शशिको सप्रेम सम्झना

ध्रुवचन्द्र गौतम

काठमाडौँ — म चुपचाप कोरिडोरमा हिँड्न थालें । त्यहाँ अचानक विपरीत दिशाबाट एक जना कोही आइरहेको देखियो । त्यसलाई देख्नासाथ अनायास मेरा हात उठे र मैले ‘नमस्कार’ भनेर उच्चारण गरें । तिनले पनि नमस्कार भने र कोठाभित्र पसे । ती शशि कपुर थिए । 

Yamaha

२०२२ को एक मध्याह्न म त्रिपुरेश्वरको एउटा सानो चौरमा बसेर हिन्दी फिल्मी गीत गाइरहेको थिएँ :
परदेशियों से न अँखिया मिलाना
परदेशियों को है एक दिन जाना
श्रोता थिए त्यस बखतका नेपाली एमएका केही विद्यार्थीहरू जसमा छात्रभन्दा छात्रा बढी थिए— लता सिं, निर्मला शाही, माधव भट्टराई आदि ।

त्यसबखत म दोस्रो वर्षमा पढ्दथें तर यी श्रोताहरू भने प्रथम वर्षका विद्यार्थी थिए । त्रिपुरेश्वरमै त्रिवि कार्यालय थियो, त्यहीं क्लासहरू पनि थिए । सबैतिर ‘मिनी’ स्वरूप थियो, आज हेरी । त्यही स्वरूपको एउटा चौर पनि थियो जहाँ खासगरी जाडोका ‘लिजर’ घण्टीमा घाम ताप्ने, बदाम खाने, जोक भन्ने अनि यस्तै गीत गाउने गर्दथ्यौं । छात्र–छात्रा, खासगरी गीत सुन्ने सोखिन थिए र मलाई विभिन्न गीत गाउने फर्माइस गर्दथे । तिनताक मैले फर्माइसमा सबभन्दा बढी गाएको गीत त्यही माथि उल्लिखित थियो । त्यो गीत मलाई पनि मन पर्दथ्यो । ‘जबजब फूल खिले’ फिल्मको त्यो गीत तिनताक जताततै सुनिन्थ्यो पनि । ‘जबजब फूल खिले’ शशि कपुरको पहिलो सुपरहिट फिल्म थियो । नायिका थिइन् नन्दा । नन्दासँग उनले धेरै फिल्ममा खेलेका छन्, केही फ्लप फिल्ममा पनि ।

शशि कपुर को हुन्, यो सम्भवत: हाम्रा पाठकहरूलाई भनिरहन पर्दैन । एक महिनाअघि उनको निधन भयो र, उनी एक समर्थ अभिनेता थिए । त्यसकारण एक उच्च कलाकार जसलाई स्मरण गर्नु, श्रद्धाञ्जलि दिनु उपयुक्त छ ।
मैले युवावस्थामा पाइला टेक्दै गर्दा थाहापाएँ— मेरो कलात्मक रुचिमा पनि परिवर्तनआउन थालेको छ । सिनेमा त मजस्तो पनि हेर्ने हुँ । सन् १९६१ तिर पहिलोपटक एक–दुई फिल्म यस्ता मलाई मन परे, जुन त्यसअगि हेरेको भए म रुचाउँदिनथें ।

ती थोरै फिल्ममा एक थियो— ‘चार दिवारी’ । ‘चार दिवारी’ शशि कपुरको पहिलो फिल्म थियो । मैले यथार्थवादी चित्रणका लागि मन पराएको प्रारम्भिक फिल्म पनि त्यही भयो । त्यस बखतसम्म मैले ‘दो बिघा जमिन’, ‘बुट पालिस’ जस्ता फिल्म पनि हेरेको थिएँ । तर सम्भवत: मेरो रुचि नै त्यति विकसित थिएन । अब हुँदै थियो क्रमश:, त्यसकारण ‘चार दिवारी’ मन परेको थियो ।

शशि कपुरलाई केवल राज कपुर जानेका भरमा ‘उनको भाइ’ भनेर चिनिएको थियो । त्यति हो, राज कपुरले आफ्नो भाइ शशि कपुरलाई पनि बाल भूमिकामा ‘आवारा’ फिल्ममा लिएको छ, त्यति हो । पछि बुझियो, शशि कपुरको फिल्म डेब्यु नै त्यही ‘आवारा’ देखि भएको रहेछ । १३ वर्षका शशि कपुर नायक हुँदाका शशि कपुरको कलिलो रुप हो, चिन्नचाहिं मज्जाले सकिन्छ । कोहीकोही राज कपुरको पहिलो निर्माण ‘आग’ मा पनि छन् शशि कपुर भन्छन् तर मलाई याद छैन त्यो । सम्भवत: भारतीय सिनेमाको लामो वंश–परम्परासहित सहभागी हुने परिवार नै यही बनेको छ । ‘आवारा’ फिल्ममा राज कपुर र शशि कपुरका साथ उनका पिता पृथ्वीराज कपुर मात्र होइन, पृथ्वीराज कपुरका पितासमेतले काम गरेका छन् । पछि ऋषि अनि अझपछि रणवीरसमेत हिन्दी फिल्ममा छन् ।

यस्तो परिवारका शशिलाई रगतमै कलालिएर आएका भन्दा अनुपयुक्त हुँदैन । शशि कपुर ६ वर्षका हुँदा पृथ्वीराजले ‘पृथ्वी थिएटर्स’ खोले । वास्तवमा भन्ने हो भने उनको अभिनयमा डेब्यु ६ वर्षको उमेरमै भएको थियो, जब उनले ‘पृथ्वी थिएटर्स’ को पहिलो नाटक ‘शकुन्तला’ मा भरतको भूमिका खेले ।

वास्तवमा भन्ने हो भने नाम फिल्ममा कमाए पनि शशिको पहिलो प्रेम नाटक नै हो । उनी आफ्नो जीवनभरि थिएटरप्रति सधैं आकर्षित रहे । त्यही आकर्षण बढेपछि उनले स्कुल पनि पास नगर्दै पढाइलाई बिदा गरे आफ्नो जीवनबाट र ‘पृथ्वी थिएटर्स’ मा संलग्न भए । रहँदा–बस्दा उनको एउटा अर्को नाट्य संस्थासँग पनि संलग्नता भयो, जुन अंग्रेजी नाटक मञ्चन गर्दथ्यो । त्यहीं उनको भेट जेनिफर केन्डलसँग अभिनेत्रीका रूपमा भयो, जोसित पछि उनको प्रेम–विवाह भयो, पारिवारिक बिघ्नबाधा छँदै छन् । राज कपुर र शशि कपुरमा १५ वर्षको अन्तर थियो । राज कपुर ती भाइलाई पुत्रवत् मान्दथे । उनी पनि जेनिफर र शशिको विवाहको पक्षमा भने त्यति देखिएनन् ।

पछि शशि कपुर फिल्मतर्फ लागे, जेम्स आइभरी र इस्माली मर्चेन्ट साथी रहे । अघिल्लो निर्देशक र पछिल्लो निर्माता । ‘द हाउस होल्डर’, ‘बम्बे टाकीज’ आदि फिल्महरू अंग्रेजीमा बने, शशि कपुर, कुनैमा जेनिफर कपुर नायक–नायिका बनेर । यी फिल्महरूले बौद्धिक प्रशंसा त बटुले तर पैसा बटुल्न भने सकेनन् । शशि कपुरले पनि फिल्ममा आर्थिक मद्दत गरेका थिए— कुनै ससर्त, कुनै नि:सर्त ।

शशि कपुरले यद्यपि विरोधको सामना गरेरै जेनिफरसँग बिहे गरेका थिए । तर एक ‘पब्लिक फिगर’ भए पनि जेनिफरले आफूलाई अत्यन्त सफलतापूर्वक एउटी आदर्श गृहिणीका रूपमा ढालेकी थिइन् । शशि कपुर र सन्तानहरूलाई समेत अनुशासनमा राखेकी थिइन् । जस्तो उनीहरू बिहान ७:३० सम्ममा ब्रेकफास्ट टेबिलमा आइसक्नुपथ्र्यो । शशि कपुरको त घरमा र पार्टीमा त छोडिदिऊँ, फिल्ममा लगाउने लुगासमेत उनी नै छान्ने–डिजाइन गर्ने गर्दथिन् ।

एकपटक डिनरमा शशिले एउटा सुन्तला र एक रिकापी दही मात्र खाएर बसेको देख्दा एउटी अभिनेत्री छक्क परेकी थिइन् । तर बुझिन्छ, शशि कपुर फिट देखिने कारण, जेनिफर रहिछन् ।

शशि कपुर स्वयंचाहिं अलि त्यस्ता थिएनन् । जेनिफरको आँखा छल्न सके कहिलेकाहीं अम्मल खाइहाल्ने । कुनैकुनै बेला मुखमा कुनै अस्वस्थ तर मीठो गाँस हाल्दा, जेनिफर आइपुग्थिन् । उनी केवल यति उच्चारण गर्थिन्, ‘शशि’ । शशि खान छाडिहाल्थे ।

ड्रिंकमा कपुर परिवारका अन्य कति जस्तै शशि पनि रमाउँथे । उनलाई जेनिफर दुई पेगसम्म त आफैं पनि बनाएर दिन्थिन्, त्योभन्दा बढी होइन । यसैमा हो शशिले जेनिफरको सबभन्दा बढी आँखा छल्ने । उनी नभएको पार्टीमा त झन् कुरै भएन । फिल्ममा उनी धेरै सफल भएपछि, सुटिङमा बम्बईबाहिर पनि जानुपथ्र्यो । उनले सहनायक रूपमा सबभन्दा बढी फिल्म अमिताभ बच्चनसँगै खेले । अनि भन्ने हो भने नायकहरूमा सबभन्दा बढी रक्सी पनि अमिताभसँगै खाए । रातरातभरि पनि ।

एकपटक कुनै फिल्मको सुटिङ बिहान थियो, त्यस दिन शशि–अमिताभ नआउने देखेर प्याकअप गरेर युनिट हिँड्नै आँटेको थियो, बिहान साढे ६ बजे दुवै टुप्लुक्क आइपुगे र सुटिङ समयमै थालियो । सोधियो, सोधेपछि थाहा भयो, दिल्लीको नामी रेस्टुराँ ‘तकेला’ मा शशि र अमिताभले रातभरि रक्सी खाएछन् र, सोझै त्यहाँबाट उठेर दिल्लीको कुनै ठाउँमा रहेको सुटिङस्थलमा हतारहतार पुगेछन् । रमाइलो गर्ने त देखिन्छ, जिम्मेवारीको भाव पनि देखिन्छ । नत्र त दुवै ठूला स्टार थिए, सुटिङ क्यान्सिल गर्न थोरै पनि कठिन थिएन दुवैलाई । शशि कपुर तर ‘क्वायट ड्रिंकर’ थिए । खाएपछि झन् ‘क्युट’ लाग्थे रे ।

सुरुका दिनहरूमा निकै संघर्ष गरे शशिले । फिल्म बनाउन जेनिफरले गहनाबाहेक घरका अन्य सामग्रीसमेत बेच्नुपरेको थियो । यही कारण थियो, घर चलाउन अर्थात् ‘स्टारडम मेन्टेन’ गर्न, उनले व्यावसायिक फिल्म जस्तो पायो त्यस्तो पनि खेले । सुरुमा ती पनि त हिट भएनन् । सन् १९६५ मा ‘जबजब फूल खिले’ भने सुपर हिट भयो । त्यहींदेखि शशि कपुर पनि हिन्दी सिनेमाका सुपरस्टार बने । उनकी नायिका नन्दा शशि कपुरभन्दा अलिकति जेठी र फिल्ममा त उनी धेरैअघिदेखि खेल्थिन्, केटाकेटी बेलादेखि, बेबी नन्दाका नाउँले । त्यसैले ‘चार दिवारी’ फिल्ममा, कास्टिङ देखाउँदा, नन्दाको नाउँ देखाएपछि शशि कपुर लेख्दा, ‘इन्ट्रड्युसिङ’ भनेर लेखिएको देखिन्छ ।

‘चार दिवारी’ मा पनि निम्न मध्यमवर्गीय यथार्थ छ, उता ‘हाउस होल्डर’ मा पनि त्यही यथार्थ छ । तर निश्चय नै ‘चार दिवारी’ अलिक मेलोड्रामाटिक छ भने ‘द हाउस होल्डर’ एकदम सहज र स्वाभाविक । लीला नायडुको अभिनय एकदम स्वाभाविक छ । त्यसैले हो, शशि कपुरलाई पहिलो भारतीय ‘अन्तर्राष्ट्रिय अभिनेता’ भन्दछन् । यो फिल्मले उनको आफ्नो रुचि कस्तो फिल्ममा छ भन्ने बुझिन्छ । त्यसैले जब उनले आफूले फिल्महरू बनाए बक्स अफिसको चर्चा गरेनन् । जुनुन, कलियुग, विजेता, उत्सव सब कलात्मक रूपमा चर्चित । धेरैका निर्देशक, श्याम बेनेगल थिए जसले शशिकपुरभन्दा पहिले भारतको सर्वोच्च फिल्मी सम्मान ‘दादासाहेब फाल्के सम्मान’ पाएका थिए । शशि कपुरले त्यो सम्मान २०१५ मा मात्र पाए । श्याम बेनेगलकै भनाइमा शशिले त्यो अवार्ड कम्तीमा १५ वर्षअघि नै पाउनुपर्ने । शशि कपुर त्यो अवार्ड लिन ह्विल चेयरमा गएका थिए । उनका दाइ राज कपुर रोगको कारण अवार्ड लिने ठाउँमै ढलेका थिए । राष्ट्रपति स्वयंले दर्शकदीर्घामा गएर अवार्ड दिनु परेको थियो ।

शशि कपुर आफ्ना दाइ राज कपुरबाट प्रभावित थिए । उनको पनि दाइजस्तै केवल अभिनेता बन्ने रुचि कहिल्यै भएन । प्रसिद्ध उनी स्टारकै रूपमा भए, तर फिल्मका जम्मै कौसल उनी सिक्न चाहन्थे । र, जाने पनि । हँसमुख, मिलनसार त राज कपुर जस्तै थिए, शशि कपुर, बढी ह्यान्डसम थिए । हेर्दा कपुर खानदानका सबै अभिनेताभन्दा उनलाई कम ‘अहम्’ समस्या थियो । साइड हिरो खेल्न पनि कहिल्यै आपत्ति मानेनन् । रोलले मागेअनुसारको गेटअपमा आए, आफ्नो ‘स्टार स्टाटस’ बाहेक पनि । जस्तो ‘चार दिवारी’ र ‘द हाउस होल्डर’ मा देख्न सकिन्छ । अमिताभसँग उनी कति फिल्ममा सहनायक बनेर खेलेका छन् । ‘दिवार’ हिन्दी सिनेमाको एउटा सधैंको हिट फिल्म मानिन्छ । कति फिल्म संस्करण त फिल्म पढ्नेलाई त्यो फिल्ममार्फत पढाइएको पनि छ । त्यो मूलत: अमिताभकै फिल्म हो । त्यो हेरेपछि एक दिन कुनै पत्रकारले सम्मी कपुरलाई सोधेछ, दाइ भएको नाताले, ‘शशिजीका काम कैसा लगा ?’

उनकै दाजु भए पनि सम्मी कपुरले भनेछन्, ‘दिवार में शशि कहाँ है ? मुझे तो अमिताभ ही नजर आया ।’

तर त्यस्तो स्थिति त थिएन । अमिताभ र पुलिस अफिसर शशि कपुरको एक सिनको संवादमा शशिका पञ्चलाइनहरू, अमिताभलाई निरुत्तर बनाउने खालका थिए— दर्शकका दृष्टिमा । त्यसमा पनि एक ठाउँमा अमिताभ भन्छन्, ‘आज मेरे पास बंगला है, गाडी है, बैंक ब्यालेन्स है, तुम्हारे पास क्या है ?”

अमिताभको ‘लाउड’ प्रश्नको उत्तरमा एक छिन चुप लागेर शशि कपुर शान्त तर भावुक स्वरमा भन्छन्, ‘मेरे पास मा है ।’

यो संवाद हिन्दी सिनेमाका केही यादगार संवादमा पर्छ । यसलाई ‘कोट’ पनि गरेर देखाइन्छ ।

भनिन्छ, शैशवकालदेखि नै शशि कपुरलाई चन्द्रमा हेर्न मन पर्दथ्यो । रोयो भने कौसीमा लगेर चन्द्रमा देखाइदियो भने चुप लाग्थे रे । उनकी आमाले त्यसैले उनलाई ‘शशि’ भन्न थालिन् । नत्रभने उनको नाउँ राखेका थिए— बलवीर राज कपुर । उनकी आमालाई त्यो मन परेन । हुन त राज त पृथ्वीराजको मात्र भएको थियो । पृथ्वी राजका पिताको नाउँमा पनि राज छैन, बसेसरनाथ कपुर छ । यिनै कुराहरू होला, उनकी आमा रामशरणीले उनलाई ‘शशि’ भन्न थालिन् ।

शशि कपुरलाई ‘प्रिन्स चार्मिङ’ भने पनि उनी ‘डाउन टु अर्थ’ मानिन्थे । एकपटक ताजको कुनै रेस्टुराँमा, लोग्ने–स्वास्नीको एक जोडा, पहिलेदेखि रिसाएका थिए एकअर्कासित । ताजमा पुगेपछि कुनै कुरामा दुवैमा झगडा यति बढ्यो कि, स्वास्नी त तलाक माग्न थाली । त्यस्तैमा रेस्टुराँमा एउटा मानिस पस्यो । लोग्नेले भन्यो, ‘शशि कपुर ।’ देखाउनासाथ स्वास्नी जुरुक्क उठेर शशि कपुरको नजिक गएर हेर्न थाली । त्यसपछि राति होटलबाट घर फर्कंदासम्म स्वास्नीको ‘तलाक’ त हराएकै थियो, ऊ लोग्नेसँग प्रसन्न चित्त भएर हाँसीहाँसी, शशि कपुरबारे कुरा गर्दै घर फर्की ।
शशि कपुरलाई नराम्रो भन्ने र खराब भन्ने मान्छे पाउन गाह्रो छ । त्यति ठूलो स्वर तर स्क्यान्डल नगन्य ।

सन् सत्तरीपछिका केही वर्ष, ‘स्फटिक’ र ‘चोर मचाए सोर’ ताका उनी सिफ्टमा समेत नभ्याएर घण्टाका दरले काम गर्थे । मलाई अचम्म लागेको एउटा अर्को कुरो पनि छ । उनले बनाएका फिल्महरू सब कलात्मक छन् । कसैकसैको अनुमान थियो, उनी तिनै फिल्मका कारण टाट भए । तर पछि थाहा भयो, ती सारा फिल्मले नाफा कम भए पनि, घाटा कुनैले बेहोर्नुपरेन ।

अर्को मलाई अचम्म केमा लाग्यो भने, उनले कति विदेशी फिल्मको ‘डिस्ट्रिब्युसन’ पनि लिए । सबमा घाटा खाए । तर ‘बबी’ जस्तो सुपरहिट फिल्ममा समेत, दुनियाँले कमाए, उनले भने घाटै खाए ।

त्यस्तो भावपूर्ण अभिनेता पछिल्लो समयमा ह्विल चेयरमा भावशून्य भएर हिँडेका देखिन्थे । सुनेको यो थियो कि उनका औंला खुम्चिँदैनथे र उनी ग्लास पनि समाउन सक्दैनथे । त्यस्तै अवस्थामा उनको निधन भयो, एक सक्षम कलाकारको अवसान ।
कैयौं वर्षअघि म बम्बईको एउटा स्टुडियोमा पुगेको थिएँ । त्यहाँ केही चिनिने अभिनेता अभिनेत्री भए पनि उल्लेखनीय भने तनुजा मात्र थिइन् । उनी मेकअप गरेर सुटिङको समय पर्खेर तास खेलेर बसिरहेकी थिइन् । त्यहाँबाट म चुपचाप गएँ, कोरिडोरमा हिँड्न थालें । त्यहाँ अचानक विपरीत दिशाबाट एक जना कोही आइरहेको देखियो ।

त्यसलाई देख्नासाथ अनायास मेरा हात उठे र मैले ‘नमस्कार’ भनेर उच्चारण गरें । तिनले पनि नमस्कार भने र कोठाभित्र पसे । ती शशि कपुर थिए । मैले नमस्कार गर्दा, मैले हेरेका उनकाकैयौं फिल्मका प्रभाव थिए । ‘चार दिवारी’ देखि उनको मृत्युपछि हेरेको पुरानो फिल्म ‘द हाउस होल्डर’ सम्मको । त्यो अपरिचित ‘नमस्कार’मा शशि कपुरको व्यक्तित्वको सरलताझल्किन्थ्यो । त्यसैले सम्झना भइरह्यो । मैले फिल्मबाहेकको असल र ठूला कलाकारलाई सम्झिन पर्याप्त भयो ।

प्रकाशित : पुस २९, २०७४ १३:२२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

समृद्धितर्फ सुदूरपश्चिम [फोटोफिचर]

केशव थापा

काठमाडौँ — पहिलेको सुदूरपश्चिम अर्थात् अहिलेको सात नम्बर प्रदेश । धेरैले यसलाई पिछडिएको र कम विकास भएको क्षेत्रको रूपमा लिन्छन् । तर यो चित्रणलाई सात नम्बर प्रदेशले बिस्तारै चुनौती दिँदै छ अथवा सुदूरपश्चिम जाग्दै छ । पूर्वाधार विकासले तीव्रता पाइरहेको छ ।

गत वर्ष मात्रै बाजुराको सदरमुकाम सडक सञ्जालले जोडियो । अबको केही महिना तीव्र गतिमा काम हुने हो भने बाजुरा सदरमुकाम पक्की बाटोले जोडिन्छ । गाउँगाउँमा सडक तथा खानेपानी परियोजनाहरू बनिरहेका छन् । काठमाडौंबाट हेरिएभन्दा पृथक् छ यहाँको अवस्था ।

कृषि बिस्तारै व्यावसायिक हुँदै छ, महिला बिस्तारै सबल बनेर घरबाहिर निस्किरहेका छन्, सामाजिक कुरीति र अन्धविश्वास बिस्तारै चिरिँदै छ । पूर्वाधार विकास र विशेषगरी सडक सञ्जाल विकासमा भने साँच्चिकै क्रान्ति नै आएको छ । अनि सामान्य जनताको राजनीतिक चेतनाको स्तर बेस्सरी विकास भएको छ । राज्य र राजनीतिक दलसँग आफ्ना विषयहरूको बारेमा प्रश्न सोध्न सक्ने भएका छन् ।

आफ्नो क्षेत्रबाट प्रतिनिधित्व गरेर गएका सांसदहरूसँग कामबारेमा राम्रो जानकारी राख्ने र आफ्नो क्षेत्रको विकासका लागि काम नगर्ने नेतालाई चुनाव हराउने तहसम्मको राजनीतिक चेतनाको विकास भएको छ । त्यसैले हिजोजस्तो केही सम्भ्रान्त परिवार तथा व्यक्तिको नियन्त्रणमा यो क्षेत्र छैन ।

यतिखेर राष्ट्रिय स्तरमा बहस भइरहेको विषय हो— आर्थिक स्रोतको हिसाबले प्रदेश नं ७ कसरी टिक्ला ? तर सात नम्बर प्रदेशको प्राकृतिक स्रोत र साधन र सौन्दर्यलाई भरपूर उपयोग गर्ने हो भने यो प्रदेश छिट्टै समृद्ध बन्न सक्छ । सौन्दर्यको खानी सुदूरपश्चिममा पर्यटनको प्रचुर सम्भावना छ । ट्रेकिङ तथा राफ्टिङ अर्को प्रचुर सम्भावना बोकेको क्षेत्र हो ।

हाइड्रोपावर अर्को प्रचुर सम्भावनाको क्षेत्र हो जसले सुदूरपश्चिमको मुहार नै परिवर्तन गर्न सक्छ । पश्चिम सेती जलविद्युत् परियोजना समयमै सम्पन्न गर्ने हो भने यसले प्रदेश ७ को मुहार नै फेर्न सक्छ । जडीबुटी तथा अन्य प्राकृतिक स्रोत साधनको उपयोग अर्को अवसर हो सुदूरपश्चिमका लागि ।

शब्द : कमलदेव भट्टराई

प्रकाशित : पुस २९, २०७४ १३:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT