कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यंग्यमा ठेचो मतया:

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न नसकेकोलाई व्यंग्य गर्दै साविक ठेचो गाविस पछाडि फुंगासी टोलमा अन्तर्राष्ट्रिय विमानस्थल र गेट बनाएका छन् ।

काठमाडौँ — भूकम्प गएको तीन वर्ष बितिसक्यो । ध्वस्त भएका पाटन दरबार क्षेत्रका पुरातात्त्विक सम्पदाको पुनर्निर्माण पूरा भएको छैन । भीमसेन मन्दिरको हकमा भने अझै टेकोमा अडयाइएको छ । कृष्ण मन्दिर भर्खर सर्वसाधारणका लागि खुला गरिएको छ ।

व्यंग्यमा ठेचो मतया:

यसैलाई व्यंग्य गर्दै ठेचोका स्थानीयवासीले एक दिनमा पाटन दरवार क्षेत्रस्थित कृष्ण मन्दिर पुनर्निर्माण सम्पन्न गरेका छन्, गाईजात्राको भोलिपल्ट मनाइने मतया: (दीपयात्रा) का लागि । उनीहरूले कृष्ण मन्दिर मात्र नभई भूकम्पले क्षतिग्रस्त दरबारस्थित ठूलो घण्टा पुनर्निर्माणमा सरकारले ध्यान दिन नसकेकोप्रति व्यंग्य गर्दै ऐतिहासिक घण्टा पनि बनाएका छन् । यी दृश्य गोदावरी नगरपालिका–१२, ठेचो लाइझोलको हो । सर्वसाधारणले आफ्नो टाउको लुकाउने घर नपाएर टहरामै योपालिको बर्खा कटाउनुपरेको व्यंग्य गर्दै टोलमा ठूलो घण्टा निर्माण गरिएको नवदुर्गा टोल सुधार समिति अध्यक्ष रत्नबहादुर माली बताउँछन् ।


ठेचोमा जीवित देवी कुमारी जात्रा छैन । बरु माथिल्लो लाछी (टोल) तननी टोलकी एक बालिकालाई कुमारीको भेषमा सजाई नक्कली सिंहासनमा सजाई जात्रा गरिएको छ । माथिल्लो लाछीस्थित बालकुमारी संगीत प्रतिष्ठानले कुमारी भेषमा एक बालिकालाई नगर परिक्रमा गरायो ।


त्यस्तै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न नसकेकोलाई व्यंग्य गर्दै साविक ठेचो गाविस पछाडि फुंगासी टोलमा अन्तर्राष्ट्रिय विमानस्थल र गेट बनाएका छन् । नेपाली सैनिकलाई ब्यारेकमा मात्र नभई महत्त्वपूर्ण जिम्मेवारी दिनुपर्नेलाई छेड हान्दै सैनिक ब्यारेकसमेत बनाएका छन् ।


ठेचो सांस्कृतिक बाजा संरक्षण समिति अध्यक्ष बाबुराम महर्जन भन्छन्, ‘ठेचोमा मतया: जात्रा २०५४ सालदेखि विधिवत् रूपमा सुरु भएको हो । ठेचोमा मतया: जात्रा सञ्चालन गर्न ठेचोका सिखछेँ दाफा खल:, न्हुछेँ दाफा, न्हयछेँ दाफा, माली गा: दाफा खल:को महत्त्वपूर्ण भूमिका छ ।’


–प्रशान्त माली

प्रकाशित : भाद्र १६, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?