कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माछी मार न हो...

लोक–संगीत
धेरै वर्षसम्म इराक–अफगानिस्तानतिर हराएका लोकगायक नवीन एक पटक गाम्नाङटारमा भेटिए । अहिले उनी काठमाडौंवासी भएका रहेछन्, पुराना दिन र क्षणहरूमा रमाएर घरैभित्र बसिरहेका रहेछन् ।

काठमाडौँ — गाउँमा सेना पुलिसमा जागिर खाने लहर थियो । भर्ती जाने सोचले उनी राजधानी पुगे । सुरुमा ब्रिटिस आर्मीमा छिर्ने रहर पलायो । सबै कुरामा पास भए । अन्तमा क्षत्रीको छोरो भएको कारण फालिए । त्यसपछि इन्डियन आर्मीमा गई हेरे तर मनले मानेन । नेपाली सेनामा एक नम्बरमा भर्ती भए ।  

माछी मार न हो...

उनी थिए, वाच्पु–४, पोकली ओखलढुंगाका नवीन ढुंगेल । सेनामा छिर्नासाथै उनले पत्तो पाए— अनेक मनोरञ्जन खोजिने थलो रहेछ त्यो । उनी परे रौसे । गाउँले मेला, जात्रा र एकराते बजारमा राम्रै मादल ठोकेका । नवीनले पल्टनभित्र कला नदेखाउने कुरै भएन । त्यसबेला त्रिभुवन जयन्तीको अवसरमा अधिराज्यव्यापी लोकगीत प्रतियोगिता हुन्थ्यो । २०३७ सालको प्रतियोगिताबारे सूचना गोर्खापत्रमा देखे । साथीहरूको हौस्याइमा उनले ७ सय ४० औँ नम्बरमा नाम दर्ता गराए ।

‘मेरो माया निरजालै कहा गइछौ यतिन्जेल,
खोजें मैले निरजालै परानले भेटिन्जेल,
काँचो कटहर, म जान्छु राङखोला रोक मोटर..’
उनको यो गीत प्रतियोगितामा प्रथम भयो । राजारानीबाट १ हजार नगदसहित सम्मान पाए । त्यसपछि उनका लागि रेडियो नेपालको ढोका खुलिहाल्यो । उनले लगातार २०४३ सालसम्म रेडियो नेपालमा गीत गाए । यो अवधिमा उनले ६० गीत रेडियोमा रेकर्ड गराए । २०३८ सालमा नवीन ढुंगेल, सूर्य थुलुङ, तीर्थाकुमारी श्रेष्ठ र हीरा राई मिलेर संयुक्त रूपमा ‘माछी मार न हो दाइ हो, रक्सीलाई चटनी...’ बोलको गीत गाएका थिए । त्यसको चर्चा थामिनसक्नु भयो ।
‘साइकल सरर हो
साइकल सरर,
यो मायालाई सम्झँदा
मनै हरर’
नवीनको यो गीतले पनि नसोचेको चर्चा पायो । सेनामा प्रमोसन विवादले १९ वर्ष काम गरेपछि २०५६ सालमा पेन्सन नलिईकन उनले जागिर छाडे । २०५८ सालमा रेखा शाहसँग ‘मन पर्ने एउटी साली छ, मान्छे त राम्रै हो अलि काली छ’ बोलको गीत गाए । त्यसले पनि उत्तिकै चर्चा बटुल्यो ।


त्यसपछि लामो समय गुपचुपजस्तै रहे नवीन । हालै आफ्नै भतिज राजु ढुंगेलसँग मिलेर ‘अकबरी सुन’ एल्बम निकाल्न भ्याए । नवीनको हालसम्म ७ एल्बम निस्किएका छन् । रेकर्डिङ भएका गीतको संख्या १ सय हाराहारी छ । उनका अनुसार, रेडियो नेपालमा रेकर्ड भएका धेरैजसो पुराना गीतहरू आज हराइसकेका छन् । ती गीतलाई ‘रिमेक’ गर्ने सोच छँदैछ । ‘अब त बूढो पनि भएँ, स्वर पनि बिग्रँदै गएको छ,’ उमेरमा ६० नाघेका नवीनले भने, ‘आफ्ना सिर्जना नमरुन भनेर रिमेक गर्ने सोच बनाएको छु ।’


पूर्वेली लोकभाका घट्दै गएकोमा नवीनलाई चिन्ता छ । गायक–गायिका अल्छे भएपछि र मिडियाले सस्तो लोकप्रियतालाई साथ दिँदा पूर्वेली लोकभाका ओझेलमा परेको उनको बुझाइ छ । नवीनका सहपाठी हुन्— संगीतकर्मी बुलु मुकारुङ । मुकारुङ हाल रेडियो नेपालमै कार्यरत छन् । तर, उनै मुकारुङसँग गाएको ‘पानी कुवैको, घरबार छैन नि लैले हामी दुवैको’ भन्ने गीत रेडियो नेपालमैं भेटिएन । ‘भोजपुरैको डबली मेलैमा, हाँसौ खेलौँ ए हजुर भेट भाको बेलैमा’ गीत पनि हरायो ।


नवीन धन कमाउने सपनाको गोडमेल गर्न विगतमा ५ वर्षका लागि इराक पनि पुगेका रहेछन् । इराकी राष्ट्रपति सद्दाम हुसेन मारिएपछि लादेन मार्ने सेनाको पल्टनसँग अफगानिस्तानको काबुल पनि पुगेका रहेछन् । तर, जीउज्यान सम्झिएर उनी काबुलबाट भने घरै फर्किए । नवीनले आफ्नै छोरा अभय र भतिज राजुसँग मिलेर निकै गीत गएका छन् ।


नवीनसँगैका साथीहरू राम थापा, सुन्दर श्रेष्ठ, रामशरण नेपाली स्वर्गवास भइसके । रेडियोमा ‘दाजु’ मानेको पाण्डव सुनुवार पनि यो संसारमा आज छैनन् । अरूभन्दा पनि आफूले गाएका र रेकर्ड राखेका गीतहरू आज नभेटिँदा नवीन चित्त दु:खाएर बसेका छन् । भन्छन्, ‘श्रोताले सम्झिए कि बिर्सिए थाहा छैन । मैले भने लोकगीत बिर्सिसकेको छुइन ।’
–कुम्भराज राई

प्रकाशित : भाद्र २, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?