कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दृष्टिदोष छ समाजमा

सरोकार
‘तिम्रो लेखाइ राम्रो छ, बोलाइ राम्रो छ, हाँसो झन् राम्रो छ । अझ जीउ पनि ३६–२६–३६ को भइदिएको भए... ठोकुवा दिन्छु– संसार तिम्रो पछि लाग्छ । बरु मोटापन कन्ट्रोल गर ।’

काठमाडौँ — तपाईं यौनमा खुब उदार हुनुहुन्छ जस्तो लाग्यो’ –ऊ । ‘भन्नुको मतलब ?’ –म । ‘यौनको विषयमा खुलेर र स्पष्ट कुरा गर्नुहुँदो रहेछ भनेको’ –ऊ ।

दृष्टिदोष छ समाजमा

कान्तिपुर दैनिकमा बलात्कारको विषयमा मेरा लेखहरू प्रकाशित भएपछि एक जना परिचित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको उच्च ओहोदामा कार्यरत व्यक्तिसँग फेसबुक म्यासेन्जरमा भएको संवादको अंश हो यो । एक सचेत र जिम्मेवार नागरिक हुनुको नाताले बढ्दो बलात्कारका घटनाहरूप्रति आफ्ना दृष्टिकोणहरू राखेकी थिएँ । यिनै दृष्टिकोणप्रति उनले प्रतिक्रिया जनाएको

बताएका थिए ।

यौनको बारेमा लेख्नुको अर्थ उनले मलाई यौनमा उदारको रूपमा बुझेछन् । उनले भन्न खोजेको ‘यौनमा उदार’ शब्दहरूले इंगित गरेको भावार्थ जो कसैले बुझ्न सक्छ । त्यसपछि मसँग भएका संवादहरूमा मेरो लेखमा उल्लेख भएका यौन प्रसंगभन्दा उनी धेरै खुले । उनको व्यक्तिगत यौनजीवनका विषयसँग मलाई कुनै चासो छैन भन्दाभन्दै पनि यौन प्राकृतिक विषय हो भन्ने आधारलाई टेकेर उनका नितान्त व्यक्तिगत कुराहरू सुनाउन थाले । उनका ‘यौनकुण्ठा’ का भद्दा अभिव्यक्तिहरूको शृंखला केही दिनसम्म पनि नरोकिएपछि ‘यौनको विषयमा मभन्दा त तपाईं नै बढी खुलेर कुरा गर्ने तथा उदार हुनुहुँदो रहेछ, अब बढी भयो’ भन्ने अन्तिम म्यासेज पठाई उनीसँगको संवादमा पूर्णविराम लगाइदिएँ ।

‘लेख राम्रो छ, समसामयिक छ । हाम्रो समाजको यथार्थ पनि हो । तर, तपाईंले यस्तो लेख्न नहुने ।’ ‘बलात्कारको क्याटलिस्ट’ शीर्षकमा लेख छापिएपछि एक शुभचिन्तकले चिन्ता जाहेर गरे ।

‘कस्तो विरोधाभासपूर्ण कुरा गर्नुभएको ? राम्रो पनि छ रे, यथार्थ पनि हो रे तर लेख्न नहुने ? यो कस्तो प्रतिक्रिया हो ?’ –मेरो सवाल ।

उनले आफू मेरो लेखको पाठक र प्रशंसक रहेको सुनाए । लेख्न कहिल्यै नछोड्नुस पनि भने । र, फेरि थपे, ‘जे भए पनि तपाईंले त्यो लेख लेख्न नहुने । बरु भाइको नाममा छपाएको भए हुने ।’ उनले भाइ भनेर मेरो श्रीमान्प्रति लक्षित गरेका थिए ।

‘तर, त्यो लेखमा छापिएका विचारहरू मेरा हुन् । किन भाइको नाममा छपाउने ?’ –मेरो प्रतिप्रश्न ।

‘तपाईंको नाममा यस्तो लेख आएपछि समाजले के भन्छ ? भाइको नाममा छपाएको भए सर्प पनि मर्ने, लठ्ठी पनि नभाँच्चिने हुन्थ्यो । समाजलाई तपाईंले दिन चाहेको म्यासेज पनि जान्थ्यो, तपाईंप्रति कसैले औँला उठाउन पनि सक्थेन । आगे तपाईंको विचार ।’ यति भनेर उनी बाटो लागे ।

‘तिम्रो लेखाइ राम्रो छ, बोलाइ राम्रो छ, हाँसो झन् राम्रो छ । अझ जीउ पनि ३६–२६–३६ को भइदिएको भए... ठोकुवा दिन्छु संसार तिम्रो पछि लाग्छ । मोटोपन कन्ट्रोल गर ।’ –क्याम्पसमा सँगै पढेको साथीले निष्कर्ष सुनायो । संसार पछि लगाउने मेरो सोच पनि छैन, विश्वास पनि छैन । म कसो गरौँ ? हाँसें मात्र ।

‘तर, तिमीले त्यस्तो फिल्म हेर्छौ भन्ने मलाई लाग्याथेन यार’ –ऊ ।

‘है ?’ –म ।

‘हो नि’ –ऊ ।

‘तर तिमीले त हेरेका छौ नि ?’ –म ।

‘केटाहरूको त कुरै नगर न !’ –ऊ ।

***


बलात्कार विषयमा मेरा केही विचार छापिएपछि आएका केही प्रतिनिधि प्रतिक्रियाहरू हुन् यी । केही शुभचिन्तकहरू देखिए जसले यी विषयमा लेख आएपछि मेरो सामाजिक प्रतिष्ठामा आँच आउन सक्ने सुनाए । केही आफन्त तथा महिला साथीहरूले ‘उत्ताउलो विषय’ मा किन लेख्नुपरेको भने । कतिपयले परिवारसँगै बसेर पढ्न नसकिने लेखसम्म भने । केहीले दोहोरो अर्थ लाग्ने र यौनआग्रहले भरिएका म्यासेजहरू पठाए ।

वस्तुपरक प्रतिक्रियाको यहाँ उल्लेख गरेकी छैन । कुण्ठा व्यक्त गर्ने, रोगी विचार दिने र समाजलाई पनि रोगी बनाउने प्रतिनिधि विचारहरूको मात्र चर्चा गरेकी हुँ । त्यही विषयमा पुरुषले लेख्न/बोल्न हुने तर महिलाले लेख्न/बोल्न नहुने । कस्तो विभेदकारी समाज । महिलाप्रति कति अनुदार समाज । यसले रोगी समाजको यौनप्रतिको मात्र होइन महिलाप्रतिको दृष्टिकोण पनि प्रस्टयाउँछ ।

यसको जरोमा पुग्दा कतै न कतै हाम्रा धार्मिक मान्यताहरू पनि जोडिन आइपुग्छन् । हाम्रा संस्कार तथा संस्कृतिका आधारका रूपमा रहेका धार्मिक पुस्तकहरू पुरुष सिर्जित छन् । यिनै धार्मिक कथाहरूमा नारी तथा पुरुषको बिल्कुलै भिन्न खालको भूमिका प्रस्तुत गरिएको छ । नारीका रूपरंग, चालढाल वर्णनमा धेरै शब्द खर्च गरिएको छ । यिनै कथाहरूले पुरुष सोचको उजागर गर्दै एउटै महिलाबाट कहिले आमाको, कहिले सेविकाको र कहिले वेश्याको भूमिका निर्वाह होस् भन्ने चाहना राख्छ । त्यस्तै विविध धार्मिक कथाहरूमा नारीको हिँडाइ, अनुहार, मुस्कान, वक्षस्थल, नाभिस्थल आदिका विविध मापदण्डहरू उल्लेख र प्रशस्त चर्चा गरिएको पाइन्छ । धार्मिक पुस्तकहरूमा खासै चासो नदिने आधुनिक महिलाहरू पनि जानेर नजानेर त्यतै बहकिएका छन् ।

त्यसो त यौन मात्र होइन, अन्य सार्वजनिक सरोकारको विषयमा पनि महिला बोल्नुलाई ‘पोथी बासेको’ संज्ञा दिने समाज हो हाम्रो । समाज विकासको क्रममा महिलाले के गर्न हुने र नहुने तथा पुरुषले के गर्न हुने र नहुनेजस्ता विभेदकारी नियमहरू बनेका छन्, पाठहरू पढाइएका छन् । जसले महिला–पुरुषको बीचमा विभेदको पर्खाल ठडयाएको छ र विकासलाई कुण्ठित बनाएका छन् ।

जस्तै : श्री स्वस्थानी कथामार्फत महिलालाई समाजले यस्तो पढाएको छ– ‘नारीले आफ्नो पुरुषलाई रिसाएर हेरे डेरी हुन्छे, पतिसित द्रोह गरे गोही हुन्छे । पुरुषको वचन नमाने पापिनी हुन्छे, लोग्नेदेखि लुकाएर खाए कुकुर्नी हुन्छे’ आदि आदि । त्यस्तै सती सावित्रीको कथा, सीता, द्रौपदी र वृन्दाको कथामार्फत महिलालाई नैतिकताका विविध पाठ पढाइएको छ । यसको प्रत्यक्ष प्रभाव नपरे पनि संस्कारको नाममा पढाइने यस्ता पाठहरूले आजका नारीलाई पनि खुलेर पाइला चाल्न मनोवैज्ञानिक रोकावट सिर्जना गरेकै हुन्छ ।

नारी मात्र होइन यस्ता मान्यताका सिकार पुरुष पनि भएका छन् ।

‘वियोग, सोच विचार आदि जति छन् पर्छन् पुरुषमै गई काल हेरीकन योग्य हुन्छ सहनु अत्यन्त धीरा भई ।’

जस्ता पुरुषद्वारा पुरुषका लागि लेखिएका हरफहरू पुरुषकै लागि पनि साँच्चै बोझिल हुन्छन् । यो बोझिलो मनोविज्ञानले थिचिएका पुरुषहरूलाई स्वविवेकले निर्णय गर्न कठिन हुन्छ नै ।

त्यस्तै ‘लोग्ने मान्छे भएर रुनु हुन्न’, ‘मर्दकी दसवटी’, ‘यस्तो कमाइले बूढी कसरी पाल्छस्’ ‘नामर्दजस्तो...’ जस्ता भनाइहरूले पुरुष मनोविज्ञानलाई अनावश्यक दबाब दिएको हुन्छ ।

यसमा व्यक्ति पुरुष वा महिलाको भन्दा पनि यस्तो सोचका निर्माता हजारौं वर्षदेखिको पितृसत्तात्मक समाज बढी दोषी छ । सतहमा देखिएका पात्रहरू त पुरुषसत्ताको मञ्चमा नाटक गरिरहेका कलाकार मात्र हुन् । फरक यत्ति हो मानव सभ्यताको रंगमञ्चका अभिनय गरिरहेका हामी कलाकारमा स्वविवेक प्रयोगको अधिकार हुन्छ । त्यो विवेकको प्रयोग नगर्नुले भने हाम्रो चेतनालाई खिसीटयुरी गरेको हुन्छ ।

***


एक दिन रातको साढे दस बजेतिर बालाजुबाट कपुरधारासम्म आउनु थियो । लगातार तीन टयाक्सीलाई सोधेँ । तीनै जना ड्राइभरले तीन सय रुपैयाँ लाग्छ भने । हिँडेर मुस्किलैले दस मिनेट लाग्ने ठाउँमा जान तीन सय रुपैयाँ तिर्न चाहिनँ र हिँडेरै जाने निर्णय गरेँ । विष्णुमतीको किनारबाट भित्र लागेपछि बाटो सुनसान थियो । म्हेपी आसपासको सडकमा हिँड्दै गर्दा जे नहोस् भन्ने सोचेको थिएँ त्यही भयो । साँघुरो सडकमा एक रक्स्याहाले मेरो बाटो छेक्यो । म अक्क न बक्क परेँ । पछाडि फर्केर भाग्ने सुद्धी पनि आएन । त्यति नै बेला त्यही बाटो एक पुरुष आइपुगे । उनलाई देख्नेबित्तिकै रक्स्याहाले मेरो बाटो छोडिदियो । ती पुरुषले मेरो नजिक आएपछि भने, ‘यति राति, यस्तो सुनसान बाटो एक्लै हिँड्न हुन्छ ?’ म अवाक् भएँ । उनैले थपे, ‘आँट र साहस लिएर हिँड्नुपर्छ आँफूसँगै । हेर्दा हट्टाकट्टा देखिनुहुन्छ, आँटेको भए त्यस्ता धर्तीका बोझलाई टिपेर पर्खाल उता फालिदिन सक्नुहुन्थ्यो ।’ एक छिन सँगै हिँडेपछि उनी आफ्नो बाटो लागे ।

***


हो नि, आँटेको भए, आफैंलाई धान्न नसकेको त्यो रक्स्याहालाई म सहजै घचेट्न सक्थेँ । तर, अहिलेजस्तो त्यो साहस त्यतिखेर ममा आएन । किनकि म महिला हुँ र कमजोर छु भन्ने भावना ममा हावी थियो । त्यो वर्षौँदेखि पितृसत्ताले निर्माण गरिदिएको मनोविज्ञानको उपज थियो ।

यसको अर्को पाटो पनि हुनेरहेछ । पितृसत्ताले थोपरेको मनोविज्ञानमा जसरी म हीन र कमजोर छु भन्ने मनोभाव म र मजस्ता धेरै महिलामा गढेर बसेको छ त्यस्तै म पुरुष हुँ र म श्रेष्ठ छु भन्ने फोस्रो अभिमान पनि धेरै पुरुषमा रहेको छ । जसरी पितृसत्ताले थोपरेको मनोविज्ञानले महिला पीडित छन्, त्यसरी नै पुरुष पनि पीडित छन् । एकातर्फ पितृसत्ताले थोपरेको भारले उनीहरू थकित छन् भने अर्कोतर्फ वर्तमानको केही बहसले पुरुष हुनु नै अभिशाप जसरी सारा पुरुषलाई आरोप थोपरेको छ । समाजमा विद्यमान विभेदपूर्ण सोच र संरचनाले कुनै एक लिंगलाई मात्र होइन समग्र मानव सभ्यतालाई नै अगाडि बढ्नबाट रोकेको छ । त्यसैले पितृसत्ताको अभिमानी जगमा बनेको र गलत ट्रयाकमा अगाडि बढी रहेको सभ्यतालाई सही ठाउँमा ल्याउन तेस्रोलिंगी, महिला, पुरुष सबैको हातेमालो जरुरी छ ।

***


माथिको अन्तिम वाक्य लेखेपछि लागेको थियो यो नै लेखको सुन्दर अन्त्य हो । लेख पठाउन इन्टरनेट कनेक्सन गर्दै थिएँ, फेसबुक म्यासेन्जरमा नयाँ म्यासेजको संकेत देखियो । अघिल्लो हप्ता लेखक अभय श्रेष्ठले ‘मि–टु’ अभियानप्रति लक्षित गर्दै यस अभियानले विपरीतलिंगीप्रतिको प्राकृतिक आकर्षणलाई बिथोल्नुहुन्न भन्ने भावको स्टाटस राखेका थिए । मैले पनि उक्त भनाइमा सहमतिको प्रतिक्रिया जनाएको थिएँ । त्यसै प्रतिक्रियालाई आधार मानेर यसै लेखको सुरुमा उल्लेख गरिएका महाशयले सन्देश पठाएका रहेछन्, ‘मैले पनि विपरीतलिंगीप्रतिको प्राकृतिक आकर्षणको कुरा गरेको न हो, म्याडम त रिसाउनुभयो कि । आज भोलि त रिप्लाई नै गर्नुहुन्न ।’

म आमालाई सम्झन्छु, । उहाँ बेलाबखत भन्ने गर्नुहुन्थ्यो– ‘...सबको औषधि दैवले रचिदियो, बिर्सेछ कि मूर्खको ।’

प्रकाशित : मंसिर १, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?