कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिमालमुनि साहित्य र संस्कृति मन्थन

‘संस्कृति जोगाउन सकियो भने इतिहास जोगिन्छ । यसतर्फ सबै सचेत हुन आवश्यक छ ।’ 
आश गुरुङ

घलेगाउँ (लमजुङ) — घलेगाउँमा ती दिन पनि पर्यटकहरू त थिए, तर ती घुमघाममा रमाउन आएका थिएनन् । दुई दिन उनीहरूले स्थानीय बासिन्दासँग अनुभव साटे । सार्क भिलेजको रूपमा चिनिएको यो थलोको प्राकृतिक छटाबाट मोहित हँुदै साहित्य सिर्जना पनि गरे । 

हिमालमुनि साहित्य र संस्कृति मन्थन

नेपाल प्रज्ञा प्रतिष्ठान, पर्यटन बोर्ड र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको आयोजनामा साहित्य, दर्शन, संस्कृति र पर्यटन प्रवद्र्धन विषयमा विचार मन्थन गर्न विज्ञ र स्रष्टाहरू यहाँ भेला भएका थिए । कार्यक्रमलाई क्व्होलासोंथर गाउँपालिका, पर्यटन व्यवस्थापन समिति घलेगाउँ र संयुक्त आमा समूह घलेगाउँले सघाएका थिए ।

‘साहित्यलाई समाजले पवित्र मानेको छ,’ प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरेले भने, ‘यसले चेतना फैलाउने काम गरेको छ । साहित्यका माध्ययमबाट पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । यसमा हामी सहयोग गर्न तयार छौं । हामीसँग अथाह सांस्कृतिक सम्पदा छन् । सांस्कृतिक आदानप्रदान गरिए मात्र यिनको संरक्षण–संवद्र्धन हुन्छ ।’

प्राज्ञ डा. ज्ञानु पाण्डेले अन्तरविषयात्मक विचार मन्थन आवश्यक रहेको बताइन् । प्राज्ञ दिनेशराज पन्तले भाषा, संस्कृति र धर्मका हिसाबले हाम्रो देशमा जस्तो विविधता संसारमा कहीं नपाइने बताए । ‘हामी सबैले संस्कृति जोगाउन सकियो भने इतिहास जोगिन्छ । यसतर्फ सबै सचेत हुन आवश्यक छ,’ उनले भने ।

ग्रामीण पर्यटनका अभियन्ता तथा क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले ग्रामीण पर्यटनले गरिबी निवारणमा टेवा पुगेको बताए ।

पूर्व राज्यमन्त्री रामबहादुर गुरुङले सांस्कृतिक लेखोट नभएकाले घाँटु, सोरठी, मारुनी, कृष्णचरित्र, सेर्का जस्ता नाच संकटमा परेको औंल्याए ।

पण्डित घनश्याम सुवेदीले कुनै पनि धर्मले पाप र हत्या गर्नुहुन्न भन्ने सन्देश नदिएको उल्लेख गर्दै थपे, ‘कुनै पनि धर्म वा ग्रन्थले एकअर्काप्रति कुनै समुदाय वा धार्मिक व्यक्तित्वप्रति आँच आउने खालका गतिविधिलाई प्रतिबन्ध लगाएको छ । धर्ममा आँच आउने गतिविधि भएमा समाज द्वन्द्वमा जान्छ ।’

लेखक आनन्द घिमिरेले लमजुङको माटोले राष्ट्रकवि माधवप्रसाद घिमिरेजस्ता व्यक्ति जन्माएकाले साहित्यप्रति गर्व गर्ने ठाउँ रहेको बताए ।

मस्र्याङदी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा. मुकुन्दराज पथिकले साहित्य र संस्कृति जोगाउन गाउँबाटै पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष इन्जिनियर लालबहादुर भुजेलले पर्यटन प्रवद्र्धनसम्बन्धी कविता प्रस्तुत गरे । सदस्य बाहुनडाँडाकी जुनु घलेले गीत गाउँदै कार्यक्रमको सञ्चालन गरिन् । उपप्राध्यापक उपमा आचार्यले आमाको सम्झनाका कविता सुनाइन् । घलेगाउँकै पार्वती गुरुङ, नौराज घलेको समूहले स्वागत गीत गाउँदै पाहुनालाई मन्त्रमुग्ध पारेका थिए ।


प्रकाशित : माघ ८, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?