कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात्तीको पछिपछि

वन्यजन्तु
अध्ययनअनुसार नेपालमा जंगली हात्तीको संख्या बढीमा १४५ छ । तर, यो यकिन होइन, अनुमानित संख्या मात्रै हो । पछिल्ला वर्षमा बढेको हात्ती वितण्डा हेर्दा यो संख्या निकै बढेको अनुमान गरिएको छ ।

काठमाडौँ — हात्ती विभिन्न समूहमा हिंड्छन् । भालेपोथी सँगै पनि हिंड्छन् । त्यस्तो बेलामा भाले गार्डको रूपमा पछिपछि हुन्छ भने पोथी अघिअघि । पोथी आकारमा ठूलो पनि हुन्छ । बच्चाहरू भाले–पोथीकै बीचमा लुकेर हिंडेका हुन्छन् । लोनर (सिङ्गल) हिंड्ने हात्ती पनि हुन्छन् । पर्सामा ‘लोनर’ हात्ती पनि छन् ।

हात्तीको पछिपछि

झापादेखि कञ्चनपुरसम्म जंगली हात्ती कति होलान् ? अनि झापाका हात्ती सर्लाही हुँदै पर्सासम्म आउजाउ गर्छन्/गर्दैनन् ? पर्साका हात्ती कोसी र झापासम्म माइग्रेट गर्छन्/गर्दैनन् ? हात्तीले गर्ने मानवीय क्षतिको आँकडा कस्तो छ ?


युवा संरक्षणकर्मी अशोककुमार राम एक वर्षयता यी प्रश्नको उत्तरको खोजीमा तराईका जंगलमा भौंतारिरहेका छन् । खोजीमा उनी घरी कोसी पुग्छन्, त घरी झापाका हात्ती प्रभावित क्षेत्र । कहिले बारा, पर्सा, सर्लाहीका जंगल घुम्छन् त कहिले चितवन, बर्दिया, शुक्लाफाँटाका लालझाडी र मोहना । यो अध्ययन अबको तीन वर्ष चलिरहनेछ ।


हात्तीमै विद्यावारिधि गरेका नरेन्द्रमानबाबु प्रधानको सन् २००७ को अध्ययनअनुसार नेपालमा जंगली हात्तीको संख्या १०७ देखि १४५ छ । तर, पछिल्ला वर्षमा बढेको मानव–हात्ती द्वन्द्व र हात्तीको वितण्डा हेर्दा संख्या बढेको अनुमान संरक्षणकर्मीको छ । ‘हो, वास्तविक हात्तीको संख्या बढेको छ कि छैन भनेर मैंले जेनेटिक (वंशाणुगत) अध्ययन गर्न खोजेको हुँ,’ पर्सा निकुञ्जमा सहायक वार्डेन रहेका अशोक भन्छन्, ‘एक वर्षयता मेरो अध्ययन जारी छ ।’


नेपालमा पूर्वदेखि पश्चिमसम्म हात्तीको चारवटा ‘सब पपुलेसन’ छ भन्ने बुझाइ छ । ती हुन्— पूर्वमा झापादेखि कोसीसम्म, सर्लाहीदेखि चितवन/पर्सासम्म, दाङ, बाँके र बर्दियासम्म र कञ्चनपुरको शुक्लाफाँटा लालझाडी र मोहनासम्म । वाइल्डलाइफ इन्स्टिच्युट अफ इन्डिया, देहरादुनबाट ‘इलेफेन्ट इकोलोजी’ मा पीएचडी (विद्यावारिधि) गर्दै गरेका अशोकको अध्ययन क्षेत्र झापादेखि कञ्चनपुरसम्म हो । यसबीचमा तराईका १८ र चुरेका ३ गरी २१ जिल्ला पर्छन् ।


झापामा भारतको पश्चिम बंगालदेखि हात्तीको बथान आउँछ र बेलाबेलै वितण्डा मच्चाउँछ । स्थायी रूपमा झापामा जम्मा १० देखि १२ वटा रैथाने हात्ती छन् । त्यहींका केही हात्ती सुनसरी/सप्तरीको कोसीटप्पु वन्यजन्तु आरक्षसम्मै आउँछन् । कोसीमै पनि ९ देखि १० रैथाने हात्ती छन् । पूर्वी क्षेत्रका ती हात्ती कमला खोला कट्दैनन् भन्ने विश्वास थियो । तर, पूर्वी क्षेत्रका हात्ती अहिले सिन्धुली हुँदै बर्दिबास, सर्लाहीसम्मै आएर वितण्डा मच्चाउने गरेको अशोक सुनाउँछन् । ‘पीएचडी शोधमा हात्तीको जेनेटिकल्ली एक ठाउँबाट अर्को ठाउँसम्म कनेक्टेड छ कि छैन भनेर अध्ययन गर्न खोजेको छु’ उनी भन्छन् । योबाहेक नेपालका चारवटा ब्लकमा जंगली हात्ती यति नै हुन् भनेर यकिन नभएकाले अशोकले जेनेटिक एनेलाइसिस गरेर संख्या पत्ता लगाउन खोजेका हुन् ।


अशोकका अनुसार हात्ती विभिन्न समूहमा हिंड्छन् । भालेपोथी सँगै पनि हिंड्छन् । त्यस्तो बेलामा भाले गार्डको रूपमा पछिपछि हुन्छ भने पोथी अघिअघि । पोथी आकारमा ठूलो पनि हुन्छ । बच्चाहरू भाले पोथीकै बीचमा लुकेर हिंडेका हुन्छन् । लोनर (सिङ्गल) हिंड्ने हात्ती पनि हुन्छन् । पर्सामा ‘लोनर’ हात्ती पनि छन् ।


अध्ययनको अर्को विषय हो— हात्तीको परम्परागत बासस्थान रहेको चारवटा ब्लकका हात्तीको माइग्रेसन हुन्छ कि हुँदैन ? ‘चारवटा ब्लकका हात्ती एकअर्कामा कनेक्टेड छन् कि छैनन् भनेर पनि हेरिरहेको छु,’ उनी भन्छन् । झापा, कोसीटप्पु आसपास, सर्लाही, पर्सा निकुञ्जको आसपास, चितवनको माडी उपत्यकासहित मध्यवर्ती क्षेत्र, दाङ, बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र, शुक्लाफाँटा निकुञ्जको मध्यवर्ती क्षेत्र हात्तीबाट मुख्य प्रभावित क्षेत्र हुन् ।


ती क्षेत्रमा बर्सेनि हात्तीले मान्छेको ज्यान लिन्छ । बालीनाली विनाश गर्छ र घर तहसनहस पार्छ । बर्सेनि हात्तीले गर्ने मानवीय क्षति कति हो यकिन हुन सकेको छैन । निकुञ्ज र आरक्षक्षेत्र तथा मध्यवर्ती क्षेत्रमा भएको क्षतिको विवरण राष्ट्रिय निकुञ्ज विभागमा उपलव्ध भए पनि पूर्ण छैन । त्यही भएर अशोकले बर्सेनि हुने क्षतिको अवस्थाबारे पनि पीएचडी अध्ययनमा समेट्न खोजेका छन् । ‘मिहिन तरिकाले अध्ययन गरेर वार्षिक रूपमा हुने क्षतिको विवरण निकाल्ने प्रयासमा छु,’ उनी भन्छन्, ‘त्यसले मानव–वन्यजन्तु द्वन्द्वको अवस्था थाहा हुन सक्छ ।’


पछिल्ला वर्षमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । त्यसैले सरकारले भर्खरै वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ दिने नीतिगत व्यवस्था गरेको छ । यस्तै, घाइते हुने र बाली र घर गोठ क्षति भएका परिवारलाई पनि क्षतिपूर्तिको व्यवस्था गरिएको छ ।


अशोकको अध्ययनको अर्को विषय हो— हात्तीको बासस्थान (हयाबिटयाट) कत्तिको सुरक्षित छ ? जनसंख्या विस्तारसँगै भएको वन विनाशले हात्तीको परम्परागत बाटो विछिन्न मात्र भएको छैन, हात्ती हिंड्ने बाटोमा ठूला संरचना बनेका कारण पनि अवरोध बढ्दो छ । ‘हात्तीले आफ्नो बाटो सोचेर निर्धक्क आउजाउ गरेको हुन्छ,’ अशोक सुनाउँछन्, ‘तर, मान्छेले त्यसैलाई डिस्टर्ब गरेको सम्झन्छ ।’ पूर्वदेखि पश्चिमसम्मै हात्तीको बासस्थानका बारे अध्ययन गर्ने अशोकको योजना छ । ‘हात्ती पाइने सबै क्षेत्र कनेक्टेड छैन,’ उनी भन्छन्, ‘सर्लाहीको वाग्मतीदेखि झापासम्म सम्पर्क (मार्ग) गराउन सके हात्तीको वासस्थान सुरक्षित हुनेछ ।’


सर्लाहीको वाग्मतीदेखि कञ्चनपुरसम्म सञ्चालित तराई भू–परिधि कार्यक्रम (ताल) ले हात्ती, बाघ, गैंडाजस्ता ‘ठूला वन्यजन्तु’ (मेघा स्पिसिज) को आउजाउ र संख्या विस्तारमा सहयोगी भूमिका खेलेको संरक्षणकर्मीको बुझाइ छ । ‘तर, वाग्मतीदेखि झापासम्म फैलिएको बासस्थान खलबलिएकाले कनेक्टिभिटी गाह्रो छ,’ अशोक भन्छन्, ‘हात्ती प्रजाति तितरबितर भएका छन् ।’
–अब्दुल्लाह मियाँ

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?