कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुक्तक मेलामा सुनिए रुपक

काठमाडौँ — बेलायत बस्दै आएका स्रष्टा डा. रूपक श्रेष्ठ शनिबार राजधानीका स्रष्टाहरूमाझ प्रस्तुत भए । उनलाई केन्द्रमा राखेर नेपाल मुक्तक प्रतिष्ठानले ‘मुक्तक मेला’ गरेको हो । सन् २०११ मा ‘बिग वेन र समय’ कविता संग्रह निकालेका उनी पछिल्लो समय मुक्तक लेखनमा सक्रिय छन् ।

मुक्तक मेलामा सुनिए रुपक

पोखराका उनले केही अघिमात्रै आफ्नो जन्मथलोप्रति समर्पित गर्दै ‘पोक्तक’ नामक मुक्तक संग्रह निकालेका थिए । ‘पोखरा र मुक्तक जोडेर किताबको नाम जुराएको थिएँ,’ उनले भने, ‘हामी बाहिर बसेकालाई मुलुकको बढी नै माया लाग्दोरहेछ ।’

वरिष्ठ गीतकार एवं मुक्तककार रत्नशमशेर थापालाई साक्षी राखेर गरिएको मुक्तक मेलामा भने उनले प्राय: प्रेम–प्रणयकै सिर्जनाहरू सुनाए–

जस्तो फुल्यौ रानीफूल झैं नुरानीमा तिमी

उस्तै खुल्यौ यो छातीको सिरानीमा तिमी

आगोमाथि धूम जस्तै होमादिको चरु जस्तै

सुस्त सुस्त अर्पिएछ्यौ कुर्बानीमा तिमी

प्रेम–प्रणयसँगै उनले मुलुकप्रतिको चिन्ता र माया समेटिएका केही मुक्तक पनि सुनाए । प्रकट पहिलो चरणमा उनका ९ वटा मुक्तक सुनेपछि अतिथि स्रष्टाका रूपमा रत्नशमशेर थापा, रामकाजी कोने, वियोगी बुढाथोकी, श्रीओम श्रेष्ठ रोदन, राधेश्याम लेकाली, यादव भट्टराई, रवीन जोशी, गुप्तबहादुर श्रेष्ठ, अर्जुन श्रेष्ठ, निशा केसी, बादल घिमिरे, कल्पना श्रेष्ठ, मातृका घिमिरे, प्रकाश बस्नेत गफाडी, दिव्य गिरी, शान्ति शर्मा, लक्ष्मण पाण्डे, रमेश पौडेल, दुर्गा तिवारी, नमराज घिमिरे, निर्मल पराजुली, शिवराम खड्का, गणेश खतिवडा, रवीन्द्र आशिष, विजयध्वज थापा लगायतले मुक्तक सुनाए । प्राय: सबैले प्रेम–प्रणयकै सेरोफेरोमा सिर्जना सुनाए । केहीले मुलुकको राजनीतिक–सामाजिक विसंगतिलाई विषय बनाए, केहीले मुक्तकबाटै नागरिक अगुवा डा. गोविन्द केसीको अभियानलाई ऐक्यबद्धता जाहेर गरे । ‘केही वर्षयता हामी संगठित रूपमै मुक्तक साहित्य प्रवद्र्धनमा लागिपरेका छौं,’ मुक्तक मेलाको ध्येयबारे प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले प्रकाश पारे, ‘यसपटक रूपकजीलाई स्वागत गर्न र उहाँको सिर्जना सुन्न मेला गरेका हौं ।’

उनले हङकङ, इजरायल, कोरिया लगायतका मुलुकमा पनि ‘मुक्तक मेला’ गरेको सुनाउँदै यसलाई निरन्तरता दिने जनाए । शनिबारको मुक्तक मेला भने १४ औं संस्करण थियो ।

प्रकाशित : माघ १, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?