भक्तपुरे रानीपोखरी 

सभ्यता
विचारणीय कुरा के छ भने नेपालमण्डलका कुनै एक मल्लकालीन सहरमा जे सम्पदा छ, त्यो अन्य सहरमा पनि हुनुपर्छ भन्ने कुरालाई समग्रमा बिर्सनुहुन्न । त्यो सम्पदाभित्रको एउटा अंश भक्तपुरको रानीपोखरी पनि हो । 
पुरुषोत्तमलोचन श्रेष्ठ

काठमाडौँ — भौतिक सम्पदा निर्माण गरेसँगै त्यसलाई अभौतिक सम्पदाले समेत अपरिहार्य रूपमा सांस्कृतिकीकरण गर्दै लानु नेपाली संस्कृतिको अतुल्य विशेषता रहेको छ । प्राचीन/मध्यकालीन सहरी सुन्दरता र प्रतिष्ठालाई आज पनि उत्तिकै बढाइरहेका तात्कालिक नेपालमण्डल (काठमाडौं उपत्यका) का अन्य पोखरीलगायत भक्तपुरको रानीपोखरी पनि यस कुराको अपवाद होइन ।

यी खुला स्थानका खुला सम्पदा हुन् । कैयनकालदेखिका धूलोमाटो, घाँस, झारपातले ढाकेर जीर्ण अवस्थामा पुगिसक्दा आज पनि यो उत्तिकै सुन्दर देखिन्छ । यसको सुन्दरताले पनि सहरको शोभा बढाएको छ । तर, योसित यसको स्थापनाकालदेखि गाँसिँदै आएको धार्मिक–सांस्कृतिक सम्बन्ध वा संस्कृति वर्तमानमा खुम्चिन पुगेको छ, केही त लोप भइसके । केही सांंस्कृतिक–सास भने कुनै न कुनै रूपमा अझै चलिरहेको छ ।

Yamaha

भक्तपुरको मध्यकालीन मूल सहरीबस्ती बाहिर पश्चिममा, सल्लाघारी थुम्कोमै, मूल सडकको उत्तरपट्टि यो पोखरी रहेको छ । पूर्व–पश्चिम लाम्चो परेर आयताकार देखिने यस पोखरीको चारैतिर, भित्र बाहिरका पर्खालका भित्तामा माछाकाँडे शैलीमा ठाडो इँटा छापेर बनेका अग्ला डिल छन्, जुन सडकभन्दा माथि छन् । त्यसो हुँदा सडकबाट यो पोखरी नदेखिएको हो । अर्को कुरा सो पोखरीको दक्षिणपट्टिको सतह घाँस झारपातले लगभग पूरै ढाकिएको र त्यतापट्टि पोखरी पस्ने मूल प्रवेशद्वारसहितको सत्तललगायतका अन्य कलाकृति पाताल भइसकेकाले पनि त्यतातिर के छ भन्ने ध्यान कसैको जाँदैन । र, यो पोखरीलगायत यसको आसपासका बृहत् खुला स्थान, पुतलीबगैंचा, गौचर आदि विसं २०४० सालदेखि नेपाली सेनाअन्तर्गतमा गएको छ र पोखरी परिसरका खुला स्थानमा सैनिक आवासीय महाविद्यालयका भवनसमेत उठेका छन् । त्यसो हुँदा सो पोखरी, खुला स्थान, गौचरलगायत ती सम्पदासित गाँसिएर आएको सांस्कृतिक जीवन क्रमभंगको संघारमा पुगेको छ ।

विचारणीय कुरा के छ भने नेपालमण्डलका कुनै एक मल्लकालीन सहरमा जे सम्पदा छ, त्यो अन्य सहरमा पनि हुनुपर्छ भन्ने कुरालाई समग्रमा बिर्सनुहुन्न । त्यो युग कला वास्तुकला एवं अनेक नूतन शैलीहरू एकसाथ प्रवाहित हुन पुगेको प्रयोगात्मक युग थियो र अनुकरणको यस्तो प्रतिस्पर्धात्मक युगसमेत थियो जहाँ एकले अर्कोलाई उछिन्ने गरी बनेका सुन्दर एवं बेजोड कलाकृतिले विस्मयकारी रूपमा नेपालमण्डलको भण्डार भरिन पुगेको थियो । त्यो भण्डारभित्रको एउटा अंश भक्तपुरको रानीपोखरी पनि हो ।
***

भक्तपुरको रानीपोखरी नेसं ७५० (विसं १६८७) मा तत्कालीन भक्तपुरका राजा जगज्योतिर्मल्लले बनाउन लगाएका हुन् । यस भेकका बृहत् खुला स्थानमा वा भनौं गढरूपको राजधानी सहरको पश्चिमपट्टिका गढपर्खाल र ढोकाबाहिरका नाकामा पहिले नै तीनवटा ठूला पोखरीहरू (इन्द्र दह/त:पुखु/सिद्धपोखरी : नेसं २३९/वि.सं.११७६), न:पुखु/गुह्यपोखरी नेसं २८९/विसं १२२६), भाज्या पुखु (सोह्रौं शताब्दीको पूर्वाद्र्ध इसं) बनिसकेका थिए । यसो हुँदा जगज्योतिर्मल्ललाई यहाँ पोखरी बनाउन ती पुराना सुन्दर भव्य पोखरीहरूले प्रेरित गरेको देखिन्छ । मल्लकालीन सहरी सुरक्षा वास्तुतिर दृष्टि दिँदा तत्कालीन समयमा सहर पस्ने, सहर बाहिर जाने पश्चिमतर्फका दुई मजबुत किल्लाका प्रवेशद्वारमध्ये भार्वाचोढोका समीपमा बनेको पोखरी ‘भाज्यापुख’ु थियो भने इताछेंढोका समीपमा बनेको पोखरी ‘न:पुखु’ थियो । अचम्मको कुरा देखिन्छ भने न:पुखुको सीधा ठीक पश्चिममा त:पुखु र लगभग त:पुखुको पनि सीधा पश्चिममा उस्तै दूरीमा यो रानीपोखरी बनेको छ । रानीपोखरीको मध्यभागमा गाडिएको काष्ठस्तम्भमा सुनको वासुकिनाग पनि प्रतिष्ठापित थियो । यसरी समान दूरीमा रहेका यी तीन पोखरीका अवस्थानबारेमा विचार गर्दा रानीपोखरीको निर्माणले अन्य दुई पुराना पोखरीलाई समेत पूर्णता प्रदान गरेको प्रतीत हुन्छ । यसैकारण यो पोखरीलाई भक्तपुरको सांस्कृतिक जीवनले पश्चिमतर्फ फर्केको एक विशाल नागको शिर, त:पुखुलाई सो नागको शरीर र न:पुखुलाई सोही नागको पुच्छर भनी (मान्दै) आस्थाभाव प्रकट गर्दै आएको विदित हुन्छ ।

मल्लकालमा, विशेषगरी कान्तिपुरका राजा प्रताप मल्ल र उनका समकालीन भक्तपुरका राजा जगतप्रकाश मल्लबीचको राजनीतिक सम्बन्ध राम्रो थिएन । प्रताप मल्ल शैव तथा बौद्ध तान्त्रिक राजा थिए । भक्तपुरको रानीपोखरी बनेपछि चलेको लोक–आहान सायद उनले पनि सुनेका थिए । यसो हुँदा आफ्नो राज्यतिर लक्षित नागको शिर र अन्य सुन्दर सम्पदाले सुशोभित यो पोखरी भताभुंग पार्ने दाउमा उनी थिए भन्ने अनुमान हुन्छ ।

ललितपुरसित मिलेर पहिले भक्तपुर जित्ने र त्यसपछि ललितपुरलाई पनि जितेर सिंगो नेपालमण्डलको चक्रवर्ती सम्राट् बन्ने ठूलो इच्छा प्रताप मल्लको थियो । सोहीअनुरूप उनले ललितपुरका राजा श्रीनिवास मल्लसित मिलेर भक्तपुरमा लगातार भनेजस्तै आक्रमण गर्न थाले । प्रताप मल्लले भक्तपुरमा आक्रमण गर्दा जहिले पनि वनदुर्गको रूपमा रहेको, भक्तपुरको पुस्तैनी अधिकारमा परेको भए तापनि लामो समयसम्म आफ्नो अधिकारमा पार्न सफल भएको चाँगुलाई सैनिक मुकाम बनाएको देखिन्छ । यहीँबाट उनले नेसं ७८१(विसं १७१८) मा ललितपुरको समेत साथ पाएर, सैन्य तयारीका साथ भक्तपुरको उत्तरी किल्लाको रूपमा रहेको महाकालीपीठसम्म अधिकार गर्न पुगेका थिए । र, यहीँबाट उनले नालालगायतका पूर्वी भेग पनि हान्न पुगेका थिए । तर, सिंगो भक्तपुर सहर यक्ष मल्लको पालादेखि नै (सोह्रौं शताब्दीको आरम्भदेखि) गहिरा खाई र अग्ला पर्खालले घेरिएको मजबुत गढ भएको हुनाले गढ–पर्खाल फोडेर सहरभित्र पस्ने हिम्मत भने उनले गर्न सकेनन् । त्यसो भए तापनि उनले आफ्नो अधिकार भक्तपुर सहरको उत्तरी भेगसम्म जमाउन आएको कुरा सांकेतिक रूपमा समेत जनाइराख्न एउटै बेहोराका दुईवटा शिलालेख (नेसं ७८१) महाकालीपीठमा राख्न लगाए । ती शिलालेख अद्यापि छन् । त्यसपछि कायल भएर उनी कान्तिपुरतिर लाग्ने क्रममा भक्तपुरको सुरक्षा पर्खालबाहिरका भूभाग जस्तै : व्यासी, खौमाढोका र इन्द्रायणीपीठ, कालीदह, इताछेँढोका र न:पुखु, भाज्यापुखु र सिद्धपोखरी हुँदै रानीपोखरी पुगे । यहाँ पुगेपछि उनलेआफ्नो राज्यतिर लक्षित नागको शिरको रूपमा रहेको रानीपोखरीलाई बिगारेर भक्तपुर जित्न नसकेको रोषलाई शान्त मात्र पारेनन्, यहाँका सुन्दर कलाकृतिलगायत सुनको नागसमेत उठाएर लगी हनुमानढोका दरबार सजाए ।
***

कान्तिपुरको रानीपोखरी प्रताप मल्लले नेसं ७९० (विसं १७२७) मा, आफ्ना दिवंगत पुत्र चक्रवर्तीन्द्र मल्लको स्मृतिमा बनाउन लगाएका थिए । भक्तपुरको रानीपोखरी कान्तिपुरको रानीपोखरीभन्दा चालीस वर्षअघि बनेको थियो । र, त्योभन्दा पनि पुरानो भाज्या पुखु थियो जुन रानीपोखरीहरूभन्दा एक शताब्दीअघि नै बनेको थियो । भाज्या पुखुको मध्यभागमा शिखरशैलीको सुन्दर मृन्मयमन्दिरसमेत थियो । कान्तिपुरको रानीपोखरीमा जस्तै सो पोखरीको मन्दिरमा पुग्नका लागि उस्तै आकर्षक पुल पनि बनेको थियो । यसप्रकार भक्तपुर सहरबाहिरका यी भव्य पोखरीबाट प्रेरित भएर प्रताप मल्लले आफ्नो देशमा पनि रानीपोखरी बनाउन लगाएको दृष्टिगोचर हुन्छ । भक्तपुर र कान्तिपुरका यी रानीपोखरीसित सम्बद्ध लिखित इतिहासमा (शिलालेखलगायतका अन्य अभिलेखीय सामग्री) पोखरीलाई ‘पुष्करणी’/‘पुखुरि’/‘पोषरि’ मात्र सम्बोधन गरिएको पाइन्छ । मौखिक इतिहासका दृष्टिले भने, राजाहरूले बनाउन लगाएकाले होला, ती पोखरीहरू स्वत:स्फूर्त रूपमा लौकिक जीवनमा ‘रानी पुखु’/‘रानीपोखरी’ नामले प्रख्यात रहिआएको जानिन्छ ।

भक्तपुरको रानीपोखरी जगज्योतिर्मल्लले सहरी सुन्दरता, शोभा र प्रतिष्ठाका लागि मात्र नभएर विशेषगरी पोखरीसित धार्मिक–सांस्कृतिक अर्थ जोड्न चाहेका थिए । यो कुरा सो पोखरी परिसरमा प्रतिष्ठापित कुलदेवता/देवालीदेवताका आधारमा पनि जान्न सकिन्छ । प्रत्येक वर्ष अक्षय तृतीयाको दिनमा र त्यसपछि आउने पहिलो आइतबार वा बिहीबारका दिनमा भक्तपुरको विविध जात वा थरका समुदायले सिद्धपोखरी, भाज्यापोखरी, कमलपोखरीलगायत यस रानीपोखरीमा आएर धुमधामका साथ कुलपूजा/देवालीपूजा गर्छन् । त्यसैगरी पाँच दशकअघिसम्म पनि सिद्धपोखरी, भाज्या पोखरीलगायतमा समेत पनि स्नान कर्म, देवतर्पण, श्राद्ध, पितृतर्पण गर्न आउने चलन रहेको ज्ञात हुन्छ । सिद्धपोखरीमा यो परम्परा आज पनि कायम छ ।

नेपालमा उत्तरलिच्छविकालतिर स्वतन्त्र रूपले चलेका, तान्त्रिक स्वरूपका अनेक शैव सम्प्रदाय, उपसम्प्रदायहरूमध्ये एउटा वीरशैव वा लिंगायत सम्प्रदाय पनि थियो । शरीरमा शिवलिंग धारण गर्नु यस सम्प्रदायको खास विशेषता हो । यस सम्प्रदायका आचार्य जंगम (लिंगीब्राह्मण) हुन् । भक्तपुरमा यस सम्प्रदायको गहिरो धार्मिक–सांस्कृतिक प्रभाव सातौं शताब्दीदेख रहिआएको देखिन्छ । विश्वेश्वर, वीरभद्र/विश्वनाथ भैरव+भद्रकाली वीरशैवहरूका कुलदेवता हुन् । भक्तपुरको प्रसिद्ध विस्केट जात्राका देवता पनि विश्वनाथभैरव+भद्रकाली हुन् । बिस्केट–संस्कृति यही सम्प्रदायको लोकप्रियताको उपज थियो भन्दा अतिशयोक्ति नहोला । नेपालमा यस सम्प्रदायको एक मात्र प्रधान मठ ‘जंगममठ’ हो जुन भक्तपुर राजदरबार समीपस्थ दक्षिणस्थित टौमढीटोलमा छ । जस्तो भारतको काशीस्थित जंगमबाडी मठ, उस्तै नेपालको भक्तपुरस्थित जंगममठ । दुवै देशका उही भैरवनाथ । उही भैरवनाथको शिर भने नेपालको भक्तपुरमा र शरीर भने भारतको काशीमा † भक्तपुरको सांस्कृतिक जीवन मात्र नभएर तात्कालिक मल्ल राजाहरूसमेत वीरशैव मतबाट प्रभावित थिए । यसैले यो सम्प्रदायलाई पनि राजकीय संरक्षण प्राप्त थियो । विश्व मल्ल, गंगा रानी, त्रैलोक्य मल्ल, त्रिभुवन मल्ललगायत जगज्योतिर्मल्ल उदाहरणीय छन् । जगज्योतिर्मल्लले रानीपोखरी बनाउन लगाएपछि यस पोखरीमा प्रतिष्ठापित चतुर्मुख शिवलिंग, भवानीशंकरलगायत वासुकिको नित्य एवं वार्षिक पर्व पूजा गर्ने अभिभारा जंगममठलाई दिएको विदित हुन्छ । भक्तपुर जंगममठका पूर्वमठाधीश स्व.राममणि जंगम, भरतमणि जंगमहरूका अनुसार करिब चार दशकअघिसम्म पनि सो परम्परा चलेको थियो । तर, नेपाली सेनाले विसं २०४० सालतिर त्यहाँ तारबार लगाएपछि भने बाहिरबाट पूजा गर्न सम्भव नभएपछि टुटेको छ ।

राजधानी सहर र यसको आसपासका अनुपम कलाकृतिको संरक्षण, संवद्र्धन गर्दै नूतन कलाकृतिसमेत थपेर सहरलाई सुन्दरीकरण गर्ने भक्तपुरका एक प्रसिद्ध राजा जितामित्र मल्ल पनि हुन् । यस कुराको एउटा उदाहरण रानीपोखरी पनि हो । ४८ वर्षअघि, आफ्ना बाजेका पालामा, कान्तिपुरका राजाले बिगारिदिएको रानीपोखरीलाई उनले नेसं ७९८ (विसं १७३५), माघशुक्ल श्रीपञ्चमीका दिनमा जीर्णोद्धार गरी यसको सुन्दरता फर्काउन सफल भए । त्यस अवसरमा ‘मालश्री’ राग/भजनकीर्तनसँगै आफूले निमन्त्रण गरेका कान्तिपुर र ललितपुरका राजाहरूलाई हर्षोल्लासका साथ स्वागत गरेका थिए ।

जसरी भक्तपुरको रानीपोखरी भक्तपुर राजदरबारदेखि पश्चिममा रहेको छ, उसैगरी कान्तिपुरको रानीपोखरी हनुमानढोका राजदरबारदेखि पूर्वमा छ । यताबाट तत्कालीन समयमा जो कोही पनि सजिलैसित ती पोखरीहरू हुँदै हेर्दै, पवित्र तीर्थस्थलकै रूपमा तीर्थस्नान, दर्शनपूजन गर्दै देश वा सहर जान आउन सक्थे र सोही अभिप्रायले समेत बनेका थिए भन्ने कुरा विदित हुन्छ । त्यसैगरी मल्लकालमा राजनीतिक एवं कूटनीतिक दृष्टिले समेत सिद्धपोखरी रानीपोखरीहरू महत्त्वपूर्ण थिए । सहरी सीमाबाहिरका नाकामा यी पोखरीहरू खुला आकाशमुनिका खुला स्थानमा भएकाले कान्तिपुर, ललितपुर र अन्य राज्यका राजा, मन्त्री, भारदार आउँदा भक्तपुरका शासकहरू यहाँसम्म आएर स्वागत गर्दै देशभित्र लान्थे । स्थानीयबासीका अनुसार यहाँ उहिले रानीपोखरीको नगरप्रवेश नाकामा दायाँ–बायाँ एक जोडी विशाल प्रस्तरसिंह स्थापित नगरप्रवेशद्वारसमेत बनेको थियो । यो द्वार भत्किएपछि त्यहाँका प्रस्तरसिंहहरू उठाएर ल्याई हालको भार्वाचोढोकाका दायाँ–बायाँ राखिएका थिए जुन अद्यापि देख्न सकिन्छ । नेपालमण्डलका मल्ल राजाहरू राजनीतिक, कूटनीतिक वार्ता गर्ने उपयुक्त थलो रानीपोखरी एवं पोखरीको डिलका सत्तल थिए । विदेशबाट स्वदेश फिरेका, तीर्थयात्राबाट सकुशल फर्केका आफन्तहरूलाई सिद्धपोखरी, रानीपोखरीसम्म सांस्कृतिक–जुलुसले धुमधामका साथ बाजागाजा बजाएर लिन गई देश वा सहर भित्र्याउने चलन चार–पाँच दशकअघिसम्म पनि खुब चलेको थियो । बदलिँदो परिवेशमा यो संस्कृतिले पनि अन्तिम सुस्केरा हालिसकेको छ ।

मल्लकालको अवसानसँगै हजारौं वर्षदेखि समृद्ध रहिआएको उच्चकोटिका, एकले अर्कोलाई उछिन्ने गरी बनेका कला वास्तुकलाको बेजोड लहर पनि शान्त हुनपुग्यो । त्योसँगै विश्वश्रेणीका शिल्पी हातले पनि विश्रान्ति पाउँदै आए । रानीपोखरीले पनि त्यही नियति छ, रानीपोखरी मध्यभागमा वासुकिनाग पनि छैन । त्यहाँ वासुकिनाग रहने काष्ठस्तम्भको ठूटो अवशेष मात्र छ । पोखरीको दक्षिणपट्टि प्रतिष्ठापित भवानीशंकर, चतुर्मुख शिवलिंगका सुन्दर मूर्तिहरू शिरविहीन सालिक, पद्माकृति, सत्तलका अवशेष आदि यत्रतत्र छरिएर, झारपातले पुरिएका छन् । ढुंगेसिँढी खोज्नुपर्ने अवस्थामा पुगेको छ ।
***

समयको मारले निकै जीर्ण भइसकेको एउटा मल्लकालीन सत्तल रानीपोखरीको दक्षिणपट्टिको डिलको मध्यभागमा थियो । उहिल्यै जीर्ण भएर ठाउँ–ठाउँमा यसका छाना, गारो भ्वाङ पर्दै ह्वाङह्वाङती देखिन थालेपछि सात दशकअघिका लोकजीवनले यसलाई ‘ह्वाङ्ह्वाङ्–पाटी’ भन्न थाले । यो अरू सत्तलभन्दा केही भिन्नै शैलीस्वरूपमा बनेको अनौठो, सुन्दर सत्तल थियो । यसको मोहडा दक्षिणतर्फ फर्केको दुईतले थियो भने उत्तरतर्फ यो एकतले थियो । यसको दक्षिणपट्टि छिँडी तलामा अर्धगोलाकार, प्रस्तरनिर्मित प्रवेशद्वार बनेको थियो । सो द्वार छेपु, मकराकृति आदि सुन्दर आकृतिहरूले सजिएको कलात्मक द्वार थियो । पोखरी पस्ने मुख्य द्वार पनि यही थियो । सो द्वारबाट भित्र पसेपछि बनेको ठाडो ढुंगेसिँढी हुँदै पोखरीमा पुगिन्थ्यो । सो सत्तलको उत्तरपट्टिको भित्तामा जगज्योतिर्मल्ल र उनका नाति जितामित्र मल्लले राख्न लगाएका शिलालेख थिए । मलाई लाग्छ, अत्यन्त जीर्ण अवस्थामा पुगेर पनि खडा रहेको सो सत्तल मैले हेर्दाहेर्दै प्रत्येक वर्षको वर्षात, घाम र हावाहुरीका मारले गल्दै गयो र विसं २०४० सालपश्चात् कुन बेला गल्र्याम्मै ढलेर पाताल हुन पुग्यो पत्तै पाइएन । यसका अवशेष ता अद्यापि त्यहीँ छन् र जगज्योतिर्मल्ल र जितामित्र मल्लले राख्न लगाएका शिलालेखहरू पनि त्यही अवशेषमा पुरिन पुगेका छन् र खोतलेर हेरेको खण्डमा पुन: पत्ता लाग्नेछन् भन्ने कुरा निश्चितप्राय: छ ।

ललितपुरको हरसिद्धि नाच, कान्तिपुरको नरदेवी नाच बाह्र वर्षमा एकपल्ट भक्तपुर राजदरबारमा देखाउन ल्याउने चलन छ । उहिले यी प्रसिद्ध नाचका गणहरू भक्तपुर आउँदा सर्वप्रथम रानीपोखरीको यही सत्तलमा विश्राम गर्थे र औपचारिक सूचना पाएपछि उनीहरूलाई स्वागत गरी सहरभित्र लाने प्रबन्ध हुन्थ्यो । धार्मिक–सांस्कृतिक महत्त्व बोकेको सो सत्तल जीर्ण भएर ह्वाङ्ह्वाङ्–पाटीमा परिणत भएसँगै त्यो संस्कृति पनि हराउन पुग्यो ।

मल्लकालमा नेपालमण्डलका राजा, मन्त्री, भारादार आदि उच्चपदस्थ व्यक्तित्वहरूसमेत जम्काभेट हुने यो सत्तल पाताल भएसँगसँगै योसित जोडिएको एउटा संस्कृति पनि सुस्ताउन पुग्यो जुन संस्कृति मल्लकालको अवसानपछि भने उदाउन पुगेको देखिन्छ । विसं १८२६ मा गोर्खालीहरूले भक्तपुर पनि जितेपछि मल्लकालीन भक्तपुर राजदरबारको राजनीतिक महत्त्व रहेन । मल्लहरूको मूल राजकीय बासस्थान यही दरबार थियो । यसैले यो नेपालमण्डलको सांस्कृतिक मूल थलोको रूपमा पनि रहिआएको थियो । मल्ल वंशको अवसान भए तापनि शाह वंशको ‘राजतन्त्र’ ले निरन्तरता पाएको थियो ।त्यसपछि कान्तिपुर नेपालको राजधानी भयो र सोहीअनुरूप मल्लकालीन हनुमानढोका राजदरबार नयाँ वंशको राजकीय बासस्थान बन्न पुग्यो । भक्तपुरको सांस्कृतिक पहिचान बोकेको एक विशिष्ट पर्व बिस्केट जात्रा हो । यो जात्रा आरम्भ हुनु एक दिनअघि हनुमानढोका राजदरबारबाट राजप्रतिनिधिको रूपमा राजकीय खड्ग ल्याउने चलन थियो । सो खड्ग विधिवत् यही रानीपोखरीको सत्तलमा ल्याएर राखिन्थ्यो । त्यसपछि भक्तपुरतर्फका सम्बद्ध सांस्कृतिक समूहले त्यहाँ पुगी मुहाली बाजा (पञ्चेबाजा) बजाएर सहर भित्र्याउने चलन थियो । अब त्यो सत्तल हाम्रोसामु छैन, त्यो सित गाँसिएर बाँचेको संस्कृति पनि छैन ।

व्यवस्थित बस्ती बसाइ र खुला स्थान एउटै सिक्काका दुई पाटा हुन् । परम्परित धारा, कुवा, पोखरी, मठ, मन्दिर, चैत्य, विहार, सत्तल, पाटीपौवा गौचरन/चउर, खुला आकाशमुनिका खुला सम्पदा हुन् । ती हाम्रो देशका खुला संग्रहालय पनि हुन् । ती रहेसम्म सांस्कृतिक जीवनले सास फेर्न पाउँछन् र नरहे मर्छन् । पाँच दशकअघिसम्म पनि नेपालमण्डल संस्कृति र प्रकृतिको अनुपम मेलले सिँगारिएको सुन्दर बगैंचा थियो । आज यो अनेक कारणले कसरी कुरूप बन्दै गइरहेको छ त्यो सबैमा विदितै छ । यो बगैंचाका सुन्दर सम्पदाहरूमध्येको एउटा रानीपोखरी पनि हो । यो सम्पदा पहिले सांस्कृतिक जीवनको हो र त्यसपछि मात्र सरकार र सेनाको हो भन्ने कुरालाई पनि बिर्सनुहुन्न । यसैले नेपाली सेनाले पनि तारबार लगाएर हैन, हटाएर, सांस्कृतिक जीवनसित कुममा कुम मिलाएर यसलाई पुनर्जीवन दिने पुण्य कार्यमा लाग्दा सबैको कल्याण हुनेछ भन्ने कुरामा दुईमत नहोला ।
सम्पदालाई बिगारेमा पाप लाग्ला, सपारेमा पुण्य मिल्नेछ भन्ने कुरा जगज्योतिर्मल्ल र जितामित्र मल्लले राख्न लगाएका शिलालेखमा खुलाएका छन् । सिद्धपोखरीको उद्धार गर्नमा अपार सफलता पाएको भक्तपुर नगरपालिकाले अहिले यस सहरका अनेक सम्पदालगायत भाज्यापुखु र यही रानीपोखरीको पुरानै शैली स्वरूपमा उद्धार गर्ने पुण्य कार्यमा लागिपरेको छ । भक्तपुर नगरपालिकालाई निश्चय नै पुण्य मिल्नेछ । बिनाविवाद कान्तिपुरको रानीपोखरीले पनि पुरानै शैलीमा सँगसँगै उठ्ने अवसर पाओस् ।

प्रकाशित : मंसिर १५, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दधिलाल ठूलाबाका नाममा

न्यायको खोजी
अनुभूति
खाडी भूमी साउदीमा चार बर्ष बेकसुर जेल बसे, चितवनका टीकाराम सापकोटा । उनका बुबा दधिलाल छोरो जेलमा छदै बिते । उनै टीकाराम गाउ फर्केर आएका छन्, न सपना न बिपनाको स्थिती छ यी पात्रसग ।    
जनकराज सापकोटा

काठमाडौँ — व्यक्ति हत्याको झूटो अभियोग र त्यसैका कारण तीन वर्ष दस महिना जेल बसेर टीकाराम मुक्त त भए । तर, उनले जीवनको अमूल्य समय बेकसुर आरोपमा गुमाए ।  उमेरको उपल्लो विन्दुमा टीकारामका बाले अनेकन चिन्ता भोग्नुपर्‍यो र चिन्तैचिन्ताले गलेर उनले धर्ती छाडनुपर्‍यो । 

एउटा घुर्मैलो दिनको कुरा हो । गोरखा ईपीसेन्टर भएर आएको भूकम्पको ११ औं दिन थियो । म भक्तपुर दरबार स्क्वायर क्षेत्रमा भूकम्पले भत्किएका घर, मन्दिर र सम्पदाबारेमा रिपोर्टिङ गरिरहेको थिएँ । भासिएको स्वरमा बुबाले जब हजुरबा नरहनुभएको खबर सुनाउनुभयो, तब मभित्र कति हो कति रेक्टरको कम्पन पैदा भएको थियो । त्यसको पाँच घन्टा बित्न नपाउँदै घुर्मैलो साँझमा अँध्यारो मन लिएर म चितवन पुगिसकेको थिएँ ।

भुइँकुहिराको बाक्लो पर्दाले ढाकेको बिहान थियो । हजुरबाको सदगत सकिएकै भोलिपल्ट दधिलाल ठूलाबा मलाई भेट्न घरमै आउनुभएको थियो । उहाँले मलाई बारीको एक छेउमा बोलाएर जुन समाचार सुनाउनुभयो, त्यसले मलाई असमन्जसमा पारिदियो । त्यो मानसिक आघात पार्ने भूकम्पको ईपीसेन्टर भने साउदी अरबको जेद्धाबाट सात सय पचास किलोमिटरको दूरीमा थियो । खबर उहाँकै कान्छो छोरा टीकारामको थियो । टीकाराम सापकोटा, जो व्यक्ति हत्याको केसमा साउदी अरबमा पक्राउ परेका थिए । त्यही खबरले दधिलाल ठूलाबाको आँतमुख सुकाइदिएको थियो ।
म सानो छँदा उहाँको र हाम्रो घर नजिकै थियो । पहाडघर बाग्लुङबाट सँगै झरेकाले पनि उहाँको परिवारसँग हाम्रो परिवारको अलग्गै साइनो थियो । त्यसैले म टीकारामको बुबालाई ठूलाबा भन्थे । त्यही पुरानो साइनो र म पत्रकारितामा भएकाले उहाँ केही आशा राखेर एकाबिहानैको हुस्सुको पर्वाह नगरी मेरो घर आउनुभएको थियो ।

साउदी जेलमा व्यक्ति हत्याको अभियोगमा परेका मान्छेलाई छुटाउनु सजिलो कुरा थिएन । घटनाबारे तथ्य बुझ्नु एउटा कुरा, घटनामा उनको संग्लनता थियो कि थिएन भनेर पर्गेल्नु अर्को कुरा । काठमाडौं फर्केपछि बिस्तारै टीकारामको केस मिडियामा आउन थाल्यो । परिवारले पनि सरकारी तवरबाट पहल थाल्यो । टीकारामका शुभेच्छुक, आफन्तले पनि आ–आफ्नोतर्फबाट घटनाबारे बुझे ।

साउदीमा अदालती प्रक्रिया सुरु भयो । अनेक चरणका बयान र तथ्यको परिक्षण सुरु भयो । यता टीकारामका परिवार र बाको छटपटी सकिएको थिएन । के हुने हो कसो हुने हो ? उनीहरू अप्रमाणित तथ्य र व्यक्तिपिच्छेका अनेकन आशंकामिश्रित सूचनाका कारण थकित थिए ।

गत दसैंमा म घर पुगेका बेला थाहा पाएँ, दधिलाल ठूलाबा सिकिस्त हुनुहुन्छ रे । अहो † खबर सुन्नेबित्तिकै म उहाँलाई भेट्न पुगें । उहाँको सिन्कोजस्तो ज्यान ओछ्यानमा पल्टिएको थियो । लामोलामो सास तान्दै उहाँले मसँग टीकारामका बारेमा सोध्नुभयो । उहाँको अनुहारमा रोगसँग लड्दालड्दैको थकान थियो तर उहाँको आँखामा छोराप्रतिको असीम स्नेह छचल्किएको थियो । छोरा साउदीको जेलमा, बुबा बिरामी भएर ओछयानमा । त्यो समयको साक्षी बनिरहन मलाई सकस भइरहेको थियो । मैले टीकाराम छिट्टै छुट्ने बताएँ र केही असत्य कुरा सुनाएर भए पनि उहाँको बिरामी मुहारमा खुसी ल्याउन खोजें ।

दसैं सकिएको केही दिनपछि थाहा पाएँ, बिरामी ठूलाबा बित्नुभयो । यो खबर सुन्नेबित्तिकै मैले साउदी जेलमा रहेका टीकारामलाई सम्झें । उनले खबर थाहा पाएर के गरे होलान् ? कति भक्कानिए होलान् ? टीकारामका छिमेकीसमेत रहेका मेरा साथी दामोदर सापकोटाले उक्त दिनको घटना सुनाउँदै भने, ‘मृत्युभन्दा मृत्युको खबर जेलमा रहेका टीकारामलाई कसरी सुनाउने भन्ने चिन्ता थियो त्यो दिन ।’ दामोदरका अनुसार मृत्युको शोक र बाँचेकाको चिन्ता दुवैले परिवार र आफन्तलाई गहिरोसँग सताएको थियो ।

जेल बसाइको तीन वर्षपछि अन्तत: साउदीको तल्लो अदालतले टीकाराम निर्दोष रहेको ठहर गर्‍यो । घटनामा संग्लन रहेका अर्का नेपाली प्यूठानका सफी उल्लाह मियालाई भने पाँच वर्ष जेल सजाय र दुई लाख रियाल ब्लड मनी तिर्नुपर्ने फैसला सुनायो । फैसला भइसकेपछि पनि टीकाराम तत्कालै जेलबाट निस्कन पाएनन् । झन्झटिलो कानुनी प्रक्रिया र सुस्त साउदी सरकारी अभ्यासले फैसला भएको दस महिनापछि मात्रै टीकाराम नेपाल फर्कने सके । यो बीचमा साउदीको जेद्धास्थित नेपाली महावाणिज्य दूतावासले खेलेको भूमिका प्रशंसनीय थियो । जेद्धास्थित दूतावासबाट टीकाराम थुनामा रहेको जेल जिजान ७ सय पचास किलोमिटरको दूरीमा थियो । तर पनि कन्सुलेट रेवती पौडेलले यति दौडधुप गरे कि त्यसैका कारण टीकाराम सहजै नेपाल आउन सम्भव भयो । कन्सुलेट रेवतीको दौडधुप र आफन्तीले निरन्तर होस्टेमा हैसे गरिरहे ।

व्यक्ति हत्याको झूटो अभियोग र त्यसैका कारण तीन वर्ष दस महिना जेल बसेर टीकाराम मुक्त त भए । तर, उनले जीवनको अमूल्य समय बेकसुर आरोपमा गुमाए । उनको परिवारले यो बीचमा अनेकन सास्ती र हैरानी खेप्नुपर्‍यो । उमेरको उपल्लो विन्दुमा टीकारामका बाले अनेकन चिन्ता भोग्नुपर्‍यो र चिन्तैचिन्ताले गलेर उनले धर्ती छाडनुपर्‍यो ।

नेपाल छाडेको झन्डै पाँच वर्षपछि टीकाराम नेपाल फर्के । सोझै चितवन गीतानगरस्थित घर पुगे र तेह्र दिनसम्म बाबुको किरिया बसे । उनी घर फर्किंदा ५ वर्षको छोरा दस वर्ष र दस वर्षकी छोरी १५ वर्षकी भइसकेकी थिइन् । घर पुगेको बेला टीकारामसँग भेटें, जहाँ तीन वर्षअघि उनका बाले तीन वर्षअघि भेटेका थिए । त्यहीं उभिएर टीकारामले सुनाए, ‘गाउँ त कस्तो बदलिइसकेछ । म आफैं पो उस्तै रहेछु ।’

अरबको इतिहास
सन् २०१० को जुलाईमा एक लाख ३५ हजार खर्चेर साउदी पुगेका टीकाराम साउदी मास्टर बेकर कम्पनीमा गाडी चालक र सेल्सम्यानको काम गर्ने गरी पुगेका थिए । ७ सय रियाल तलब भने पनि उनी ओभरटाइम गरेर झन्डै १५ सय हाराहारी कमाउँथे । २०१४ अगस्टको कुरा हो । काममै रहेका बेला टीकारामलाई साउदी प्रहरीबाट फोन आयो । प्रहरीले केही बुझ्न खोजेको होला भनेपछि उनी आफंै प्रहरीकहाँ पुगे । प्रहरीले उनलाई पक्राउ गर्‍यो । टीकारामले सुनाए, ‘पक्राउको १७ दिनपछि पो मैले पक्राउ पर्नुको कारण थाहा पाएँ ।’

त्यति बेलासम्म टीकारामलाई व्यक्ति हत्याको घटनाबारे थाहै थिएन । न उनले मृतकलाई नै चिनेका थिए । उनले भने, ‘गर्दै नगरेको अपराधको सजाय कसरी हुन्छ र भन्ने सोचेर म ढुक्क थिएँ ।’ तर, टीकारामले सोचेजस्तो भएन । उनको निर्दोषिताको प्रमाण खोज्न वर्षौं लाग्यो । निर्दोष प्रमाणित भइसक्दा उनले तीन वर्ष जेलमा बिताइसकेका थिए ।

जेलभित्र उनलाई सकस थियो । पहुँचवाला कैदीले जेलभित्रै अवैध फोनको व्यापार चलाएका थिए । दुई रियाल तिरेर एक मिनेट फोन गर्न पाइने सुविधा उपभोग गरेर आफन्ती, शुभेच्छुक र परिवारजनसँग कुरा गर्दागर्दै टीकारामले लाखौं रुपैयाँ सके । आफ्नो मुद्दा के भइरहेको छ ? कहाँ पुग्यो ? कसरी सहयोग जुटाउन सकिन्छ भनेर बुझ्दाबुझ्दै उनको फोनको बिल चढिसकेको हुन्थ्यो । टीकारामलाई सहयोग गर्न फेसबुक ग्रुप पनि बनेको थियो । ‘दस रियाल तिरेपछि जेलभित्र गोप्य रूपमा डाटाबाट फेसबुक चलाउन पाइन्थ्यो,’ टीकारामले भने, ‘मुद्दाबारे अपडेट गराउने, सहयोगका निम्ति हारगुहार गर्ने सबै काम फेसबुकबाट गर्थे ।’ टीकारामको हिसाब गर्दै सुनाए, ‘मोबाइल फोन र अन्य सुविधाका निम्ति मात्रै करिब पाँच लाख रुपैयाँ सके होला ।’

जेलभित्र खानाको त सुविधा थियो । तर तेल, दाह्री काट्ने सामान, अतिरिक्त पानी र आफूलाई चाहिने केही कुरा किन्नैपथ्र्यो । उनले सुनाए, ‘जेलले दिने मासिक एक सय तीस रियाल भत्ता त केही पनि नपुग्ने ।’ जेलभित्रै अर्कै संसार थियो । अतिरिक्त खर्च धान्न टीकारामले नेपालबाट पैसा मगाउँथे । यस्तो पैसा जेलभित्रै पहुँचवाला कैदीले उनको हातमा ल्याइदिन्थे । तर, सयकडा बीस प्रतिशत सेवा शुल्क काटेर । यसरी पनि टीकारामलाई खर्च चर्को पर्‍यो ।

टीकारामका निम्ति प्रत्येक दिन र रातको हिसाब थियो । बेकसुर सजाय भोग्दाको सकसको भने कुनै हिसाब थिएन । एक साँझ जब कसैले उनलाई फेसबुकमा बाबुको मृत्युको खबर सुनाइदियो, उनलाई घुमिरहेको संसार टक्क अडिएजस्तो भयो । ‘घरतिरकाले अरू चीज बार्न नसके पनि माछामासु नखाने भनेर सल्लाह दिएका थिए । तर, त्यस्तो त कसरी मिल्नु । सयौं कैदीलाई एउटै भाँडामा पकाएको खानुपर्ने नियम । ‘माछा–मासु सराबरी’ टीकारामले त्यो समय सम्भिँmदै भने, ‘म त्यस्तो अवस्थामा भएको पितृलाई पनि थाहै छ । अब माफ गर्नुहोला भन्ने सोचें ।’

यसरी सकसपूर्ण जेल सजायको तीन वर्षपछि टीकारामले अदालतबाट सफाइ पाए । कागजी प्रक्रिया मिलाएर उनी तीन वर्ष दस महिनापछि नेपाल रित्तो हात स्वदेश फर्के । तर, अब के ? टीकारामसँग अनुत्तरित प्रश्नहरू मात्रै छन् । उनले बेकसुर सजाय भुक्तान गर्दाको क्षतिपूर्ति कसरी होला ? मानव अधिकार र श्रमिक अधिकारको कुनचाहिँ बुँदा उनको निम्ति आकर्षित होला ? के टीकारामको कम्पनीले उनी बेकसुर सजाय भुक्तान गर्दाको अवधिको क्षतिपूर्ति देला ? टीकारामसँग कुनै उत्तर छैन ।

उनले मधुरो स्वरमा सुनाए, ‘प्राण त बचाए, अब न्याय कसले खोजिदेला ?’

प्रकाशित : मंसिर १५, २०७५ ०८:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्