कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्वज्वलपा सिक्न ठिमी

भाषा
भारतीय नागरिक भए पनि तिलकलाई आफ्नो पुख्र्यौली संस्कार–संस्कृति जान्ने र त्यसलाई नजोगाए आफ्नो परिचय मासिने चिन्ता छ । उनले भावुक शैलीमा भने–चरा जहाँ गए पनि आफ्नो गुँडमा त आउनैपर्छ ।
जनकराज सापकोटा

काठमाडौँ — नेपालका अनेकन भेगबाट बसाइ सरेर भारतका विभिन्न प्रदेश पुगेका नेवारहरूसँग बचेखुचेको केही परम्परा र संस्कृति त छ, तर त्यो पुरानै स्वरूपमा छैन । कतिसम्म भने काठमाडौंमा बस्ने नेवार जातिले मनाउने क्वाँटी पूर्णिमा भारतको अरुणाञ्चल पुग्दा अपभ्रंश भएर कोक्ती पूर्णिमा बनिसकेको छ ।

ज्वज्वलपा सिक्न ठिमी

अरुणाञ्चल प्रदेशको राजधानी इटानगर सी–सेक्टर निवासी ४७ वर्षीय तिलकबहादुर प्रधानलाई सात वर्षअघिको एउटा दिनको झल्को बारम्बार आइरहन्छ । त्यसको विशेष कारण छ । किनकि त्यही दिनपछि हो— उनको दिमागमा आफ्नो पितापुर्खाको थातथलो याद आउन थालेको । म को हुँ ? मेरो आफ्नै परम्परा र संस्कार के हो ? यी र यस्तै अनन्त प्रश्न उनको मनमा छड्किन थालेको ।
स्थानीय सिभिल सेक्रेटरी डिपार्टमेन्टमा कार्यरत तिलकले एक भेटमा विशेष दिनको बेलीविस्तार लगाए । त्यो विशेष दिनको कथा सुनाउनुअघि उनले ७६ वर्षीय बाबु कृष्णबहादुर प्रधानको ‘यायाबरी’ कथा पनि बताए । करिब ५८ वर्षअघिको कुरा हो । भोजपुरको दावाँ, गैरीगाउँबाट १८/१९ वर्षका कृष्णबहादुर आफ्नै उमेरकी एक किशोरीलाई भगाएर भारतको आसाम पुगेका थिए । गाउँ नै छोडेर हिंडेपछि कृष्णलाई यता फर्किन कहिल्यै मन भएन । उनी वर्षौंसम्म आसाममा जीविकाको खोजीमा कुदिरहे । समयको अर्को रन्कोमा उनी जागिर खोज्दै अरुणाञ्चल पुगे । त्यही जन्मिए तिलक । हुर्किंदै गएपछि र आफैं बा बनेपछि तिलकलाई ख्याल भयो— अरे, म त नेवार हुँ । उसोभए मेरो आफ्नै परम्परा र संस्कार के हो ?


सात वर्षअघि तिलक आफ्ना बा, आमा र भाइसँग पुख्र्यौली थलो खोज्दै भोजपुर नै पुगे । तिलकले त्यो दिनको सम्झना सुनाउँदै भने, ‘आधा बाटोसम्म त ठीकै थियो । त्यसपछि भने बाका बाल दौंतरीले बाटोमै चिनिगए । अनि उनीहरूले नै घर जाने बाटो देखाइदिए ।’ ५० वर्षपछि आफू तातेताते गरेर हुर्केको गाउँघर पुग्दा कृष्ण भावविह्वल भए । तिलकले सुनाए, ‘आमा–बा पुराना दिन सम्झेर रुनुभयो । हामी पनि भावुक भयौं ।’


यिनै तिलक केही दिनयता भक्तपुरको चापाचोमा छन् । महिना दिन यतै बस्ने गरेर आएका तिलक नेवारी भाषा, परम्परा र संस्कृति सिक्न, जान्न र बुझ्न कक्षा धाइरहेका छन् । नेवारी भाषा–संस्कृति र परम्पराको जगेर्नामा लागिपरेका गणेशबहादुर लाछीको अगुवाइ र दबुली नेपालको आयोजनामा अहिले भक्तपुरमा एक महिना लामो नेवारी भाषा–संस्कृति र परम्पराको कक्षा चलिरहेको छ । जसमा सहभागी छन्— इतिहासको कुनै कित्तामा नेपालबाट बसाइ सरेर भारतको विभिन्न प्रदेशमा पुगेका नेवार समुदायका सन्तान, दरसन्तान ।


चापाचोस्थित विनायक शिक्षा निकेतनको एउटा कक्षामा सञ्चालित पढाइको संयोजन गरिरहेका गणेशका अनुसार भारतको आसाम, अरुणाञ्चल, सिक्किम र पश्चिम बंगालका बीस विद्यार्थी कक्षामा सहभागी छन् । यी विद्यार्थी साताको ६ दिन पढ्छन् र एक दिन विभिन्न नेवारी सांस्कृतिक जात्रा, पर्वहरूको प्रत्यक्ष अवलोकनमा सहभागी हुनेछन् । दैनिक ६ विभिन्न शिक्षकबाट पढाइ हुने कक्षामा नेवारी भाषा, नेपाल संस्कारमा वैज्ञानिकता, संस्कृति, नेवारी नृत्य कला र चर्या नृत्यको फरक–फरक कक्षा सञ्चालन हुन्छ । खाने, बस्ने र पढाइको सबै नि:शुल्क प्रबन्ध गरिरहेको आयोजक संस्थाले नेदरल्यान्ड, पोर्चुगल, जापान, क्यानडा, यूएई, अमेरिका, बेलायत र भारतमा रहेको विभिन्न नेवार समुदायसम्बद्ध संस्थाले आर्थिक सहयोग गरेका छन् । त्रिभुवन विश्वविद्यालयको नेपाल भाषा विभागले ६ शिक्षक उपलब्ध गराइदिएको छ भने स्थानीय केही संघसंस्थाले आर्थिक र अन्य सहयोग गरेका छन् ।


यही कक्षाकी अर्की विद्यार्थी हुन्— अरुणाञ्चल प्रदेशको पपुमपारा जिल्लाको डी सेक्टरकी दीपा श्रेष्ठ । बैंग्लोरको गार्डेन सिडी कलेजमा नर्सिङ पढ्न जाँदा उनको भेट नेपालबाट पढ्न गएका नेवार समुदायका विद्यार्थीसँग भयो । त्यही बेला उनले थाहा पाइन्, श्रेष्ठ भनेको नेवार समुदायको रहेको छ । यसको आफ्नै भाषा, परम्परा र विशिष्ट संस्कार रहेछ । पढाइकै बेला उनले साथीहरूबाट धेरथोर नेवार परम्पराबारे सिकिन् । ‘ज्वज्वलपा’ भन्न पनि यही बेला सिकिन् । पढाइ सकेर अरुणाञ्चल फर्केपछि उनको मनमा आफ्नो भाषा र परम्पराबारे झनै धेरै खुल्दुली बढयो । भारतीय सेनामा रहेका दाइलाई उनले सबै कुरा सुनाइन् । त्यसपछि त उनका दाइले पनि नेवारी भाषा–संस्कृतिबारे जान्न युट्युब खोतल्न थाले । आफूले हेरेको र राम्रो लागेका दृश्य सामग्री दीपालाई पनि पठाइदिन थाले ।


दीपालाई आफ्नो परिवारको इतिहासबारे धेरै कुरा थाहा छैन । दुई वर्षअघि बित्नुभएका बुबाबाट उनले आफ्नो परिवारको धेरथोर इतिहास थाहा पाएकी थिइन् । उनले भनिन्, ‘धेरै वर्षपहिले बुवाहरू नेपालको पहाडबाट जागिर खोज्दै आसाम जानुभएको रे ।’ दीपाका अनुसार उनको बुवा आसामको लखिमपुरमा फलफूलको व्यापारको काम गर्नुभयो, त्यहीं बिहे गर्नुभयो र ४५ वर्षको आसाम बसाइ टुंग्याएर अरुणाञ्चल पुग्नुभयो ।


थातथलो जहाँ पुगे पनि उनको मनमा आफ्नो संस्कार र संस्कृति सिक्ने धोको हुर्किरहयो । दीपाका ठूलाबाहरू अहिले पनि धरानमा छन् । उनी केही वर्षको अन्तरालमा दसैं कुलपूजाको छेको पारेर धरान पनि आउँछिन् । उनको नेपाल साइनोको अर्को कारण माइली दिदी हुन् जसले सुनसरी झुम्काका नेवारसँग बिहे गरेकी छन् ।


नेपालका अनेकन भेगबाट बसाइँ सरेर भारतका विभिन्न प्रदेशमा पुगेका नेवारहरूसँग बचेखुचेको केही परम्परा र संस्कृति त छ, तर त्यो पुरानै स्वरूपमा छैन । दीपाले सुनाइन्, ‘हामी कोक्ती पूर्णिमा मनाउँछौं ।’ छेवैमा रहेको गणेश उनको कुरा सुनेर हाँसे । गणेशले भारतका विभिन्न प्रदेशमा छरिएका नेवारहरूसँगको आफ्नो संगतको अनुभव सुनाउँदै भने, ‘ले हेर्नुस् न, क्वाँटी पूर्णिमा त अरुणाञ्चलमा अपभ्रंश भएर कोक्ती भएछ ।’ उनले संस्कृति सिक्ने र सिकाउने अभ्यासको अभावमा अपभ्रंश भएका अरू केही उदाहरण पनि सुनाए । म सिक्किम पुगेर नेवार समुदायलाई ढलोट वा काँसबाट बनेको बत्ती बाल्नेलाई ‘सुकुन्दा’ भन्छन् भनेर सिकाए । तर, पछि त त्यहाँ त्यसलाई कुसुन्दा भनेर पो उच्चारण गर्न थालेछन् ।


आफ्ना २० र १८ वर्षीय छोरासमेत लिएर भक्तपुर आएका तिलकलाई यतिबेला आफ्नो परम्परा/भाषा सिकेर भारतभर छरिएका नेवार समुदायलाई सिकाउने हुटहुटी छ । भारतीय नागरिक भए पनि तिलकलाई आफ्नो पुख्र्यौली संस्कार–संस्कृति जान्ने र त्यसलाई नजोगाए आफ्नो परिचय मासिने चिन्ता छ । उनले भावुक शैलीमा भने, ‘चरा जहाँ गए पनि आफ्नो गुँडमा त आउनैपर्छ ।’


पश्चिम बंगाल, डुबर्स, प्रगति टोलका ४९ वर्षीय गणेशबहादुर प्रधान पेसाले शिक्षक हुन् । तर, उनी केही दिनयता आफ्नो परम्परा र भाषा सिक्न भक्तपुरमा विद्यार्थी बनिरहेका छन् । १९६० तिर सिक्किमबाट उनका बा–आमा डुबर्स गएको इतिहास उनलाई कण्ठ छ । तर, उनको पुर्खा कहाँबाट कसरी र कहिले सिक्किम पुगे त ? त्यसबारे उनलाई केही थाहा छैन । गणेशले बाबुबाट सुनेको कुरा सुनाउँदै भने, ‘भन्न त हामीलाई कीर्तिपुरे भन्छन्, हाम्रा पितापुर्खा कीर्तिपुरबाट गएका हुन् कि भन्ने अनुमान छ ।’


सन् १९७५ मा सिक्किम भारतमा विलय हुनुअघि नै उनका बाबु पश्चिम बंगाल पुगेका थिए । गणेशले बाबुबाट सुनेको कुराका आधारमा भने, ‘सिक्किममा झारलंगी नामको कानुन थियो रे । राजाको आदेश अटेर गर्नेलाई ‘ठिग्रो मुन्टो’ सजाय दिइन्थ्यो रे । सजायस्वरूप नुन लिन एक दिन एक रात हिँड्नुपर्ने बाटो काटेर जोरथाङ र मल्लीसम्म पुग्नुपथ्र्यो रे ।’ यस्तै शासकीय व्यवहार खप्न नसकेर उनका बा थर्बु, मङसारीबाट जहानसहित पश्चिम बंगाल हान्निएका थिए । सिक्किम भारतमा विलय भएको वर्षौंपछि र ग्रयाजुएसन पढाइ सकेपछि गणेश आफ्नो बाको पुरानो जायजेथा पाउन सकिन्छ कि भनेर थर्बु, मङसारी पुगेका रहेछन् । तर, आफन्तबाटै सहयोग नपाएपछि उनी रित्तो फर्के ।


दार्जिलिङ नेवा संगठन, जयगाउँ शाखाको सचिव भइसकेका गणेशलाई यतिबेला आफ्नो पुर्खाको इतिहास जान्ने र आफ्नो जरो गाडिएको भाषा–संस्कृति परम्परा जान्ने धोको छ । त्यही रहरले भक्तपुर आइपुगेका उनले सुनाए, ‘अहिले हामी डुबर्स क्षेत्रका नेवारहरू संगठित हुँदै छौं । जयगाउँमा मात्रै ८५ नेवार घर संगठित भइसके ।’ गणेशले भनेजस्तै अहिले भारतका आसाम, अरुणाञ्चल, बैंग्लोर, झारखण्ड, देहरादून र दिल्लीमा रहेका नेवारहरू संगठित हुने क्रममा छन् ।


दीपा र तिलकको अनुभवमा अरुणाञ्चल प्रदेशमा अल्पसंख्यक रूपमा रहेका नेवारहरू ब्राह्मण–क्षत्रीको संस्कार र परम्पराको छायामा छन् । यतिबेला भने अरुणाञ्चलमा रहेको करिब २ सय ५० नेवारी परिवार आफ्नो भाषा, संस्कार र परम्पराको खोजीमा छन् ।


भारतको केन्द्रीय सरकारले ११ जातिलाई ‘सेडयुल ट्राइब’ को सूचीमा राख्ने तयारी थालेको छ । यस्तो सूचीमा पर्न आफ्नै भाषा, संस्कार र संस्कृति भएको हुनुपर्ने सर्त छ । सरकारी नीतिका कारण पनि पछिल्लो समय नेवारहरूमा आफ्नो संस्कृति खोजी गर्ने क्रम बढेको हो । तिलकका अनुसार यस्तो सूचीमा पर्न सके विभिन्न पेसामा आरक्षण कोटामा पर्न सकिने र अन्य सुविधा पाइने हुन्छ । ‘अहिले त हामी आफ्नो परम्पराको खोजी चरणमा छौं,’ उनले भने, ‘संगठित भएर लागेपछि मैले बिस्तारै आफ्नो संस्कृतिको विविधता र यसको महत्त्व थाहा पाउँदै छु ।’


आसामको उडलगुरी जिल्ला, कादाबिलका ३७ वर्षीय हरिबहादुर नेवार अर्का विद्यार्थी हुन् जो आफ्नो परम्परा र संस्कृति विविधताबारे जान्न–देख्न पाउँदा छक्कै परेका छन् । गणेशजस्तै उनलाई पनि आफ्ना पुर्खाको थातथलोबारे धेरै थाहा छैन । उनले आफ्ना ७६ वर्षीय बुवाबाट यति मात्रै सुनेका छन्, जिजुहजुरबा इतिहासको कुनै समयमा कीर्तिपुरबाट आसाम पुगेका थिए । गणेशले आफ्नो बूढो मावली नेपालको मधेसमा बस्छन् रे भन्ने घुर्मैलो कुरा सुनेका छन् । तर, विस्तृत केही थाहा छैन । हरिबहादुरलाई नेवार छुट्टै जाति हो, जसको आफ्नो विशिष्ट परम्परा र रीतिरिवाज छ भन्ने थाहा छ । त्यही सिक्न र जान्न उनी भक्तपुर आएका हुन् । उनले भने, ‘अहिलेसम्म अरू जातिकै नियम मानिरहेका छौं भन्ने बल्ल थाहा भयो ।’


उनका अनुसार उनी बसेको जिल्लामा सन् २००७ मा उडलगुरी, नेवा : जिल्ला समिति गठन भएको छ । यो समितिले गाउँगाउँमा शाखा थपिरहेको छ । हरि त्यही संगठनमाझ शाखा सचिव हुन् । उनका अनुसार संगठित बन्दै गएपछि आफ्नो परम्परा खोज्ने र त्यसलाई व्यवहारमा ल्याउने काम भइरहेको छ । उनले सुनाए, ‘पहिले बेल विवाह मात्रै हुन्थ्यो । अहिले गुफा राख्ने चलन पनि सुरु भएको छ ।’ उनले कसरी भारतमा बिस्तारै नेवा: संस्कृतिले पालुवा हाल्दै छ भनेर सुनाए । सिक्किममा त १२/१५ वर्षयता इन्द्रजात्रा नै गर्छन् । सिक्किम सरकारले त्यस दिन सार्वजनिक बिदा नै दिन्छ । उनका अनुसार नेवारी पहिरन र परिकारबारे बिस्तारै चासो बढ्दै गएको छ । उनले केही महिनाअघि काठमाडौंबाट फर्केको केही आसामेलीहरूले नेवारी हाकुपटासी लगेर आसाममा कारोबार गरेको सुनाउँदै भने, ‘आफ्नो सांस्कृतिक विशिष्टताको भोक बिस्तारै जाग्दै छ ।’

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?