो त्यो बेला । अहिले पनि पोल्छ । ती ज्ञात अज्ञात अग्रजहरूको दुु:ख र संकल्पको स्मरण मात्रैले पनि पोल्छ । यद्यपि प्रलेसका पूर्व केन्द्रीय सदस्यसमेत रहेका लेखक युग पाठकको किताब ‘माङ्गेना’ माथि चितवनमा छलफल चलाउन खोज्दा साथीहरूबाट आएको धम्की र चेतावनीपछि मेरो च्याँख मर्दै आएको पनि साँचो हो । त्यतिबेला मैले प्रतिकार गर्दै उहाँहरूलाई भनेकी थिएँ, कुनै किताब र विचारलाई ‘ब्यान’ गर्ने असहिष्णुता र धम्कीविरुद्ध सम्झौता गरिन्नँ † कार्यक्रम भव्य रूपमा भयो । यो प्रसंगले मलाई प्रलेस वैचारिक रूपले सिद्धिएको पुख्ता प्रमाण मिलेको हो ।
विचार संगठन–जीवनको कम्पास हो । अहिले प्रलेससँग त्यो कम्पास छैन । कम्पास पार्टी हेडक्वाटरका बनियाहरूको हातमा छ र प्रलेस केवल एउटा कठपुतलाजस्तो बनेको छ ।

प्रलेसका मुखियाहरूले आफ्ना पदलाई ‘बार्गेनिङ चिप्स’ बनाएर प्रज्ञाको मझेरीमा उक्लेको आरोप खान थालेको कुरो पनि अब पुरानो भइसक्यो । पछिल्ला दिनमा त यसले प्रतिपक्षी चरित्रसमेत गुमाइसकेको छ । विचारको संकट घोर डरलाग्दो मोडमा छ । यसबारे मसँग कैयौं अप्रिय अनुभवहरू छन् । प्रलेससँग लामो समयदेखि जोडिएका लेखक स्नेह सायमी प्रलेसको यो संकट आजको मात्र होइन दस वर्ष अघिदेखिको हो भन्छन् । सायमीले भनेजस्तै स्वतन्त्र वाम लेखकहरूलाई समेट्न नसक्नु, तिनका आलोचना सुनेर रचनात्मक रूपले आफूलाई सच्याउन नसक्नुलगायतको रोग नयाँ होइन । आलोचनात्मक चेतना र प्रतिपक्षी चरित्र नै रित्याएर विचारको हिङ बाँधेको टालाको आडम्बर मात्रै बोकेर हिँड्नुले भने प्रलेसको साख र नूर गिरिसकेको स्थिति स्पष्ट छ । यो यत्तिकै बिस्तारैबिस्तारै मर्ला कि बौरिएर उठ्ने होला भन्ने कुरो उसको आत्मबोधमा भर पर्छ ।

Esewa Pasal

प्रकाशित : भाद्र २, २०७५ ०८:३८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कस्तो पुरुष उत्पादन गर्दै छौं ?

हाडनाता, कलिला बच्ची, वृद्ध आमा र पितृ हुन लागेका हजुरआमा पनि नभनी कामुक तृष्णाको पछि लाग्ने पुरुषको उत्पादन कहाँ भएको छ ?
सरिता तिवारी

काठमाडौँ — भर्खरै ‘अन’ गरेको मोबाइलको मेसेज बक्समा कसैले पठाएको कञ्चनपुरको दुर्दान्त खबरको भिडियो क्लिप देखियो । खोलेर हेर्दाहेर्दै चेतनाशून्य, रनन्नन भएँ । ‘नोटिफिकेसन बार’मा प्रकट थियो, निर्वाचन आयुक्त इला शर्माले म लगायत केही महिला लेखकलाई ट्याग गरेको एउटा ट्विट ।

पुरै पढ्नसमेत भ्याइनँ । छोरी थिई सँगै, गणितको अभ्यास गरिरहेकी । हामी आमाछोरी दुबैले मुस्किलले भिडियोका शब्द सुन्यौं । दृश्य हेर्ने आँट आएन ।

कञ्चनपुरको एउटा गाउँमा घटेको नृशंष घटना । तेह्र वर्षीया किशोरीको अर्धनग्न शव भेटिएको थियो, हिलाम्य उखुबारीभित्र । घटनाको बयान सुन्दासुन्दै मेरो चेतनामा सयौं ओरिगाँठेका हजारौं खुट्टाहरू चल्मलाइरहेका थिए । त्यही बेला एक पत्रकार मित्र र लेखक साथी सावित्री गौतमबीच ट्विटरमा चलिरहेको उत्तर–प्रतिउत्तरले मलाई झन् गम्भीर बनाइरहेको थियो । रणभूमि बनिसकेको ट्विटरका भित्तामा त्यसपछि के–के टिप्पणी र प्रतिटिप्पणी लेखिए होलान्, यसको अनुमान म लगाउन सक्थेंँ ।

एउटा जघन्य हत्या भैसकेको थियो । र त्यसपछि पनि स्थितिको साक्षी बस्न पुगेको भीडका आँखाले कलिलो तेह्र वर्षीया त्यो अचल नग्न शरीरको फर्काई–फर्काई अघाउन्जेल सिकार गरिसकेको थियो । भिडियोमार्फत मजस्ता लाखौं उपभोक्ताका आँखामा ‘हट ब्रेकिङ न्युज’ भैसकेको त्यो प्रतिक्रियाहीन शरीरले कति मानिसलाई कस्ता–कस्ता प्रतिक्रिया दिने बनाइरहेको हुँदो हो ? मैले कल्पना गरेंँ । यो कल्पना एकाएक भयावह भयो । आफ्नै कल्पनाको आतंकले लखेटिएर थुच्च खाटमा बसेंँ र भर्खरै कापीको अर्को अभ्यासमा कलम दौडाइरहेकी छोरीतिर फर्किएँ ।
***

महिलामाथि कुटपिट, ज्यादती, जबर्जस्ती करणी र ज्यानै जानेगरी जब–जब कुनै जघन्य घटना हुन्छ, त्यसपछि एउटा वर्ग सामाजिक सञ्जालमा यस्तरी सल्बलाउन थाल्छ, मानौं महिलाका पक्षमा आवाज उठाउनेलाई तोकेरै गाली गर्ने अवसर जुरेको हो यो । उनीहरूको एकोहोरो खेदोखनाइ हुन्छ : अधिकारकर्मी भनाउनेहरू कहाँ गए ? यस्तो लाग्छ, जोसुकैलाई पनि डलर र युरो खाने करार गरिदिने र दुर्वाच्य वमन गर्ने स्वर्णिम अवसर ती कुनै हालतमा ‘मिस’ गर्न चाहन्नन् ।

घटनाको संवेदनशीलता र त्यसप्रतिको विवेकसम्मत चासोभन्दा पनि तिनको सरोकार हुन्छ, सामाजिक न्याय र लैङ्गिक समताको पक्षमा लेख्ने–बोल्नेमाथि जाइलाग्नु । एकातिर पीडित पक्षको परिवारजनमा घटनाको अभिघातले थिचेर शोकको आँसुसमेत बग्न नसकेको अवस्था हुन्छ, अर्कोतिर पीडक उम्किने र फरार हुन सक्ने प्रचुर सम्भावना रहन्छ ।

त्यहीँ राजनीतिक दल र समाजका गन्यमान्यको अगुवाइमा घटनालाई आपसी समझदारीमा मिलाउने पहल सुरु भैसक्छ । ज्यानसमेत गइसकेका मुद्दामा दोषीको पहिचान गर्ने र कारबाही गर्नेभन्दा आरोपीलाई लुकाउने, भगाउनेदेखि प्रहरीले समातिहाले छुटाउने कुरामा दलहरूको स्थानीय र जिल्ला नेतृत्व नै भिडेर लाग्छ । यस्तो देखिँदै आएको छ । यस्ता घटनामा स्थानीय र जिल्ला तहका राजनीतिकर्मी, अधिकारकर्मी महिलाहरू जागरुक त हुन्छन्, तर तिनलाई स्थानीय र जिल्ला तहको आफ्नै पार्टीले पटक–पटक निरुत्साहित गर्ने, सावधान र सतर्क गराउने काम सामान्य हो ।

गतवर्ष चितवनमा घटेको दुई नाबालिकाको हत्या प्रकरणमा सबै खाले पार्टी पंक्ति एकातिर र सबै पार्टीका महिला नेतृत्व अर्कोतिर उभिएको देखेपछि स्थिति कति भयावह छ भन्ने अनुभव गरिएको हो । सबै विचारका पार्टी यस्तो कुरामा कसरी एक ठाउँ आए ? भन्नै परेन । तिनका झुटनीतिका अगाडि पार्टी सम्बद्ध महिलाहरूको संयुक्त संघर्ष समिति कसरी ‘फेल’ हुनेरहेछ ! आरोपी छुटाउन एकजुट हुने राजनीतिक दलहरूले कसरी स्थानीय तहलाई समेत अकर्मक ‘डमी’ बनाइदिन सक्दारहेछन् ! यस्तोमा ‘रात रहे अग्राख पलाए’ भन्ने कुरो चरितार्थ भई अनुसन्धान गर्ने निकाय ‘प्रमाणको पर्याप्त आधार नभएको’ भन्दै कसरी टक्टकिन्छ र न्याय अधुरै रहन्छ ? प्रश्न गम्भीर छ, तर उत्तर अलभ्य छैन । राजनीतिमा पितृसत्तात्मक वर्चस्वको योभन्दा गतिलो उदारहण अरु के होला । यही वर्चस्वले राजनीतिक क्षेत्रलाई महिलामाथि हुने यति डरलाग्दा हिंसामाथिको संवेदनहीनतालाई प्रश्रय दिइरहेको छ ।
***

बलात्कार सरसर्ती हेर्दा स्त्री शरीरमाथिको जैविक अपराधका रूपमा देखिन्छ । तर यो शरीरमाथिको अपराध मात्रै होइन । बारम्बार मानसिक रूपले बलात्कृत हुने क्रमको थालनी हो । यसरी पीडित सार्वजनिक रूपले आजीवन ‘पीडित’ भैरहनुपर्ने र पीडकलाई कानुनले तोकेको भौतिक सजायबाट समेत सहजै उम्काइदिने अवस्थामाथि सार्वजनिक भत्र्सना र न्यायको पहलकदमी लिने कुरामा राज्य र समाजको सरोकार शून्यता डरलाग्दो देखिन्छ ।

यस्तो किन भैरहेको होला ? बलात्कारलाई सामान्य मान्ने प्रवृत्तिका कारण होइन ? किन सामान्य मानिन्छ ? आम रूपमा अझै पनि स्त्री शरीर केवल भोग्नकै लागि हो भन्ने मनोविज्ञान मेटिएको छैन, बरु झन् जब्बर छ । यौनजन्य हिंसा लगायत महिलाका मुद्दामा बारम्बार लेख्ने स्तम्भकार रामेश्वरी पन्तको भनाइ छ, ‘पैसाले न्याय किन्न सकिन्छ भन्ने मनोविज्ञान सबैभन्दा हावी कतै छ भने जबर्जस्ती करणीको मुद्दामा छ । पैसाको खेललाई निस्तेज पार्न सार्वजनिक सरोकार र खबरदारीमा उल्लेख्य वृद्धि हुनैपर्छ ।’

आफूलाई नारीवादी मान्ने समीक्षक लक्ष्मण श्रेष्ठ विश्वव्यापीकरण र उपभोक्ता संस्कृतिले महिलालाई पुँजीवादको पहिलो माल बनाएको छ भन्छन् । ‘यसले महिलाको भोग्याकरणलाई प्राथमिक सूचीमा राख्छ । महिलाको भोगमै आफ्नो पुरुषार्थ देख्ने मनोवृत्ति भएको पुरुषलाई पुँजीवादले झन् खतरनाक पुरुषवादी बनाइदिएको छ,’ उनी भन्छन् ।

दिनानुदिन सार्वजनिक भैरहेका बलात्कारका घटना हेरौं । यी कुनै न कुनै रूपले समाजको लैङ्गिक धारणाका अभिव्यक्ति नै हुन् । समाजले पुरुष बच्चालाई महिलाप्रति अनुदार र भोगवादी विचारले हुर्काइरहेका उदाहरण हुन् । जबकि यही समाजले महिलालाई अनगिन्ती खाले आचारसंहिता लगाउँछ । एउटी महिलाको जीवनको जग नै हल्लाइदिने यस्ता अपराधसँग समाजको आर्थिक प्रणाली र पितृसत्ता दुबैका जरा एकैसाथ जोडिन्छन् । महिलाको शरीरमाथि हैकम र जबर्जस्ती गर्ने प्रेरणा केवल शरीरको क्षणिक क्षुधाले मात्रै दिइरहेका छैनन्, बरु महिलाहरू पुरुष आश्रित र कमजोर नै हुन् भन्ने मानसिकताले एउटा पुरुषलाई क्रमश: यौनजन्य हिंसातर्फ बढ्न प्रेरित गरिरहेको छ ।

लामो समयदेखि भारतको सर्वोच्च अदालतमा बहस गरेका अधिवक्ता तथा लेखक अरविन्द जैन महिलामाथि हुने सबै प्रकारका हिंसा र बलात्कारपछिको हत्या लगायत घटनाहरूको कडी खोज्न पितृसत्ताको चरित्र उधिन्नुपर्छ भन्छन् । कानुनको परिभाषादेखि लिएर न्यायको भाषा निरुपण गरुन्जेल पाइलैपिच्छे पितृसत्ताको जगजगी छ ।

अपराधको खबर बाहिर आइसकेपछि पुरुषमा उत्तेजना उत्पादन हुने लुगाका लम्बाइबारे सार्वजनिक स्तरमा चल्ने बहसको भाषा होस् या मृत पीडितलाई नै दोषी देखाएर अपराधी चोख्याउने प्रवृत्तिमा होस्, यता पनि आलोचनाको तारो महिला नै बन्छन् । त्यति मात्रै होइन, अपराधपछिका घटनाक्रममा सत्यनिरुपणको लिगेसी कसले लिने हो भन्ने विषयलाई पनि करिब–करिब महिला अधिकारवादीको मात्रै सरोकारभित्र राखेर उल्टै उनीहरूलाई डलर र युरो खान पाए मात्रै बोल्ने आरोप लगाइन्छ । यसो हुनुमा सार्वजनिक वृत्तमा बोलवाला र स्वीकृति रहेको मर्दवादी भाषिक चमत्कारकै भूमिका छ । कारण, सार्वजनिक वृत्तमा अझै पनि महिला वर्ग सिमान्तीकृत नै हो । त्यहाँ त्यस्तै विवेकहीन पुरुष अट्टाहासकै वर्चस्व छ । त्यहाँ ज जसले ‘धृष्ट’ पहल गरेर बोल्छन्, ती अधिकारकर्मी होइनन्, ‘धिक्कारकर्मी’ भनिन्छन् ।

यौनजन्य हिंसाबारे बारम्बार लेखिरहने लेखक राजेन्द्र महर्जन बलात्कारका घटनासँग व्यक्तिको, समाजको मर्दवादी र स्त्रीद्वेषी मनोविज्ञानको भूमिका छ भन्छन् । यही मनोविज्ञान हो, जसले आपराधिक मनोवृत्तिको बिजारोपण गराउँछ । त्यसलाई मलजल गर्छ । यसैको संरक्षणमा फल्छन्, फुल्छन्, ‘महिलाको इज्जत सियोको टुप्पोमा हुन्छ’ भन्नेदेखि महिलाको निजत्वलाई ‘सेतो कपडा’सँग दाँज्नेसम्मका संकथन । त्यसैमा संरक्षित हुन्छ, अनेक कूटनीति गरेर पीडकलाई उन्मुक्ति दिने खेल । यो पुरुषले मात्रै गर्दैन, उस्तै परे हामी महिलाले पनि गर्छौं । समस्यालाई जता पल्टाएर हेरे पनि महिला नै दोषी बन्ने पद्धतिगत मनोविज्ञानलाई समूल नउखेल्ने हो भने तथाकथित मर्दवादको भट्टीमा धेरै बहिनी र छोरीहरूको आहुति हुनेछ ।
***

हामीकहाँ बलात्कार र हत्याका हरेक घटनापछि फाँसीको सजाय गर्नुपर्ने माग उठ्छ र बिस्तारै सेलाउँछ । मृत्युदण्डको कानुनको निर्माण गरेर मात्रै अपराध रोकिने रहेनछ भन्ने उदाहरण भारतको मुजफ्फरपुरस्थित बालिका गृहको हालै सार्वजनिक सनसनीखेज काण्डले दिएको छ । हिंसाको मनसायलाई छेक्ने चिज कानुन मात्रै पनि रहेनछ, जब कानुन पैसा, पद र पावरमा विनिमय हुुन्छ ।

हामीले अब सोच्नैपर्नेछ– कानुनले निषेध नै गरेका हाडनातासमेत नभनी, कलिला बच्ची, वृद्ध आमा र पितृ हुन लागेका हजुरआमा पनि नभनी कामुक तृष्णाको पछि लाग्ने पुरुषको उत्पादन कहाँ भएको छ ? के यी पुरुष हाम्रै बीचबाट, हाम्रै घर जस्केलाबाट निस्केका हाम्रा भाइ, छोरा, बाउ, दाजुहरू नै होइनन् ? अपराधका घटना देख्दा च्व:च्व: पनि गर्ने तर अपराधीलाई आफ्नै माझमा राखेर संरक्षण गर्ने हामी नै होइनौं ? हामीले कस्तो पुरुष उत्पादन गरेका छौं ? हाम्रो पद्धति र मनोविज्ञानले बनाएको पुरुषको चरित्र के हो ? यसको दोषी एक्लो पुरुष मात्रै हो कि सिंगो पद्धतिगत मनोविज्ञान ? यसलाई कहाँ–कहाँबाट सच्याउने? यसबारे गम्भीर भएर सोच्न ढिला भयो कि?

प्रकाशित : श्रावण १४, २०७५ ०७:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT