प्रकृतिको पाठशाला

संरक्षण
तत्कालीन राजाहरूले लगााउने श्रीपेच धेरैलाई याद हुन सक्छ । श्रीपेचमा जडित बहमूल्य धातु अनि त्यहाँ लगाइएको प्वाँख आखिरमा के हो ? राजाको श्रीपेचमा प्रयोग गरिने प्वाँख कुन चराको थियो ? यसको उत्तर प्राकृतिक विज्ञान संग्रहालयमा पाइन्छ ।
गोविन्द पोखरेल

काठमाडौँ — नेपालमा पाइने जीव तथा वनस्पतिहरू एकै ठाउँमा अध्ययन गर्न चाहनेका लागि प्राकृतिक विज्ञान संग्राहलय एक महत्त्वपूर्ण पाठशाला बनिसकेको छ । संग्रहालयमा जीव, वनस्पति, फोसिल्सका असंख्य नमुना राखिएका छन् । हिमाली भेगमा पाइने डाँफे चरो, दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे), चरी बाघलगायतका ‘दुर्लभ’ प्रजाति नमुनालाई संग्रहालयमा राखिएको छ ।

कीराफटयांग्रा, माछा, उभयचर, सरिसृप, चराचुरुंगी, स्तनधारी, अविकसित मेरुदण्डीय प्राणी, वनस्पति गरी ५० हजारभन्दा बढी नमुना संग्रहालयमा पाउन सकिन्छ । नेपालबाट राम गाई (हरिण) लोप भएको ४० वर्ष भइसक्यो ।

‘माउस डियर’ को नामले समेत चिनिने यो हरिणलाई धेरैले बिर्सिएका छन् । वासस्थानको विनाश, मानवको अतिक्रमण लगायतका कारणले यो हरिण नेपालबाट लोप भएर गयो । ‘कतिपयले यसको नाम पनि सुनेका हुँदैनन् ।’ संग्रहालयका ट्याक्सिडर्मिस्ट देवेन्द्र महर्जन भन्छन्, ‘आगन्तुकहरू राम गाईको नमुना हेर्दै एकोहोरिने गरेका छन् ।’

Yamaha


सयौँ वर्षको वैज्ञानिक खोज, अध्ययन, अनुसन्धान, परीक्षण गरी वनस्पति, प्राणी, तथा अन्य प्राकृतिक वस्तुको अभिलेखहरू तयार गरिन्छ । प्रकृति बुझ्नका लागि अभिलेखहरू महत्त्वपूर्ण हुने संग्रहालयका प्रमुख डाक्टर धर्मराज डंगोल बताउँछन् ।
***

तराई तथा गर्मी ठाउँमा पाइने राजगोमन सर्प काठमाडौंमा दुई दशकअघि पाइएको थियो । यो सर्पको अवशेष संग्रहालयमा सुरक्षित छ । प्रतिकूल मौसमको भूभागमा सर्प कसरी आयो भन्ने विषयमा इकोलोजी तथा सरसृपसम्बन्धी एउटा उल्लेख्य वैज्ञानिक अध्ययन आधार हुन सक्छ ।

तत्कालीन राजाहरूले लगााउने श्रीपेच धेरैलाई याद हुन सक्छ । श्रीपेचमा जडित बहमुल्य धातु अनि त्यहाँ लगाइएको प्वाँख आखिरमा के हो ? राजाको श्रीपेचमा प्रयोग गरिने प्वाँख कुन चराको थियो ? यसको उत्तर प्राकृतिक विज्ञान संग्रहालयमा पाइन्छ । राजाको श्रीपेचमा कल्की चराको प्वाँख प्रयोग हुन्थ्यो । संग्रहालयमा दुईवटा कल्की चराको नमुना राखिएको छ । नमुनासँगै श्रीपेचको चित्र पनि टाँसिएको छ ।


संग्रहालयलाई विभिन्न समयमा हस्तान्तरण गरिएका हरिण, सिङहरू पनि सुरक्षित राखिएको छ । अजिंगर, घडियाल गोही, गोही संंग्रहालय (अवशेष) प्रवेश गर्नेबित्तिकै देख्न सकिन्छ । तत्कालीन युवराज दीपेन्द्रले सिकार गरेको गिद्धलाई संग्रहालयमा सजाएर राखिएको छ ।


फरक जीव र स्थान
८ वटा कोठा र एउटा ठूलो प्रदर्शनी हलमा ५० हजारभन्दा बढी नमुना राखिएका छन् । अन्तरक्रिया कोठामा च्याउ, वन्यजन्तु, पुतली र चरा जडीबुटी पहिचान बोर्ड राखिएका छन् । ‘अर्थोपोडा’ कक्षमा विभिन्न जिल्ला र संरक्षित क्षेत्रबाट संकलन गरिएको कीरा तथा खपटेकीरा संगृहीत छन् ।

हर्बेरियम तथा इथ्नोबोटनी कक्ष, थारू जातिले प्रयोग गर्ने सरसमानका तस्बिर, लेउ र झयाउ कोठामा विभिन्न ठाउँबाट संकलित ब्रायोफाइट, पुतलीहरू, चराचुरुंगी, सर्प, गोही, कछुवा, अजिंगर, सुन गोहोरो, उभयचर तथा सरिसृप जीवजन्तुको चार्ट संग्रहालयमा देख्न सकिन्छ । जीवाशेष (फोसिल्स) हरूका लागि छुट्टै कोठा छुटयाइएको छ ।

आदिमानवको बंगरा
एक करोड १० लाख वर्षअघिको आदिमावन रामापिथेकसको अवशेष प्राकृतिक विज्ञान संग्रहालयको एउटा महत्त्वपूर्ण संग्रह हो । अमेरिकाका डाक्टर वेस्टले संकलन गरेको आदिमानवको यो बंगारा संग्रहालयमा सुरक्षित छ ।

३० लाखदेखि १० लाख वर्षअघिसम्म पूर्वी नेपालको सिवालिक पहाडको रातो खोला क्षेत्रमा पाइने ‘आकिडिस्कोडन’ हात्तीको तल्लो बंगरा र खप्पर संग्रहालयमा देख्न सकिन्छ । प्रि–हिस्टोरिक जनावार तथा त्यसबेलाको इकोलोजी अध्ययन गर्न चाहनेका लागि संग्रहालय एउटा गतिलो पाठशाला बन्न सक्छ ।


एक वर्षअघि तराईका महिलाहरूको कपाल काटिएको घटनाले धेरै चर्चा भएको थियो । धेरैले अन्धविश्वास माने । पछि ‘कीराले कपाल काट्ने’ गरेको पत्ता लाग्यो । प्राकृतिक विज्ञान संग्रहालयमा कपाल काट्ने कीरालाई पनि राखिएको छ ।

‘लार्जेस्ट बेलेस्टोमा जेइन्ट बग’ (कीरा) ले कपाल काटेको म्युजियमकी वैज्ञानिक डाक्टर निर्मला प्रधानले बताइन् । उक्त कीराको ‘मेन्डिबल’ अति कडा हुने भएकाले मेन्डिबलका कारणले चुल्ठो काटिएको उनले जानकारी दिइन् ।

गाउँघरमा देखिने कीराफटयांग्रा, पुतलीहरूको नाम र प्रजातिबारे सबैलाई थाहा नहुन सक्छ । विश्वको सबैभन्दा ठूलो ‘मिसाचर’ पुतली संग्रहालयमा उडुलाभैंm गरेको देख्न सकिन्छ । यहाँ चार हजारभन्दा बढी कीरा, १४ हजारभन्दा बढी पुतली र पतङ्गका नमुना देख्न सकिन्छ ।


दुर्लभ मानिने सेतो कागको नमुना संग्रहालयमा राखिएको छ । प्रकृतिले दिएको भन्दा अलिक फरक शरीर लिएर जन्मिएका जीवहरू प्राकृतिक विज्ञान संग्रहालयको अर्को आकर्षण हो । एउटा टाउको र दुईवटा जीउ भएको सुँगुर, दुईवटा टाउको भएको सर्प, चार खुट्टा भएको कुखुराको चल्ला, बाख्राको ८ खुट्टे पाठी अवशेष पनि संग्रहालयमा छ । यहाँ राखिएका हात्ती, गैंडा र २० फिट ४ इन्च लामो अजिंगरको काँचुलीमा आफ्नै विशेषता छन् ।

संग्रहालय इतिहास
तत्कालीन आनन्दकुटी साइन्स कलेज सन् १९७४ मा बन्द भयो । त्यसपछि स्वयम्भूस्थित यही थलोमा त्रिभुवन विश्वविद्यालयको विज्ञान अध्ययन संस्थानअन्तर्गत रहने गरी प्राकृतिक विज्ञान संग्रहालय स्थापना गर्ने निर्णय भयो । २०३२ साल साउन २ गतेबाट प्राकृतिक विज्ञान संग्रहालय विधिवत् रूपमा स्थापना भएको हो ।

त्यसबेला त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कार्यरत जीवविद् कोलिन स्मिथ (पुतली बाजे) ले नेपालमा संकलन गरेका ४ हजारभन्दा बढी पुतलीका नमुना संग्रहालयलाई हस्तान्तरण गरेका थिए । राजपरिवार, सैन्य कर्मचारी, सर्वसाधारणसहित निकुञ्जहरूले संग्रहालयलाई जीवजन्तुको नमुना प्रदान गरे । संग्रहालय आफैंले देशका कुनाकप्चा पुगेर नमुना संकलन गरेको छ । घरमै राखिएका जीवजन्तुको अवशेष पनि हस्तान्तरण गर्न सकिने संग्रहालयले जनाएको छ ।

संग्रहालयले लोप भएका जीवको नमुनासमेत संकलन गर्दै संगृहीत गरेको छ । जडीबुटीका हर्बेरियम नमुना, धेरैथरीका झयाउ तथा च्याउ, यार्सागुम्बा र बोटबिरुवाबाट बनाइएका सरसामान संग्रहालयमा राखिएको छ ।

यहाँ २२ हजार ५३ कीराफटयांग्रा नमुना, ६ वटा अविकसित मेरुदण्डीय जीवजन्तु, ८ सय ९० माछा, १ सय ७ उभयचर, ३ सय ९० सरिसृप, ११ सय ९४ वटा चराचुरुंगी, २ सय २५ स्तनधारी, २२ वटा अस्थिपञ्जर, १ सय २४ लेउ, २३ सय २० वटा ढुसी र च्याउ, ११ सय २४ उभयचर बिरुवा, ५ सय ७ वटा उन्यरु, १ सय २३ वटा कोणधारी बिरुवा, ५ हजार ३४ वटा बीउधारी बिरुवा, ९ सय ६४ वटा जीवाशेष, ७४ वटा चट्टान र खनिज पदार्थको नमुना संकलित छ ।्


संग्रहालयका वैज्ञानिकले प्रकृतिसम्बन्धी विभिन्न अध्ययन अनुसन्धान गर्दै आएका छन् । स्वदेशी तथा विदेशी संघसंस्थासँग मिलेर वन, कृषि, सिमसार क्षेत्रका बोटबिरुवा, कीटपतंग, सरिसृप, स्तनधारी प्राणीका बारे अध्ययन–अनुसन्धान गरी नमुना संकलन गरिन्छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा छुट्टै अनुसन्धान व्यवस्थापन एकाइ स्थापना गरिएको छ । संग्रहालयले जर्नल अफ नेचर हिस्ट्री म्युजियम प्रकाशन गर्दै आएको छ ।


संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) को वन्यजन्तुमा प्रामाणिक निकाय भनेर संग्रहालयलाई दिइएको छ । संग्रहालयमा वार्षिक १५ हजारको हाराहारीमा अवलोकनकर्ता आउने गरेको ट्याक्सिडर्मिस्ट देवेन्द्र महर्जनले बताए । म्युजियममा चरालाई प्राकृतिक पोजिसनमा राखिएको छ । वनस्पतिको वर्गीकरण र पहिचानसम्बन्धी जानकारीका लागि वातावरण उद्यान निर्माण गरिएको छ ।

Esewa Pasal

प्रकाशित : भाद्र १६, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्

‘सबै पुरस्कार दोषरहित हुँदैनन्’

कुराकानी
कान्तिपुर संवाददाता

काठमाडौँ — पाल्पा, गोठादी मूलघर भएकी नीलम कार्की ‘निहारिका’ केही वर्षयता अमेरिकावासी बनेकी छन् । ‘मौन जीवन’ (२०५१) उपन्यासबाट साहित्यिक चिनारी बढाउन थालेकी नीलमका कथा, कविता, उपन्यास गरेर एक दर्जन प्रकाशित कृति छन् । उनको गत वर्ष प्रकाशित ‘चीरहरण’ र यो वर्षको ‘योगमाया’ उपन्यास विषयवस्तुको ऐतिहासिकता, नयाँपन र खोजका कारण पनि निकै चर्चामा छन् ।

अझ यस पटक ‘योगमाया’ उपन्यासका लागि मदन पुरस्कार पाएपछि नीलमको साहित्यिक नाम–काम चुलिएको छ । आफूलाई ‘पूर्णकालिक लेखक’ भनेर चिनाउन चाहने र हाल अमेरिकाको नर्थ क्यारोलिना बसोबास गरिरहेकी नीलमसँग गरिएको छोटो साहित्यिक संवाद :

‘चीरहरण’ र ‘योगमाया’ लेखन गर्दा बढी अध्ययन–अनुसन्धान केमा गर्नुपर्‍यो ? आफूलाई कुन बढी ऐतिहासिक र आधारसम्मत लाग्यो ?
‘योगमाया’ लेख्नुपूर्व छरिएर रहेका आधारभूत सामग्रीहरू, लेखरचना भेला पारें । तत्पश्चात् स्थलगत अध्ययनका लागि योगमायाको जन्मस्थल भोजपुर पुगेर विभिन्न सरोकार सम्बद्ध व्यक्तिहरूसँग भेट/अन्तर्वार्ता गरें ।
‘चीरहरण’ भने मुख्यतया सेकेन्डरी (द्वितीय) स्रोतमा आधारित हो । घरमै बसेर अध्ययन गरें र वर्तमान बाँचेको समाजसँग तादात्म्यता गरी हेरें । ‘योगमाया’ नेपालको एक इतिहास हो । उत्खनन गरेर नेपालकै माटो र परिवेशमा मैले त्यसलाई पुनर्लेखन गरें । ‘चीरहरण’ का निम्ति भने महाभारतका ठेली साथै अन्य सन्दर्भ पुस्तकहरू पढें । अध्ययन त दुईमै गर्नुपर्‍यो तर ती दुई पृथक् थिए । ऐतिहासिक हिसाबमा म ‘योगमाया’ लाई बढी लिन्छु ।

अधिकांश लेखकहरू आफ्नो लेखनको मूल्यांकन र पुरस्कारको छनोटमा निष्पक्षता छैन/रहन्न भन्छन् । तपाईं प्रवासमा रहेर र लगातार मूल्यांकनमा परेर पनि गुनासो लिएरै बस्नुभएको छ ?
लेखनको मूल्यांकन गर्ने सर्वप्रथम पाठकले हो । कहिलेकाहीं पाठकहरू अलि हल्लाले प्रभावित हुने भए पनि त्यो टिक्ने कुरा होइन । एकदुई पटक झुक्किएर पुस्तक पसलसम्म पुग्नेका निम्ति मात्रै त्यस्तो हल्लाखोर कामको अर्थ रहन्छ । होइन भने पाठक त निरपेक्ष हुन्छन् नै । रहयो, पुरस्कारको कुरा । आफूले प्राप्त नगर्दासम्म त्यसको निष्पक्षतामाथि प्रश्न उठाउने अनि, प्राप्तिपछि ‘निर्णय उत्तम थियो’ भनिनु हुँदैन । स्थापित पुरस्कारहरू तमाम् छन् । सबै दोषरहित या प्रभावरहित छन् भन्न सक्दिनँ । तर, यसो भन्दैमा सबैलाई प्रश्न उठाउन पनि सक्दिनँ । म आफैं मोती पुरस्कार नपाउनेमा पर्छु । तर, मैले कहिल्यै गुनासो गरिनँ । निर्णयको आफ्नै सीमा हुन्छन् भन्ने मलाई लाग्छ ।

अहिले कतिपय पाठक र समीक्षकको तपाईंमाथिको मूल्यांकन कृति, लेखन वा शैलीभन्दा पनि ६३ वर्षको इतिहासमा ‘मदन पुरस्कार पाउने चौथी नारी लेखक’ का रूपमा भइरहेको छ । यो लैंगिक मूल्यांकनको अर्थ कत्तिको छ ?
सिर्जनालाई लैंगिक कित्तामा उभ्याएको त मलाई पटक्कै सहय हुँदैन । सिर्जना सिर्जना हो । त्यसमाथि लैंगिक र भूगोलको आधारमा पुरस्कृत भएको अवस्थामा स्वयम्को हृदयलाई स्वीकार्य पनि हुँदैन । तर, २०१३ सालदेखिको लामो मदन पुरस्कार इतिहासमा बल्ल चार महिला सर्जकले प्राप्त गरे भन्ने हिसाबमा यसरी चर्चा भएको होला ।

‘योगमाया’ पात्रको छनोट किन र कसरी गर्नुभयो ? नेपाली समाजमा इतिहासको गर्तमा हराएका यस्तै अरू पात्रहरू कत्तिको छन् ? तपाईंले अरू पात्रमाथि कुनै सोधखोज थाल्नुभएको छ ?
रेडियो नेपालमा मैले साहित्य संसारमा काम गर्न प्रारम्भ गर्दैदेखि (२०५३–५६) मेरा गुरु दाहाल यज्ञनिधि हुनुहुन्थ्यो । (गत साउन २५ गते उहाँ दिवंगत हुनुभयो ।) मैले गत वर्ष ‘चीरहरण’ कृतिका लागि पद्मश्री पुरस्कार पाएपछि मलाई ‘योगमाया’ लेख्ने गृहकार्य/अभिभारा दिनुभएको थियो, यज्ञनिधिज्यूले । त्यस्तै, अमेरिकामा रहेका भाइ केशव ज्ञवालीले पनि मलाई यसबारे निकै पटक सुझाएका थिए ।


हामीले शासकले लेखाएको स्तुतिलाई अक्सर इतिहास भनेर पढ्दै आएका छौं । त्यहाँ जनताको सही इतिहास पक्कै हुँदैन नै । हो, माटोमा जन्मिएका बलिदानीजनको इतिहास हामीले माटोमै टेकेर लेख्नुपर्छ । अन्यथा सही इतिहास पहिल्याउन धेरै ढिला हुनेछ । तर, योगमायाजस्तै पात्रको सोधीखोजी भइरहे पनि तत्काल लेखनका निम्ति अहिले विषयगत सोच र योजना बनाइसकेकी छैन ।

यस पटक मदन पुरस्कारको उत्कृष्ट आठमा परेका कृतिको तपाईंको आफ्नो मूल्यांकन कस्तो रह्यो ?
गुठीलाई प्राप्त पुस्तकमध्येबाट आठ छानिएका हुन् । निर्णायकमण्डलले विभिन्न क्राइटेरियामा बसेर निर्णय गर्नुभएको होला । पोहोर फागुनसम्म ‘योगमाया’ लेखनमै व्यस्त थिएँ, अहिले भने विद्यावारिधिका निम्ति प्रारम्भिक अध्ययनमा अलि समय खर्चनुपरेको छ । दु:खसँग भन्नुपर्दा मैले सबै पुस्तक पढिसकेकी छैन ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT