कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुपचाप चर्चित

कला
पोखरामा बसेर कला सिर्जना गरिरहेका सुनील सिग्देल कन्दरामा फुलेका सुनाखरी हुन् ।
पोखरालाई पानी रङको राजधानी भनिन्छ । एक्रेलिक र आयल रङको प्रयोगमा जोड दिइन्छ । विदेश जान थालेपछि सुनीलले नितान्त भिन्न अवस्था देखे । 
दीपक परियार

काठमाडौँ — उनलाई चर्चित हुनु छैन । धेरै बोल्न मन पराउँदैनन् । बस्, एउटा कुनामा बसेर चुपचाप चित्र कोर्छन् । चित्रले यसरी हल्ला मच्चाउँछ कि देश विदेशमा उनको चर्चा हुन्छ । पोखरामा बसेर कला सिर्जना गरिरहेका सुनील सिग्देल कन्दरामा फुलेका सुनाखरी हुन् ।

चुपचाप चर्चित

दसैं संघारमै थियो । निर्मला पन्तका आमाबाबु न्याय माग्दै सडकमा थिए । सुनीललाई लाग्यो असुरमाथि देवीले विजय प्राप्त गरेपछि मनाइने दसैंमा निर्मला हारिरहेकी छन् । क्यानभासमा कोर्न थाले निर्मलाको चित्र । निर्मलामा मिसाए देवीको स्वरूप । आँखामा चस्मा, अर्थनग्न शरीर, आशीर्वाद दिइरहेको हात, देवत्व झल्काउने पहिरन । चित्रको शीर्षक दिए— माई गड्डेसेस लस्ट दी ब्याटल । चित्र सामाजिक सञ्जालमा राखे । नवदुर्गाको बेला सार्वजनिक भएको चित्र ‘भाइरल’ भयो ।


वार्षिक रूपमा हुने इन्डियन आर्ट फेयरमा गत वर्ष उनको चित्र पनि सहभागी थियो । नेपाल कला परिषद्ले नेपालको प्रतिनिधित्व गर्दै उनको चित्र पठाएको थियो । उनी स्वयं भने भव्य प्रदर्शनीमा सहभागी हुन पाएनन् । यता उनी पोखरामै थिए । उता, उनको चित्रले अनेक प्रशंसा पायो । ‘पिस ओनर्स’ शीर्षकको उनको चित्रमा ट्रम्प, पुटिन र किम जोङ उन थिए । ट्रम्प र उत्तर कोरियाली राष्ट्रपतिबीच भेट भइसकेको थिएन । तीन शक्ति राष्ट्रका प्रमुखको चित्रले धेरैको ध्यान खिच्यो । उसैगरी आशीर्वाद दिइरहेका हात, वरिपरि भन्किरहेका झिँगा, दानवरूपी मुख, भगवान्रूपी पहिरन । सत्ता, शक्ति र सामथ्र्यको शक्तिशाली विम्ब चित्रमा थियो । नेपालको स्टलमा चित्र अवलोकन गर्नेको लामो लाम लाग्यो । दर्शकले चित्रसँग ‘सेल्फी’ लिए ।

उक्त चित्रले नेपाली कलालाई विश्वभर चिनायो । न्युयोर्क टाइम्स, डेली मेल, द हिन्दु, द वायर, लाइभमिन्टलगायत सञ्चारमाध्यमले महत्त्वसाथ उनको चित्रबारे बोले । न्युयोर्क टाइम्सले लेख्यो, ‘ट्रम्प, पुटिन र किमको व्यंग्यात्मक चित्रले नि:सन्देह आर्ट फेयरमा राजनीतिलाई केन्द्र भागमा उभ्यायो ।’ क्यानभासमा थान्काको ‘फयुजन’ धेरैले रुचाए । कला परिषद्की क्युरेटर डिना वाङ्देलले उक्त चित्रलाई नेपालमै राख्नुपर्ने सुझाइन् । उनकै साथी गायक योगेश्वर अमात्य चित्र खरिद्न तयार भए । ६ लाख रुपैयाँमा चित्र बिक्री भयो ।


सुनीलले आफ्ना पछिल्ला चित्रमा थान्का, पौवा र मिथिला कलाको प्रभाव मिसाएका छन् । एक चित्रमा एकभन्दा धेरै विषयवस्तुको ‘फयुजन’ गर्छन् । चित्रकलामा लागेको दुई दशकपछि आफ्नै गृहनगरमा पहिलो एकल प्रदर्शनी ‘इको अफ साइलेन्स’ मा प्रस्तुत भए । आफ्ना नयाँ र पुराना १७ चित्र उनले एक हप्ता प्रदर्शनीमा राखे । उनका चित्रमा थान्का र पौवाका प्रभाव देखिए ।


उनी सञ्चारमाध्यमको उति सम्पर्कमा रहन चाहँदैनन् । प्रदर्शनीमा आउने दर्शकले सामाजिक सञ्जालमा उनको कलाको प्रचार गरे । सामाजिक सञ्जालमै देखेर धेरै दर्शक प्रदर्शनी अवलोकन गर्न महेन्द्रपुलको ग्यालरीमा पुगे ।


प्रदर्शनीमा सबैभन्दा बढी कम्युनिस्ट नेताका चित्र बढी रुचाइयो । कार्ल माक्र्सको ‘माक्र्सवादी काउच’, माओ, लेनिन र स्टालिनको ‘रातो मुख र पहेंलो मुटु’ शीर्षकका चित्रले दर्शकलाई आकर्षित गर्‍यो । चित्रमा कला र विचारको समायोजनलाई दर्शकले मन पराए । माक्र्सवादी काउचमा उनले आजकलका कम्युनिस्ट नेतालाई व्यंग्य गरे । हँसिया र हथौडा बोकेर सर्वहाराको गीत गाउनेहरू आजभोलि विलासिताभित्र बिलाएको कडा विम्ब चित्रमा पोखे । माओ, लेनिन र स्टालिनको चित्रमा थान्काकै शैली अपनाए । ‘उनीहरूको मूल सिद्धान्त मलाई राम्रो लाग्छ,’ उनी भन्छन्, ‘तर सबैभन्दा धेरै मान्छे उनीहरूकै पालामा मारिएका छन् ।’


पोखराको कुनामा पर्छ कुँडहर, जहाँ उनको घर छ । अमरसिंह माविमा पढ्दा उनका गुरु थिए यादवचन्द्र भुर्तेल, जो आफैंमा कुशल चित्रकार हुन् । कृषि पढाउने भए पनि भुर्तेलले आफूले कोरेका चित्र विद्यार्थीलाई देखाएर व्याख्या गर्थे । तिनै चित्रमा हराउथे सुनील । उनी सानैदेखि एकान्त रुचाउने, कसैसँग नुखल्ने प्रकिृतिका थिए । उनलाई लाग्यो, चित्रकला आफ्नो स्वभावसँग मिल्छ । एसएलसी सकेपछि भुर्तेल गुरुकै सुझावमा उनी काठमाडौं हान्निए । ललितकला क्याम्पसमा भर्ना भए । सोचे, चित्रकलाप्रतिको आफ्नो ‘जुनुन’ लाई अध्ययनले सघाउँछ ।


उनी दिनभरि क्याम्पस पढ्थे । बेलुका कोठामा आएर कोर्सबाहेकका काम गर्थे । क्याम्पसमा राजन पन्त लगायतको समूह थियो— जिरो सेन्चुरी । त्यो समूहमा कलासम्बन्धी छलफल हुन्थ्यो । त्यसबेलैदेखि उनी ‘सेमी एब्स्ट्रयाक्ट’ मा आकर्षित भए । ‘अरू यथार्थवादी चित्रकलाबाट सुरुआत गर्छन्,’ उनले भने, ‘मेरो ठीक उल्टो भयो ।’ त्यतिबेलैदेखि उनले चित्रमा फरक प्रयोग गर्दै गए । ब्रसको साटो स्कुपर, औंठाछाप प्रयोग गरे । शशी शाह, किरण मानन्धरको पदचाप पछयाए । अस्मिना रञ्जित, सुजन चित्रकारजस्ता विदेशमा पढेर आएका कलाकारबाट सिक्ने अवसर पाए । सन् २००१ मा स्नातक पहिलो वर्षमा अध्ययन गर्दागर्दै उनले काठमाडौंमा पहिलो एकल चित्रकला प्रदर्शनी गरे ।


चित्रकला मात्रै होइन, प्रदर्शन र प्रतिस्थापन कलामा समेत उनी उत्तिकै निपुण छन् । सन् २००४ मा काठमाडौंमा प्रतिस्थापन कलासम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला थियो । सात–आठ जना विदेशी कलाकार आएका थिए । उनले पनि भाग लिने मौका पाए । पेन्टिङबाट बाहिर निस्केर प्रतिस्थापन कलातिर लगाव बढाए । कुनै वस्तु वा आफ्नै शरीर प्रयोग गरी ‘थ्री डाइमेन्सनल’ चित्र प्रस्तुत गर्ने कलामा उनको लत बस्यो । विभिन्न देशमा हुने आवासीय कार्यशालामा प्रतिस्थापन कला सिक्न निवदेन पठाउन थाले । पहिलोपल्ट पाकिस्तान जान छानिए । त्यसपछि सुरु भयो उनको विदेश यात्रा । कार्यशाला र प्रदर्शनीमा भाग लिन उनी भारत, बेलायत, जापान, डेनमार्क, बंगलादेश, ताइवान, श्रीलंका, हङकङ र दक्षिण कोरियासम्म पुगे । ‘बाहिर जाँदा त्यहाँको कलाबारे बुझ्ने मौका पाइयो,’ उनी भन्छन्, ‘त्यसको प्रभाव मेरो पेन्टिङमा पनि पर्न थाल्यो ।’


हामीकहाँ चित्रमा माध्यमलाई महत्त्व दिएको पाइन्छ । पोखरालाई पानी रङको राजधानी भनिन्छ । एक्रेलिक र आयल रङको प्रयोगमा जोड दिइन्छ । विदेश जान थालेपछि सुनीलले नितान्त भिन्न अवस्था देखे । कोइला, इनामेल प्रयोग गरेर पनि चित्र कोरिएको पाए । ‘माध्यम महत्त्वपूर्ण रैन्छ,’ विदेशको अनुभव सुनाउँदै उनले भने, ‘मुख्य कुरा कन्सेप्ट रै’छ ।’


स्नातक सकेर उनी पाँच वर्षजति काठमाडौं बसे । त्यतिन्जेलसम्म ६ वटा एकल प्रदर्शनी गरे । त्यसपछि उनलाई लाग्यो चित्र जहाँ बसेर पनि कोर्न सकिन्छ । अनि घर फर्किए । अहिले घरमै बसेर काम गर्छन् । चित्रको फोटो खिचेर ब्लगमा राख्छन् । कला पारखीले फोटो हेरेर उनको चित्र किन्छन् । विदेश हुने कार्यशालामा जान पोखरामै बसेर निवेदन हाल्छन् । गत वर्ष मात्रै उनको एक पेन्टिङ १३ लाख रुपैयाँमा बिक्री भयो । व्यापारी हर्ष गोयन्काले फोटो हेरेरै चित्र खरिद गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन, सिरियाका राष्ट्रपति बसर अल असाद, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको चित्र कुनै प्रदर्शनीमा प्रदर्शन हुन पाएन । नेताका दिमागलाई शरीरका विभिन्न अंगसँग जोडेर बनाइएको चित्र उनको सर्वाधिक राशिमा बिक्री भएको चित्र हो । व्यावसायिकता खाँचो पर्ने भए पनि उनी भने आफूलाई मन लागेको काम मात्रै गर्न रुचाउने कलाकारभित्र पर्छन् । ‘हाम्रो कलामा विचारलाई महत्त्व दिन नसकेजस्तो लाग्छ,’ यहाँ अभ्यास भइरहेको कलाबारे उनी भन्छन्, ‘आफूलाई सन्तुष्टि दिने काम थोरै गर्दा व्यावसायिक रूपमा पनि सफल भइन्छ ।’ समकालीन कलामा युवा पुस्ताले धेरै गर्न सक्ने विचार उनी राख्छन् ।


त्यसो त, उनले कलेज पढ्दाताका ठमेलमा पेन्टिङ बेचेर गुजारा नगरेका होइनन् । ल्यान्डस्केप र व्यक्तिका पोट्रेट बनाए । उनलाई आफू पूरै व्यावसायिकतातर्फ जान लागे कि भन्ने डर जाग्यो । औंठाछापको प्रयोग गरिएका चित्र बिक्री गर्न थाले । सिर्जनात्मक पेन्टिङ पनि बिक्री हुन थालेपछि व्यावसायिक पेन्टिङ चटक्कै छाडे ।


पोखरामा ललित कला क्याम्पस नहुँदा समकालीन कलाको विकास हुन नसकेको उनको मत छ । कलासम्बन्धी कार्यक्रम काठमाडौंमा केन्द्रित हुँदा मोफसलका कलाकारले अवसर नपाएको उनले देखेका छन् । सोच्छन्, ‘काठमाडौं छोड्दा केही त छुटेकै छ ।’ विभिन्न विदेशी कलाकारको जमघट उनी ‘मिस’ गर्छन् । कलासम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम काठमाडौंबाट बाहिर ननिस्किँदा बहस, छलफल गर्ने फोरम नभएकामा उनको चित्त दुखाइ छ ।

उनलाई राजनीति र सामाजिक विषयवस्तुले बढी नै छुन्छ । ‘शक्तिमा बसेको मान्छेले गरेको गल्तीको असर धेरैलाई परेको हुन्छ,’ भन्छन्, ‘त्यसबाट एउटा कलाकार पनि चोखो हुँदैन ।’ सन् २०१० मा भारतीय कला इतिहासविद् सुरेश जयरामसँग उनले भेटेका रहेछन् । जयरामले चौकीदारतर्फ देखाउँदै भनेछन्, ‘यस्तो काम गर्ने नेपाली धेरै छन् ।’ सुनीलको मनमा प्रश्न उब्जिएछ, ‘के यहीं हो हाम्रो वास्तविकता ?’ सामाजिक मुद्दालाई आफ्नो कलाको विषय बनाउने अठोट त्यतिखेरै लिएछन् ।


सन् २०१४ मा छात्रवृत्ति पाएर उनी स्कटल्यान्ड जाँदै थिए । बेलायतबाट पानी जहाजमा जाँदा उनले गोर्खा सैनिकको फोटो राखेर सहयोग मागिएको बाकस देखे । गोर्खा सैनिककै कारण बेलायत जोगिएको तर अहिले उनीहरू समस्यामा परेकाले सहयोग गर्न आग्रह गरिएको बेहोरा बाकसमा टाँसिएको थियो । एक महिना स्कटल्यान्ड बस्दा उनको मनमा हुन्डरी चल्यो । गोर्खा सैनिककै विषयमा पेन्टिङ गर्न थाले । उनी कतिपय आफैंसँग सम्बन्धित चित्र बनाउँछन् । उनी सानैदेखि हजुरआमाको सामीप्यमा हुर्किए । आफ्नो र हजुरआमाको अनुहार मिसाइएको चित्र पनि प्रदर्शनीमा आउने दर्शकले रुचाए ।


भारतीय आर्ट फेयरमा चित्र प्रदर्शन भएपछि उनको खोजी धेरै हुन थाल्यो । विभिन्न सामूहिक प्रदर्शनीमा राखिने चित्र र ब्लगमा फोटो हेरेरै उनको चित्रको माग बढ्यो । पेन्टिङको माग जति बढ्छ उनी मूल्य पनि उत्तिनै बढाउँछन् । काठमाडौं नबसेरै विदेशसम्म चित्र बिक्री गर्छन् । कलासम्बन्धी अन्तर्राष्ट्रिय आवासीय शिविरमा भाग लिने निवेदन हाल्न काठमाडौं बसिरहन पर्दैन । ‘अलि खुल्न नसक्नु मेरो कमजोरी हो,’ उमेरले चार दशक काटेका उनी भन्छन्, ‘आफ्नो कामले चिनाएको ठीकजस्तो लाग्छ ।’

प्रकाशित : मंसिर ८, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?