‘धर्ती नफाटुन्जेल सहिराख’

आवाज
भूषिता वशिष्ठ

काठमाडौँ — निर्मला मरेरै गइन्, तैपनि न्याय यस्तो महँगो छ कि उनको मृत्युले पनि त्यसको मूल्य चुकाउन सकेन । अब सीताको मात्रै हैन, पञ्चकन्याको पनि कहानी सुनाऊँ । यी पाँच कन्या (अहिल्या, द्रौपदी, कुन्ती, तारा र मन्दोदरी) न हाम्रो पारम्परिक हिसाबमा कुमारी थिए, न नै आफ्नो नियतिका मूकदर्शिका । यी सबै महिलाको आफ्नो लोग्नेबाहेकको परपुरुषसँग संसर्ग थियो । सीता त एकपुरुषा थिइन् । उनलाई किन पञ्चकन्या म राखिएन ? कौमार्य भनेको के हो ? पाँच लोग्नेकी पत्नी द्रौपदी कसरी कुमारी भइन् ?

म पुगनपुग तेह्र वर्षकी थिएँ । दसैंको बेला थियो, मामाघरमा ठूलो गलैंचामा बसेर बाबा, दादाहरू तास खेल्दै हुनुहुन्थ्यो । जितौरी लिन भनेर म पनि खाटमाथि बसेर खेल हेर्दै थिएँ । मेरो मामा पर्ने एक व्यक्ति पनि मसँगै आएर खाटमा बस्नुभयो । त्यसो त ती मामाकहाँ आउजाउ भइराख्ने हुनाले उनी नजिक आएको मैले अप्ठयारो पनि मानिनँ । खेल रोमाञ्चक भइरहेको थियो, म म्यारिज खेल राम्ररी बुझ्दिनथें । ट्रायल, सिक्वेन्स नाम त थाहा थियो तर, केलाई के भन्छन्, जहिले पनि झुक्किन्थें । एकचित्त भएर खेल हेर्दाहेर्दै एउटा भारी हत्केला मेरो नितम्बमा आएर बस्यो । मैले पुलुक्क मामातिर हेरें; उनको हात मेरो तिघ्रामा भए पनि आँखा भने खेलमै थियो । अलि असजिलो मानेपनि ‘सायद वात्सल्यले होला’ भनी म फेरि खेलतिर लागें । उनका सर्पजस्ता हात सल्बलाउँदै मेरा अविकसित स्तनमा पुगे । मलाई असाध्य डर लागेर आयो । उनले मेरो कमिलाका घरजस्ता ससाना स्तन माडे । म जुरुक्क उठेर पूजाकोठामा गएँ । मुटु ढुकढुक भइरहेको थियो, आँखाबाट बलिन्द्र आँसुका धाराहरू खसे, अस्ति मात्रै त हो, त्यही बैठक कोठामा आठवटी नवबालिकासँग मेरो पनि पूजा गरिएको । पूजाकोठामा दिउँसो कोही आउन्नथ्यो । घण्टौंसम्म म पूजाकोठामै रोएर बसिरहें । छाती निमोठेको त दुख्न छाडिसकेको थियो तर भित्र कतै आँत दुखिरहेको थियो । राति आक्रोशमा मैले मामू र बाबा दुवैलाई मामाको पोल लगाएँ । उहाँहरूले मलाई सम्झाउनुभयो । भन्न त धेरै कुरा भन्नुभयो तर तिनको सार थियो, एकचोटिलाई माफ गरिदिनू । त्यस दिनपश्चात् मैले ती मामालाई कहिल्यै भेटिनँ । मलाई दसैं पनि सधैं नमीठो लाग्छ ।
***

Yamaha

म बीस वर्षकी थिएँ । घरमा ठूलो अड्डी लिएर आफ्नो पत्रकार बन्ने इच्छा पूरा गर्न म आफ्नो घर धरानबाट काठमाडौं आएकी थिएँ । बिहानै रत्नराज्य क्याम्पसमा पत्रकारिता पढ्थें, दिउँसो एक अंग्रेजी पत्रिकामा रिपोर्टर थिएँ । भर्खर प्वाँख लागेका बचेराभैंm मलाई निरालम्ब आकाशको स्वतन्त्रताले लोभ्याउँथ्यो । तिनताका म ओशो पनि पढ्न थालेकी थिएँ । सुदूर गगनमा एक्लै, कसैले पनि नछोएको कञ्चन, निरञ्जन पाटोमा एक्लै विचरण गर्ने सपना देख्थें । म जो काकाकाकीको घरमा बसेकी थिएँ, त्यहीं एउटा छिमेकी पत्रकार दाइ थिए जो ओशो पढ्ने गर्थे । दाइका दुई छोराछोरी र उनकी श्रीमती पनि मेरा लागि आफ्नै परिवारसरह थिए । साँझमा कहिलेकाहीं दाइ र म ओशो बिचारमा गफिन्थ्यौं ।


घुमीफिरी फेरि दसैं आयो । मामू दिनहुँजसो फोन गरेर ‘कहिले घर आउने ? बसको टिकट काटिहाल्, पाइँदैन’ भनेर भन्नुहुन्थ्यो । पत्रकारिता पढ्न थालेदेखि त दसैंतिहार जस्ता पर्वका छुट्टीहरूमा ‘यस्तो मेधावी भएर किन पत्रकारिता पढेको ?’ भन्ने प्रश्नको सामना आफन्तहरूबाटै गर्नुपथ्र्यो । उत्तर दिंदादिंदा झर्को लाग्थ्यो । अनि दसैंको टीका थाप्ने बेलामा पनि मेरो बीडीएस पढ्ने दाजुलाई ठूलो मान्छे बन्नू भनेर आशिष दिन्थे र मलाई सान्त्वना दिंदै ‘एमए गर्नू, राम्रो दुलहा पाउनू ।’ भनेर भनिन्थ्यो । मेरो निजत्व कहिल्यै पनि मूल्यवान् थिएन । राम्रो दुलहा पाएको खण्डमा सायद मैले पूर्णता प्राप्त गर्ने थिएँ । यस्ता आशिषले मेरो एक्लै विचरण गर्ने सपनालाई अझ प्रबल बनाउँथ्यो ।


मन नलागे पनि दसैंमा घर जानैपथ्र्यो । काकीले भन्नुभयो, ‘एक्ली छोरी मान्छे, कहाँ नाइट बसमा जाने ?’ कामविशेषले मेरो छिमेकी दाइ पनि त्यही दिन जाँदै हुनुहुँदोरहेछ, काकीले उहाँसँगै टिकट काट्न भन्नुभयो । सायद ती दाइले नै टिकट काट्नुभयो क्यार ।


निर्धारित दिनमा हामी बसमा चढ्यौं । क्याबिनको सिट थियो, म भित्तापट्टि बसेकी थिएँ । गाडी एकतमासले गुडिरहेको थियो । अस्ताउँदो घामले आकाश रक्तिम बनाएको थियो । हामीले नौबिसे काटयौं । गाडीले रफ्तार लिंदो थियो, मेरा आँखा भारी हुँदै गए । कतिखेर निद्रा परेछ, थाहै भएन । निद्रामै सनासोले छातीमा अँठयाएभैंm भएर ब्युँझिएँ । कालो, नि:स्तब्ध रात थियो । क्याबिनको बत्ती पनि निभेको रहेछ । ती दाइ भनाउँदा ब्यक्ति निद्रामै रहेकी मेरो स्तन अँठयाइरहेका रहेछन् । मैले झट्कारेर उनको हात फालिदिएँ । रुन मन लागेर आयो, रातभर म हत्केलाले स्तन समातेर रोइरहें । उसले ओशोका पुस्तक पढेर सामाजिक रुग्णताका बारेमा गरेका कुराहरू याद आइरहयो । बस अपरिचितहरूले भरिएको थियो र म आफ्नै रक्षक भनिएकाद्वारा अँठयाइएकी थिएँ । बिहानीपख उसले मलाई एक प्याकेट ग्लुकोज बिस्कुट किनेर दियो । मैले त्यो बिस्कुट सडकमा फयाँकिदिएँ । ऊ धरानभन्दा केही स्टेसन अघि ओर्लियो । म घर गएँ । मामूलाई भनौं कि जस्तो लागेको थियो, फेरि त्यो मामाको काण्ड सम्झिएँ । बारम्बार माफ गरिराख्ने तागत थिएन ममा ।


त्यो वर्ष पनि मलाई राम्रो दुलहा मिलोस् भनेर आशिष दिए । पछि मैले त्यो कुरा मेरी काकीलाई चाहिँ भनें । काकीले सो व्यक्तिको श्रीमतीसँग गुनासो गर्नुभएछ । तिनले उल्टै रडाको मच्चाएर भनिछिन्, ‘मेरा दुलहा राम्रा मानिस हुन् । बरु रातिराति कामबाट फर्कने, ओशोका किताब पढ्ने तिम्रै भतिजीले उक्साइन् होला ।’
***

हिजोआज बलात्कारसम्बन्धी थुप्रै लेखहरू आइरहेका छन् । ममाथि जुन घटना भयो, त्यसलाई पारिभाषिक रूपमा बलात्कार भन्न मिल्दैन । तर, तत्पश्चात् मेरी आमा र सो व्यक्तिकी श्रीमतीले जुन तवरले ती घटनाहरूलाई सामान्यीकरण गरे, त्यही सामान्यीकरणले जन्म दिन्छ ‘रेप कल्चर’ वा बलात्कारको संस्कृतिलाई ।


बलात्कारलाई निर्मूल पार्न पहिला यो संस्कृतिलाई बुझ्न जरुरी छ । कतिपय महिलावादी चिन्तकले रेप कल्चरलाई पुँजीवादको उपज ठानेका छन् । यस्तो संस्कृति जहाँ एउटा कार बेच्नलाई अर्धनग्न स्त्रीलाई प्रयोग गरिन्छ, परोक्षमा त्यहाँ स्त्रीलाई पनि कारभैंm विलासिताको साधनका रूपमा उभ्याइन्छ । आफ्नो कारलाई जति दौडाए पनि, जति ठोके पनि कारको न त पीडा महसुस गर्ने क्षमता हुन्छ, न नै प्रतिकार गर्ने अधिकार । रेप कल्चरले महिलालाई यस्तै भावशून्य, अधिकारहीन विलासिता साधनका रूपमा मात्र हेर्न प्रेरित गर्छ । यसैबीच मैले बलात्कार प्रवृत्तिलाई रोकथाम गर्न यौनकर्मलाई कानुनी मान्यता दिनुपर्छ भन्ने तर्कहरूपनि सुनें । यदि यो समाधानको आशयलाई मान्ने हो भने बलात्कार यौन कुण्ठाको उपज हो । केवल कामरोषको स्खलनले बलात्कार हुनबाट बचाउँछ । तर, यहाँ बुझ्नुपर्ने कुरा के छ भने बलात्कार काम आवेगको मात्रै विषय होइन । बलात्कार शक्तिको दुरुपयोग हो । महिलाको शरीरमा आधिपत्य जमाउन गरिने हिंसा हो । यो यौनिक मात्र नभई राजनीतिक अतिक्रमण पनि हो । मलाई यौनकर्मीसँग कुनै पूर्वाग्रह छैन । वास्तवमा भन्ने हो भने अस्पसिया (जो सुकरातकी समकालीन थिइन्) ले भनेकी छन्, ‘यदि महिलाले साँच्चै ज्ञानको अन्वेषण गर्ने हो भने उनी घरको चौखटमा बाँधिनु हुँदैन ।’ अस्पसिया आपैंmमा एक वेश्या थिइन् र, सुकरात उनका एक शिष्य थिए । यदि वेश्यावृत्तिलाई बलात्कारको समाधानको रूपमा उभ्याइने हो भने यसलाई कानुनी मान्यता दिएर मात्रै हुँदैन, वेश्याहरूलाई थेरापिस्टको दर्जा दिइनुपर्‍यो । उनीहरूलाई आदर र सम्मान दिइनुपर्‍यो । हो, यदि अस्पसियाजस्ता नारी, जसले आफ्नो यौनिकतालाई पिता वा पतिको सम्पत्ति नठानी आफ्नो स्वायत्ततामा बाँच्ने नारीलाई सुकरातले भैंm आदर गर्ने हो भने बलात्कारको मानसिकता क्षीण होला । तर, अहिलेको हाम्रो समाजमा अस्मिता, स्वाभिमान, आत्मसम्मान— यी विषयमा प्रतिकार गर्ने अधिकार पनि हुँदैन एक वेश्यालाई । जुन समाजमा कुनै कुनामा कोही महिला कसैको यौन वासना पूरा गर्ने खेलौनाका रूपमा हेरिन्छ, त्यहाँ बलात्कार संस्कृतिको जड बलियै हुन्छ । जबसम्म कुनै पनि नारीलाई आफ्नो तुष्टि पूरा गर्ने वस्तुका रूपमा हेरिन्छ, ठान्नुहोस्, तपाईंकी छोरी पनि सुरक्षित छैन ।


जहाँसम्म दण्ड दिने सवाल छ, त्यो त तब सम्भव छ, जब पीडितले आफू बलात्कृत भएको बताउन सकून् । हाम्रा धर्म ग्रन्थमा बारम्बार, अनेकन कोणबाट महिलालाई एक व्यक्ति नभई सम्पत्तिका रूपमा चित्रण गरेको मैले पाएकी छु । उदाहरणको रूपमा जानकीलाई नै लिउँm । मैथिलीमा सीतालाई ‘जन्म दुखिनी’ का नामले पनि जानिन्छ । भारतीय लेखिका नवनीता देव सेनले सीतालाई एक आलेखमा आजन्म अनाथका रूपमा देखाएकी छन् । एक मराठी लोककथामा विलौना गर्दै सीता भन्छिन्, ‘ए आरुका रूख, ए बुलबुल चरा के साँच्चै मेरा कोही नाथ छन् ? सानैमा विवाह गरेर जनकले रामलाई मेरो जिम्मा लाइदिए । रामकी छाया बनेर उनीसँगै वनवास गएँ । रावणले मलाई हरेर लगे, अग्निपरीक्षा मेरो मागियो । मैले परीक्षा दिएँ । फेरि दुई जीउकी हुँदा रामले मलाई अपवित्रा भनेर त्यागिदिए । वनमै मेरा छोराहरू जन्मिए । राम फेरि मलाई लिन आए तर अर्को अग्निपरीक्षाको सर्तमा । म आगोमा बसें, शरीर त मेरो जलेन । म निष्कलुष थिएँ । तर, मेरो आत्मा पोलिरहेको थियो । परीक्षापछि रामले मलाई रानी स्विकारे तर के थाहा, भोलि सनक चढेर फेरि मेरो परीक्षा मागिएला । बरु यस्ता परीक्षा दिंदै सतीत्व प्रमाणित गर्नुभन्दा म धर्तीमै बिलाउँछु ।’ वास्तवमा भन्ने हो भने म आज पनि नेपाली नारीहरूलाई सीताभन्दा फरक पाउँदिनँ ।


हामीले जानेर वा नजानेर आफ्ना छोरीहरूलाई स्वावलम्बीभन्दा परलम्बी बनएर हुर्काइरहेका हुन्छौं । मनुस्मृतिमा त श्लोक नै छ— ‘पिता रक्षति कौमारे, भर्ता रक्षति यौबने, रक्षत स्थाविरे पुत्रा: न स्त्री स्वातन्त्र्यमर्हति ।’ अर्थात्, बाबुले कौमर्यको रक्षा गर्छन्, यौवनको श्रीमान्ले र प्रौढ अवस्थामा छोराले । नारी स्वतन्त्र कहिल्यै हुँदिनँ ।


तर, यहाँ विडम्बना के छ भने धेरैजसो महिला, बालिका आफ्नै आरक्षक मानिएकाद्वारा प्रताडित हुन्छन् । जब कोही आरक्षिता आफ्नै आरक्षकबाट पीडित हुन्छिन् उनलाई लाग्छ, सो हिंसाको कार्य अन्याय नभई उनको नियति हो । यो संरचनाले छोरीहरूलाई एक त आफूमाथि हिंसा भएको बोध हुन दिँदैन र, अर्को अन्यायविरुद्ध मुखर हुनभन्दा ‘मूक’ हुन सिकाउँछ । ज्वाइँले दिनहु कुटेको थाहा पाएर पनि हामी हाम्रा छोरीहरूलाई ससुरालीलाई रिझाउनु नै नारीको कर्तव्य हो भनेर सुझाउँछौ । सीता त एक मिथ हुन् । उनको विम्बलाई हाम्रा छोरीमाथि आरोपित गरेर उनलाई धर्ती नफाटुन्जेल सहिराख भनेर सिकाउँछौं ।


झट्ट सुन्दा अतिशयोक्ति लागेतापनि बलात्कार संस्कृतिले यस्तै मनोवृत्तिलाई बढावा दिइराखेको हुन्छ । ती मामा, ती दाइपछि पनि ठुलो सहरमा स्वतन्त्र हुने सपना पालेर घर छोडेर आएकी एक्ली स्त्रीका नाताले म कतिपटक आफ्ना आरक्षक मानिएकाद्वारा आघातमा परिरहें । तर, ती दुई घटनाले मेरो मुख बुजो लाइदिए । त्यसपछि मैले आफू प्रताडित भएका कुराहरू भन्नै छाडें ।


कसलाई भन्ने ?
मलाई आज लाग्छ— जनक र रामले चाहेर पनि सीतालाई लोकलाजका कारण दिन सक्तैनन् । तर, मलाई सीताजस्तो धर्तीमा लीन हुने नियति स्वीकार्य छैन । कसैकी छोरी, श्रीमती वा बुहारीभन्दा पनि आज मलाई ‘व्यक्ति’ हुन मन लाग्छ । आत्मरक्षा मेरो अधिकार हैन र ? किन मलाई कसैले यो कुरा सिकाएन ।


तर, स्वरक्षित बन्नलाई आँट भएर मात्रै पुग्दैन— माइती र ससुरालीको चौघेराबाट निस्किएर आफैं स्वाबलम्बी नबनुन्जेल, वकिललाई दिने शुल्क साथमा नहुन्जेल, घरबाट निकालिए बस्ने आफ्नै ठाउँ नहुन्जेल, समाजले लाञ्छना लगाए पनि स्वाभिमानका निम्ति अर्थपूर्ण पेसा नहुन्जेल न्याय माग्न सजिलो छैन ।


भर्जिनिया उल्फले आफ्नो पुस्तक ‘रुम अफ वान्स ओन’ मा लेखेकी छन्, ‘जबसम्म महिलाको स्वतन्त्र आय हुँदैन, उनको आफ्नै कोठा हुँदैन, महिला स्वाधीन हुन सक्तिनन् ।’ वास्तवमा भन्ने हो भने छोरीहरूको आफ्नो घर नै हुँदैन । माइतीमा सधैं अर्काको घर जाने जात भनेर हेरिन्छ, ससुरालीमा ऊ सधैं अर्काकी छोरी रहन्छे । र, यी दुवै घरमा सतीत्व नष्ट हुनेबित्तिकै उसको स्थान पनि दोस्रो दर्जाको हुन्छ । यस्तो माहोलमा जहाँ पीडकले हैन, पीडितले लज्जाबोध गर्नुपर्छ— कति छोरीहरूले म बलात्कृत भएँ भन्ने आँट जुटाउन सक्लान् ?


निर्मला मरेरै गइन्, तैपनि न्याय यस्तो महँगो छ कि उनको मृत्युले पनि त्यसको मूल्य चुकाउन सकेन । जीवित नारीलाई त मूल्य अझै चारको छ । त्यसैले छोरीहरूलाई छोराभन्दा बढी स्वावलम्बी बनाऊ । आर्थिक रूपमा मात्रै हैन, मानसिक रूपमा पनि । सीताको मात्रै हैन, पञ्चकन्याको पनि कहानी सुनाऊ । यी पाँच कन्या (अहिल्या, द्रौपदी, कुन्ती, तारा र मन्दोदरी) न हाम्रो पारम्परिक हिसाबमा कुमारी थिए, न नै आफ्नो नियतिका मूकदर्शिका । यी सबै महिलाको आफ्नो लोग्नेबाहेकको परपुरुषसँग संसर्ग थियो । सीता त एकपुरुषा थिइन् । उनलाई किन पञ्चकन्या म राखिएन ? कौमार्य भनेको के हो ? पाँच लोग्नेकि पत्नी द्रौपदी कसरी कुमारी भइन् ?


यी पाँचै महिलाले पत्नी छँदाछँदै पनि आफ्नो निजत्वलाई, व्यक्तित्वलाई अक्षुण्ण राखे । कहिल्यै स्वनिर्णयको अधिकार हनन हुन दिएनन् । उनीहरूको कौमार्य योनीको थिएन, व्यक्तित्वको थियो । तर, कौमार्यको यौनसँग कुनै सम्बन्ध छैन । मेरो कौमार्य, मेरो व्यक्तित्व, मेरो स्वाभिमानको पर्याय हो । कुनै पुरुषले बलजफ्ती गर्दैमा न यो कौमार्य लुटिन्छ, न म बिटुलिन्छु । जिन्दगीसँग जुझेर म अझ निखारिएकी छु, मेरो कौमार्य अझ प्रखर भएको छ ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हाउसवाइफ हामीहरू

आवाज
एक अध्यनअनुसार औसत नेपाली महिला दिनको ११ घण्टा काम गर्छन् जुन पुरुषको दाँजोमा तीन घण्टा बढी हुन्छ ।
एउटी महिलाको सम्पूर्ण परिश्रम र पारिश्रमिक घरको चारचौकोसमै सीमित छ । एक महिलाले गृहिणी, भार्या, सुसारे, जाया, भान्से, माली, खजान्ची, धोबी भूमिका निर्वाह गर्न सक्छे । तर, भनिन्छ, ‘मेरी बूढी केही काम गर्दिन, घरभित्रै बसिरहन्छे ।’
भूषिता वशिष्ठ

काठमाडौँ — केही दिनअघि मात्रैको कुरा हो— मेरो एक परिचितले घरमा खाना खान बोलाउनुभयो । त्यसो त मलाई खासै यस्ता जमघटमा जान मन लाग्दैन तर फोनमा उहाँको आवाजमा नजानिदो किसिमको थकान थियो । स्पष्ट आग्रह खानाको भए पनि कताकता ‘गुहार खोजे’ जस्तो गरेर उहाँले भन्नुभयो, ‘आऊ है । धेरै कुरा भन्नु छ ।’

निश्चित दिनमा म उहाँको आलिसान बंगला पुगें । बगैंचामा पंक्तिबद्ध लाममा जिरेनियम फूल फुलेका थिए । भर्खरै झरी थामिएको थियो, सिनित्त परेको अग्लो शिरीषको बोट अझ कल्कलाउँदो देखिएको थियो । घरभित्र छिरेर कोरिडोरमा राखिएको ठूलो भेनेसियन ऐना हेरेपछि यो थाहा पाएँ, हिलोका वाछिटा मेरो सेतो सुरुवालमा बिफर दागझैं खोपिएका रहेछन् । यसो नियालेर चारैतिर हेरें— मैले फोनमा जुन अव्यक्त त्रासको कल्पना गरेकी थिएँ, घरभित्र पस्दा त्यसको कुनै भानसम्म पनि थिएन । सामान्य शिष्टाचार गफ सकिएपछि उहाँले अलि हिच्किचाउँदै भन्नुभयो, ‘मलाई साह्रै आपत् छ, बुझ्यौ ? उसले फेरि मलाई पिट्न सुरु गर्‍यो ।’ उहाँले यसो भनिरहँदा मेरो आँखा हठात उहाँको देब्रे आँखामाथिको सानो खतमा अल्झियो । आलो घाउ थियो, भर्खर खत निस्किएर कलिलो मासु पलाउँदै थियो । त्यो घाउ कसरी भयो भनेर सोध्न मन थियो तर प्रश्न गलामै रोकियो ।


‘यस्तो कतिन्जेल सहने ?’ मैले मनभरि उठेका प्रश्नहरूको थानबाट सबैभन्दा कम व्यक्तिगत प्रश्न छानें । ‘उसले भनेको छ पारपाचुके गरे मलाई केही सम्पत्ति पनि दिँदैन रे । छोराहरू पढाउनु छ । त्यसै पनि मैले काम गर्न छाडेको धेरै भइसक्यो ।’


यसो भनिरहँदा उनका श्रीमान् बैठकमा बसेर टीभी हेर्दै दिए र, उनी धमाधम बोडी केलाउँदै थिइन् । बोडी धोईपखाली ओइरिंदै उनले थपिन्, ‘अब त केही गर्न सकुँला भन्ने आत्मविश्वास पनि छैन ।’


केही वर्षअघि प्रधानाध्यापक भइसकेकी मान्छेको यस्तो निराश कुरा सुनेर मलाई आफ्नै आमाको झल्को आइरहयो । बिहान पाँचै बजे उठेर रात ११ बजेसम्म एकोहोरो घरधन्दा गर्ने महिलाका बारेमा भन्नुपर्दा लोग्नेहरू भन्ने गर्छन्, ‘मेरी श्रीमती केही काम गर्दिनन्, उनी हाउसवाइफ हुन् ।’


अनायासै मेरो मनमा अर्को प्रश्न आयो, ‘काम के हो ?’ माध्यमिक तहको भौतिक विज्ञानमा पढाइन्छ, ‘कुनै ठोस वस्तुलाई कुनै निश्चित दूरीमा सार्न प्रयोग हुने बललाई काम भनिन्छ ।’ यो परिभाषाअन्तर्गत त पक्कै पनि टेबुल–कुर्सीमा बसेर काम गर्ने जागिरेभन्दा एक औसत गृहिणीले एक दिनमा बढी नै काम गर्छिन् । तर हाम्रो समाजमा कामको परिभाषा वैज्ञानिक वा प्रायोगिकभन्दा बढी आर्थिक छ ।


अहिले विश्व अर्थव्यवस्था पुँजीवादी व्यवस्था हो । यहाँ हरेक वस्तुको आर्थिक मूल्यांकन हुन्छ । लत्ताकपडा, तरकारी, चामल वा अन्य उपभोग्य वस्तुको निर्धारित मूल्य हुनु स्वाभाविकै भयो, हिजोआज त मानवीय भावनामा पनि ‘प्राइस–टयाग’ लाग्न थालेको छ । तपाईं कुनै तारे होटल जानुभयो भने अनेकन प्रकारले होटलका कर्मचारीले तपाईंको स्वागत गर्लान् । तर, भोलिपल्ट तपाईंसँग रुपैयाँ नभए तिनै कर्मचारीले तपाईंको कठालो समातेर निकालिदिनेछन् । सम्मान, सेवा, सत्कार यावत् सबैको हिजोआज मोल निर्धारित छ । तर, यस्तो चर्को मोलमलाईको युगमा पनि दासत्वको एउटा यस्तो परम्परा जीवित छ जहाँ आज पनि लाखौंलाख हामीहरू कुनै पारिश्रमिकबिना काम गरिरहेका छौं ।


कार्ल माक्र्सले भनेका थिए— पुँजीवादी व्यवस्थामा आर्थिक मुनाफा मजदुरको ज्यालाबाट काटिन्छ । एउटा मजदुरले कुनै सय रुपैयाँ मूल्य पर्ने जुत्ता बनायो भने उसलाई पचास रुपैयाँ मात्र ज्याला दिइन्छ र, बाँकी रकम पुँजीपतिको मुनाफा बन्छ । यसरी ज्याला र मूल्यबीचको विभेदले नै मुनाफा पैदा हुन्छ । तर, आफ्नो विवेचनामा उनले समाजमा विद्यमान स्थितिलाई तटस्थ नियामक माने— तीमध्ये एक नियामक थियो, ‘घरायसी काम’ । उनका अनन्य मित्र फ्रेडरिक ऐंगल्सले बरु व्यक्तिगत सम्पत्तिको अवधारणा विकाससँगै महिलाको उत्पीडन र निजीकरणको सुरुआत भएको उल्लेख गरेका छन् । औद्योगिकीकरणसँगै मनुष्यको कामको परिभाषा र बाँडफाँड अलग हुँदै गयो । औद्योगिकीकरण अगाडि महिला र पुरुषको कामको बाँडफाँड घरभित्र र घरबाहिर निर्धारित थियो ।

औद्योगिकीकरणपछि पनि यो बाँडफाँड यथावत् रहयो तर के फरक भयो भने एकथरी कामको पारिश्रमिक तोकियो, अर्कोथरी काम (घरायसी काम) लाई भने पारिश्रमिकको लायक ठानिएन । कालान्तरमा उत्तिकै काम गरेर पुरुषहरू आर्थिक, सामाजिक, राजनीतिक हरेक दृष्टिले सबल भए तर महिलाहरू भने पिछडिँदै गए ।


वर्गसंघर्षको मिहिन विमर्श गर्दा पनि माक्र्सले महिला र पुरुषबीचको वर्ग संघर्षलाई सही तरिकाले विश्लेषण गर्न सकेनन् । पछि गेल रुबिनजस्ता महिलावादी चिन्तकले माक्र्सको यो दृष्टिभ्रमको बारम्बार आलोचना गरेका छन् । रुबिन भन्छिन्—‘पुँजीवादी व्यवस्थाको मुनाफा ज्याला र मूल्यको असमानताले हैन, महिलाको घरायसी कामको शोषणमा आधारित छ ।’
प्राक्टिकल एक्सनको एक अध्यनअनुसार औसत नेपाली महिला दिनको ११ घण्टा काम गर्छन् जुन औसत पुरुषको दाँजोमा तीन घण्टा बढी हुन्छ । तर यसका बाबजुद उनको घरायसी कामको कुनै आर्थिक मूल्यांकन नभएका कारण मरेर काम गरे तापनि आफ्नो जीविकोपार्जन निम्ति आफ्ना पिता, पति वा पुत्रमै आश्रित हुन्छिन् । यो त भयो गृहिणी पीडा ।


अझ अफिसमा काम गर्ने महिलाहरूको दु:ख भीमकाय छ । ती महिलाले एक दिनमा ‘डबल सिफ्ट’ वा दुई दिनको काम गर्नुपर्ने बाध्यता छ । धेरैजसो महिला सशक्तिकरणका कार्यक्रम पनि यो तथ्यलाई मनन नगरी सिलाइ–बुनाइ आदि गराई महिलाको चर्को कामको भारलाई अझ लागीपरेका छन् । महिलालाई सशक्तीकरणको आवश्यकता छैन भनेर हामीले कहिल्यै बुझेनौं । महिला आफैंमा सबल, सक्षम छिन्, परिश्रमी छन् । बरु खाँचो छ— यो परिश्रमको मूल्य तिर्ने पारिश्रमिकको । जबसम्म दिनको ११ घण्टा काम गरेर पनि एक महिलाले ‘मैले केही काम गर्दिनँ’ भन्न अभिशप्त छन्, तबसम्म चैते विकासका अनेक मोडल ल्याए पनि संस्थागत पितृसत्तात्मक विभेदको अन्त्य हुन सक्दैन ।


घरायसी कामलाई आर्थिक रूपमा मूल्यांकन गर्ने हो भने मात्रै समानता वा असमानताको यो हिसाब स्पष्ट हुन सक्छ । एक गृहिणीले भार्या, सुसारे, जाया, भान्से, माली, खजान्ची, धोबी इत्यादि भूमिका निर्वाह गरिरहेकी हुन्छिन् । सिर्जनात्मक दृष्टिकोणबाट मात्रै हेर्दा पनि घरायसी धन्दा भनेको आफैंमा एउटा विराट–कला हो । चिटिक्क पारेर कोठा सजाउनु, मीठो पकवान बनाउनु, तरकारी पकाउनु, छोराछोरी हुर्काउनु, कपडा धुनु...† लौ मानिलिनुस्, यदि यी सबै कामका लागि तपाईंले छुट्टै कोही राख्नुपर्ने भए कति तलबमा त्यस्तो श्रम किन्न सकिन्थ्यो होला ? फेरि कार्यकुशलताको कुरो त आफ्नै ठाउँमा रह्यो, जो ‘ममत्व र अपनत्व’को भावसहित एक माता र भार्याले गृहस्थी सम्हाल्छिन्, त्यो ममत्वको मोल कति राख्नुपर्ला ?
हो, ममत्व अमूल्य छ । यसको कुनै मोल तोक्न सकिँदैन । यद्यपि आमाको माया वा श्रीमतीको माया अमूल्य छ, मूल्यहीन हैन । हामीले भावनात्मक रूपमै पनि घरायसी कामलाई न गरिमा दिन सकेका छौं, न हाम्रा आमा–दिदीबहिनीले आफ्नो काममा आत्मगौरव महसुस गरेका छन् । यो काम केवल पुस्तैनी विरासत मात्रै हो, आर्थिक परनिर्भरता जोडिएको बिरासत ।
मलाई खानपिनको निम्तो दिने मेरी परिचित यदि कुनै सरकारी कार्यालयमा पियनकै रूपमा मात्र पनि दिनको ११ घण्टा खटेकी भए २४ वर्ष (उहाँको विवाह भएको २५ वर्ष भयो) मा जागिर छोड्दा पेन्सन, उपदान इत्यादि आउँथ्यो होला । तर आज पनि ‘लोग्नेले घरबाट निकालिदिए सडकमा पुगौंला’ भन्ने भय उनका मनमा छदैछ । जीवनभरको घरायसी कामले सधैं बेफुर्सद उनी ‘दास’ मात्रै बनिन्, स्वाभिमानी बन्न सकिनन् । २५ वर्ष बैंकमा काम गरेर उनका श्रीमान्ले घर कमाए, गाडी कमाए, इज्जत कमाए । तर उनले भने घरको चारचौकोसमा व्यस्ततम दैनिकी गुजारेर ‘मैले काम गरेकी छु’ भन्ने आत्मविश्वाससम्म कमाउन सकेकी छैनन् । कत्रो विडम्वना!

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT