कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरल बन्ने सूत्र

पुस्तक
ज्ञाननिष्ठ ज्ञवाली

काठमाडौँ — बाल्यकालमा औसत क्षमताका भए पनि पछि गएर संसारभर आफ्नो नाम चम्काउन सफल बनेका प्रेरक पात्रहरू थुप्रै छन् । फरकफरक समय र परिवेशका भए पनि यी सबैको जीवनी पढ्दा सफलताको राज एउटै पत्ता लाग्छ । त्यो हो— अठोट । र, यो तथ्यलाई प्रस्तुत गरेका छन्— पत्रकार श्रीश भण्डारीले आफ्नो नयाँ पुस्तक ‘अठोट’ मा ।

सरल बन्ने सूत्र

‘अठोट’ किताब प्रेरणाको स्रोत बन्न सक्नेमध्येको एक सामग्रीका रूपमा आएको छ । आकारमा खिरिलो यो किताब किशोरकिशोरी र युवायुवतीका मनमा उब्जने खुल्दुली मेट्ने खुराकजस्तै छ ।

कुनै पनि व्यक्ति जीवनमा कति सफल वा असफल हुन्छ भन्ने तथ्य ऊ बाल्यावस्था र किशोरावस्थामा कसरी हुर्किएको छ भन्नेमा निर्भर गर्छ । यो किताब किशोरकिशोरीले कलिलो उमेरमै आफूलाई कसरी सही बाटोमा अग्रसर गराउने भन्ने निक्र्योल गर्नमा सहयोगी छ । खासगरी माध्यमिक तहका विद्यार्थीका लागि लक्षित यो किताब शिक्षक र अभिभावकका लागि पनि उपयोगी छ । पुस्तकको मुख्य अभिप्राय छ— हाम्रा हरेक विद्यार्थीले हासिल गर्ने शिक्षाको नतिजा अब ग्रेड र प्रतिशतमा मात्र हैन, वास्तविक जीवनका यथार्थहरूमै झल्किनुपर्छ ।


नयाँ पुस्तालाई भविष्यमा आदर्श पुस्ता बन्न उत्प्रेरणा जगाउने यो पुस्तकमा रोचक कथा र विश्वका महान् व्यक्तिका उद्धरण पनि समेटिएको छ । कसरी खुसी रहने, काम गर्दा कसरी प्राथमिकता तोक्ने, स्मरणशक्ति कसरी बढाउने, जंक फुडबाट कसरी छुट्कारा पाउने, आत्मविश्वास कसरी जगाउनेजस्ता १८ विषय निबन्धात्मक शैलीमा छन् । सिकाइ शैली, कुलतबाट जोगिने तरिका, डर भगाउने उपाय र पढाइमा रुचि जगाउने तौरतरिका पनि छन् । अन्तिममा किताबमा उद्धृत २८ विश्वविख्यात व्यक्तिहरूको संक्षिप्त परिचयसमेत छ ।


पुस्तक आख्यानात्मक, परिभाषात्मक, परिचयात्मक र संवादात्मक शैलीमा छ । विभिन्न शैलीको प्रयोगका कारण पुस्तक ठयाक्कै कुन विधाको हो भन्ने खुटयाउन गाह्रो पर्छ । कृति पढ्दा कतैकतै बालबालिकाका लागि लेखिएको हो कि बौद्धिक पाठकका लागि (?) भनेर छुटयाउन मुस्किल पर्छ । नेपाली र अंग्रेजी शब्दको प्रयोगमा एकरूपता आउन सकेको छैन ।
इटर्नल पब्लिकेसन्सले प्रकाशन गरेको १६० पृष्ठको यो पुस्तकको अन्तिम निष्कर्ष छ— अठोट यस्तो होस् जसले हामीलाई चर्चित होइन, असल बनाओस् । बुद्धिको मात्र होइन, विवेकको समेत बाटो देखाओस् । जीवनलाई जटिल होइन सक्दो सरल बनाओस् ।
–ज्ञाननिष्ठ ज्ञवाली

प्रकाशित : आश्विन १३, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?