कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थाङ्‍काका थाकमा

अनुभूति
राजदूत न्यान्सी पावेल हिँड्दाहिँड्दै थकित भएपछि नेपालीमै ‘बिस्तारै, बिस्तारै’ भन्थिन् । सबै टक्‍क अडिन्थे । त्यो एक किसिमको थेगो हुनै थालेको थियो हामीहरूको । जो थाक्‍यो त्यो ‘बिस्तारै, बिस्तारै’ भनेर कराउँथ्यौँ ।
घमीबाट लोमान्थाङसम्म कच्ची बाटो बनिसकेको थियो र मोटरसाइकलसम्म चलेको देख्यौँ हामीले । तर, ज्यादै थोरै मात्र पदयात्री भेटयौँ हामीले बाटामा । अर्कै संसारमा आएजस्तो ।
अमोद भट्टराई

काठमाडौँ — पूर्व मुस्ताङी राजाको पूजाकोठासँगै दुईवटा खाट थिए । एउटामा पूर्वराजाका छोरा जिग्मे सिंगी पलवर विष्ट र अर्को खाटमा म पल्टिरहेका थियौँ । समुद्र सतहबाट चार हजार मिटरभन्दा माथिको चिसोलाई बाक्लो सिरकभित्र छिर्न नदिने प्रयासमा थियौँ हामी ।

थाङ्‍काका थाकमा

‘यो हाम्रो पूजाकोठा, अमोदजी । प्राय: मान्छे आउँदैनन् यस कोठामा । यहाँ धेरै बहुमूल्य पुख्र्यौली सामग्रीहरू छन् ।’ जिग्मे–ह्ला नम्र भएर बोल्थे । उनको सरलतासँग म सधैँ नतमस्तक हुन्थेँ । तिब्बती भाषामा सम्मानीय मानिसलाई आदर गर्दै सम्बोधन गर्दा नामको पछाडि ‘ह्ला’ जोडिने रहेछ । संस्कृतमा देवतुल्य भनेझैँ । पूर्वयुवराज जिग्मेलाई सबैले ‘जिग्मे–ह्ला’ भनेर सम्बोधन गर्थे । मैले पनि त्यसै गरेँ ।


‘हो, जिग्मे–ह्ला । यस कोठाको सामाजिक, राजनीतिक र भौतिक मूल्यको म अनुमानसमेत गर्न सक्दिनँ । यस्तो कोठामा सुत्‍न पाउनु त मेरो अहोभाग्य !’


साँच्चै कोठामा भएका पूजाका सामग्रीहरू, वरिपरि भएका चित्रात्मक सामग्रीहरू, विभिन्न तिब्बती बौद्ध कलाकृतिहरू यति चित्ताकर्षक थिए कि म यसैयसै पुलकित भइरहेको थिएँ । तर, उनको दरबार वर्षौँवर्षदेखि कुनै जीर्णोद्धार नहुँदा यसरी मक्किएको थियो कि खण्डहरझैँ भइसकेको थियो । एक कुनामा थाकका थाक बेरेर राखेका क्‍यान्भासझैँ प्रतीत हुने सामग्री लथालिंग थिए ।


‘ती के हुन्, जिग्मे–ह्ला ? कुनै महत्त्वपूर्ण चित्रकला हुन् कि ?’


मेरो प्रश्‍नमा उनी अलि गम्भीर भए । ‘दु:खपूर्ण भन्नुपर्छ, यी राम्रोसँग संरक्षण गर्न नसकिएका थाङ्का र विभिन्न चित्रहरू हुन् । यी हाम्रा पुख्र्याैली निजी सम्पत्ति ।’
‘थाङ्‍का ?’ मैले आश्‍चर्य मान्दै सोधेँ । ‘यति धेरै यो अवस्थामा ?’ दर्जनौँको संख्यामा रहेका ती थाङ्‍काहरू ऐतिहासिक थिए नै, बहुमूल्य पनि थिए ।
‘हामी त काठमाडौँमा पौवाचित्र भन्छौँ, जिग्मे–ह्ला ।’ म मुस्कुराए ।


‘हो, यस क्षेत्रमा थाङ्‍का, अनि काठमाडौँका रैथानेका लागि पौवा । तर, आजभोलि सबै जना थाङ्‌का नै भन्छन् ।’ उनी मुस्कुराए यस पटक । थाङ्‍का र विभिन्न कलाकृति कुनै वैज्ञानिक प्रविधिबिना यसैयसै थिए, थाकका थाक । अन्य दस्तावेज पनि हुँदा हुन् भित्रभित्र । सायद सयौँ वर्ष पुराना यी थाङ्‍काहरू मक्‍िकसकेका थिए । मेरो मन थकथक भयो । संरक्षणको अभावमा मूल्यविहीन यी थाङ्‍काचित्रहरू मूल्यहीन बन्दै गएका थिए । त्यसमा मुसाको रजगज पनि मैले त्यसै साँझ देखेँ । मन कुँडियो । थाङ्‍कालगायत त्यो कोठामा भएका ऐतिहासिक, सांस्कृतिक सामग्रीहरू एउटा संग्रहालयजस्तै थिए— सांसारिक चमकधमकबाट टाढा सुदूर दुर्गम क्षेत्रमा ।


‘यसको कतै प्रदर्शन गर्न पाए क्‍या मज्जा हुन्थ्यो हो कि, जिग्मे–ह्ला ?’


जिग्मे–ह्लाले मेरो मुखमा पुलुक्‍क हेरे र अलि अर्कै अनुहार पार्दै भने, “हो, अमोदजी, यी असाध्यै महत्त्वपूर्ण चीज हुन् । यसमा थाङ्‍का छ, अरू कलाकृतिहरू छन्, धेरै चीजहरू छन् । त्यसमध्ये यी केही कलाकृतिको हामीले प्रत्येक वर्ष प्रदर्शनी पनि गर्छौं ‘ध्ये’ मा । ध्ये दरबारबाहिरको चोक हो ।”


त्यहाँ कलाकृतिहरू प्रदर्शन त हुन्थे प्रत्येक वर्ष तर त्यति संरक्षण भएका थिएनन् । ती मात्र होइन, सयौँको संख्यामा रहेका पुराना पुस्तकहरू, पाण्डुलिपिहरू, तिब्बती कलाहरू प्रशस्तै थिए जिग्मे–ह्लासँग, उनको बृहत् संकलन भएको पुस्तकालयमा । ती संरक्षणको अभावमा यसै रहेका थिए । यी निजी सम्पत्ति हुन् जिग्मे–ह्लाका । तर, ती निजी सम्पत्ति ऐतिहासिक दस्तावेजहरू पनि त हुन् ! के यसको संरक्षण आवश्यक छैन र ?


सन् १९९२ सम्म पनि माथिल्लो मुस्ताङ क्षेत्र विदेशीहरूका लागि भ्रमण गर्न निषेध थियो । नेपालीहरूसमेतलाई पनि त्यति सुगम थिएन भ्रमण गर्न । त्यसपछि भ्रमण खुला गरिए पनि विदेशीहरूको हकमा नेपाल सरकारबाट पूर्वस्वीकृति लिनुपथ्र्यो । भ्रमण खुला भएको सत्र वर्षपछि सन् २००९ मार्चमा नेपालका लागि तत्कालीन अमेरिकी राजदूत न्यान्सी पावेलसहित बढीमा पाँच जना माथिल्लो मुस्ताङ भ्रमणमा जाने योजना बन्यो । भ्रमण दलमा राजदूत पावेलसहित पब्लिक अफेयर्स प्रमुख मार्क लार्सन, क्षेत्रीय सुरक्षा अधिकृत ब्रायन स्कर्ज, अफिस अफ ट्रान्जिसनल इनिसिएटिभ/यूएसएआईडीकी प्रतिनिधि मलिसिया रोजर र नेपाली कर्मचारीमा म चुनिएका थियौँ । त्यस बेलासम्म पनि कठिन बाटो, धेरै खर्च हुने, प्रशस्त समय लाग्ने मात्र होइन सरकारी प्रशासनिक बन्देज नै धेरै थिए । एक किसिमले माथिल्लो मुस्ताङ ‘बन्द देश’ थियो । केही हदसम्म अझै पनि ‘बन्द’ नै छ ।


नेपाल सरकारबाट स्वीकृति पाएपछि हाम्रो भ्रमण कार्यक्रम पक्‍का भयो । १२ दिन लाग्ने उक्त भ्रमणका लागि हामी पाँचै जना तयारीस्वरूप सकेसम्म लामोलामो हिँडाइमा निस्कने गर्न थाल्यौँ । ‘लिफ्ट’ नचढेर सकेसम्म भ‍र्‍याङ नै उक्लने–ओर्लने गर्न थालिसकेका थियौँ । ट्रेडमिलमा घन्टौँको हिँड्ने अभ्यास चलेको थियो हाम्रो दैनिक रूपमा । मनमा चिसो थियो हामी सबैको । भ्रमणभरि तन्द्रुस्त कसरी रहन सकिन्छ भनेर हामी सबै कोसिसमा थियौँ । आफ्नो जिउलाई लामो पदयात्राका लागि अभ्यस्त बनाउन यी तयारीहरूले आत्मविश्‍वास जगाउन मद्दत त पक्‍कै गरे ।


२०६५ चैत १८ गतेका दिन बिहानै पोखरा विमानस्थलबाट हाम्रो हवाइजहाज उडयो जोमसोमका लागि । अलि ढिलो भयो भने हावाको बेग बढ्ने र हवाइजहाज उड्न नसक्ने हुन्थ्यो त्यस क्षेत्रमा । प्रकृतिको अगाडि कसको के लाग्छ र ? समुद्र सतहबाट करिब ८०० मिटरको उचाइमा रहेको पोखराबाट माथिमाथि पहाड र बादलसँग लुकी डुम खेल्दै, हावासँग कावा खेल्दैखेल्दै गयौँ हामी । दुई विशालकाय पहाडहरूको बीचबाट हवाइजहाज जोमसोमतिर सोझियो । मौसम बिग्रँदो हो त मनले हंस छोड्न बेर लगाउँदैनथ्यो । तर, मौसमले साथ दियो । नीलगिरि हिमाल झ्वाम्म अगाडि आउँदा रोमाञ्चित भयौँ हामी । सबैका हातका क्‍यामेरा सोझिए हिमालतिर । अनि जोमसोम हवाई अड्डा, एकै पटक २७०० मिटरको उचाइमा ।
खादासहित पूर्वमुस्ताङी राजाका छोरा जिग्मे सिंगी पलवर विष्टले हामी सबैको स्वागत गरे । जिग्मे–ह्ला हाम्रो टोलीमा मिसिए । हाम्रो प्रमुख पथप्रदर्शक नै उनी थिए । निजी स्वामित्वमा नरहेका सार्वजनिक सांस्कृतिक सम्पदाको संरक्षणमा सहयोग गर्ने अमेरिकी राजदूतको सांस्कृतिक संरक्षण कोषअन्तर्गत माथिल्लो मुस्ताङमा जीर्णोद्धार गरिने तीनवटा छोर्तेनहरूको अवलोकन उद्देश्य थियो भ्रमणको । त्यस क्षेत्रको जनजीवन र हिमाली क्षेत्रमा भइरहेका विकासका गतिविधिहरूको अध्ययन गर्नु पनि हाम्रो उद्देश्य थियो । आकर्षक पदयात्रा त छँदै थियो ! जोमसोम क्षेत्रमा उच्च हिमाली भेगमा गरिने सैनिक तालिमको अवलोकन तथा विभिन्न व्यक्तित्वहरूसँगको भेटघाट कार्यक्रम पनि थियो त्यसै दिन । लेक नलागोस् भनेर उच्च हिमाली भागमा मौसमसँग शारीरिक तादात्म्य मिलाउन त्यस दिन जोमसोममै रात बितायौँ हामीले ।


दोस्रो दिन हाम्रो भ्रमण सुरु भयो कालीगण्डकीको तीरैतीर अनि ठाडो उकालो, अनि उकालो, फेरि उकालो । अधिकांश भ्रमण हिँडाइमै हुन्थे । कहिलेकाहीँ घोडसवारी पनि । जोमसोममा मोटरबाटो पुगिसकेको थियो । तर, पिचबिनाको कच्ची । मुक्तिनाथ मन्दिरसम्म जिप चल्न थालेका थिए भर्खरभर्खरै । तर, हाम्रो भ्रमण मुक्तिनाथतिर नभएर माथिल्लो मुस्ताङ थियो ।


पहाडी भूबनोट अनौठा थिए । एकै ठाउँमा प्रकृतिका अनौठा संगम । कतै ठूलठूला रंगीन पहाडझैँ देखिने । कतै गुलाफीझैँ देखिने । कतै गजधम्म बसेको कालो पहाड । कतै अत्यासलाग्दा खोंच । बाटामा तिब्बती संस्कृतिको झझल्को दिने कला र जनजीवन देखिन्थे । कुनै साधारण, कुनै राता त कुनै सुन्तला रङका ढुंगाहरूले बनाइएका छोर्तेनहरू अनौठा लाग्थे । घोडालाई समेत डो‍र्‍याउनुपर्ने डरलाग्दा भीर आइपुग्थे कहिले त कहिल्यै नाकै ठोक्किने उकालो ।


लोमान्थाङ बाटोको हिसाबले भ्रमण गर्न यसै पनि कठिन । त्यसमाथि विदेशी पर्यटकले त थुप्रै राजस्व बुझाउनुपर्ने कारणले गर्दा पनि पर्यटनको हिसाबले विकास भएको थिएन । सुविधाहरू शून्यप्राय: थिए । निजी घरका साँघुरा कोठामा बास बस्नुपथ्र्यो । स्नानघर, शौचालय सुविधायुक्त थिएनन् । जति माथिमाथि उक्ल्यो, उतिउति पानीको अभाव । तर, सन्तोषी सदा सुखीको मन्त्र हामी सबैले जप्ने गरेका थियौँ । हामी कहिल्यै दिउँसभरि सँगैसँगै हुन्थ्यौँ । कहिले को अगाडि, कहिल्यै को पछाडि । कहिल्यै को पछाडि, कहिल्यै को अगाडि । तर, प्रत्येक साँझ हामी सबै जना एकै ठाउँमा बसेर समयमै रात्रिभोजन गथ्र्याैँ । खानाका लागि हाम्रो आफ्नै ‘किचेन टिम’ थियो । राजदूत नयाँनयाँ ‘डायस’ खेलहरू, ‘स्क्य्राबल’ आदि खेलाउँथिन् खाना पाकुन्जेल । त्यसपछि भोजन अनि चाँडै सुत्थ्यौँ हामी भोलिपल्ट सखारै हिँड्नका लागि ।


तेस्रो दिन घमी पुगेका थियौँ हामी । त्यहीँ दुइटा छोर्तेनको जीर्णोद्धारका लागि लामाहरूले परम्परागत पूजाआजा गरे । अनि चराङको अर्को छोर्तेन हेर्न त अझ हिँड्नु थियो हामीलाई । चराङको छोर्तेनको जीर्णोद्धार शुभारम्भ राजदूत पावेलले पूजामा सरिक भई स्थानीय लामाहरू र स्थानीय व्यक्तित्वहरूसँगसँगै गरिन् भोलिपल्ट । लोमान्थाङ पुग्नु त अझ हिँड्नु थियो दुई दिन ।


राजदूत न्यान्सी पावेल हिँड्दाहिँड्दै थकित भएपछि नेपालीमै ‘बिस्तारै, बिस्तारै’ भन्थिन् । सबै टक्‍क अडिन्थे । त्यो एक किसिमको थेगो हुनै थालेको थियो हामीहरूको । जो थाक्‍यो त्यो ‘बिस्तारै, बिस्तारै’ भनेर कराउँथ्यौँ । रमाइलो हुन्थ्यो बाटोमा । जिस्किँदै, उफ्रिँदै, हिँड्थ्यौँ हामी । एक दिन मैले आफ्नो ट्रेकिङको लुगा लाउने सिलसिलामा कालो र पहेँलो लुगा लगाएँ । मेरो ज्याकेट कालो, ट्राउजर पहेँलो । हेर्दाखेरि कालो पहेँलो रङको भमराजस्तो । बाहिर निस्कनेबित्तिकै ‘बम्बल बी’ भनेर मलाई राजदूतले नाम राखिन् । ‘बम्बल बी’– हामी सबै हाँस्यौँ ! मेरो आँखाअगाडि कालो र पहेँलो रङ भएको भमरा सुइँय उडेको अनुभव भयो मलाई । कुरा त्यतिमै टुंगिएन । हामी काठमाडौँ फर्किसकेपछि ट्रेकिङमा जानेहरू, राजदूतलाई सहयोग गर्नेहरू, उनीसँग यात्रा गर्नेहरूलाई धन्यवादस्वरूप प्रमाणपत्र वितरण समारोह राखिएको थियो । त्यसमा उनले ‘टु बम्बल बी भट्टराई, विथ थ्याङ्क्स फर योर पेसेन्स एन्ड फर अल द गुड टाइम्स अन द मुस्ताङ ट्रेक । न्यान्सी पावेल बिस्तारै’ आफैंले खिचेको फोटोमा आफ्नै हस्ताक्षरले लेखेर दिएकी थिइन् ।


दुई दिनपछि हामी विशाल पर्खालले घेरिएको लोमान्थाङ बस्तीभित्र पस्यौँ । घमीबाट लोमान्थाङसम्म कच्ची बाटो बनिसकेको थियो र मोटरसाइकलसम्म चलेको देख्यौँ हामीले । तर, ज्यादै थोरै मात्र पदयात्री भेटयौँ हामीले बाटामा । अर्कै संसारमा आएजस्तो । र, पूर्वमुस्ताङी राजाको दरबारमा छि‍र्‍यौँ ।


लोमान्थाङका केही गुम्बाहरूको अवलोकन, निर्माणाधीन पुस्तकालयलाई पुस्तक उपहार दिएर स्थानीयहरूसँग भलाकुसारी गर्दै दुई दिन हामीले बितायौँ । विशालकाय पर्खालले घेरिएको माथिल्लो मुस्ताङको तत्कालीन राजधानी ‘ह्लो’ घुम्दैघुम्दै समय बित्यो हाम्रो पुरा दुई दिन, दुई रात । त्यस क्षेत्रमा समय बिताउँदा यस्तो लाग्यो कि गाउँमा प्राय: बच्चा र बूढाबूढी मात्रै छन् । युवाहरू पोखरा वा काठमाडौँ वा अन्य कतै कमाइ वा अध्ययन गर्न गएका छन् वा गाउँ छोडी परदेसिएका छन् । जाडो छल्न बेंसी झरेकाहरू पनि सबै फर्किसकेका थिएनन् चैतको मध्य भए पनि । गाउँ शून्यशून्य !


अर्को दिन सखारै काठमाडौँ फर्कने तरखरमा फेरि एक पटक दरबारको पूजाकोठामा छिरेँ म । आफू दुई रात सुतेको कोठालाई हेरेँ । हातले थाङ्‍काका थाकलाई सुमसुमाउँदै आफ्नो हत्केलालाई हेरेँ । मनमनै सोचेँ, ‘कहिले र कसरी यी ऐतिहासिक संग्रहको संरक्षण होला ?’ आफ्नो झोला बोकेँ । थुप्रै हिँड्नु थियो हामीलाई अझै । उकालो–ओरालो गर्नु थियो हामीलाई । चराङ, घमी, समर, छुसाङ, कागबेनी, जोमसोम, पोखरा हुँदै काठमाडौँ पुग्नु थियो हामीलाई ।

प्रकाशित : कार्तिक १७, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?