कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वसन्तको नौ भाका

उद्योगीको रूपबाट बसन्त चौधरीको भिन्न र फराकिलो छवि छ । तर, कृतिमा डुुबुल्की मार्दै जाँदा कहीँकतै पनि उनको ‘उद्योगी छवि’ भेटाइँदैन । साहित्यमा उनी ‘सामान्य मानिस’ भएका छन् ।

काठमाडौँ — नेपालभित्रकै मातृभाषामा अनुवाद साहित्यको काम फाट्टफुट्ट भइरहेकै छ । कवि एवं गीतकार वसन्त चौधरीले भने एकसाथ नौवटा भाषामा आफ्नो कृति ल्याएर नौलो काम गरेका छन् । उनको कविता कृति ‘वसन्त’ को हालै नेपाली, हिन्दी, भोजपुरी, मैथिली, अंग्रेजी, नेपाल, तामाङ, बंगाली र मारवाडी भाषामा अनुवाद गरी सार्वजनिक गरिएको छ ।

वसन्तको नौ भाका

नेपाली भाषा–साहित्यकै इतिहासमा पहिलो बनेर आएको यो कामले मातृभाषी अनुवाद साहित्यलाई धनी बनाउने काम गरेको छ । यसले विभिन्न भाषिक समुदायलाई साहित्यमार्फत जोडिदिएर सद्भाव–सहअस्तित्वको कामसमेत गरेको छ ।


६० वटा कविता समेटिएको कृति ‘वसन्त’ लाई हिन्दीमा गोपाल अश्क, तामाङमा फूलमान वल, मैथिलीमा धीरेन्द्र प्रेमर्षी, भोजपुरीमा गोपाल ठाकुर, नेपाल (नेवारी) मा सुरेश किरण, अंग्रेजीमा डीबी गुरुङ, मारवाडीमा लक्ष्मण नेवटिया र बंगालीमा राजेन्द्र गुरागाईंले अनुवाद गरेका छन् । यी नौ अनुवाद कृतिहरू मातृभाषामा मात्र नभई दक्षिण एसियाली समाज र संस्कृति जोड्ने हिन्दी तथा अन्तर्राष्ट्रिय समाज जोड्ने अंग्रेजीमा समेत छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार थोरै संख्यामा भए पनि मुलुकभित्र यी दुवै भाषाको अस्तित्व छ । तर, चौधरीको कृतिको अनुवाद भने मुलुकभित्र र बाहिरका साहित्य अनुरागी दुवैलाई नेपाली स्वादका कविता उपलब्ध गराउने ध्येयसाथ भएको देखिन्छ ।


लामो समयदेखि गीत र कवितामा कलम चलाउँदै आएका र विश्व काव्य यात्राको नाममा नेपाली साहित्यलाई संसारभर प्रवद्र्धन गर्ने अभियानमा लागिपरेका चौधरीका अनूदित नौ पुस्तक आफैंमा प्रेमको धागोमा उनिएका सद्भाव–माला हुन् । कृतिभित्र माया र प्रेमका विषयवस्तुको आधिक्यता हुनु र त्यही विषयवस्तुमाथि लेखिएका सिर्जना अनेक भाषामा आउनुले यसलाई पुष्टि गर्छ । हुन त उद्योगीको रूपबाट चौधरीको भिन्न र फराकिलो छवि छ । तर, कृतिमा डुुबुल्की मार्दै जाँदा कहीँकतै पनि उनको ‘उद्योगी छवि’ भेटाइँदैन । साहित्यमा उनी ‘सामान्य मानिस’ भएका छन् । सार्वभौमझैं लाग्ने सरल, प्रेमिल र चोटिलो अभिव्यक्ति दिने एक इमानदार स्रष्टा भएका छन् । उनका अभिव्यक्तिलाई आ–आफ्ना मातृभाषामा आ–आफ्नै परिवेश, सांस्कृतिक विम्ब र विषयगत बुझाइका साथ प्रस्तुत गरेका छन् अनुवादकहरूले पनि ।


कविता पढ्दै जाँदा चौधरी मस्तिष्कका भन्दा बढी मनका कवि लाग्छन् । सायद उनले व्यवसायमा मस्तिष्क र साहित्यमा मन चलाए । सरलता उनका कविताको विशेषता हो । उनका कविता शब्दकोश नै पल्टाउने गरी शब्दजालमा अल्झिएका छैनन् । पाठकलाई पनि मस्तिष्कमा सकस पैदा गराउँदैन । दर्शनको ठेलीभित्र पसेर ऐठनलाग्दो यात्रा गर्नुपर्दैन । उनले आफ्नै दर्शन अभिव्यक्त गरेका छन् कवितामा– प्रेम, सद्भाव र सकारात्मक सोच । समालोचक डा. देवी नेपालले कृतिमा भनेका छन्, ‘वसन्तका कविताहरू मिस्री कविता हुन् । यस्ता कवितामा मस्तिष्कभन्दा हृदयको प्रबल उपस्थिति हुने गर्छ । उनका कविताहरू कानबाट सिधै हृदयमा पुग्छन् र लामो समयसम्म हृदयमा एक अनौठो तरङ्ग प्रदान गरिरहन्छन् ।


वसन्तका कवितामा सामाजिक समस्या, देशभक्ति, पितृभक्ति, मानवीय जीवनबोध, युगबोध, प्रकृतिप्रेम, मानवता वा राजनीतिक विकृति र वर्तमानको अन्योलग्रस्त परिवेशले पारेको प्रभावजस्ता विषय पनि संवेदनासँगै जोडिएर आएका छन् । प्रेमील अनुभूति, जीवनका आरोह–अवरोहमा जागेका मानवीयता, समृद्ध नेपाल बनाउन गरेका देशप्रेम, नि:स्वार्थ परिवारजनका माया–ममता र जीवनयात्रा क्रममा हृदयमा कैद स्मृतिमा केन्द्रित छन् धेरैजसो कविता । साधारण शीर्षक, गहना अनुभूति, सरल भाषाशैली र अनुच्छेद संरचना उनको अर्को विशेषता हो ।


चौधरीका ‘वसन्त’ काव्यकृतिभित्र सर्वत्र प्रेम नै प्रेम पाइन्छ । उनले विशेषगरी तीन प्रकृतिको प्रेमलाई कवितात्मक अभिव्यक्ति दिएका छन् । व्यक्तिगत प्रेम, देशप्रेम र पितृप्रेम । मात्रात्मक हिसाबले कृतिमा व्यक्तिगत प्रणयपरक सिर्जना बढी छन् । यस्ता प्रेममा उनले मान्छेभित्र हुने वैयक्तिक संवेदना, प्रेम–प्रणय र रागात्मक अनुभूतिलाई समेटेका छन् । तर, उनले प्रेमलाई शारीरिक अनुरागभन्दा माथि मन र मुटुभित्रको ईश्वरीय अनुभूतिका रूपमा लिएका छन् । उनको प्रेमप्रतिको दृष्टिकोण भौतिकभन्दा आध्यात्मिक छ । प्रेममा पर्दा मान्छेको मनमा पैदा हुने अनुभूतिजन्य गम्भीरता, विरह, व्याकुलता, रोमाञ्चकतादेखि कौतूहलसम्मका तत्त्वले उनका कवितालाई थप प्रेमिल बनाइदिएका छन् ।


देशप्रेम चौधरीका कविताको अर्को तत्त्व हो । ‘देश रोएको बेला’, ‘मेरो अर्कमण्यता’, ‘मेरो देश’ लगायतका कवितामा उनले राष्ट्र र राष्ट्रियताको वकालत गरेका छन् । समस्याको भुमरीमा फसिरहेको भए पनि उनी मुलुकप्रति आशावादी छन् । मुलुकको नवनिर्माणका लागि राजनीतिक र सामाजिक विसंगतिहरूको अन्त्य हुनुपर्नेजस्ता भाव पनि उनले कवितामा पोखाएका छन् । देशप्रेम प्रकट गर्ने सन्दर्भमा कतैकतै उनी निराश पनि भएका छन् । कतै राजनीतिक अर्कमण्यताप्रति झटारो पनि हानेका छन् त कतै विद्रोही चेतना पनि अभिव्यक्त गरेका छन् । ‘कापुरुष’, ‘हाय रे मान्छे’, ‘म बाँचेको वर्तमान’ जस्ता कवितामा व्रिदोह, निराशाजस्ता भाव प्रकट भए पनि अन्तर्यमा देशप्रतिकै प्रेम लुकेको पाइन्छ ।


‘राष्ट्रियता नदुखोस्’ र ‘संवाद’ (प्रबन्ध संग्रह), ‘मेघा’ (नेपाली र हिन्दी कवितासंग्रह) ‘मेरा कविताहरू’, ‘आँसुओं कि सियाही से’ जस्ता काव्य कृतिका धनी चौधरीका कविताको अर्को विशेषता हो– पितृप्रेम । आधुनिकीकरण र नयाँ बजार व्यवस्थाले मान्छे मान्छेबीच दूरी बढाउँदै लगेको अवस्था पितृ–पुर्खाप्रतिको प्रेमले खास अर्थ राख्छ । पितृ–पुर्खा भनेको व्यक्ति मात्र नभई सभ्यता, संस्कृति र अनुभवहरूको हस्तान्तरण प्रतीक पनि हो । यस्तो ज्ञान हस्तान्तरणको प्रक्रिया अहिले धूमिल बन्दै गइरहेको अवस्थामा चौधरीका पितृप्रेमी कविताहरू अर्थपूर्ण बन्न सक्छन् । यसबाहेक ‘बुबा तिम्रो सम्झनामा’, ‘थोपा पसिना’, ‘बुबा म तिम्रो आदर्शले रुझ्दै रहेँ’ जस्ता कविता पितृप्रेमका अब्बल नमुना हुन् । यो एकप्रकारले देशप्रेम नै हो । यस हिसाबले चौधरीका कविता कृति प्रेम नै प्रेमको संगालो हो ।
—रवीन्द्र तामाङ

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?