कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाममा जे छ

खेलाडी
पछिल्लो तीन वर्षमा नेपाली टोलीसँगैं रहे पनि शक्तिको भूमिका खुम्चिँदै गएको थियो ।
विनोद पाण्डे

काठमाडौँ — शक्ति गौचन नेपाली क्रिकेटमा सबैभन्दा लामो योगदान खेलाडी हुन् । लगातार १८ बर्ष अन्र्तराष्टिय क्रिकेट खेल्ने क्रममा ३४ बर्षे शक्ति नेपाली क्रिकेटको सााच्चिकै शक्ति बने । 

नाममा जे छ

शक्ति गौचन र नेपालको अन्तर्राष्ट्रिय क्रिकेट लगभग एकै समयमा हुर्किए । नेपाली क्रिकेटले जति दु:ख बेहोर्‍यो, जति खुसी आत्मसात् गर्‍यो, त्यसमा प्रत्येक पलजस्तो शक्ति प्रत्यक्षदर्शी भए । मैदानभित्रबाट सबैभन्दा लामो समय दिने यी खेलाडी नै नेपाली क्रिकेटजस्तै रहे । खर्च अभावमा पिरोलिएको नेपाली क्रिकेट, विश्व क्रिकेट लिगमा प्रवेश, विश्व ट्वान्टी–२० र एकदिवसीय अन्तर्राष्ट्रियको एतिहासिक फड्कोदेखि नेपाल क्रिकेट संघ निलम्बनसम्मको यात्रा शक्ति गौचनको खेल जीवन वरिपरि घुमिरह्यो ।

आफ्नो १८ वर्षे यात्रालाई बिसाएका शक्तिको संन्याससँगै नेपाली क्रिकेटको एउटा युग सकिएको छ । सन् २००० मा बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपमा नेपालको कप्तानी गर्दै शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा आएका थिए । उनले आफ्नो खेलाडीको यात्रा मात्र टुंगाएका हुन् । नेपाली क्रिकेटलाई अझ माथिल्लो स्तरमा लाने प्रयास जारी राख्ने उनको उद्देश्य खेलाडी हुँदा विश्वकप खेल्नेजस्तै छ ।

शक्तिमा अचम्मको भोक थियो क्रिकेट खेल्नलाई भनेर । अहिले पनि यथावत् छ । विनोद दास नेपाली क्रिकेट टोलीको कप्तान हुँदा उनीसँग सबैभन्दा नजिक थिए दीपेन्द्र चौधरी । दशकअगाडि विनोदको स्थानमा पारस खड्का जब नेपालको कप्तान भए, दीपेन्द्रले विनोदको नेतृत्व क्षमताको आलोचना गर्दै भनेका थिए, ‘विनोदको कप्तानी सिरियल नम्बरजस्तो छ । पहिलो दुई पेस बलरले ५–५ ओभर आफ्नो बलिङ सकाएपछि शक्ति गौचन बलिङमा आउने ।’ खासमा विनोदले बनाएको यो बलिङ पंक्तिभन्दा पनि शक्ति आफैं पहिलो परिवर्तनको रूपमा बलिङमा आउन स्ट्रेचिङका साथै बल ट्राउजरमा साइन गरिरहेका हुन्थे । यो संकेत बुझेपछि विनोद शक्तिलाई बल दिन बाध्य हुन्थे ।

जेठमा प्रधानमन्त्री कप खेल्न आउनुअघि प्रदेश ५ ले सुर्खेतको एक प्रतियोगितालाई तयारीको रूपमा लिएको थियो । शक्तिको तयारी अरूभन्दा फरक थियो, जबकि जो कोहिले बुझ्न सक्थे शक्तिको खेलाडी इनिङ्स अब लामो जान सक्दैन भनेर । सुर्खेतको तयारीसँगैं शक्ति ब्याटिङबाट पुन: आफ्नो क्षमता देखाउन खोजेका थिए । शक्ति अलराउन्डरमा फर्कन चाहन्थे । यथार्थमा भने शक्तिमा त्यो शक्ति देखिएको थिएन । पूर्वखेलाडी तथा शक्तिसँगैका भैरहवावासी वसन्त शाहीले भनेका थिए, ‘शक्तिको क्रिकेट भोक अचम्मकै छ । यो उमेरमा आएर उनी ब्याटिङबाट कसलाई के प्रमाणित गर्न खोजिरहेका छन् थाहा छैन ।’

शक्तिलाई यही मोह, लोभ र मिहिनेतले यो स्थितिमा ल्याएको थियो । २०११ अघिको नेपाली क्रिकेट अलि फरक थियो । प्रतियोगिता आउनु एक महिनाअगाडि नेपाली टोलीको बन्द प्रशिक्षण सुरु हुन्थ्यो । उनी भने क्यालेन्डर हेरेर आफ्नो तयारी गरी क्याम्पमा फिट भएर आइपुग्थे । त्यही भएर उनी सधैं प्रशिक्षकको नजरमा पर्थे । यही मिहिनेत, त्यागले उनलाई झन्डै दुई दशक मैदानमा उभ्यायो । ‘प्रतिभाको हिसाबमा म खासै त्यस्तो राम्रो खेलाडी होइन । अनुशासन, पद्धतिमा चलेर र मिहिनेतले होला मैले १८ वर्ष खेल्न सकें,’ शक्ति आफ्नो राज सुनाउँछन् ।

त्यति मात्र होइन आफुले विकेट नलिएको दिन शक्ति गुम्म परेर बसेका हुन्थे । के कारणले विकेट आएन भनेर अर्को खेलअगाडिसम्म उनको चिन्ता यथावत् रहन्थ्यो । ब्याटिङमा पनि उस्तै । उनी पहिलो ब्याट्सम्यान हुन् जसले नेपाली राष्ट्रिय टोलीबाट खेल्दै १ हजार रन बनाएका थिए । जस्तै स्थितिमा पनि उनी विकेट र स्ट्राइक छाड्न नचाहने स्वभाव थियो । नेपालले पाकिस्तानमा गएर आधिकारिक प्रतियोगिता जितेको इतिहास छ । शक्तिकै कप्तानीमा नेपालले २००३ मा कराँचीमा एसीसी यू–१९ कप जितेको थियो । पहिलो खेलमा नेपालले माल्दिभ्सविरुद्ध रनको वर्षा गराउँदा शतकको नजिक पुगेका ओपनिङ ब्याट्सम्यान कनिष्क चौगार्इंलाई साथ दिन शक्ति क्रिजमा आएका थिए । कनिष्क ९५ रनमा खेलिरहेका थिए । शक्तिको कलमै कनिष्क १ रनलाई दौडिएका थिए । तर, शक्तिले विकेटमा पुग्ने सम्भावना नदेखिएपछि बीचमा पुगेर फर्किदिए । स्ट्राइकमा कनिष्क फर्किन बाध्य भए । माल्दिभ्सका फिल्डरले फालेको थ्रो निसानामा लागेको भए कनिष्क ‘नर्भस नाइनटिज’ हुन्थे । थ्रोले स्टम्पमा लागेन र कनिष्कले शतक पूरा गर्न पाए । कनिष्कले सो खेलमा बनाएको १ सय २५ रन नेपाली खेलाडीको अन्तर्राष्ट्रिय क्रिकेटमा अहिले पनि उच्च स्कोर हो । कनिष्कले झन्डै शतक बनाउने मौका गुमाएको क्षण सुनाइरहदा आँसु नै चुहाए । शक्ति मोहबाट परिचित उनी हाँस्दै भन्थे, ‘शक्ति दाइ हो स्ट्राइक छाड्नुहुन्न हामी सबैलाई थाहा थियो, म नै जोसमा दौडिँदा झन्डै रनआउट भएँ ।’

नेपालमा सन् २००१ मा भएको एसीसी यू–१९ कपमा शक्तिले माल्दिभ्सविरूद्ध शतक बनाए । २००२ मा न्युजिल्यान्डमा आईसीसी यू–१९ विश्वकपमा खेलेपछि उनलाई राष्ट्रिय टोलीमा आउन सजिलो भयो । २००२ मा सिंगापुरमा भएको एसीसी ट्रफीको ओमानसँगको खेलबाट शक्तिले राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरे । २०१२ मा उनी इन्डियन प्रिमियर लिगको टोली राजस्थान रोयल्समा ट्रायलका लागि पुगे । एक समय उनी राष्ट्रिय टोलीका उपकप्तान पनि थिए । कप्तान कहिल्यै भएनन् । ट्वान्टी–२० को प्रभावसँगैं शक्ति बलिङमा मात्र केन्द्रित भए । उनको नेपाली टोलीमा भूमिका विशुद्ध बलरको रूपमा मात्र रह्यो ।

२०१४ मा नेपालले बंगलादेशमा ट्वान्टी–२० विश्वकप खेल्दा नेपाली टोलीसँगै राष्ट्रिय गीत गाएको शक्तिलाई सधैं अविस्मरणीय लाग्छ । नेपालले विश्व ट्वान्टी–२० मा पहिलो खेल हङकङसँग खेल्दै थियो । नेपालको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल पनि थियो । शक्तिले त्यही खेलमा ३ विकेट लिँदै नेपालले विश्वकपमा खेलेको पहिलो खेलमै म्यान अफ द म्याच प्रदर्शन गरे । हङकङसँग विकेट लिइरहँदा पाकिस्तानी कमेन्टेटर रमिज राजाले उनलाई ‘शक्ति द पावर’ भनेर प्रशंसा गर्न लागे । विश्वभर उनी ‘शक्ति द पावर’ कै रूपमा चिनिए । तर, शारीरिक हिसाबमा हेर्ने हो नेपाली टोलीका सबैभन्दा कमजोर खेलाडी उनी शक्तिशाली क्रिकेटरको रूपमा नेपाली टोलीमा रहे । शक्तिको संन्यासपछि नेपाली टोली ‘शक्तिविहीन’ हुने त होइन भन्ने आशंका पनि धेरैलाई छ । उनी ‘ग्यास्ट्रिक’ बाट पीडित थिए । त्यही भएर केरा, सुन्तला, बिस्कुट उनको साथमै हुन्थ्यो । शक्तिको संन्याससँगैं सोमपालको चिन्ता शक्ति दाइको साथ र बिस्कुट गुमाउनुमा थियो ।

नेपाल विश्व ट्वान्टी–२० मा छनोट भएसँगै खेलाडीहरू राम्रैसँग पुरस्कृत भए । सरकारदेखि निजी क्षेत्रबाट गरी शक्तिसहितका प्रमुख खेलाडीले सम्मानबाट ४० लाख रुपैयाँ जति नगद पाए । शक्तिले यो कतै खर्च गरेनन् । त्यो पैसा उनले आफैंले भैरहवामा सञ्चालन गरेको स्टार क्रिकेट एकेडेमीमा खर्च गरे । शक्तिकै उत्पादन हुन् सुशन भारी श्रेष्ठ, कुशल मल्ल । शक्तिले पोखरा राइनोजबाट खेल्दै एभरेस्ट प्रिमियर लिगबाट बिदा लिएका थिए । उनले कीर्तिपुर क्रिकेट मैदान परिक्रमा गर्ने क्रममा राइनोज र चितवन टाइगर्सका खेलाडीले उनलाई काँधमा बोकेका थिए । यो सौभाग्य पाउने शक्तिकै शिष्य सुशन पनि थिए । सुशन राष्ट्रिय टोलीमा आउने क्रममा थिए । उनकै लागि राष्ट्रिय टोलीमा स्थान खाली गरिदिनुपर्‍यो भनेर शक्तिले साढे दुई वर्षअघि नामिबियासँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलबाट संन्यासको क्रममा पुगेका थिए । अन्तिम समयमा निर्णय ‘युटर्न’ भयो ।

त्यसपछिको समय उपयुक्त सम्मानलाई कुर्दै शक्ति नेपाली टोलीमा अल्झिरहे । शक्तिको मेहनत उस्तै नै थियो । विशेष गरी गत वर्ष उनले विश्व क्रिकेट लिग डिभिजन २ का लागि आफूले निकै मिहिनेत गरेको बताएका थिए । नेपालले निकै संघर्ष गर्दै नामिबियामा डिभिजन २ को यात्रा पार गर्‍यो । शक्तिले ६ मध्येको कुनै खेल खेल्न पाएनन् । लगत्तै नेपालले विश्वकप छनोट खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको एतिहासिक उपलब्धि हात पार्‍यो । दक्षिण अफ्रिकामा हङकङलाई पराजित गर्दै नेपालले नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता क्लबमा प्रवेश गरिसकेकाले नेदरल्यान्ड्ससँगको अन्तिम खेल नेपाललाई खासै महत्त्व थिएन । त्यही खेलमा उनले वसन्त रेग्मीको स्थानमा मौका पाए । यत्रो योगदान दिएकाले शक्ति एकदिवसीय अन्तर्राष्ट्रिय नखेली संन्यास लिन चाहन्नथे । नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय टोलीको सदस्य बन्न उनी हकदार पनि थिए । शक्ति संन्यासको संघारमा पुगेदेखि नै नेपाल क्रिकेट संघ निलम्बनमा पर्‍यो । संघ निलम्बनको साढे दुई वर्षको यो यात्रा अहिले पनि यथावत् छ । आधिकारिक निकाय नै नभएको अवस्थामा नेपालको अन्तर्राष्ट्रिय एकदिवसीय मान्यताको हालत के होला भन्ने थियो । त्यसैमा नेपालले नेदरल्यान्ड्ससँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने भयो । ऐतिहासिक शृंखलामा नेपालको पहिलो एकदिवसीय टोलीको सदस्य बन्दै शक्तिले अगस्टमा अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाइ गरे । शक्ति नेपालमै अन्तर्राष्ट्रिय क्रिकेट खेलेर बिदाइ हुन चाहन्थे, नेपाली क्रिकेटको सर्वोच्च निकाय नभएको अवस्थामा उनको त्यो चाहना भने पूरा हुन सकेन ।

लर्डस, विश्वकप र नेदरल्यान्ड्ससँगको खेल शक्तिका लागि विशेष छन् । एक दशक अगाडिजस्तो शक्ति एक भारतीय क्लबका साथ इंग्ल्यान्ड भ्रमणमा गएका थिए । विभिन्न क्लबसँग खेलेपछि विश्व क्रिकेटको उद्गमस्थल लर्डसमा टिकट काटेर घुम्ने अवसर आएको थियो । मैदानमा टेक्न नपाउने प्रावधानमा उनले लर्डसको मैदानलाई ढोगेर फर्किएका थिए । नेपालले २०१६ मा लर्डसमा खेल्दै एसोसिएट राष्ट्रको ढोका खोल्यो । शक्ति र नेपाललाई लर्डसमा खेल्नु अब सपना रहेन । नेपालले दोस्रोपल्ट लर्डसमा गएर खेलिसकेको छ । बुबा भारतीय सेनामा रहेका कारण शक्तिको जन्म कोलकातामा भयो । त्यसै क्रममा उनी मुम्बईको क्रिकेट संस्कारमा हुर्किए । १९९९ मा मात्र नेपाल फर्किए । जब नेपाली यू–१७ मा कप्तानको जिम्मेवारी पाए तब उनलाई लाग्यो उनी नेपालबाटै खेल्नलाई जन्मिएका रहेछन् । यो समयमा नेपाली क्रिकेट अहिलेजस्तो एक्सपोज भइसकेको थिएन । उनले त्यतिखेर नै प्रण गरेका थिए, एक दिन नेपाललाई विश्वकप खेलाउने भनेर । ‘त्यतिखेर नेपालले विश्वकप खेल्न सक्छ भन्दा पनि पत्याउने कोही हुँदैनथे । नेपालले एकदिवसीय नभए पनि ट्वान्टी–२० विश्वकप खेल्यो । अहिले म संन्यास लिइरहेको समयमा भन्छु, नेपाललाई १०–१५ वर्षपछि एकदिवसीय विश्वकप खेलाउन र टेस्ट खेल्ने राष्ट्र बनाउन मेरो भूमिका हुनेछ, अहिले पनि यो मान्छेहरूले पत्याउँदैनन् ।’

मैदानभित्र शक्तिका लागि केही समय निकै पीडादायी रह्यो । २०१० मा विश्व क्रिकेट लिगको डिभिजन ४ बाट उक्लन नसकेपछि प्रशिक्षक रोय डायसको झन्डै एक दशकको नेपाल बसाइ टुंगियो । त्यस हारमा शक्तिसहित वरिष्ठ खेलाडीहरू निसानामा परे । शक्तिलाई २०१० मा चीनमा भएको एसियाली खेलकुद र २०११ मा घरेलु मैदानमा भएको एसीसी ट्वान्टी–२० मा नेपाली टोलीमा राखिएको थिएन । शक्तिको छट्पटी उधुम थियो । कीर्तिपुर मैदानमै उनी निरन्तर रोइरहेका थिए । देख्ने जोकोहीले उनको पीडालाई अनुभव गर्न सक्थ्यो । त्यसपछिको पुनरागमनलाई शक्तिको दोस्रो इनिङ्स मान्न सकिन्छ । हुन त शक्ति आफैंले खेलाडी जीवन आफ्नो पहिलो इनिङ्स भएको र अब व्यवस्थापन र प्रशिक्षण दोस्रो इनिङ्स हुने बताएका छन् ।

लगातार दुई प्रतियोगितामा नपरेको पीडा उनले २०१२ को विश्व ट्वान्टी–२० छनोटमा पोखे । डेनमार्कसँग यूएईमा हयाट्रिक गरे । नेपाली टोलीबाट पुरुष खेलाडीले गरेको यो एक मात्र हयाट्रिक हो । उनी दगुर्दै छात घिसारेर त्यसको खुसी मनाएका थिए । विकेट लिएपछि उनको खुसी मनाउने तरिका लगभग एउटैजस्तै छ । ‘क्याच मी इफ यू क्यान’ शैलीमा दौडिने सेलिब्रेसन उनको ट्रेडमार्क बन्यो । बलिङ गर्दा उनी निकै कन्जुस छन्, रन निकै कम दिने । इकोनोमी बलिङ र विकेट लिने क्षमताले उनलाई नेपाली टोलीको प्रमुख सदस्य बनायो । २०१२ को डिभिजन ४ मा उनले मलेसियासँग १० ओभरमा ८ मेडन राख्दै २ रन मात्र खर्चेर ३ विकेट लिएका थिए । विश्व क्रिकेटमै यो दुर्लभ बलिङमा पर्छ । पछिल्लो समय उनले त्यो लय पनि गुमाए । अर्थात् उनको बलिङमा रन रोकिन छोडेको थियो । ईपीएलमा चितवन टाइगर्ससँगको खेलको अन्तिम बलअगाडि उनलाई एउटै डर थियो, ‘आफ्नो खेल जीवनको अन्तिम बलमा कुनै बाउन्ड्री नलागोस् ।’

पछिल्लो तीन वर्षमा नेपाली टोलीसँगैं रहे पनि शक्तिको भूमिका खुम्चिँदै गएको थियो । उनले थोरै मात्र अवसरमा खेल्न पाएका थिए । घरेलु क्रिकेटमै यो स्थिति आउन लाग्यो । दसैंपछिको पोखरा प्रिमियर लिगमा उनले पारसको कप्तानीमा रहेको चितवन राइनोजबाट खेलेका थिए । फाइनलसहित तीन खेलमा शक्तिले बलिङ नै गर्न पाएनन् । शक्तिलाई के भन्ने भनेर अप्ठयारो परिसकेको हुन सक्छ । उही मुस्कानका साथ उनले नै भने, ‘म मैदानभित्रको मेन्टर ।’ सम्भवत: अगामी फ्रेन्चाई लिगहरूमा शक्ति यही मेन्टरको भूमिकामा देखिन सक्छन् ।

प्लेइङ ११ भित्र नपरेको समयमा शक्तिको अनुहार खासै उज्यालो देखिँदैन । २०१६ मा नेदरल्यान्ड्स भ्रमणमा विश्व क्रिकेट लिग च्याम्पियनसिपको डचसँग एमस्ट्राडमको एमस्टलभिनको पहिलो खेलमा शक्तिलाई बेन्चमा राखिएको थियो । बिप्स लगाएका उनी मुस्कान छाड्दै मतर्फ आए । मलाई सोध्नु पनि अप्ठयारो भइरहेको थियो आज किन नखेलेको भनेर । उनले नै यो गाँठो फुकाउँदै मुस्कुराउँदै भने, ‘जगत गुरु (टमाटा) लाई सहायक प्रशिक्षक चाहिएको रहिछ ।’

प्रकाशित : पुस ७, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?