कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

रूखको दु:ख

सरोकार
नवराज पराजुली

काठमाडौँ — विमानस्थल बन्न लागेको ठाउँका रूखहरूले मलाई भन्दै थिए, ‘ओइ मान्छे, तँ भुइँबाट उठेर म माथिबाट उड्छस् र भुइँमै झर्छस् । तर, मेरा अरू यति धेरै आफन्त छन्, जो मैसँग बस्छन्, ममाथि र मेरै वरपर उड्छन्, हिँड्छन् र मैमा फर्किन्छन् ।

रूखको दु:ख

म उनीहरूको घर हुँ ।’

सानो छँदा झापाको आकाशमा म एउटा एकदमै अनौठो चरा देख्थें, जसले पँखेटा चलाकै देखिन्नथ्यो तर उड्थ्यो । एकदमै चाँडो उड्थ्यो । त्यो चरा हाम्रो गाउँघरका कुनै रूखमा बसिदिए हुन्थ्योजस्तो लाग्थ्यो । म उसलाई नियालेर हेर्न चाहन्थें । तर, उसलाई हाम्रो गाउँका रूख मन पर्दैनथ्यो कि क्या हो कुन्नि, ऊ त्यहाँ कहिल्यै बसेन । एकै छिन देखिन्थ्यो र हाम्रो गाउँलाई छोडेर भद्रपुरतिर जान्थ्यो । म कहिलेकाहीँ त्यो चराको ढाडमा चढेर उडेको सपना देख्थें । कहिलेकाहीँ त्यसलाई नजिकबाट हेर्न भनेर रूखमा चढ्थें र पर्खिरहन्थें । रूखका चराले त उनीहरूलाई उडेर भेटिसके होलाजस्तो लाग्थ्यो । उनीहरू साथी भइसके होलाजस्तो लाग्थ्यो । हामी केटाकेटीहरू त्यो ठूलो चरा देख्दा उसलाई समात्न भनेर आँगनबाटै उफ्रिन्थ्यौं । र, ऊ गइसकेपछि ‘मैले झन्डै समातें’ भन्दै एक–अर्कालाई गफ दिन्थ्यौं । ठूला मान्छेहरू त्यो चरालाई वास्तै गर्दैनथे । उनीहरू भन्थे, ‘कति उफ्रेका यिनीहरू ! हवाइजहाज आयो, गयो !’

केही वर्षअघि निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्ने खबर सुनें । त्यतिखेर म ठूलो भइसकेको थिएँ । मैले टाढाबाट देखेको त्यो ठूलो चरा पनि हुर्केर झन् ठूलो र हृष्टपुष्ट भइसकेको थियो । म खुसीले चरा भएँ । मलाई लाग्यो— निजगढको आकाशमा अब सयौं ठूला चराहरू उड्नेछन् । र, निजगढ वरपरका लाखौं केटाकेटीले उड्ने सपना देख्नेछन् । त्यहाँका केटाकेटीले पनि जंगलका चराले ठूला चरालाई साथी बनाए भनेर मैलेजस्तै ईश्र्या गर्नेछन् । मलाई लाग्यो— यो विमानस्थलले यति धेरै सपना र अवसर दिनेछ कि आमालाई खुसी दिन भनेर आमालाई छोडेर उडी गएका छोराछोरीहरू घर फर्किनेछन् । मलाई लाग्यो— अब हामीले बुढेसकालमा आफ्नै देशमा सुखले बस्न पाइन्छ कि भन्ने लुतेआस बोकी पूरा जवानी अर्काको देश बनाएर बिताउनुपर्दैन । मलाई लागेको थियो— यो विमानस्थल यसरी बन्नेछ कि यसले आमाबुबा र छोराछोरी छुटाउने सबै किसिमका राष्ट्रिय व्यापार बन्द गर्नेछ । यो विमानस्थल सम्बन्ध जोड्ने विमानस्थल बन्नेछ भन्ने लागेको थियो । लागेको छ । यसै पनि यो विमानस्थल हाम्रो देशको राष्ट्रिय गौरवको योजना थियो, छ । तर, केही दिनअघि यस्ता समाचारहरू आए कि यदि त्यो पूर्ण रूपले सत्य हो र यदि निर्णय भएका भनिएका सबै कुरा कार्यान्वयन हुने हो भने त्यसले धेरै सम्बन्धहरू टुटाउनेछ— रूख, माटो र पानीको । रूख, हावा र मान्छेको । चरा र उनीहरूका घरको । जनावर र उनीहरूका घरको । मान्छे र जनावरको । मान्छे र पन्छीको । मान्छे र पानीको । अरू निकै धेरै ।

लाखौंको संख्यामा (कुनै पक्षबाट २४ लाख र कुनै पक्षबाट ८ लाखको कुरा आएकाले) ‘रूख काट्ने कुरामा’ सरकार निर्णय गर्न हतारिनुले मलाई डर लाग्यो । जसरी विमानस्थल बनाइने कुरा आयो, त्यो भयानक लाग्यो । २४ लाख रूख काट्ने निर्णय भएको कुरा सञ्चार माध्यममा पढें । पढ्नेबित्तिकै म अडिएका मेरा जराहरू हल्लिएजस्तै भयो । काटिन लागेका ती रूखहरूलाई भेट्न मन लाग्यो र म निजगढको जंगलतिर लागें ।

त्यहाँ मैले पाँच प्राणीहरूलाई भेटें, जसका जरा यो विषयको माटोसँग टाँसिएका छन्—
१. त्यो नगरपालिकाका मेयर भरतबहादुर भण्डारी, जहाँ यो अन्तर्राष्ट्रिय विमानस्थल बन्दै छ,
२. सोही ठाउँका बासिन्दा,
३. सोही ठाउँका उद्योग वाणिज्य संघ अध्यक्ष महेशकुमार शाह,
४. सोही जंगल नजिकैको एक मुख्य बजारका बजार व्यवस्थापन समिति सचिव शम्भुकुमार शाह,
५. (र, सबैभन्दा महत्त्वपूर्ण) त्यो जंगलका लाखौं ठूला–साना रूखहरू ।
त्यो जंगलका ठूला–साना रूखले मलाई भनेका कति कुरा तपाईंलाई सुनाउन मन छ । तर, के गर्नु— तपाईंसँग मान्छेबाहेक अरूको कुरा सुन्ने समय होला, नहोला † अब आउनुस् म तपाईंलाई मान्छेका कुरा सुनाउँछु ।
...

बारा जिल्लाको कोल्हबी नगरपालिका (जहाँ विमानस्थल बन्दै छ) का नगर प्रमुख भरतबहादुर भण्डारीलाई भेटपछि मैले भनें, ‘सर, निजगढ विमानस्थल बन्न २४ लाख रूख काटिने कुरा आइरहेको छ । के त्यत्रो संख्यामा रूख काटिनै पर्ने हो ? तपाईं के भन्नुहुन्छ ?’

नगर प्रमुखले भन्नुभयो, ‘हेर्नुस् सर, पहिलो कुरो त यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल जो छ, यसको नाम मिडियाले किन निजगढ विमानस्थल भनेका छन्, थाहा छैन तर एउटा समिति बनेको छ— पर्यटनमन्त्रीको अध्यक्षतामा । त्यसले अहिलेसम्म यसको नामाकरण गरेकै छैन । यसको नब्बे प्रतिशत ठाउँ हाम्रो कोल्हाबी नगरपालिकामा पर्छ र बाँकी १० प्रतिशत भूभाग जितपुर सिमरा उपमहानगरपालिकामा । निजगढमा होइन । दोस्रो, कोरियाको कम्पनीबाट पहिला कुरा आउँदाचाहिँ ८४ लाख ठूला–साना रूख काट्नुपर्ने भनिएको थियो । पछि नेपाल सरकारले त्यो मानेन र अहिलेचाहिँ त्यसको एकतिहाइ अर्थात् २४ लाख मात्रै रूख काट्ने भन्ने कुराको एक प्रति कागज हामीकहाँ आएको छ । रूख काटिनुले, यसको मुख्य प्रत्यक्ष प्रभाव पर्ने भनेको पनि कोहल्वी नगरपालिकालाई नै हो किनकि त्यही जंगलबाट पाँचवटा खोला बग्छन्, जसबाट कोल्हबी नगरपालिका र यहाँ वरपरका अन्य नगरपालिकाका साथै रौतहट जिल्लाका केही ठाउँ सिञ्चित हुन्छन् । रूख कटानसँगै मुहान सुक्ने जोखिम छ । फेरि हेर्नुस्, यो बारा जिल्ला भनेको ठाउँ झापा, चितवन जस्तै एकदमै धान फल्ने खेतीयोग्य ठाउँ हो । त्यसमा पनि यो कोल्हबी नगरपालिका बाराकै सबैभन्दा उर्वर भूमि हो । तर, सरकारले यसलाई राष्ट्रिय गौरवको योजनाका रूपमा लिएकाले विकल्पसहित काम हुनेमा हामी ढुक्क छौं । सरकारले जंगललाई विमानस्थल बनाउने ठाउँको रूपमा मात्र प्रयोग गरी कोल्हबी र निजगढलाई मेगासिटी–स्मार्टसिटीको रूपमा विकास गर्नेमा हामी ढुक्क छौं । हेर्नुस्, हामीले त ठूलो सपना देखेका छौं । सपना नदेखी पूरा हुन्न भन्छन् ।’

उहाँ खुब मीठो र स्पष्ट बोल्नुहुँदो रहेछ र हँसिलो पनि । उहाँको हाँसोमा रूखहरूको कृपा रहिरहोस् ।नगर प्रमुखसामु त्यहाँ उपस्थित अरू स्थानीयको कुराले एउटा कुरामा भने मलाई खुब दु:खी बनायो । उहाँहरूले रूख काटिँदाको त्यो प्रभावमात्रै देख्नुभो, जुन तत्काल सुरु हुन सक्छ र जसले उहाँहरूलाई सिधै (खेतीपाती) लाई असर गर्छ । हात्तीलगायतका अन्य धेरै ठूला–साना वन्यजन्तु पूर्व–पश्चिम हिँड्ने करिडोर हो त्यो ठाउँ, तर त्यत्रो बेर कुरा गर्दा पनि एक जनाले समेत त्यहाँका वन्यजन्तु र चराचुरुंगीप्रति केही वास्ता देखाउनुभएन । वन्यजन्तु र पन्छीहरूले न धान रोप्ने बेलामा बीउ काढ्न सघाउँछन् न धान काट्न । न भवन बनाउन नै । त्यही भएर होला । केही स्थानीयले त यो पनि भन्नुभो, ‘सालबाहेक अरू रूखको के काम ? काठै राम्रो आउँदैन ।’

यो सुनेर मलाई उहाँहरूसँग रिस उठेन किनकि उहाँहरूले त त्यही भन्नुभो, जसरी राज्यले आफ्ना जनतामा शिक्षा पुर्‍याएको छ । त्यो जंगलका ठूला–साना रूखले मलाई भनेका कति कुरा तपाईंलाई सुनाउन मन छ । तर, के गर्नु— तपाईंसँग मान्छेबाहेक अरूको कुरा सुन्ने समय होला, नहोला † आउनुस्, म तपाईंलाई मान्छेका कुरा सुनाउँछु ।
...

अलि अघि भेटिएका उद्योग वाणिज्य संघका अध्यक्ष महेशकुमार शाहले मीठो तर संवेदनशील कुरा गर्नुभो । उहाँ भन्दै हुनुहुन्थ्यो, ‘हाम्रो कोल्हबी वरपरको ठाउँलाई ‘चेरवन्त’ भनिन्छ, यसको अर्थ थाहा छ तपाईंलाई ?’
‘थाहा छैन, सर ।’
अध्यक्षज्यूले भन्नुभयो, ‘यसको अर्थ हो— प्राकृतिक सिँचाइको स्रोत भएको ठाउँ । हाम्रो खेतमा सिँचाइका लागि सरकार वरकारले केही गर्नुपरेको छैन । हाम्रो यो जंगलले दिएको मुहानबाट पाँचवटा खोला बग्छन्, जसले गर्दा हाम्रोमा सजिलै तीन बाली खेती हुन्छ सर, तीन बाली !’
यो वाक्य भनिरहँदा उहाँको गाला गर्वले रातो भएको थियो, यो सुनिरहँदा म खुसीले लठ्ठ परें ।
उहाँले थप्नुभयो, ‘सर, दुई बाली धान लगाउँछौं अनि एक बाली मकै वा गहुँ । माओवादी द्वन्द्वकालमा धेरै रूख काटिए, जसले गर्दा अहिले ती खोलामा पानीको सतह अलि घटेको छ । अब यत्रो रूख काटिन लागेको छ, जसले गर्दा पानीको मुहान त खतरामा हुन्छ । त्यसैले राज्यले पानीका लागि वैकल्पिक व्यवस्था गर्नुपर्छ । अनि त्यति ठाउँमा मात्रै रूख काटिनुपर्छ, जहाँ विमानस्थल बन्छ । त्यहाँका हुर्किसकेका रूख काटेर वृक्षरोपण गर्छु भन्नु सजिलो कहाँ छ ? नत्र हेर्नुस्, यो जंगलबीचको हुलाकी बाटो बन्ने क्रममा धेरै रूख काटियो, त्यसको साटो वृक्षरोपण गर्ने भनेर एक चरण पैसा आयो । बिरुवा रोपियो तर यो देशमा त्यस्तै हो । बिरुवा यत्तिकै मासिए । अहिले थोरै बिरुवा मात्रै छन् । काटेजस्तो सजिलो कहाँ हुन्छ र हुर्काउन !’
अध्यक्षज्यूले मेरो दिल छुलिनुभयो † मेरो कानमा गुन्जिरहयो— काटेजस्तो सजिलो कहाँ हुन्छ र हुर्काउन !
छुट्ने बेलामा उहाँले भन्नुभयो, ‘जति बढी जंगल जोगाउन सकियो, त्यति राम्रो नि सर, हावा मीठो, पानी मीठो । हाम्रोतिर अलिकति जमिन खन्यो कि यति मीठो पानी आउँछ नि, कुरै छोड्दिनुस् । पानीको नो प्रोब्लम, सर ।’
त्यो जंगलका ठूला–साना रूखले मलाई भनेका कति कुरा तपाईंलाई सुनाउन मन छ । तर, के गर्नु— तपाईंसँग मान्छेबाहेक अरूको कुरा सुन्ने समय होला, नहोला † आउनुस्, म तपाईंलाई मान्छेका कुरा सुनाउँछु ।
...

सोही जंगल नजिकैको एक मुख्य बजारको बजार व्यवस्थापन समितिका सचिव शम्भुकुमार शाहले भन्नुभो, ‘यो जंगल मुन्तिर बहुत राम्रो गाउँ छ, जंगलजत्तिकै राम्रो ! म तपाईंलाई हेराउँछु ।’उहाँले मलाई उहाँकै गाउँको बजार अनि खेतमा घुमाउनुभयो । काठमाडौंमा आरक्षण कोटामा सास फेर्न पाउने मैले मधेसको त्यो आवादीमा फोक्सो पूरा फुलुन्जेल सास फेरें । आँखाले देखिनेसम्मको ठाउँमा हरियो धानका बोट भोजपुरी भाषामा गीत गाइरहेका थिए ।
‘कमरिया !’ ‘कमरिया !!’

धानका बोटले कम्मर हल्लाऊन् भनेर जंगलले हावा पठाइरहेको त्यो मधेस † धानका जराको मुख नसुकोस् भनेर जंगलले खोला पठाइरहेको त्यो मधेस † आहा † मैले प्रार्थना गरें— विमानस्थल बन्दा लाखौं रूख नमारिऊन्, कमभन्दा कम विनाशले विमानस्थल बनोस् † जंगल, पानी, खेत र मान्छेको यो प्रेम केही गरी नबिग्रिओस् । मनमनै भनें, ‘विमानस्थल यस्तरी बनोस् कि त्यहाँ उत्रिएका यात्रुहरूले प्रकृतिको यो लभस्टोरी देखेर जाऊन्, लेखेर जाऊन् † वर्षौंदेखि एक्लिएको हाम्रो मधेसको यो सौन्दर्यलाई संसारभरि पुर्‍याओस् यो विमानस्थलले !’

एक जना किसानलाई भेटें, जसलाई विमानस्थल बन्दै छ भन्ने पनि थाहा छैन, रूख काटिँदै छन् भन्ने पनि थाहा छैन । उहाँ केवल मख्ख पर्दै आफ्नो खेतको बारेमा भन्नुहुन्छ, ‘यो खेतमा तीन बाली लगाउँछु, दुई बाली धान और एक बाली गेहुँ । एक कठ्ठामा पाँच मन फल्छ, पाँच † पानी यहाँ जतिको पनि छ !’ मैले उहाँलाई विमानस्थल बन्ने र रूख काटिने कुनै कुरा सुनाइनँ ।

बाराबाट काठमाडौं फर्किंदासम्ममा मैले धेरै गाली खाइसकेको थिएँ । फेसबुकमा मैले रूख मारिनु हुन्न भनेकोमा ‘विकासविरोधी’ भनेर धेरै विद्वान्हरू खनिनुभयो । केहीले त ‘तपाईंलाई रूख हेरेर कविता लेख्न आउँछ भन्दैमा हाम्रो देशमा रूख काटेर विमानस्थल बनाउनै नहुने ?’ भन्ने स्तरको सम्म प्रतिक्रिया दिनुभयो ।
केही विद्वान्हरूले यो कुरालाई लिएर यसरी आफ्नो राजनीतिक स्वार्थ पूरा गर्दै छन् कि अब बोल्नु जरुरी छ । केही धोद्रा तर्कहरू छन्, जसभित्रको प्वाल देखाइदिनुपर्छ—

धोद्रो तर्क १
विनाश नभई विकास कसरी हुन्छ ?
धान खेतमा रोप्नका लागि ब्याडबाट बीउ उखेलिन्छ, यसको अर्थ ब्याडमा बीउ उखेल्नु विनाश होइन । हामी बीउ उखेल्छौं, काट्दैनौं । विनाशभन्दा माथि विकल्प हुन्छ ।
विकल्प १— रूख कटानीअघि नै वृक्षरोपण ।
वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) अनुसार जति रूख काटिन्छ, त्यसको २५ प्रतिशत शोधभर्ना गर्ने गरी बिरुवा रोप्ने कुरा छ (हुन त एउटा जलविद्युत् आयोजनाको ईआईए बाट ‘कपी–पेस्ट’ गरेर बनाइएको त्रुटिपूर्ण प्रतिवेदनको पछि के लाग्नु, त्यही पनि !) ।
रूख कटानी गर्ने काम सुरु हुनुअघि तय गर्नुपर्ने धेरै काम अझै बाँकी नै रहेछन् । रूख काटिनु (कमभन्दा कम) भन्दा अगाडि नै वृक्षरोपणको काम किन नगर्ने ? यसो गर्नाले जनताले पनि आस गर्ने धेरै ठाउँ रहन्छ । फेरि पनि वृक्षरोपणको कुरामा त्यही कुरा आउँछ, ‘काटेजस्तो सजिलो कहाँ हुन्छ हुकाउन ?’
तर, सरकारको हतारो यस्तो देखिन्छ कि मानौं विमानस्थल बनाउन रूख भएको ठाउँ चाहिएको भन्दा पनि रूख चाहिएको छ ।
विकल्प २— रूख नमार्ने, बरु सार्ने ।
संसारमा यस्तो प्रविधिको विकास भएको छ, जसले सानादेखि ठूला–ठूलासम्म रूखलाई केही क्षति नपुर्‍याई एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ । युरोप, अस्ट्रेलियालगायत चीन र भारतमा पनि यो प्रविधिको सफल प्रयोग भइसकेको छ । यो सत्य हो कि हामीसँग त्यो प्रविधि अहिले छैन र त्यो किन्नमा खर्च हुन्छ । रूख काट्न पनि खर्च हुन्छ । तर, रूख काट्दा हामीले जे–जे गुमाउँछौं, त्यसको तुलना र रूख काटिँदा वातावरणमा पर्ने असरले गर्दा हुने खर्चको तुलना गर्ने हो भने दीर्घकालीन रूपमा यो धेरै सहज छ । रहयो अहिल्यै त्यो प्रविधि किन्न चाहिने खर्चको कुरा— त्यसमा यदि राज्यले चाहने र औपचारिक रूपमा आफ्ना जनतामाझ जाने हो भने हाम्रो आउने पिँढीका लागि रूख बचाउने कुरामा संसारभरिका नेपालीले राज्यलाई आ–
आफ्नो तरिकाले सहयोग गर्नेछन् । र, राज्यले ‘रूख नमार्ने बरु सार्ने’ सोच अगाडि बढाउनेबित्तिकै प्रविधि र मानव श्रमकै रूपमा नेपाली जनताले सहयोग गर्नेछन् । रूख बचाउन राज्य लाग्ने हो भने र रूख बचाउन नेपाली जनतालाई आह्वान गर्ने हो भने बचाउने कुरामा नेपालीको छाती कत्रो छ भन्ने कुरा नेपालीले इतिहासका युद्धदेखि केही वर्षअघिको भूकम्पमा देखाइसकेका छन् ।
रूखको पनि मान्छेको जस्तै उमेर हुन्छ र निश्चित उमेरमा निश्चित काम गर्न सक्ने क्षमता हुन्छ । यदि हामीले रूख नमारी सार्‍यौं भने त्यो क्षमता हामीले गुमाउनु पर्दैन ।
तर, सरकारको हतारो यस्तो देखिन्छ कि विमानस्थल बनाउन रूख भएको ठाउँभन्दा पनि रूख चाहिएको छ ।

धोद्रो तर्क २
विकसित देशले गरिब देशको विकास हुन नदिन वातावरणको हतियार बनाएका हुन् । हामी पनि रूख काटेरै विकास गर्नुपर्छ । पछिको कुरा पछि ।के कुरा सत्य हो भने आजको दिनमा जलवायु परिवर्तनका कारणले संसारमा जे जति नकारात्मक असर परेका छन्, त्यसमा नेपालको भूमिका छैन । बरु नेपालले उल्टै बाँकी देशलाई यसको प्रभावबाट बचाउन ठूलो सहयोग भएको छ । अझ दु:खलाग्दो कुरा के छ भने नेपालमा जलवायु परिवर्तनका जे–जति असरहरू छन्, त्योचाहिँ आजका विकसित देशहरूले हिजो गरेको औद्योगिकीकरण र वनविनाश, जैविक इन्धन प्रयोग आदि कारणले गर्दा भएको हो । किनकि प्रदूषित हावा, प्रदूषित पानी, प्रदूषित वायुमण्डल, बिग्रिएको मौसमको ढाँचा आदि कुराहरूले देशको सिमाना मान्दैनन् । जसरी स्वच्छ हावालाई एउटा देशबाट अर्को देशमा जान पासपोर्ट चाहिँदैन, त्यसैगरी प्रदूषित हावालाई एउटा देशबाट अर्को देशमा जान पनि पासपोर्ट चाहिँदैन । हिजोका हाम्रा सेता हिमालहरू आज हिउँ पर्ने बेलामा पनि काला देखिनु उनीहरूले गर्दा भएको हो । यो दोषको सजाय उनीहरूले पाउनुपर्छ र पाइरहेका पनि छन् । तर, हिजो उनीहरूले जे–जे गल्ती गरेर आज पछुताइरहेका छन्, आज हामी पनि त्यही गर्दै छौं अनि भोलि पछुताउँछौं भन्नु कत्तिको जायज हो ? र, अझ वातावरणको कुरा आज हामीले गरेको गल्तीमा भोलि पछुताएर सुधार्ने गरी छिटो र छोटो हुँदैन । जसरी आज संसारभरिका मान्छेले प्रदूषण र बढ्दो तापमान भोग्नुपरेको छ, त्यो उनीहरूले आजै गरेको प्रदूषणको फल होइन, त्यो हामीभन्दा अगाडिका मान्छेले गर्दा भएको हो ।

विकसित देशहरूले गरेको प्रदूषणका कारण पृथ्वीको तापक्रम यसरी बढयो र बढिरहेको छ कि हिउँ पहिलेभन्दा डरलाग्दो रूपले पग्लियो, हिउँ पग्लिएको पानी बगेर समुद्रमा गयो, समुद्रको सतह बढयो । यसका कारण प्रशान्त महासागरमा रहेको ‘किरिबस’ नाम गरेको देश अबको २० वर्षम्म पूरै डुबेर सकिनेछ । जबकि यो सारा देश डुब्नुमा त्यो देशका कुनै पुस्ताका नागरिकको केही भूमिका छैन । हामी आज हामीले नगरेको गल्तीको सजाय भोग्दै छौं ।

अनि यो कुरामा जुनसुकै देशको मान्छेले गरेको गल्तीको पनि जुनसुकै देशका मान्छेलाई उत्ति नै फरक पर्छ । र, रूख त्यो एउटै ठूलो शंकर हो, जसले संसारभरिको कार्बनडाइअक्साइडलाई आफ्नो घाँटीमा लिन्छ । हामीले ‘सकेसम्म’ शंकरको हत्या गर्नुहुन्न ।

‘आफूले गर्नु विकास गरिहाले, अब हाम्रो विकास रोक्छन्, उनीहरूलाई के फरक पर्छ ?’ भन्नेहरूलाई ताक्ने मुख्य देश भनेका अमेरिका र चीन नै हुन् । अब त्यहाँको विकासले ल्याएको विनाशको आधा अनुहार हेरौं—

चीन
आज नेपालमा केही मान्छे रूख काटेर केही फरक पर्दैन, विकास गर्नुपर्छ, विकसित देशले पहिले गरेजस्तो गर्नुपर्छ, कार्बनडाइअक्साइडको बारेमा पछि सोचौंला भन्ने तर्क बेचिरहेका छन् । धेरै वर्षअघि चीनमा पनि यही तर्कको व्यापार भयो । फलस्वरूप चीनले आफ्ना उद्योगबाट संसारका लागि चाहिने सामान फलायो । खासै विरोध भएन किनकि दैनिक जीवनमा खासै असर परिहालेको थिएन । चीनले आर्थिक उन्नति गर्‍यो, धनी भयो । तर, चीनका एक वातावरणविद् मा जुनका अनुसार ‘चीनले संसारका लागि सामान उत्पादन त गर्‍यो, सामान त संसारभरि प्रयोग भयो तर त्यसबाट निस्किने मुख्य फोहोर भने चीनमै रहयो । सारा अमेरिकाले एक वर्षमा प्रयोग गर्ने कोइला चीनको एउटा सहर बेइजिङ वरिपरि नै प्रयोग भयो ।’

अनि यति डरलाग्दो गरी हावा प्रदूषित भयो कि लाखौं मान्छेहरू हावाका कारण हुने क्यान्सरले प्रभावित भए । त्यहाँका जनता यहाँको हावा फेर्दै क्यान्सर हुन्छ भन्ने डरले गर्दा बाहिर निस्कनै डराउन थाले । हामीले चिनियाँ सामान त देख्यौं, धनी भएको, विकास भएको त देख्यौं तर त्यसको कारणले चिनियाँको स्वास्थ्यमा परेको असर र त्यसले गर्दा भएका आन्दोलन देखेनौं । पछिल्ला वर्षहरूमा चीनमा भएका सबैभन्दा ठूला अन्दोलनहरू अनियन्त्रित औद्योगिकीकरणकै विरुद्धमा छन् । विलियम शेक्सपियरको नाटकको एउटा संवाद ‘हुनु वा नहुनु’ लेखेको प्लाकार्ड बोकेर चिनियाँ जनता सडकमा उत्रिए । चीनमा कतिपय सहरको अवस्था यति विकराल भयो कि त्यहाँबाट नीलो आकाश देखिनै छाड्यो । अस्ट्रेलियामा बस्ने नेपाली गणेश घिमिरेले फेसबुकमा लेख्नुभएको छ कि दुई वर्षअघि जब उहाँ एक चिनियाँ साथीलाई अस्ट्रेलियाको विमानस्थलमा लिन जानुभो, ती साथी प्लेनबाट ओर्लेर आकाश हेर्दै बोले, ‘दुनियाँमा आकाश पनि रहेछ ।’

उहाँले आकाशबारे सोध्दा चिनियाँ साथीले भने, ‘म ३१ वर्षको भएँ । म बेइजिङमै जन्मेको हुँ । बेइजिङको आकाश धूलो र धूवाँले भरिएको छ । खुला आँखाले २ सय मिटरभन्दा टाढा केही देखिँदैन । आकाशमा ठूलाठूला भ्याकुम मेसिनहरू राखिएका छन् । चस्मा, मास्क हाम्रो दैनिकी हो ।’

चीनले आज गरेको उन्नति र पैसाले सफा हावा किन्न सक्दैन । आजित भएर अहिले चीनले सौर्यऊर्जामा ठूलो लगानी गरेको छ र सहरमा जतिसक्दो बढी रूख रोप्न थालेको छ । हामीसँग त अझै रूखहरू छन् ।
भर्खरै चीन गएर फर्किएका मेरा साथी लेनिन बञ्जाडे भन्दै थिए, ‘हामी वर्षौंसम्म वनजंगल छ भनेर डम्म फुलेर बस्यौं । अहिले तिनै वनजंगल मास्न कस्सिएका छौं । चीनले त सहरमै जंगल बनाइसकेछ । अस्ति भर्खर बेइजिङ गएका प्रधानमन्त्री र उनका मन्त्रीले देखेनन् होला र ?’

र, रूख त्यो एउटै ठूलो शंकर हो, जसले संसारभरिको कार्बनडाइअक्साइडलाई आफ्नो घाँटीमा लिन्छ । हामीले ‘सकेसम्म’ शंकरको हत्या गर्नुहुन्न ।

अमेरिका
चीन र अमेरिका संसारकै सबैभन्दा बढी कार्बनडाइअक्साइड उत्पादन गर्ने देश हुन् । जैविक ऊर्जाको अत्यधिक प्रयोग र विभिन्न बहानाले गरेको वन विनाशले आज अमेरिका आफ्नै खाल्डोमा आफैं छ । अमेरिकाको मायामी बिचका मेयर फिलिप लेभिनका अनुसार अहिले नागरिकबाट उठाएको करको एकदमै ठूलो अंश जलवायु परिवर्तनका कारण निम्तिएको संकटसँग लड्नमा प्रयोग भइरहेको छ । पानीको सतह उठेर बाटो र सहर पूरै जलमग्न हुने अवस्था भएपछि ४० करोड अमेरिकी डलर प्रयोग गरेर बाटोलाई अग्लो बनाउने काम भइरहेछ, जसले अरू ४० वर्ष मात्र धान्नेछ ।

हाम्रो देशमा रूख जति काटे पनि केही हुन्न भन्ने भ्रम जनतामा फैलाउन करोडौं खर्च भइरहेको नहोस् ! केही मान्छेले देखेको आजको फाइदाले गर्दा करोडौं मान्छेको भोलि नबिग्रियोस् ।निजगढ विमानस्थलको नाममा काटिन लागेका रूख सानो उदाहरण मात्र हुन् । फरक–फरक बहानामा यो देशका रूख नकाटिऊन् किनकि रूख त्यो एउटै ठूलो शंकर हो, जसले संसारभरिको कार्बनडाइअक्साइडलाई आफ्नो घाँटीमा लिन्छ । हामीले ‘सकेसम्म’ शंकरको हत्या गर्नु हुन्न ।

बाराको विमानस्थल बनोस् । बुढेसकालमा हामी हाम्रा नाति–नातिनीलाई भन्न सकौं, ‘हेर, बाराको त्यो हरियो अन्तर्राष्ट्रिय विमानस्थल छ नि, त्यो विमानस्थल हाम्रो पालामा बनेको हो † सुरुमा त्यो विमानस्थल अर्कै तरिकाले र एकदमै धेरै रूख काट्ने गरी बन्न लागेको थियो । तर, त्यतिखेरको सरकार, मन्त्री र सम्बन्धित मान्छेहरूले यति परसम्मको सोचे कि एकदमै कमभन्दा कम रूख गुमाएर बनाए । अनि देशभरि करोडौं रूख रोपे । आज हेर त त्यो ठाउँ कति सुन्दर छ † तिमीहरूले उनीहरूलाई धन्यवाद भन्दै आफूले पनि त्यस्तै काम गर्नू है !’

यो लेखिरहने म हावाले बनेको हुँला । यो पढिरहेको तपाईं हावाले बन्नुभएको होला । तर, तपाईं हावा बनाउन सक्नुहुन्न । तपाईंले सक्ने भनेको हावालाई नमार्ने मात्र हो । त्यो रूख मात्रै हो, जसले हावालाई जिउँदो हावा बनाउन सक्छ । तपाईं माटोले बन्नुभएको होला तर तपाईं माटो बनाउन सक्नुहुन्न । तपाईंले सक्ने भनेको माटोलाई नमार्ने मात्र हो । त्यो रूख मात्रै हो, जसले माटोलाई जिउँदो माटो बनाउन सक्छ । तपाईं पानीले बन्नुभएको होला तर तपाईं पानी बनाउन सक्नुहुन्न । तपाईंले सक्ने भनेको पानीलाई नमार्ने मात्र हो । त्यो रूख मात्रै हो, जसले पानीलाई जिउँदो पानी बनाउन सक्छ ।

रूख भनेको पानी, माटो र हावाको सबैभन्दा ठूलो ईश्वर हो । त्यही भएर होला— हेर्नुस् न, प्राय: सबै संस्कृतिमा रूखलाई ईश्वर मानेर पूजा गरिन्छ । पुराना मान्छेको सबैभन्दा नजिकको नाता रूखसँग थियो, चाहे त्यो बस्न होस् या पढ्न, ध्यान गर्न होस् या पूजा गर्न । वा, चौतारीमा भेला भएर सुखदु:ख बाँड्न वा लामो यात्रापछि थकाइ मार्न, प्रेम गर्न । पुराना मान्छेको मान्छेभन्दा नजिकको साथी थियो रूख । पुराना मान्छेले रूखलाई आफ्नो ईश्वर बनाए र आफूलाई रूखको सम्पत्ति माने । हामी नयाँ मान्छेले रूखलाई आफ्नो सम्पत्ति बनायौं । हामी नयाँ मान्छेले ईश्वरलाई आफ्नो सम्पत्ति बनायौं ।

रूखैले दिएको अक्सिजन पुगेको हाम्रो मस्तिष्कले के भुल्यो भने रूख त्यतिखेर पनि थियो, जब हामी नै थिएनौं । अझ हाम्रो हुनु नै हामीभन्दा अघि रूख हुनुले सम्भव भएको हो । पृथ्वीको हुनुबाट हेर्ने हो भने हाम्रो हुनु हिजो–अस्ति हो । रूखैले दिएको अक्सिजन पुगेको हाम्रो मस्तिष्कले के भुल्यो भने रूख तब पनि थिए, जतिखेर देश थिएन, सिमाना थिएन, राजनीति थिएन, दुईतिहाइ थिएन । आज कसो–कसो गरेर रूख कसैको देशको भएको छ र डरलाग्दो गरी रूख केही मान्छेको भएको छ !

म उनीहरूको घर हुँ ।’जंगलका रूखले मलाई भनेका कुरा तपाईंलाई सुनाउन मन छ । तर, के गर्नु– तपाईंसँग मान्छेबाहेक अरूको कुरा सुन्ने समय होला, नहोला !

प्रकाशित : आश्विन ६, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?