कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेलबहादुरका छोरा हुन् गोपालसिंह

प्रतिक्रिया

काठमाडौँ — भदौ १६ कोसेलीमा प्रकाशित ध्रुवचन्द्र गौतमको लेख ‘उनी थिए जीएस नेपाली’ पढ्न पाउँदा खुसी लाग्यो । आजभन्दा एक सय सात वर्षअघि सन् १९११ मा जन्मेका गोपालसिंहका बारेमा छरिएर रहेका तथ्य संकलन गरी गौतमले गरेको प्रस्तुति रोचक र सूचनामूलक छ । उनै जीएस नेपालीका बारेमा थप जानकारी होस् भनेर केही तथ्य–तथ्यांक लेख्न चाहेको छु ।

रेलबहादुरका छोरा हुन् गोपालसिंह

‘गीतको राजकुमार’ नामबाट प्रसिद्ध गोपालसिंह नेपालीलाई एउटा यस्तो व्यक्तिको रूपमा स्मरण गरिन्छ जसले साहित्यसँगै फिल्म उद्योगमा पनि आफ्नो अमीट छाप छाडेका छन् । नेपालीको जन्म बिहारको पश्चिम चम्पारण जिल्लाको बेतियामा ११ अगस्त, १९११ भएको थियो । नेपालीले आफ्नो अन्तिम कविता पाठ भागलपुरको सुदूर गाउँ एकचारीमा गरेका थिए । १७ अप्रिल, १९६३ को त्यस कार्यक्रमबाट घर फर्कंदै गर्दा भागलपुर रेल्वे प्लेटफर्ममा उनको निधन भएको थियो ।
उनका पिता रेलबहादुर सिंह फौजमा हवल्दार थिए । उनी नेपाली थिए र पछि बेतियामा बस्न थालेका थिए । गोपालसिंहको रचना पाठको शैली गज्जबको थियो । उनी जुन कुनै कार्यक्रममा पुग्थे, त्यस कार्यक्रमको प्रमुख आकर्षण उनै हुन पुग्थे । उनको गीत श्रोताले सजिलै बुझ्थे र अनायास गुनगुनाउन थाल्थे । गोपालसिंहको परिवारमा आर्थिक कठिनाइ उस्तै थियो, सकस पर्ने खालको । त्यसैले कवि सम्मेलनबाट प्राप्त हुने रकमबाट परिवारको लालनपालन गर्न कठिन भइरहेको थियो । उनले चाहेको भए नेपालमै उनका लागि सम्मानजनक अवसर उपलब्ध हुन सक्थ्यो किनभने उनकी पत्नी नेपालको राजपुरोहित परिवारसित सम्बन्धित थिइन् । तर, स्वाभिमानी गोपालसिंह यसका लागि मञ्जुर थिएनन् । उनले बेतियामै बस्ने निश्चय गरेका थिए ।


सन् १९४४ मा उनी अखिल भारतीय कवि सम्मेलनमा भाग लिन बम्बई पुगेका थिए । त्यस कवि सम्मेलनमा फिल्म निर्माता शशिधर मुखर्जी पनि पुगेका रहेछन् जो उनको कविता सुनेपछि अत्यधिक प्रभावित भएका रहेछन् । त्यसै दौरान उनको ख्यातिबाट प्रभावित भएर फिल्मिस्तानका मालिक सेठ तुलाराम जालानले उनलाई मासिक दुई सय रुपैयाँ दिने गरी गीतकारको रूपमा अनुबन्धित गरे । गोपालसिंहले सबभन्दा पहिला १९४४ मा फिल्मिस्तानको ब्यानरमा बनेको ऐतिहासिक फिल्म ‘मजदुर’ का लागि गीत लेखेका थिए । त्यस फिल्मको गीत यति लोकप्रिय भयो कि बंगाल फिल्म जर्नलिस्ट एसोसिएसनको तर्फबाट गोपालसिंहलाई १९४५ को सर्वश्रेष्ठ गीतकारको पुरस्कार प्रदान गरियो । फिल्मी गीतकारको आफ्नो सफलताबाट उत्साहित भएर गोपालसिंह फिल्म उद्योगमै जमे र लगभग दुई दशक (१९४४–१९६२) सम्म गीत लेखनको कार्य गर्दै रहे । त्यस अवधिमा उनले ६० भन्दा बढी फिल्मका लागि लगभग ४ सयभन्दा बढी गीत रचना गरे जसमध्ये कतिपय गीत अत्यधिक प्रसिद्ध भए । महत्त्वपूर्ण कुरा यो छ कि तीमध्ये अधिकांश गीतको धुन उनी आफैंले तयार गरेका थिए । फिल्म उद्योगमा उनको भूमिका केवल गीतकारसम्म मात्र सीमित रहेन । उनी आफू गीतकारको रूपमा स्थापित भएपछि फिल्म निर्माणको क्षेत्रमा पनि हात हाले र हिमालय फिल्म्स तथा नेपाली पिक्चर्स फिल्म्स कम्पनी स्थापना गरी त्यसको ब्यानरअन्तर्गत तीन फिल्म नजराना (१९४९), सनसनी (१९५१) र खुश्बु (१९५५) को निर्माण गरे तर, कुनै पनि फिल्म सफल हुन सकेन । त्यसपछि यिनले फिल्म निर्माणको कार्य त्यागे । गोपालसिंहद्वारा निर्मित कुनै पनि फिल्मले सफलता हात नपारे पनि ती फिल्मका लागि उनीद्वारा लेखिएको गीत अत्यधिक लोकप्रिय भयो । गोपालसिंहले बाँचुन्जेल त्यो सम्मान पाएनन् जसको उनी हकदार थिए । आफ्नो त्यस भावनालाई उनले शब्दमा यसरी व्यक्त गरेका थिए :
अफसोस नहीं हमको जीवन में
कुछ कर न सके
झोलियां किसी की भर न सके
संताप किसी का हर न सके
अपने प्रति सच्चा रहने का
जीवन भर हमने यत्न किया
देखा देखी हम जी न सके
देखा देखी हम मर न सके ।
– अमर कुमार मल्लिक
विराटनगर–१०

प्रकाशित : भाद्र २३, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?