कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कछुवाको गति

फोटो
सिमसार क्षेत्रसँग जोडिएर बस्ने दुर्लभ प्रजाति हो कछुवा । सिमसार संरक्षणमा अनेक कार्यक्रम भए पनि त्यसैमा जीवनचक्र निर्वाह गर्ने कछुवामाथि भने त्यति चासो राखिएको पाइन्न ।

काठमाडौँ — संसारमा लोपोन्मुख जीवका रूपमा चिनिएको कछुवाको कथा नेपालमा भने केही आसलाग्दो छ— संरक्षण–संवद्र्धन हिसाबमा । कछुवा जोगाउन विश्वव्यापी रूपमा ‘टर्टल सर्भाइभल एलाइन्स’ सञ्चालनमा छ । तर, नेपालमा सरकारी तहमा कछुवा संरक्षणका लागि उल्लेख्य केही काम नभए पनि निजी क्षेत्र भने यो विषयमा चनाखो देखिन्छ ।

कछुवाको गति

कछुवा उद्धार तथा संरक्षणका लागि नेपालमा विशेष केन्द्र स्थापना भएका छन्— चितवन र झापामा । ‘आर्को नेपाल’ (एम्फिबियन एन्ड रेप्टाइल कन्जर्भेसन अफ नेपाल) संस्थाको पहलमा १८ वर्षअघि चितवन राष्ट्रिय निकुञ्ज र ६ वर्षअघि झापाको अर्जुनधारा­स्थित सहिद स्मृति उद्यानमा कछुवा केन्द्र स्थापित छ ।


प्रचलित सुखानी जंगलको छेवैमा रहेको उद्यान क्षेत्रअन्तर्गत झन्डै ३४ कठ्ठा जमिनमा कछुवा पोखरी, प्रजनन केन्द्र, शैक्षिक केन्द्र, प्रकृति सूचना पथ, जलीय र स्थलीय प्रजातिको संरक्षण मुकाम बनेको छ । यो स्थलको सुखानी सहिद स्मृति प्रतिष्ठानले रेखदेख गर्दै आइरहेको छ । मेची क्याम्पसका प्राध्यपक डा. कालुराम खुम्बूका अनुसार, कछुवा अवलोकन र सूचना संकलनका लागि यो थलो देशभित्रकै सबैभन्दा आकर्षक गन्तव्य बनेको छ । केही वर्षअघिसम्म डा.खम्बू स्वयम्ले भद्रपुरस्थित आफ्नो घरमा सर्प/कछुवा पालन गरेर जीव विज्ञानका विद्यार्थी तथा अन्वेषकलाई अध्यनमा भरथेग गर्दै आएका थिए ।


त्रिभुवन विश्वविद्यालयवाट कछुवा विषयमा विद्यावारिधि गरिरहेका प्राध्यापक तपिलप्रकाश राईका अनुसार, सिमसार क्षेत्रसँग जोडिएर बस्ने दुर्लभ प्रजाति हो कछुवा । सिमसार संरक्षणमा अनेक तहगत कार्यक्रम भए पनि त्यसैमा जीवनचक्र निर्वाह गर्ने कछुवामाथि भने त्यति चासो राखिएको पाइन्न । कछुवालाई ‘ढाड भएका जीवमध्ये पनि सबैभन्दा लोपोन्मुख वर्गमा’ राखिएको छ । विशेषगरी नेपालको चुरे क्षेत्र आसपासमा फैलिएर रहेको सिमसार (सालघारी) मा १८ प्रजातिका कछुवा पाइएको छ । यसमध्ये चितवन र झापाको संरक्षण क्षेत्रमा मात्रै १० प्रजातिका कछुवा संरक्षित छ । कछुवा शोधार्थी राईका अनुसार नेपालमा पाइने कछुवा जातिकै पनि बढीमा ५० वर्ष आयु पाइएको छ ।


कछुवा प्रजातिको नेपाली नामकरण पनि मौलिक लाग्न सक्छ— जस्तो : ध्वाँसे, कण्ठे, पाने, सुन ठोटरी, पहेलो भुँडे, धुरी, टिकटिके, मयुरपंखी, थोप्ले आदि ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?