कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारी : शक्तिपुञ्ज कि निरीह ?

चिन्ता
उषा थपलिया

काठमाडौँ — सत्य के हो भने वैदिक कालीन ग्रन्थहरू नारी सम्मानभावले अवश्य नै ओतप्रोत थिए तर ग्रन्थलाई व्याख्या गर्ने नाउँमा पुरुष सर्वेसर्वा रहेको कर्मकाण्ड जसरी समाजमा हावी हुँदै आयो, विभेदको क्रम त्यति नै बढ्न थाल्यो । त्यसपछि लेखिएका सहायक ग्रन्थहरूमा नारीका लागि पुरुष स्वामी, पुरुष नै भगवान्... स्थापित हुनथाल्यो ।

नारी : शक्तिपुञ्ज कि निरीह ?

हिन्दुहरूको महान् पर्व बडादसैँ संघारमै छ । पर्व उल्लासका साथै स्त्रीशक्तिको महिमा र आराधनाको अनुपम अभिव्यक्ति दसैंको सशक्त पक्ष हो । प्राचीनकालमा कठोर तपस्यापछि ब्रह्माको वरदानले उन्मत्त भएको दैत्य दुर्गमासुरले देवलोकका देवतासहित मत्र्यलोकका प्राणीहरूमा अनेकौं दु:ख दिन थाल्यो । उसले मच्चाएको बबन्डरबाट आजित सबै देवता महामायाको शरणमा पुगे र दुर्गमबाट रक्षा गरिदिन याचना गरे । महामायाले आफैंभित्रबाट विभिन्न स्वरूपका देवीहरूको सिर्जना गरी असुरका फौज मात्र हैन, दुर्गमासुरकै वध गरेर सम्पूर्ण जगत्को रक्षा गरिन् । दुर्गम दानवलाई संहार गरेकाले महामायाको नाम दुर्गामा परिणत भएको शिवपुराणमा उल्लेख छ । त्यसैले दसैँको नवरात्रिअन्तर्गतका नौवटै रात तिनै दुर्गाको विभिन्न देवी स्वरूपहरूको नामबाट चिनिने थिति बसेको हो । पहिलो दिनदेखि नौ दिनसम्म क्रमश: शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री यी सवै शक्तिशाली देवीहरूको पाठ, पूजा र उपासनामा पुरुष भक्तजनहरूको एकाग्रता अझ बढी झल्कन्छ । देशभरिकै देवी शक्तिपीठमा हरेक दिन नारीशक्तिको उल्लासमय पूजाअर्चना अझ उल्लेखनीय पक्ष हो । विजयादशमीको दिनमा दुर्गाकै विभिन्न रूपहरूको मन्त्रोच्चारण गर्दै आशिषसहित टीकाजमरा लगाइदिने चलन छ । यी सबै प्रचलनले बडादसैंका दौरान नारी जगत्, शक्तिकै उत्कृष्ट स्रोत हुन् भन्नेमा द्विविधा रहन्न ।


धार्मिक पक्षबाट अगल भएर समाजतर्फ फर्कने हो भने स्थिति ठीक उल्टो देखापर्छ । समाजका नारी शक्तिहीन, अवला, डरपोक, निरीह आदि विम्ब बनेर कष्टपूर्ण बाँचिरहेका छन् । दिनप्रतिदिन बढ्दो उत्पीडन, पाशविक यातना, अपहरण, बलात्कार, हत्यालगायतका अपराधले नारीको जसोतसो बाँच्ने त्यही अधिकारसमेत संरक्षित छैन । लैङ्गिक समानताको हिसाबले पुरुषको तुलनामा उनीहरू कोसौं पछाडि छन् । अस्तित्वको रक्षार्थ परिवारभित्रै संघर्षरत महिलाहरूले समाज र राज्यबाट समेत न्यायिक अनुभूति नपाउनुको पीडा उनीहरूसँगै छ । परिवारभित्रैको उत्पीडन, विभेद, हत्याहिंसा, दुव्र्यवहारको निरीह भोग्या वन्न विवश नारीहरू, बाहिरी आपराधिक गतिविधिबाट आफूलाई जोगाउन झन् कसरी सफल हुनु ? उबेला देवतालगायत सम्पूर्ण चराचर जगत्को रक्षा गर्ने नारीशक्ति, अहिले आफैंमाथिको अत्याचारलाई समेत नियति मानेर सहने अवस्थामा खुम्च्याइएका छन् । त्यसैले बोक्सीको नाममा चरम यातनासहित अभक्ष खुवाउँदा तिनी मौन, दाइजो नल्याएको निहुँमा जिउँदै जलाउँदा मौन, तेजाब आक्रमणमा मौन, देहव्यापारका लागि बेचिँदा मौन, छोरा पाउन नसकेर घर निकाला गर्दा मौन । मौनताको संस्कृतिभित्र नारीहरू जबर्जस्ती गुम्स्याइएका छन् । मानवीय मूल्य मान्यता उनीहरूको नैसर्गिक अधिकार बन्न सकेको छैन । महिनावारीलाई अपवित्र मानेर छुवाछूत र अमानवीय कष्ट थोपर्ने परिपाटीले नारीहरूमा निहित सृष्टिको गरिमासमेत महत्त्वहीन बनिरहेको छ । पछिल्लो समयमा प्रविधिले भित्र्याएको कृत्रिम प्रजनन्का अपवादबाहेक, को पुरुष होला जो महिनावारीको उपक्रमबाट नजन्मिएको होस् ? अपवित्र परिणतिबाट जन्मिएको पुरुष पवित्र हुने तर नारीको सोही सिर्जनात्मक प्रक्रिया अछूतमा बदलिने, तैपनि सहिरहेकै छन् नारीहरूले । प्राकृतिक रूपले धरतीमा अवतरित हुने छोरीहरूको अधिकारसमेत लिंग पहिचानको आधारमा गर्भभित्रै खोसिने क्रम बढ्दो छ । गर्भदेखि वृद्धावस्थासम्म खेप्न बाध्य यिनै तमाम उत्पीडनले के नारीलाई शक्तिको रूपमा उभ्याएको ठम्याउने आधार छ ?


राज्यभित्र नारी सशक्तिकरणको सूचक हेर्दा निराश मान्नुपर्दैन । संघीय संसद्मा तेत्तीस, प्रदेशमा चौंतीस र स्थानीय सरकारमा एकचालीस प्रतिशत महिलाहरूको गर्विलो सहभागिता छ । एकै समयमा राष्ट्रप्रमुखदेखि व्यवस्थापिका र न्यायपालिका प्रमुखमा महिला पुगेको कीर्तिमान मुलुकले रचिसक्यो, राष्ट्रप्रमुखको त्यसखाले गौरव हालसम्म कायम छ । राज्यका सम्पूर्ण निकायमा महिला सहभागिता उत्साहजनक बढेकै छ । आर्थिक गतिविधिमा पनि महिलाहरूको संलग्नता निरन्तर बढ्दो छ । उद्योग वाणिज्य महासंघजस्तो पुरुष बाहुल्यको नेतृत्वमा महिला पुग्नु सानो उपलब्धि होइन । हवाइजहाज उडाउनेदेखि, डोजर/स्काभेटरजस्ता हेभी साधन गुडाउने महिला छन् । सुरक्षाफौजमा महिलाको उपस्थिति बढ्दो छ । नेपाली नारीको पराक्रमप्रति विश्वस्त भएर ब्रिटिस आर्मी (ब्रिगेड अफ गोर्खाज) मा नेपाली महिलालाई प्रवेश गराउने संकेत बेलायतले देखाइसकेको छ । खेलाडी बनेर कीर्तिमान रच्ने महिला छन्, ठूलो पुँजीका वाणिज्य बैंक हाँक्ने महिला निस्किसके । चलचित्र विकास बोर्डको नेतुत्व महिलाकै काँधमा छ । सूचना र प्रविधिका क्षेत्रमा पनि महिला कम छैनन् । पुरुषसरह महिला संलग्न नभएको वा गर्न नसकेको कुनै क्षेत्र मुलुकमा बाँकी छैन । महिलाअधिकार प्रत्याभूतिको हिसाबले उत्कृष्ट ठहरिएको संविधान घोषणा भएको ३ वर्ष पुगिसक्यो । महिलाको मानवअधिकार प्रवद्र्धन र लैङ्गिक सशक्तिकरणका लागि मौलिक हकका कानुन संसद्बाट पारित भइसके । छोरीको अंशहक कानुनद्वारा नै संरक्षित छ । महिलामाथि हुने जुनसुकै अपराधविरुद्ध न्यायिक हक खोज्ने कानुनको अभाव छैन, यतिसम्म कि पतिको यौन जबर्जस्तीसमेत अपराध ठहर्ने कानुन विद्यमान छ । गर्भपतनको अधिकार महिलालाई प्राप्त छ । राष्ट्रसंघद्वारा पारित महिलाअधिकारका हरेक दस्ताबेजको पक्षराष्ट्र बन्न राज्य चुकेको छैन । अन्तर्राष्ट्रिय फोरममा महिला सशक्तिकरणका लागि प्रतिबद्धता जनाउन सरकार सधैं अग्रसर देखिन्छ । यसरी हेर्दा नारीको अस्तित्व यति कमजोर नहुनुपर्ने हो तर जे देखिएको छ, यथार्थ त्यही हो ।


लैङ्गिक विभेदबारेमा विमर्श हुँदा महिलाअधिकार पक्षधरहरू हिन्दु धर्मग्रन्थलाई दोषी ठहर्‍याउँछन् तर धर्मवेत्ताहरू त्यो मान्दैनन् । हिन्दु सनातन परम्परामा नारीको स्थान सधैं उच्च र पूजनीय शक्तिको रूपमा रहेको उनीहरूको दाबी छ । कतिपय ग्रन्थभित्रका नारी सम्मानका भावनाले ती दाबीलाई गलत ठान्ने अवस्था देखिन्न । जस्तो, ब्रह्मा, विष्णु, महेश्वरदेखि सम्पूर्ण जगत्को सृष्टि आद्या मातृशक्तिबाट भएको देवीभागवतमा उल्लेख छ । मातृशक्ति, जगत्को मातापिता दुवै भएको वेदसमेत स्विकार्छ । ‘नारी अंशबिनाका भगवान् शक्तिहीन् हुन्छन्’, ‘जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन्’ जस्ता मान्यताका स्रोत धार्मिकग्रन्थहरू नै हुन् । ‘सम्मानको दृष्टिले दस उपाध्यायभन्दा आचार्य, सय आचार्यभन्दा पिता र हजार पिताभन्दा माता श्रेष्ठ हुन्छिन्’ भन्ने मनुस्मृतिको श्लोक अर्को सशक्त उदाहरण हो तर सबै धार्मिकग्रन्थले नारी अस्तित्वको स्तुति मात्र गाएका छैनन्, विभेदको तिखो रोपाइँ पनि प्रशस्तै छन् । पतिप्रतिको एकोहोरो समर्पणमा नारीलाई कसरी बाध्य बनाइएको छ, श्रीस्वस्थानी कथा पढे पुग्छ । नारीलाई ताडनकी अधिकारी ठान्ने पनि धर्मसँगै जोडिएको विश्वास हो । पति मरेपछि जिउँदै जल्नुपर्ने सतीप्रथा धर्मकै नाममा नारीमाथि थोपरिएको अत्याचार थियो ।


त्यसैले हिन्दु ग्रन्थहरू, न अधिकारवादीको आरोपजस्तो नारी अस्तित्व नामेट पार्ने झूटका ठेली मात्र हुन्, न धर्मवेत्ताको दाबीबमोजिम नारी स्तुतिगानका जोडदार संहिता नै । सत्य के हो भने वैदिक कालीन ग्रन्थहरू नारी सम्मानभावले अवश्य नै ओतप्रोत थिए तर ग्रन्थलाई व्याख्या गर्ने नाउँमा पुरुष सर्वेसर्वा रहेको कर्मकाण्ड जसरी समाजमा हावी हुँदै आयो, विभेदको क्रम त्यति नै बढ्न थाल्यो । त्यसपछि लेखिएका सहायक ग्रन्थहरूमा नारीका लागि पुरुष स्वामी, पुरुष नै भगवान् स्थापित हुनथाल्यो । विकृत हुँदै आएको सोही अभ्यासले आज समाजमा नारीको अवस्था यति कमजोर बनेको छ । दसैं परिप्रेक्ष्यमा पनि एकातिर अधिष्ठात्री दुर्गादेवी शक्तिकी अजेय स्रोतको रूपमा पुजिन्छिन् तर समाजकी दुर्गादेवी, बलात्कारपछि पाशविक हत्या बेहोरेकी तेह्र वर्षीया छोरीको न्यायको याचना गर्दै महिनौं भौतारिँदा पनि निराशा मात्र हात पार्छिन् । त्यही नारी स्वरूपलाई देवताभन्दा माथि राखेर पुज्ने क्रम सुरु हुँदै गर्दा समाजभित्र उही नारीस्वरूप हिंसाका विभिन्न रूपले प्रताडित छन् । दसैंको धार्मिक पक्षलाई यदि निष्ठापूर्वक मान्छौं भने कल्पनाकी देवीलाई मात्र हैन, यथार्थ नारीलाई पनि सम्मान गर्न किन धक ? नारी स्वरूपलाई आफूभन्दा माथिल्लो दर्जा दिन देवता तयार भए भने केवल समान हैसियतका लागि मान्छे किन तयार नहुने ? नवदुर्गाको अनुकम्पाले समस्त नारी जगत्प्रति सम्मानभाव जागृत हुन सकोस् ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?