लोकार्नो डायरी

महोत्सव
साँच्चिकै नाजुक अवस्था भने डायना सकिबले अफगानिस्तानको वर्णन गरिन् । ‘फिल्म बनाउने मजस्तालाई हाम्रो समाजले वेश्या भन्छन्,’ उनले मन अमिलो पारिन् ।
यज्ञश

काठमाडौँ — एउटा फिल्म फेस्टिभलका लागि पूरै सहर एकजुट भएको देख्दा मलाई भने फिल्म देखाइरहेको राष्ट्रिय सभागृह सरकारले नदिएपछि फिल्म देखाउने हल खोज्न भौंतारिइरहेका किम्फका वसन्त थापाको सम्झना आयो । ‘गुरुकुल’ भत्किएपछि सरकारले भृकुटीमण्डपमा जग्गा दिन्छु भनेर अलपत्र पारिएका नाटयकर्मी सुनील पोखरेलको याद आयो ।

लोकार्नो फेस्टिभलमा सहभागी अफगानी फिल्ममेकर डायना सकिब, भुटानी कल्ज्याङ दोर्जी, बगलादेशका आंग राखिन, म्यानमारका आंग फयो, श्रीलंकाकी लंका बन्दरनायके र नेपालका रोशन ठकुरी ।

दिउँसोको उखरमाउलो गर्मीपछि राति साढे दस बजेतिर पानी दर्किन थाल्यो । सान्तिनो हावाहुरीसहित आएको साउने झरीले पूरै सहरलाई रुझाउँदा मुख्य चोकमा भेला भएका मानिसहरू भने भिजिरहे । उनीहरूको ध्यान न झरीतिर थियो न, हावाहुरीमा । उनीहरू त आफू अघिल्तिरको ठूलो पर्दामा चलिरहेको अमेरिकी अश्वेतको संघर्ष कथामा मस्त थिए । पानी बढ्न थालेपछि उनीहरूलाई रेनकोटजस्तो पातलो प्लास्टिकको ओढ्ने बाँडियो । त्यो पनि सबैले पाएनन् । तर, फिल्म हेर्न कसैले छाडेनन् ।


लोकार्नो फिल्म फेस्टिभलको विशेषता यही ‘सो’ हो । खुला अकाशमुनि ८ हजार मानिस अट्नेगरी सहरको मुख्य चोकमा मिलाएर राखिएका एकै रंगका कुर्सी । त्यसरी नै व्यवस्था गरिएको साउन्ड सिस्टम । खुला आकाशमुनि धेरै मानिस जम्मा भएर फिल्म हेर्ने यो संसारकै सबभन्दा ठूलो सो हो । पियाजा ग्रान्डी नामक यो ‘सो’ मा कुनै बेला आमिर खान ‘लगान’ लिएर पुगेका थिए । ‘लगान’ ले लोकार्नोमा अडियन्स अवार्ड पाएको थियो ।

Yamaha


हलिउडका धेरै ठूला हस्तीहरू यही सोका लागि स्विट्जरल्यान्ड पुगेका छन् । यस वर्ष मेग रायन र इथन ह्वेक पुगेका थिए । हरेक वर्ष अगस्ट १ देखि ११ सम्म हुने लोकार्नो फिल्म फेस्टिभलमा प्राय: हरेक राति ९:३० बजे यो ‘सो’ सुरु हुन्छ । अगस्ट ६ का दिन, जुन दिनको झरीको मैले उल्लेख गरें, त्यस दिन पियाजा ग्रान्डीमा चलिरहेको थियो, स्पाइक लीको ‘ब्ल्याकक्लान्सम्यान’ । अमेरिकी फिल्ममेकर स्पाइक ली आफ्ना फिल्मका लागि मात्र नभएर अश्वेतका पक्षमा अभियान चलाएर पनि चर्चामा आइरहन्छन् । दुई वर्षअघि ओस्करले अभियानका जम्मा ४ विधामा २० जना कलाकार मनोनीत गर्दा एक जना पनि अश्वेत नपरेपछि सुरु भएको ‘ओस्कर इज सो ह्वाइट’ हयासटयागका नेता ली नै थिए । उनी र विल स्मिथलगायतका केही अश्वेत कलाकारले त्यस वर्षको ओस्कर बहिष्कार गरे ।


‘ब्ल्याकक्लान्सम्यान’ उनको त्यही अभियानको विस्तारित भनाइजस्तो लाग्थ्यो । कोलोराडो पुलिसमा भर्ती भएको एउटा अश्वेत युवा र गोराको सर्वोच्चता कायम राख्न दत्तचित्त एउटा समूहको घम्साघम्सीको यो कथामा स्पाइक लीले डोनाल्ड ट्रम्पलाई समेत तानेर ल्याएका छन् । यस वर्ष क्यान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड पाएको ‘ब्ल्याकक्यान्सम्यान’ ले लोकार्नोमा अडियन्स अवार्ड पायो ।

लोर्कानो फेस्टिभलमा उत्कृष्ट फिल्म पुरस्कृत ‘अ ल्याण्ड इम्याजिन्ड’ का निर्देशक र नायिका ।


जम्मा १३ वटा सिनेमाहल । कुनै त ठूलो हललाई अस्थायी रूपमा सिनेमाहलमा परिणत गरिएका । तर, झारा टारेर होइन । लाइट र साउन्डको एकदमै राम्रो व्यवस्थासहित । पूरै सहर फेस्टिभलमय । फेस्टिभलको टयाग, पर्चा वा पोस्टर नभएको कुनै घर/पसल थिएनन् । एउटा फिल्म फेस्टिभलका लागि पूरै सहर एकजुट भएको देख्दा मलाई भने फिल्म देखाइरहेको राष्ट्रिय सभागृह सरकारले नदिएपछि फिल्म देखाउने हल खोज्न भौंतारिइरहेका किम्फका वसन्त थापाको सम्झना आयो । ‘गुरुकुल’ भत्किएपछि सरकारले भृकुटीमण्डपमा जग्गा दिन्छु भनेर अलपत्र पारेका नाटयकर्मी सुनील पोखरेलको याद आयो ।


सन् १९४६ देखि चलिरहेको लोकार्नो फेस्टिभललाई स्विस सरकार, स्विस विकास नियोग, त्यहाँको स्थानीय सरकार, नगरपालिका र हरेक नागरिकले समर्थन, सहयोग गरेका छन् । तब न ७१ औं वर्षसम्ममा पनि यसको साख गुमेको छैन । यस पटक एसियाली फिल्म मेकरको उल्लेख्य उपस्थितिले यसलाई झन् चर्चित बनाएको छ । लोकार्नो फेस्टिभलमा हरेक वर्ष संसारभरबाट १ हजार पत्रकार आउँछन् । फिल्ममेकर, फिल्म वितरक, निर्माता, फेस्टिभल निर्देशक, प्रोगामर र फाइनान्सरहरूको मेलै लाग्छ । यस्ता फेस्टिभल आफ्ना कलालाई संसारसम्म पुर्‍याउने ढोका हुन् । हलिउड वा बलिउडजस्ता ठूला कर्पोरेट उद्योगबोहक ‘इन्डिपेन्डेन्ट’ फिल्मको विश्व बजार यस्तै फेस्टिभलले बनाउने गर्छन् ।

‘अ ल्यान्ड इम्याजिन्ड’
वातावरणमा कम असर पार्न ऊर्जाको खपत घटाउने रणनीति लिएको स्विट्जरल्यान्ड एयरकन्डिसनलाई निरुत्साहित गर्ने देशमा पर्छ । ८–९ महिना निकै चिसो हुने लोकार्नो, जुरिच र जेनेभाजस्ता सहरका ठूल्ठूला होटलमा समेत एसी हुँदैनन् । फिल्म हलमा पनि हुने कुरै भएन । प्रेस र विषेश सोहरू हुने ‘पाला सिनेमा’ नामक हलबाहेक अरूमा एसी थिएन ।
गर्मीले हप्प भएको हलमा सिंगापुरको फिल्म ‘अ ल्यान्ड इम्याजिन्ड’ को वल्र्ड प्रिमियर हुँदै थियो । लोकार्नोका फेस्टिभल डाइरेक्टर कार्लो स्याट्रियानले फिल्मका निर्देशक यो सिउ हुवालाई अगाडि बोलाए । निर्देशक हुवाले लोकार्नोमा फिल्म देखाउन जान लागेको सुनेपछि आफ्नी आमाले भनेको कुरा सुनाए, ‘सिंगापुरको फिल्म हेर्न स्विट्जरल्यान्डजस्तो युरोपमा को आउला ? दस जनाजति दर्शक आउलान् ।’ उनको कुरा सुनेपछि कार्लोले टिप्पणी गरे, ‘दस जनाभन्दा त अलि बढी नै दर्शक आएजस्तो लाग्छ, होइन ?’ उनका अघिल्तिर करिब ४ हजार दर्शक थिए, लोकार्नो फेस्टिभलको लोगोअंकित बाँसका पंखाले हम्किँदै फिल्मको प्रतीक्षा गरिरहेका ।


समुद्रलाई ठेलेर निकालिएको जमिन । त्यसमा गगनचुम्बी भवन बनाउन लागिपरेका ठेकेदार । चीन र बंगलादेशबाट आयात गरिएका कामदार । एउटा चिनियाँ कामदार हराएपछि पुलिस अफिसरको खोज सुरु हुन्छ । खोज्दै खोज्दै हिँडेको पुलिसले त्यो कामदारलाई भेट्छ, साइबर क्याफेको भिडियो गेमभित्र । गेमभित्रबाट कामदारले आफ्नो कथा सुनाउन थाल्छ । र, हिजो राति देखेको सपना सुनाउँछ, ‘सपनामा दुई जना पुलिसहरू मलाई खोज्दै आइरहेका छन् । एउटा त म बस्ने गरेको साइबरको कम्प्युटरमा आइपुगेको छ ।’ दर्शकको भ्रम अब सुरु हुन्छ । पुलिसको कथा वास्तविक हो कि कामदारको ।


चिनियाँ निर्देशक जिया ज्याङ्काको संयोजकत्वमा रहेको जुरीले फेस्टिभलको अन्तिम दिन यही फिल्म ‘अ ल्यान्ड इम्याजिन्ड’ लाई उत्कृष्ट फिल्मको गोल्डेन लियोपर्ड विजेता घोषणा गर्‍यो ।


छ दिनमा मैले फेस्टिभलमा लामा छोटा गरेर ३०–३५ फिल्म हेरें । यसमा आङ लीको ‘द आइस स्ट्रोम’ र रोबिन विलियम्स, इथन ह्वेकको ‘डेड पोयट सोसाइटी’ जस्ता पुरानादेखि, इथन ह्वेकको नयाँ फिल्म ‘ब्लेज’ र इटली, स्विट्जरल्यान्डका ‘द विन्ड टन्र्स’ र ‘माई विलभेड एनिमी’ सम्म थिए ।

नाजुक पूर्वी एसियालीहरू
पछिल्ला तीन वर्षमा लोकार्नोमा एउटा विशेषता थप गरिएको थियो— दक्षिण एसियाका फिल्ममेकरलाई लक्षित गरेर ‘ओपन डोर्स’ । २०१८ देखि भने ओपन डोर्स पूर्वी एसियातिर फर्किनेछ । भारतबाहेक दक्षिण एसियाका ७ र म्यानमार थपेर ८ देशका फिल्ममेकरको यसकै कारण लोकार्नोमा ठूलो उपस्थिति थियो ।


आंग राखिन बंगलादेशका फिल्ममेकर हुन् । आफ्नो त्यहाँको जनजाति समुदायका बुद्धिस्ट राखिनले बनाएको पहिलो फिचर फिल्म ‘माई बाइसाइकल’ माथि बंगलादेश सरकारले प्रतिबन्ध लगायो । उनी फेस्टिभलमा ‘द लास्ट पोस्टअफिस’ नामक सुन्दर छोटो फिल्मसहित आएका थिए । करिब १७ करोड जनसंख्या भएको बंगलादेशमा जम्मा ४ सय फिल्महल छन् । तिनमा एक सयवटा मात्र सञ्चालनमा छन् । वर्षको एक सय फिल्म बन्छन् ।


‘राजनीति र सेनाका बारे फिल्म बनाउन पाइँदैन । विकासका गफ जोत्न र मान्छेलाई भुलाउने गरी मायाप्रेमका तिलस्मी कथा देखाउन भने जति पनि पाइन्छ,’ उनले भने, ‘यो भनेको फोरजी सेवा दिएर नेटवर्क अफ गरेजस्तो हो ।’ बंगलादेशमा बलिउडको फिल्मलाई प्रतिबन्ध छ । हलिउडका भने प्रशस्त देखाइन्छ । ‘प्रतिबन्ध भनेर के गर्नु, आफ्नो मेनस्ट्रिमका सबैजसो फिल्म बलिउड, हलिउड र तमिल फिल्मका कपी हुन्छन्,’ उनले आफ्नो बेखुसी प्रकट गरे ।


फेस्टिभलको मुख्य चोकमा एक दिन भेटिए, आंग फयो । म्यानमारका इन्डिपेन्डेन्ट फिल्ममेकर फयोले केही समय सुवास घईको मुम्बईमा रहेको फिल्म स्कुल ह्विसलिङ उडमा पढे । म्यानमार फर्किएर उनले एउटा फिचर फिल्म बनाए ‘द मंक’ । यसपालि उनी आफ्नो छोटो फिल्मसहित लोकार्नो आएका थिए ।


‘म्यानमारमा फिल्मको स्थिति ध्वस्त छ,’ उनले सुनाए, ‘४ सय ३० वटा फिल्म त रिलिजका लागि हल कुरेर बसेका छन् ।’ म्यानमारमा १ सय ३० जति हल छन् । तर, यांगुनको एउटा ठूलो हलमा देखाउन निर्माताहरू लाइनमा बस्छन् । ‘४–५ जना ठूला स्टार छन्, फिल्मको बजेटको ८० प्रतिशतसम्म पैसा उनीहरूले नै लिन्छन्,’ उनले भने, ‘पैसाका लागि तिनले वर्षमा १० वटा फिल्म खेल्छन् ।’


फयो आफ्नो देशको फिल्मको अवस्थालाई लिएर निकै निराश थिए । ‘हाम्रो देशमा मध्यम वर्ग भन्ने छैन । कि धनी छन्, कि गरिब । गरिबहरूलाई सस्तो मनोरञ्जनमा भुलाउनका लागि धनीहरू त्यस्तै फिल्म बनाउँछन् । गम्भीर विषयमाथि ठट्टा गरिन्छ । अलग पहिचान भएकालाई जोकर देखाइन्छ । धेरैले बलिउडको नक्कल गर्छन् । कसैले यस्तो विषयमा गम्भीर फिल्म बनायो भने तिनमाथि प्रतिबन्ध लाग्छ,’ उनले आफ्नो निराशाको कारण खोले । अहिले भने केही युवाले राम्रो क्यामेरा र प्रविधिको प्रयोग गरी चिल्ला मसला फिल्म बनाइरहेको उनले बताए । ‘मान्छेहरू त्यसैलाई न्यू वेब भनेर रमाउन थालेका छन्,’ हल्का व्यंग्यमिश्रित हाँसोसहित उनले भने, ‘यसले साँच्चिकै राम्रो फिल्मको सम्भावनालाई पनि खत्तम पारिदेला कि भन्ने डर छ ।’


भुटानको कथामा पनि बलिउड नै ‘भिलेन’ छ । ‘वर्षमा तीसवटा फिल्म बन्छन्, प्राय: व्यावसायिक भनिने सबैले बलिउडको नक्कल गर्छन्,’ फेस्टिभलमा भेटिएका भुटानी फिल्ममेकर कल्ज्याङ दोर्जीले सुनाए । आफ्नो १६ मिनेटको फिल्म ‘सङ अफ साइलेन्स’ लिएर फेस्टिभलमा आएका दोर्जी जोङ्खा भाषामा फिल्म बनाउँछन् । उनका अनुसार थिम्पुमा ५ वटा फिल्म हल छन् । राजधानीबाहिर पाल टाँगेर फिल्म देखाउने गरिन्छ । ‘पछिल्लो २ वर्षमा ३/४ वटा भुटानी फिल्म अन्तर्राष्ट्रिय बजारमा पुगेका छन् । ५–६ जना राम्रा फिल्म निर्देशक छन्,’ उनी आशावादी देखिए । धार्मिक विषयका धेरैजसो फिल्ममा प्रतिबन्ध लाग्ने भए पनि आफूले अनलाइनमै धेरै फिल्म हेर्ने गरेको उनले बताए ।


फेस्टिभलमा दक्षिण एसियाका थुप्रै महिला फिल्ममेर पनि थिए । यिनमा अफगानिस्तानकी डायना सकिब र श्रीलंकाकी लंका बन्दरनायके पनि थिए । डायना ‘डार्क रेड’ र बन्दरनायके ‘ट्रयाडिसन’ नामक छोटा फिल्म लिएर आएका थिए । वर्षको २०/३० वटा व्यावसायिक फिल्म बन्ने श्रीलंकामा गतिला फिल्मको अवस्था नाजुक रहेको बन्दरानायके बताउँछिन् ।
साँच्चिकै नाजुक अवस्था भने डायना सकिबले अफगानिस्तानको वर्णन गरिन् । ‘फिल्म बनाउने मजस्तालाई हाम्रो समाजले वेश्या भन्छन्,’ उनले मन अमिलो पारिन् । ‘युद्धले अफगानिस्तानलाई भौतिक रूपमा मात्र होइन, सांस्कृतिक रूपमा पनि तहसनहस बनाइदियो,’ उनले भनिन्, ‘कुनै बेला सम्पन्न अफगानिस्तान र काबुलको समाज अहिले ध्वस्त भएको छ ।’ उनका अनुसार काबुलमा ३ वटा फिल्म हल बाँकी छन् । फाट्टफुट्ट मात्रै फिल्म बन्छन् । सन् २००१ मा प्रसिद्ध इरानी फिल्ममेकर मोहसिन मखमलवाफले अफगानिस्तानमाथि बनाएको फिल्म ‘कान्दाहार’ क्यान्समा देखाइएको थियो । २००४ मा अफगानी फिल्ममेकर सिद्दिक बर्माकको फिल्म ‘ओसामा’ ले क्यान्समा अवार्ड जित्यो । गोल्डेन ग्लोबमा पनि यसले उत्कृष्ट विदेशी भाषाको फिल्मको अवार्ड पायो । ‘यस्ता एक दुई सफलताले हामीलाई अन्तर्राष्ट्रिय बजारमा टिकाएका छन्, देशभित्रै त हाम्रो अवस्था नाजुक छ,’ डायनाले भनिन् ।

Esewa Pasal

प्रकाशित : भाद्र १६, २०७५ ०९:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘सबै पुरस्कार दोषरहित हुँदैनन्’

कुराकानी
कान्तिपुर संवाददाता

काठमाडौँ — पाल्पा, गोठादी मूलघर भएकी नीलम कार्की ‘निहारिका’ केही वर्षयता अमेरिकावासी बनेकी छन् । ‘मौन जीवन’ (२०५१) उपन्यासबाट साहित्यिक चिनारी बढाउन थालेकी नीलमका कथा, कविता, उपन्यास गरेर एक दर्जन प्रकाशित कृति छन् । उनको गत वर्ष प्रकाशित ‘चीरहरण’ र यो वर्षको ‘योगमाया’ उपन्यास विषयवस्तुको ऐतिहासिकता, नयाँपन र खोजका कारण पनि निकै चर्चामा छन् ।

अझ यस पटक ‘योगमाया’ उपन्यासका लागि मदन पुरस्कार पाएपछि नीलमको साहित्यिक नाम–काम चुलिएको छ । आफूलाई ‘पूर्णकालिक लेखक’ भनेर चिनाउन चाहने र हाल अमेरिकाको नर्थ क्यारोलिना बसोबास गरिरहेकी नीलमसँग गरिएको छोटो साहित्यिक संवाद :

‘चीरहरण’ र ‘योगमाया’ लेखन गर्दा बढी अध्ययन–अनुसन्धान केमा गर्नुपर्‍यो ? आफूलाई कुन बढी ऐतिहासिक र आधारसम्मत लाग्यो ?
‘योगमाया’ लेख्नुपूर्व छरिएर रहेका आधारभूत सामग्रीहरू, लेखरचना भेला पारें । तत्पश्चात् स्थलगत अध्ययनका लागि योगमायाको जन्मस्थल भोजपुर पुगेर विभिन्न सरोकार सम्बद्ध व्यक्तिहरूसँग भेट/अन्तर्वार्ता गरें ।
‘चीरहरण’ भने मुख्यतया सेकेन्डरी (द्वितीय) स्रोतमा आधारित हो । घरमै बसेर अध्ययन गरें र वर्तमान बाँचेको समाजसँग तादात्म्यता गरी हेरें । ‘योगमाया’ नेपालको एक इतिहास हो । उत्खनन गरेर नेपालकै माटो र परिवेशमा मैले त्यसलाई पुनर्लेखन गरें । ‘चीरहरण’ का निम्ति भने महाभारतका ठेली साथै अन्य सन्दर्भ पुस्तकहरू पढें । अध्ययन त दुईमै गर्नुपर्‍यो तर ती दुई पृथक् थिए । ऐतिहासिक हिसाबमा म ‘योगमाया’ लाई बढी लिन्छु ।

अधिकांश लेखकहरू आफ्नो लेखनको मूल्यांकन र पुरस्कारको छनोटमा निष्पक्षता छैन/रहन्न भन्छन् । तपाईं प्रवासमा रहेर र लगातार मूल्यांकनमा परेर पनि गुनासो लिएरै बस्नुभएको छ ?
लेखनको मूल्यांकन गर्ने सर्वप्रथम पाठकले हो । कहिलेकाहीं पाठकहरू अलि हल्लाले प्रभावित हुने भए पनि त्यो टिक्ने कुरा होइन । एकदुई पटक झुक्किएर पुस्तक पसलसम्म पुग्नेका निम्ति मात्रै त्यस्तो हल्लाखोर कामको अर्थ रहन्छ । होइन भने पाठक त निरपेक्ष हुन्छन् नै । रहयो, पुरस्कारको कुरा । आफूले प्राप्त नगर्दासम्म त्यसको निष्पक्षतामाथि प्रश्न उठाउने अनि, प्राप्तिपछि ‘निर्णय उत्तम थियो’ भनिनु हुँदैन । स्थापित पुरस्कारहरू तमाम् छन् । सबै दोषरहित या प्रभावरहित छन् भन्न सक्दिनँ । तर, यसो भन्दैमा सबैलाई प्रश्न उठाउन पनि सक्दिनँ । म आफैं मोती पुरस्कार नपाउनेमा पर्छु । तर, मैले कहिल्यै गुनासो गरिनँ । निर्णयको आफ्नै सीमा हुन्छन् भन्ने मलाई लाग्छ ।

अहिले कतिपय पाठक र समीक्षकको तपाईंमाथिको मूल्यांकन कृति, लेखन वा शैलीभन्दा पनि ६३ वर्षको इतिहासमा ‘मदन पुरस्कार पाउने चौथी नारी लेखक’ का रूपमा भइरहेको छ । यो लैंगिक मूल्यांकनको अर्थ कत्तिको छ ?
सिर्जनालाई लैंगिक कित्तामा उभ्याएको त मलाई पटक्कै सहय हुँदैन । सिर्जना सिर्जना हो । त्यसमाथि लैंगिक र भूगोलको आधारमा पुरस्कृत भएको अवस्थामा स्वयम्को हृदयलाई स्वीकार्य पनि हुँदैन । तर, २०१३ सालदेखिको लामो मदन पुरस्कार इतिहासमा बल्ल चार महिला सर्जकले प्राप्त गरे भन्ने हिसाबमा यसरी चर्चा भएको होला ।

‘योगमाया’ पात्रको छनोट किन र कसरी गर्नुभयो ? नेपाली समाजमा इतिहासको गर्तमा हराएका यस्तै अरू पात्रहरू कत्तिको छन् ? तपाईंले अरू पात्रमाथि कुनै सोधखोज थाल्नुभएको छ ?
रेडियो नेपालमा मैले साहित्य संसारमा काम गर्न प्रारम्भ गर्दैदेखि (२०५३–५६) मेरा गुरु दाहाल यज्ञनिधि हुनुहुन्थ्यो । (गत साउन २५ गते उहाँ दिवंगत हुनुभयो ।) मैले गत वर्ष ‘चीरहरण’ कृतिका लागि पद्मश्री पुरस्कार पाएपछि मलाई ‘योगमाया’ लेख्ने गृहकार्य/अभिभारा दिनुभएको थियो, यज्ञनिधिज्यूले । त्यस्तै, अमेरिकामा रहेका भाइ केशव ज्ञवालीले पनि मलाई यसबारे निकै पटक सुझाएका थिए ।


हामीले शासकले लेखाएको स्तुतिलाई अक्सर इतिहास भनेर पढ्दै आएका छौं । त्यहाँ जनताको सही इतिहास पक्कै हुँदैन नै । हो, माटोमा जन्मिएका बलिदानीजनको इतिहास हामीले माटोमै टेकेर लेख्नुपर्छ । अन्यथा सही इतिहास पहिल्याउन धेरै ढिला हुनेछ । तर, योगमायाजस्तै पात्रको सोधीखोजी भइरहे पनि तत्काल लेखनका निम्ति अहिले विषयगत सोच र योजना बनाइसकेकी छैन ।

यस पटक मदन पुरस्कारको उत्कृष्ट आठमा परेका कृतिको तपाईंको आफ्नो मूल्यांकन कस्तो रह्यो ?
गुठीलाई प्राप्त पुस्तकमध्येबाट आठ छानिएका हुन् । निर्णायकमण्डलले विभिन्न क्राइटेरियामा बसेर निर्णय गर्नुभएको होला । पोहोर फागुनसम्म ‘योगमाया’ लेखनमै व्यस्त थिएँ, अहिले भने विद्यावारिधिका निम्ति प्रारम्भिक अध्ययनमा अलि समय खर्चनुपरेको छ । दु:खसँग भन्नुपर्दा मैले सबै पुस्तक पढिसकेकी छैन ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT