कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘अहं संस्कृतं पठामि’

संस्कृतले भन्दैन– बोक्सीका नाममा अमानवीय व्यवहार गर । छाउपडीमा राखेर छोरीचेलीलाई सर्पले डसाऊ । त्यो त अन्धविश्वासीले भन्छ, निर्विवेकले भन्छ । 
संस्कृत हाम्रो सभ्यताको जग हो । यही खुड्किलोमा टेकेर पुर्खाले हामीलाई अहिलेको उन्नत युगमा उकालिदिए । अमेरिकी नासाभन्दा अगाडि यसले हामीलाई खगोल चिनायो । आधुनिक चिकित्सा भित्रनुअघि यसैले हाम्रा घाउ ठीक पार्‍यो । योग सिकायो, शल्यचिकित्सा पढायो ।
प्रदीप खतिवडा

काठमाडौँ — वसन्तपुर डबली । दस थानजति जम्ला हात जुटेपछि हामी भर्‍याङ उक्लन्छौं । आज शनिबार । नव­ आदर्श मावि बिदा छ तर हाम्रा लागि खुला छ । पालेदाइ ८ नबज्दै साँचो बोकेर हाजिर भइसक्छन् । 

‘अहं संस्कृतं पठामि’

हामी यहाँ ‘मृत’ भनिँदै आएको भाषा ब्युँताउने प्रयासमा छौं । सिक्दै छौं– ‘अहं संस्कृतं पठामि ।’ खासमा हामी आफैंभित्र ओइलाइरहेको चेतना ब्युँताउँदै छौं ।

हाम्रा मियो हुनुहुन्छ– डा. महेशराज पन्त । संस्कृतलाई ‘मृत’ भन्दा गुरुलाई पटक्कै चित्त बुझ्दैन । यही अज्ञान चिर्न त साताको दुई घण्टा हामी ‘मूढ’ हरूलाई दिनुहुन्छ । बिहान ८ देखि १० बजेसम्म ।

देउताको भाषा भनिन्छ संस्कृत । अहिलेचाहिँ ‘बाहुनको भाषा’ भन्छन् । यो कक्षामा हामी बाहुन मात्र छैनौं, नेवार पनि उत्तिकै छन् । छेत्री पनि ।

साना काठीका भुराभुरीका लागि बनाइएका डेस्क–बेन्च । हामी उमेर र बोसोले बाक्लिएकाहरूलाई पस्न अलि सकसै छ ।

गुरुले सेतोपाटीमा लेखिसक्नुभयो– अश्व:, अश्वौ, अश्वा: ।

घोडाबोधक शब्दको एकवचन, द्विवचन र बहुवचन । संस्कृतमा यसलाई अकारान्त पुंलिङ्ग भनिन्छ । संस्कृतभाषाका व्याकरण निर्माता हुन्– पाणिनि । नयाँ पुस्ताले ‘पाँडेकी श्रीमती’ भनेर बुझ्न बेर लगाउँदैन ! अर्घाखाँचीवासीहरू उनले यही भूमिमा ‘अइउण्–ऋलृक्’ आविष्कार गरेको ठान्छन् । त्यसैले ठाउँको नाम नै राखेका छन्– पँडेना ।

‘दुई घोडा दगुर्छन् । ल यो वाक्यलाई संस्कृतमा उल्था गर्नुस् ।’

गुरुको वचन खस्न नपाउँदै जुनु वासुकलाले भनिहालिन्– ‘अश्वौ धावत: ।’ ठ्याक्कै मिलाइछन् ।

अलि टाठै छिन् जुनु । हामीभन्दा अलि बढी कक्षा पढिसकेकी । यो कक्षाको मेलोमेसो उनैले मिलाएकी हुन्, करिब पाँच वर्षअघि नै । पी.एच.डी. थेसिस लेख्ने क्रममा गुरुसँग भेटेपछि उनले संस्कृतलाई छाड्नै सकिनन् । दुई–चार जना आफूजस्तै साथी बटुलिन् । गुरु समय निकाल्न तयार हुनुभो । तर, उपस्थिति पातलिँदै गयो । कक्षा निरन्तर हुन सकेन । झन्डै दुई वर्षयता फेरि थालिएको छ । जिज्ञासु थपिएका छन् ।

प्रतिविद्यार्थी मासिक एक हजार उठाइन्छ । त्यसैबाट पालेदाइको पारिश्रमिक, टेक्स्टबुक फोटोकपी, मार्कर, इरेजर, चिया जोहो हुन्छ । बचेखुचेकोमा गुरुबाटै थपथाप पारेर सामूहिक भोज, दसैंको छेका । कक्षाकोठाको शुल्क तिर्नुपर्दैन । प्रधानाध्यापकले नि:शुल्क उपलब्ध गराइदिएका ।

त्रिविमा बौद्धदर्शन पढाउँछिन् जुनु । विद्यार्थीलाई बुझाउन जटिल बौद्ध ग्रन्थहरू पार लगाउनु छ यिनले । थेरवादका मूल ग्रन्थ पालिमा भए पनि पछि लेखिएका अधिकांश संस्कृतभाषामै छन् । संस्कृतबाटै जन्मिएको हो पालि । धर्मबाटै ‘धम्म’ भएको । सम्बुद्धस्यबाटै ‘सम्बुद्धस्स’ । सिद्धार्थ गौतमले बुद्धत्व, चार आर्यसत्य, बोधिसत्त्व जेजे पाए, संस्कृत वा तद्भव भाषामै पाए ।

गुरु भन्नुहुन्छ– ‘संस्कृत जाने पालि आफैं जानिन्छ । मैले पालि नियमपूर्वक पढेको छैन तर परिआए ९० प्रतिशत त पक्कै बुझ्छु ।’

यत्तिकैमा पालेदाइ आइपुगे– ‘चिया कतिवटा भनौं हजुर !’

जुनुले टाउका गनिन् । चिनी हालेको नौ गिलास, नहालेको पाँच गिलास । यो सङ्ख्या कक्षापिच्छे घटबढ भइरहन सक्छ । आज फोटो पत्रकार विकास रौनियार र लामो समयदेखि म्यानचेस्टर बस्दै आएका उनका काका कमल रौनियार पनि ‘अतिथि विद्यार्थी’ छन् । पालेदाइ अर्डर लिएर भुइँको पसलतिर लागे ।

यता फेरि सुरु भो– आम्र शब्द । यो शब्द पुंलिङ्ग र नपुंसक दुवैमा चल्दो रहेछ । अर्थ पनि फरक । शोभा पोखरेल हल्का ‘कन्फ्युज्ड’ देखिइन् । विश्वविद्यालयमा लामो समय प्राध्यापन गरी सेवानिवृत्त भएकी उनलाई संस्कृत जानेर शास्त्र छिचोल्ने हुटहुटी छ । अहिलेचाहिँ जिज्ञासा छ– ‘आम्र: र आम्रम् भन्दा के–के बुझ्ने त ?’

गुरुले तत्काल सुझाइहाल्नुभयो– ‘आम्र: भने आँपको रूख बुझ्ने, आम्रम् भने फल ।’

उदाहरण पनि दिनुभयो– ‘वने आम्र: (रूख) अस्ति । अहम् आम्रं (फल) खादामि ।’

पछिल्लो लहरमा बसेका मूर्तिकार गौतम महर्जनका आँखा केही बुझेजसरी टिलिक्क चम्किसकेका थिए । अचानक अर्को जिज्ञासाले फेरि पुरानै मुद्रामा फर्किए–

‘आम्रम्’ मा पनि कस्तोमा ‘म’ को खुट्टा काट्ने, कस्तोमा माथि थोप्लो दिने ?’

त्यही बेन्चमा बसेका छन् ज्योतिर्विद्यामा रुचि र राम्रै ज्ञान राख्ने शिवराज खनाल । चिना भेट्नासाथ भाग्य फलाकिहाल्ने सोख छैन उनलाई । बरु संस्कृतमार्फत यो विद्यामा अझ गहिरिएर पस्नु छ । लोकलाई बुझाउनु छ– यसको वैज्ञानिक पक्ष । भन्दै थिए– ‘न्युटनभन्दा धेरै अघि हाम्रै भास्कराचार्यले गुरुत्वाकर्षणबारे व्याख्या गरेका छन् ।’ श्लोकबाट प्रमाणै दिए ।

हाम्रा प्रधानमन्त्रीले पनि एक अन्तर्वार्तामा यही कुरा भन्नुभएको थियो, केहीअघि । बिनसित्ती उडाएछन् ट्विटरमा !

यति बेला शिवराजको मनोदशा मूर्तिकारकै जस्तो खुट्टो काट्ने र थोप्लोमा अडिएको छ सायद ।

गुरुले स्पष्ट पारिदिनुभयो– ‘पछाडिको शब्द स्वरवर्ण (अआइई...) बाट सुरु हुन्छ भने खुट्टा काट्ने, व्यञ्जनवर्ण (कखगघ...) भए थोप्लो दिने ।’

अलि झ्याउ लाग्दै हुन्छ व्याकरण । रूखो विषय । रस नपसेकालाई त दिमागमा अड्याउनै मुस्किल । धन्न, तलकी साहुनी तत्काल चिया बोकेर आइपुगिन् । कहिलेकाहीँ शोभा म्याडम पनि झोलाभरि जेरीस्वारी बोकेर आउँछिन् । व्याकरणभन्दा त यो कति रसिलो–रसिलो !

अनौपचारिक नै छ कक्षा । बेलाबेला विषयान्तर पनि भइन्छ ।

जुनुले प्रसङ्ग झिकिन्– ‘गुरु शाकाहारी हुनुहुन्छ तर दसैंमा देवीलाई पशुबलि दिनुहुन्छ ।’

गुरुलाई शाकाहारी–मांसाहारी शब्दको प्रयोगमै आपत्ति रहेछ । वास्तवमा मान्छे मांसाहारी मात्रै कसरी हुन सक्छ ? मांसाहारीले पनि शाकाहार त गरी नै हाल्छ ।

‘म त यस्तोमा सामिष र निरामिष भन्छु,’ गुरुले भन्नुभयो ।

संस्कृतमा आमिष भनेको मासु रहेछ । मासु भएको भोजनलाई ‘सामिष’, नभएकोलाई ‘निरामिष’ ।

अर्को शब्दको प्रसङ्ग उठ्यो– ‘गोप्य’ । कस्तो कुरा गोप्य हुन्छ ?

गुरुले भन्नुभयो– ‘अषडक्षीण (अ+षट्+अक्षि+इन) अर्थात् ६ वटा आँखाले नदेखेसम्म ।’ अर्थात् तेस्रो व्यक्तिले थाहा नपाएसम्म । दुई जनासम्मले देखेको गोप्य नै हुने रहेछ ।

***


शब्दप्रयोगमा असाध्यै सचेत हुनुहुन्छ गुरु । संस्कृतको प्राकृत स्वरूप बिगारेर जथाभाबी लेखिएको देख्दा दिक्क मान्नुहुन्छ । ‘निषिद्ध’ लाई निषेधित, ‘सशङ्क’लाई सशङ्कित, ‘आयात’ लाई आयातित बनाइएको मन पराउनुहुन्न । अनि एउटै विधामा दर्जनौंलाई ‘वरिष्ठ’ भनेको सुन्दा झर्को मान्नुहुन्छ । वरिष्ठ त जहिल्यै एक व्यक्ति मात्र हुन्छ । यस्ता अशुद्धि कति–कति !

दोषी हामी नै हौं । पढ्दैनौं, मनलागी लेखिदिन्छौं । न ह्रस्वको मतलब न दीर्घको । न प्रत्यय न उपसर्गको । आखिर भाषाको पनि नियम छ, विधान छ । आफ्नो अज्ञान छोप्न भाषा स्वतन्त्र र परिवर्तनशील हुने ओठे जवाफ दिएर यसलाई नाघिरहनु कति जायज ?

मान्छे पनि त प्राकृतिक रूपले स्वतन्त्रै हुन्छ । उसलाई किन ऐन–कानुनमा बाँधिरहने ? अपराध गर्दा किन जेलमा कोच्नुपर्ने ? किन खोज्दै छौं निर्मला पन्तका हत्याराहरू ? भाषाको हकमा चाहिँ यस्तो नियन्त्रण किन नाजायज ?

कानुन पालना नगर्दा देश बिग्रन्छ । व्याकरण पालना नगर्दा भाषा ।

तेल, घिउ, दूध शुद्ध चाहिने हामीलाई भाषाचाहिँ अशुद्धै भए पनि हुने !

शुद्ध भाषाले सभ्यता स्वस्थ राख्छ ।

बृहद् नेपाली शब्दकोश, हाम्रो भाषाको मानक । यसमा कस्ता शब्द प्रवेश गराउने, हाम्रै विवेकमा भर पर्छ । अखबार र पुस्तक प्रकाशकहरूको हकमा अझ विशेष । किनकि यी तीव्र गतिले बजारमा फैलन्छन् । यिनले जे लेख्यो, लोकले त्यही सिक्छ । नयाँ पुस्तालाई हामीले के सिकाउने– व्यवस्था कि अव्यवस्था ?

नियम मिचेर शब्द बिगार्नु ‘परिष्कार’ हुन सक्दैन ।

***


गुरु प्राचीन शास्त्रोक्तिहरू पनि सुनाउनुहुन्छ । मान्छेका तीनखाले इच्छा हुन्छन् रे– पुत्रैषणा, लोकैषणा र वित्तैषणा । अर्थात् छोरो पाउने, पैसा कमाउने र नाम कमाउने ।

छोरो मात्र पाउनुलाई प्राथमिकता दिइएकोमा पत्रकार बिनु पोखरेललाई उति चित्त बुझेनछ । सुस्तरी ‘साइड टक’ गर्दै छिन् । सानैमा पढेको ‘पत्रं पतति र हस्त–हस्तौ–हस्ता:’ले उनलाई यहाँसम्म डोर्‍याएको रहेछ । प्राय: छोरीलाई पनि कक्षा ल्याउन छुटाउँदिनन् । उनलाई लाग्छ– ‘संस्कृत पढ्नेको उच्चारण स्पष्ट हुन्छ । छन्द गाउँदा–गाउँदै गायनकला निखारिन्छ । छोरीले पनि सानै उमेरदेखि सिकून् ।’

गुरुको पुत्रैषणा पूरा भइसक्यो । वित्तैषणा उतिसाह्रो नहोला । हुन्थ्यो त जर्मनीमा वर्षौं प्राध्यापन गरेका उहाँलाई फर्किएर दिनहुँ डल्लुबाट वसन्तपुर उक्लिन यति रौस नलाग्न सक्थ्यो ।

‘ममा लोकैषणा बाँकी हुन सक्छ,’ आफैंले स्विकार्नुभयो । यो त राष्ट्रकै हितमा छ । उहाँले नाम कमाउँदा संस्कृतले नाम कमाउँछ । हाम्रो मौलिकता मुखर हुन्छ । इतिहास संशोधित हुन्छ ।

गुरुले विद्यार्थी बनेर स्कुल कहिल्यै टेक्नुभएन । ३२ नम्बर आउँदा पास हुने शिक्षापद्धति नै चित्त बुझेन, उहाँका पिता ज्ञानर्षि नयराज पन्तलाई । हुन पनि हो, थोरै मात्र बुझेर मान्छे कसरी पारङ्गत हुन्छ ? आधा आकाश पुग्दैमा चन्द्रमा कसरी टेकिन्छ ? उहाँले आफ्नै शैलीको पाठशाला चलाउनुभयो । छोराहरू र नजिकका छात्रलाई त्यसैमा पढाउनुभयो । जति पढाउनुभयो, शतप्रतिशत जान्ने बनाउनुभयो ।

४० जनाजति थिए छात्र । उपल्लो उमेरकाहरू अलि जान्ने भएपछि उनीहरूले नै तलकालाई पढाउने प्रचलन बस्यो ।

***


९ बज्यो । पत्रकार रामशरण बजगाईं बोले– ‘ल अब श्लोक पढौं ।’ हिजोआज प्रधानमन्त्री कार्यालयमा व्यस्त रहने उनी भ्याएसम्म कक्षा छुटाउँदैनन् । संस्कृतका श्लोकको लत बसेको छ उनलाई ।

पहिलो दिनको संस्कृत–कक्षा सकेर हतारहतार बालुवाटार पुग्दा प्रधानमन्त्रीले सोध्नुभएछ– ‘हस्याङफस्याङ छ नि, कहाँ पुगेर आउनुभो ?’

– ‘संस्कृतभाषा पढेर । अचेल कक्षा जाने गरेको छु ।’

– ‘ल त्यसो भए संस्कृतभाषामै ‘म संस्कृत पढ्छु’ भन्नुस् त ?

– रामशरणजी– ‘अहं संस्कृत पठन्ति ।’

प्रधानमन्त्रीले भन्नुभएछ– ‘गलत । अहं संस्कृतं पठामि भन्नुपर्छ ।’

प्रधानमन्त्रीमा संस्कृतभाषाको दख्खल देखेर उनी छक्क छन् ।


यता गुरुले सेतोपाटीमा लेख्नुभयो–

सर्पदुर्जनयोर्मध्ये वरं सर्प: न दुर्जन:

सर्पो दशति कालेन दुर्जनस्तु पदे पदे ।।

– सर्प र दुर्जनमध्ये छान्नुपरे सर्प नै छान्नू । किनकि सर्पले कालविशेषमा मात्र डस्छ, दुर्जनले त पाइलैपिच्छे डसिरहन्छ ।

रामशरणजीलाई निकै घत परेछ– ‘त्यो जमानामा पनि यति उन्नत चेतना ! कसरी लेख्न सकेको होला ?’

संस्कृतलाई आरोप छ– यो चाकडीबाजहरूको भाषा हो । यसले सधैं सत्ताको गुणगान मात्र गर्‍यो ।

गुरु हामीलाई संस्कृतका विद्वान्हरूले सत्ताका दुश्चरित्रप्रति औँला ठड्याएका श्लोक खोजीखोजी पढाउनुहुन्छ–

न नटा न विटा न गायका

न परद्रोहनिबद्धबुद्धय: ।

नृपसद्मनि नाम के वयं

स्तनभारानमिता न योषित: ।।

कविले राजालाई व्यङ्ग्य गरेका छन्– ‘नर्तक, नटुवा, गाइने, अरौटे–भरौटे अनि स्तनभारले नुहेकाहरूले घेरिएर बस्ने विलासी राजालाई हामीजस्ताको के काम ?’

पछिल्लो पङ्क्तिमा भद्रतापूर्वक बसिरहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याललाई नटुवा, गाइने, भरौटेजस्ता शब्द मन पर्दैनन् । गायक–कलाकारजस्ता सम्मानजनक शब्द नै प्रयोग गर्नुपर्ने तर्क गर्छन् । ठिकै हो । तर कविले कुन मुडमा लेखेका हुन्, त्यस आधारमा पनि शब्द छनोट हुन सक्ला ।

गुरुसँग पढ्नुको अतिरिक्त फाइदा पनि छ । बेलाबेला पुरातात्त्विक सम्पदा चिन्न पाइन्छ । उहाँकै पछि लागेर हामीले प्रताप मल्लले लेखाएको एकसाथ १४ लिपिको अभिलेख थाहा पायौं । गगनसिंहको घर पुग्यौं । जङ्गबहादुरले नरसंहार मच्चाएको कोत चिन्यौं । लामो समयदेखि ‘संशोधन मण्डल’ हाँकिरहेका उहाँहरूका लागि यी जानकारी इतिहासका कखरा मात्र हुन् । हाम्रा लागि भने ज्ञानको पराकाष्ठा ।

***


संस्कृत भाषा मात्र होइन, संस्कृति हो । हाम्रो सभ्यताको जग हो । यही खुड्किलोमा टेकेर पुर्खाले हामीलाई अहिलेको उन्नत युगमा उकालिदिए । अमेरिकी नासाभन्दा अगाडि यसले हामीलाई खगोल चिनायो । आधुनिक चिकित्सा भित्रनुअघि यसैले हाम्रा घाउ ठीक पार्‍यो । योग सिकायो, शल्यचिकित्सा पढायो ।

सभ्यताभित्र रीति–कुरीति, थिति–बेथिति सबै हुन्छन् । हामी बेथिति मात्र औंल्याएर जगै उप्काउन खोज्दै छौं । उपियाँ निमिट्यान्न पार्न घरै डढाउँदै छौं । नत्र किन बन्द गरिए संस्कृत स्कुल ? किन च्यातिए संस्कृतका किताब ?

संस्कृतले भन्दैन– बोक्सीका नाममा अमानवीय व्यवहार गर । छाउपडीमा राखेर छोरीचेलीलाई सर्पले डसाऊ । त्यो त अन्धविश्वासीले भन्छ, निर्विवेकले भन्छ । अन्धविश्वास र विश्वासको सीमारेखा कुन हो ? त्यो बुझ्न त नपढी धरै छैन । नबुझी आरोप पनि लगाउन पाइँदैन । जो गहिराइसम्मै पुग्छ– सन्तुष्ट हुन्छ, यति उन्नत सभ्यताको हिस्सा हुन पाएकोमा । विरोध त कि नपढेकाले गर्छ कि पढ्न नसकेकाले ।

गाली गर्नेको गाली स्वयं संस्कृत शब्द नहाली पूरा हुँदैन ।

आज हामी शब्दलाई नियम होइन, फिताले नापेर जोड्ने–घटाउने गर्दै छौं । मान्छेहरूलाई समान ‘हाइट’ का बनाउन अग्लाको खुट्टा गिँडेजस्तो । ठाउँ–कुठाउँ छिनो हानेर शब्दलाई छियाछिया पार्छौं । अपांग बनाउँछौं । अनि त्यसैलाई सुन्दर देख्छौं । यो कस्तो सौन्दर्य चेत हो– वर्वर युगको जस्तो !

जसको नाम नै छ समस्तपद, कसरी छुट्टिन्छ ?

संस्कृत मासिँदा संस्कृति मासिन्छ । अहिलेको साम्राज्यवादले हाकाहाकी बन्दुकले हान्दैन । डलरको टुकटुकेले हानेर पहिले संस्कृति फोर्छ । भाषा अतिक्रमण गर्छ । इतिहास बिटुल्याउँछ । ‘होली वाइन’ पिलाएर मान्छेलाई ‘हिप्नोटाइज्ड’ गराउँछ । अनि किन गर्नुपर्‍यो भूमिकब्जा ?

हामी हर दिन संस्कृतमै बाँच्छौं । हामीले बोल्ने सायदै कुनै वाक्यमा संस्कृत शब्द नहोला । अनि यो कसरी मृतभाषा ? महाभारतलाई धर्मशास्त्र नभन्ने हो भने दार्शनिक र कथानक पक्षमा योजति उत्कृष्ट उपन्यास विश्वमै विरलै होला । फोस्रो प्रवचन मात्र हुन्थ्यो त अरू थुप्रै देशमा संस्कृत पढाइन्नथ्यो । हरेकजसो सभ्य मुलुकका विश्वविद्यालयले यसलाई प्राथमिकता दिएका छन् । दक्षिणी मात्र होइन, हाम्रो उत्तरी छिमेकीकहाँ पनि संस्कृत पढाइ हुन्छ । जर्मनीका विश्वविद्यालय र विश्वविख्यात क्याम्ब्रिज, अक्स्फोर्ड युनिभर्सिटी त पुरानै भइहाले ।

संस्कृतबिना हाम्रो शब्दकोश ‘बृहद्’ रहँदैन । दुई तिहाइ नै दुब्लाउला । वाचालहरू शब्द नपाएर भकभकाउलान् । कविता अधुरो हुनेछ । समाचार अपूरो हुनेछ । त्यसपछि के गर्ने ? आगन्तुक शब्दहरूकै अनुदानमा बाँच्ने ?

ठीकै हो– अनुदानमा बाँच्ने त हाम्रो ‘राष्ट्रिय चरित्रै’ बनिसकेको छ ।

अँ साँच्चि ! गुरुले सिकाउनुभएको– संस्कृतमा ‘राष्ट्रिय’ शब्द राजाको सालोलाई बुझाउन पनि प्रयोग हुन्छ । ‘देशज’ भन्नु बेस हो !

प्रकाशित : पुस १४, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?