कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘तुम जिओ हजारों साल’

सम्मान

काठमाडौँ — ‘बनारसबाट कहिले आउनुभयो ?’ उहाँले सोध्नुभएपछि म विस्मित भएँ । यति लामो समयसम्म कसैलाई याद राख्नु अचम्मको कुरा हो र, उहाँको स्मरण शक्तिको प्रमाण ।

‘तुम जिओ हजारों साल’

कविवर माधवप्रसाद घिमिरे सय वर्ष पुगेको यो अवसरमा मेरो स्मृतिपटलमा दुईचार क्षणहरू उथलपुथल भैरहेका छन्, केही कुरा लेखिहालूँ जस्तो भएको छ ।हुन त कविवरसँग मेरो त्यति व्यक्तिगत परिचय छैन र, त्यति गहिरो अध्ययन पनि छैन सिवाय ‘गौरी’ । यी अधक साधकलाई मैंले जम्मा तीन पटक भेट्ने सुअवसर पाएको छु र, यी तीनैवटा भेट चिरस्मरणीय छन् ।

पहिलो भेट, सन् २००६ को कुरा हो । ‘बीपी कोइराला नेपाल–भारत प्रतिष्ठान’ले काठमाडौंमा नेपाली साहित्यकार सम्मेलनको आयोजना गर्न लागेको थियो । त्यसको उद्घाटन समारोहमा कविवर घिमिरेको उपस्थिति भइदिए सम्मेलनको गरिमा बढ्ने निधो गरिएको थियो । म बनारसबाट सम्मेलनमा भाग लिन काठमाडौं आइपुगेको थिएँ । समय मिलाएर हामी उहाँको निवासस्थान पुग्यौं ।

उहाँ बैठक कोठामा हामीलाई पर्खिरहनुभएको थियो । एकै छिन कुराकानीपछि उहाँले हामीलाई छेउको कोठामा लग्नुभयो । कोठाभित्र राखेका र्‍याक र ती र्‍याकहरूमा सजाएर राखिएका अभिनन्दनपत्र, सम्मानपत्रले उहाँको विराट् व्यक्तित्व र त्यस व्यक्तित्वप्रति जनताले दर्साएको प्रेम/सम्मानका प्रमाण थिए । यस्ता व्यक्तित्वको पहिलो पटक दर्शन पाएर म धन्य भएँ ।
भन्नु नपर्ला, उहाँले साहित्यकार सम्मेलनमा मुख्य अतिथि हुन सहर्ष स्वीकार गर्नुभयो ।
......


उहाँसँ मेरो दोस्रो भेट साथी कृष्णप्रसाद पराजुलीको ७७ औं वर्षगाँठ अवसरमा आयोजित समारोहमा भएको थियो । मञ्चमा राष्ट्रकवि, कमलमणि र अन्य विशिष्ट साहित्यकारका साथै बनारसबाट आएका अतिथिको नाताले म पनि बसेको थिएँ । राष्ट्रकविज्यू मेरो छेउमै बस्नुभएको थियो ।‘बनारसबाट कहिले आउनुभयो ?’ उहाँले सोध्नुभएपछि म विस्मित भएँ । यति लामो समयसम्म कसैलाई याद राख्नु अचम्मको कुरा हो र, उहाँको स्मरण शक्तिको प्रमाण ।उहाँले आफ्नो मन्तव्यमा कृष्णप्रसाद पराजुलीबारे जो बोल्नुभयो, त्यसले म उहाँको अध्ययनशीलताप्रति नतमस्तक भएँ । उहाँले भन्नभुयो, ‘पराजुलीज्यू अत्यन्त परिश्रमीका साथसाथै स्पन्दनशील साहित्यकार हुनुहुन्छ । हरेक विधामा उहाँको कलम खोलाझैं सलल बग्छ, झर्नाझैं सुसाउँछ !’ कति कान्तिमय उद्गार †
.......


त्यसपछि उहाँसँग भेटघाट ‘वसुन्धरा मान प्रतिष्ठान’ ले आयोजना गरेको ‘सम्मान समारोह’ मा रुसी सांस्कृतिक संघको मञ्चमा भएको थियो ।सम्मान पाउनेमा म पनि परेको थिएँ । मलाई दोसल्ला ओढाइदिंदै राष्ट्रकविले ‘दुर्गाजी, बधाई है !’ भनेर फेरि ‘कहिले आउनुभयो ?’ भनी सोध्नुभयो । म फेरि उहाँको स्मरण शक्तिको प्रसंसक बनें । समारोहपछि हलबाहिर प्रांगणमा फोटो खिचाउन तँछाडमछाड गरिरहेका थिए । कति लोकप्रिय !

यस्ता महान् कविको शतवर्षीय उत्सवको आयोजनाको अवसरमा म उर्दूको एउटा शेरमार्फत आफ्नो शुभकामना व्यक्त गर्दछु—

‘तुम जिओ हजारों साल,
साल के दिन हों पचास हजार ।’

प्रकाशित : आश्विन ६, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?