कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घसियारन जिन्दगी

जीवनशैली
घाँस काट्नु र श्रीमान् पाल्नु घसियारन टोलका महिलाको नियति नै बनेको छ । नारी अधिकारका चर्का भाषण सहरमा गुन्जिँदा उनीहरू बेखबर छन् । श्रीमान् पाल्नुमा उनीहरूलाई कुनै गुनासो छैन । बरु चिन्ता छ— घाँसको ।
मधु शाही

काठमाडौँ — संगीता केवटको माइत भारत हो । माइत छँदा उनले घाँस काट्नुपरेन । बिहे गरेपछि उनको पेसा ‘घसियारन’ भएको छ । तीन वर्षदेखि घाँस काटेरै परिवार पालेकी छन् उनले । संगीतालाई थाहा छ, बिहे हुनुभन्दा अघि दाइजोको रूपमा एउटा सर्त उनको श्रीमान् पक्षले राखेको थियो । बिहे भएपछि श्रीमान्लाई पाल्नुपर्ने सर्त । 

घसियारन जिन्दगी

बिहानै घामको झुल्का नउदाउँदै कलावती केवटको निद्रा खुल्छ । ओछयानमा भुस परेका छोराछारी र श्रीमान्लाई पत्तो नदिई उनी रित्तो बोरासँगै हसिया बोकेर बाहिरन्छिन् । दिनभरि डुलेर उनी एक बोरा घाँसको भारी ल्याउँछिन् । यो घास घरका लागि होइन, बरु बजारमा बिक्री गर्नका लागि हो । घसियारन बजारमा उनले ल्याएको घाँस बिक्रीमा हुन्छ । ५० वर्षीया कलावती छोराछोरी र श्रीमान् पाल्न घसियारन बजारमा घासको व्यापार गर्छिन् । उनको दैनिकी घाँसले धानेको छ ।

घाँस बेच्नु कलावतीको पुर्खौली पेसा हो । नेपालगन्ज–८ मा कलावतीजस्ता घाँस काटेर जीविकोपार्जन गर्ने झन्डै ६० घर छन् । घाँसै काट्ने पुख्र्यौली पेसा अँगाल्दै आएकाले उनीहरूलाई ‘घसियारा’ समुदाय भनेर चिनिने गरिन्छ । घाँस काट्नेहरूको टोलै छ नेपालगन्ज–८ बाँकेमा । यो टोललाई घसियारन टोलले नामकरण गरिएको छ ।

कलावती दुई छोरा र एक छोरीकी आमा हुन् । घाँस खोज्दै उनी खेत किनारा, घर र चौरमा पुग्छिन् । जे जति घाँस मागेर पाइन्छ, त्यसलाई थुप्रो बनाएर बेच्नु घसियारन समुदायको हो । ‘हमर मा बापने घाँस काट्कर हमे बढा किया’, उनी आफ्नै लवजमा भन्छिन्, ‘हम भी यही करत हैं ।’

दिनभरि काटेको घाँस संकलन गरेर उनीहरू घसियारन टोलमा आ–आफ्नो थुप्रो लगाएर बेच्न थाल्छन् । १० देखि ५० रुपैयाँको थुप्रो बनाउँछन् । घोडा र कुखुरालाई खुवाउने घाँसमा भने अलिक मिहिनेत गर्नुपर्छ । किन्ने ग्राहकले काटेर टुक्रा बनाएको घाँस खोज्छन् । त्यसैले उनीहरू त्यहीं बसेर दिनभर घाँसका टुक्रा बनाउने गर्छन् । दिनभर मरिमेटी गर्दासमेत ३ सय रुपैयाँ जम्मा गर्न मुस्किल पर्ने कलावतीले बताइन् । कहिलेकाहीं नसोचेको फाइदा पनि हुन्छ । ५ सय रुपैयाँ व्यापार भएको दिन कलावती खुसीले गद्गद् हुन्छिन् । ‘कहिलेकाहीं व्यापार अचम्मै राम्रो हुन्छ,’ कलावती भन्छिन्, ‘त्यो दिन पेटभरि मासु खान पाइन्छ । केटाकेटी र श्रीमान्को मुहार उज्यालो देख्दा यसै दंग पर्छु ।’

***


संगीता केवटको माइत भारत हो । माइत छँदा उनले घाँस काट्नुपरेन । नेपालमा बिहे गरेपछि उनको पेसा ‘घसियारन’ भएको छ । तीन वर्षदेखि घाँस काटेरै परिवार पालेकी छन् उनले । संगीतालाई थाहा छ, बिहे हुनुभन्दा अघि दाइजोको रूपमा एउटा सर्त उनको श्रीमान् पक्षले राखेको थियो । बिहे भएपछि श्रीमान्लाई पाल्नुपर्ने सर्त । बिहे गरेको दिनदेखि उनको हातमा हँसिया थामिएको छ । कुन जनावरलाई कस्तो घाँस मन पर्छ ? उनी त्यसको स्वाद पत्ता लगाउन सिपालु छिन् । ‘बाख्राको घाँस खोज्न अलि मिहिनेत गर्नुपर्छ,’ संगीता भन्छिन्, ‘अरूले जस्तो बाख्राले जुन पायो त्यही घाँस मीठो मान्दैन ।’

घाँस काट्नु र श्रीमान् पाल्नु घसियारन टोलका महिलाको नियति नै बनेको छ । नारी अधिकारका चर्का भाषण सहरमा गुन्जिँदा उनीहरू बेखबर छन् । श्रीमान् पाल्नुमा उनीहरूलाई कुनै गुनासो छैन । बरु चिन्ता छ— घाँसको ।

सानैदेखि घाँस काटेर व्यापार गर्दै आएकी ७० वर्षे वृद्ध पद्मिनी केवटलाई अचेल घाँस नपाउँदा खिन्न मन हुन्छ । घाँस हराउँदै गए उनको भोको पेट संकटनमा पर्छ । पहिला धेरै बस्ती नबसेको अवस्थामा वरिपरि चौर र घाँस प्रशस्त भेटिन्थ्यो । गाईबस्तु पाल्नेहरू थिए । घाँसको मूल्य पैसामा नभएर अन्नमा साट्ने गरिन्थ्यो । अचेल यी सबै चलन कथाजस्तै बन्दै जान थाले । पद्मिनीले घाँस खोज्ने चौरमा अहिले भीमकाय भवन बनेका छन् । फराकिला सडक बनेका छन् । गाईभैंसी पाल्नेहरू किराना पसल गर्न थालेका छन् । यसले घसियारन पुख्र्यौली पेसा संकटमा पर्न थालेको उनी बताउँछिन् । ‘कहाँ जाने घाँस खोज्न ?’ उनी भन्छिन्, ‘जीवन धान्नै गाह्रो लाग्न थालेको छ ।’

पद्मिनीकै सहकर्मी हुन्, केतकी केवट । ८० वर्ष उमेर पुगेको बताउने केतकी घाँस काट्न जान सक्दिनन् । तर, अरूले काटेर ल्याएको घाँस सजाएर चिटिक्क पारी बजारमा राख्न सक्छिन् । घाँस बजारमा जति सुन्दर शैलीमा सजाउन सकियो, उति व्यापार राम्रो हुने उनको आफ्नै अनुभव छ । ‘घाँस किन्न जनावर आफैं आउँदैन,’ उनी भन्छिन्, ‘मान्छेले हेर्दा आकर्षक देखिएन भने घाँस बिक्न गाह्रो पर्छ । त्यसैले यहाँ मान्छेका लागि घाँस बेच्नुपर्छ ।’

केतकी घसियारन समुदायकी ज्येष्ठ महिला हुन् । जीउ निहुरिएर भुइँ छुन लागिसक्दा पनि उनको हात–खुट्टा थाकेका छैनन् । आमाले केतकीलाई सानैदेखि घाँस काट्न सिपालु हुनू है छोरी भनेर सम्झाएको अझै सम्झना छ । उनको उमेरमा सबैभन्दा छिटो र धेरै घाँस काट्न सक्ने महिलामा मानिएकी थिइन् । ‘खेतमा घाँस काट्न जान्थ्यौं,’ उनी विगत सम्झिँदै भन्छिन्, ‘साथी मैले छिटो घाँस काटेको देखेर ईष्र्या गर्थे ।’ केतकीले जानेदेखिकै कला घाँस काट्ने हो । उनी अझै घाँस बेचेरै जीविका धान्दै आएकी छन् । केतकीको जीवनमा कहिल्यै अवकाश समय आएन । जति उमेर ढल्किँदै जान्छ, उनको उति नै तन्दु्रस्त भएर काम गर्नुपर्ने नियति छ । ज्यान सम्हाल्न नसके पनि हातका औंलाले उनी घाँसका हाँगा बटुल्छिन् । ‘बाँच्नका लागि संघर्ष’ भन्ने सिद्धान्त केतकीले बिताएको दैनिकीमा पूरापूर लागू हुन्छ ।

***


मीना केवट घाँस काट्ने विषयमा अलि लोभी छिन् । जतिसक्दो मीठो घाँस काट्न मन लाग्छ उनलाई । खासगरी दूधालु गाईभैंसीले खाने घाँस उनको रोजाइमा पर्छ । किनकि बजारमा यस्ता घाँस खोजी–खोजी किन्ने क्रेता छन् । दुधौले घाँसमा दुबो धेरैले किन्ने गर्छन् । दुबो घाँस खाए गाईभैंसीले दूध धेरै दिन्छन् भन्ने मीनाको बुझाइ छ । ‘दुबो खोज्न दिनभर लाग्छ,’ उनी भन्छिन्, ‘मिहिनेत निकै लाग्छ, त्यसैले पैसा पनि थुप्रै लिन्छु ।’

मीना भने घसियारन व्यापारीभन्दा अलि महँगीमा गनिन्छिन् । उनलाई आफ्नो सामान अरूभन्दा विशेष छ भन्ने लाग्छ । त्यसैले महँगो रकममा बेच्ने गरेको बताउँछिन् । उनका अनुसार दुबोको एक थुप्रोको मूल्य १ सय रुपैयाँ घटी हँुदैन । घाँस बजारमा यो मूल्य अरूको तुलनामा बढी मान्ने गर्छन् । मीना घसियारन समुदायका महिलाभन्दा भाग्यमानी छन् । किनकि उनका श्रीमान् रिक्सा चलाउँछन् । एक्लैले घर खर्च धान्नुपर्ने नियति उनको छैन । दुई जनाको कमाइले ३ सन्तान हुर्काउन सजिलो भएको छ । श्रीमान्लाई काम गराउने भनेर धेरैले मीनामाथि कुरा काट्ने गर्छन् । ‘श्रीमान् पाल्न नसक्ने श्रीमती’ भनेर बेलाबखत होच्याउने गर्छन् । मीना अरूभन्दा भिन्न छिन् । सुनेका सही कुरा ग्रहण गर्ने र नराम्रा कुरा नसुनेझैं गरेर टार्ने बानी छ । घसियारनको घाँस बजारमा मीनाको घाँस व्यापार फस्टाउँदै जाला, नजाला । तर, घाँस खोज्ने यो समुदायको पुख्र्यौली पेसा आंशिक रूपमा बचेको छ ।

प्रकाशित : मंसिर १, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?