कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘दक्षिणायन’ मा इल्या

पुस्तक

काठमाडौँ — स्रष्टा इल्या भट्टराईको ‘दक्षिणायन’ नियात्रासङ्ग्रह आध्यात्मिक एवं सांस्कृतिक धरातलमा लेखिएको महत्त्वपूर्ण कृति हो । डिकुरा पब्लिकेसनले हालै प्रकाशनमा ल्याएको ‘दक्षिणायन’ लाई भावनात्मक सौन्दर्यको द्योतकका रूपमा मूल्यांकन गर्न सकिन्छ ।

‘दक्षिणायन’ मा इल्या

नेपालभित्र र बाहिरका विभिन्न देशको भ्रमण गरेकी गरेकी इल्या नियात्रा लेखनमा रुचि राख्ने स्रष्टा हुन् । ‘दक्षिणायन’ नियात्रामा नेपालको छिमेकी देश भारतका केही महत्त्वपूर्ण ठाउँको भ्रमण गर्दाको आध्यात्मिक, सामाजिक, सांस्कृतिक एवं भौगालिक अनुभूतिलाई २० शीर्षकमा समेटिएको छ । नियात्रा पढिरहँदा बर्णन गरिएको ठाउँको अर्थ र महत्ता झल्काउने काम गरिएको छ । पुस्तकको शीर्षक ‘दक्षिणायन’ आफैंमा नौलो छ । दक्षिण भारतीय भूमि हरकुरामा उर्वर रहेको र अत्यधिक समुद्री किनार भएका ठाउँले यात्रुलाई लोभ्याउने गरेको विवरण नियात्रामा छ । काठमाडौंबाट दिल्ली हुँदै ‘मसलाको देश’ (केरला) पुग्दाको आनन्दमयी अनुभूति आफैंमा रोचक छ । लेखकको पहिलो भ्रमण भएको हुनाले १७ सिटे माइक्रोबसमा केरलाको प्रसिद्ध पर्यटकीय स्थल मुन्नारलाई गन्तव्य बनाएर भ्रमण गर्दा कतै आश्चय र कतै रोमाञ्चित हुनु स्वाभाविक हो । ‘कथकली अर्थात् नृत्यकला वाचन’ शीर्षकको लेख नृत्य नाटिका सम्बद्ध छ । त्यहाँको नाटिकामा प्रयोग हुने पहिरनबाट प्रभावित भएको सन्दर्भ यसमा आएको छ । यस्तै ‘महिमामयी मीनाक्षी मन्दिर’ मा मदुराईको मीनाक्षी मन्दिर वास्तुशिल्पले भरिपूर्ण रहेको भन्दै अद्भुत चित्रकलाको वर्णन गरिएको छ । ‘रामेश्वरम्को यात्रा’ मा समुद्रको किनारैकिनार यात्रा गर्दाको आनन्द र उत्सुकतालाई उतारिएको छ । दुई समुद्रको सङ्गम’ मा हिन्द महासागरले अरब सागरलाई अँगालो मार्ने ठाउँ कन्याकुमारी पुग्दा बोध गरेको आनन्दानुभूतिलाई उतारिएको छ ।


ठाउँठाउँको भौगोलिक दृश्यको बयानले नेपालको मनोरम प्राकृतिक सौन्दर्यलाई सम्झाएको छ । मुन्नार पुग्दा त्यहाँको आकर्षणले नगरकोटको सम्झना, थकथलीको भ्रमण गर्दा मामाघर पिपरामा हात्ती चढेको र चितवन लजमा भएको साहित्यगोष्ठीको सम्झना गरिएको छ । यात्रा वर्णनमा भावना र भक्ति, आस्था, प्रेम र विश्वासका कुरालाई यत्रतत्र उल्लेख गरिएको छ ।
—ठाकुर शर्मा भण्डारी

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?