कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘योगमाया’ लिएर नीलम

कान्तिपुर संवाददाता

काठमाडौँ — निरंकुश राणाशासनको अन्त्य र समाजमा समानता सृजना गर्न कैयौं वीर योद्धाहरूले जीवनको आहुति दिए । ती योद्धाहरूलाई ‘सहिद’ का रूपमा अहिले पनि हामी सम्मान गर्छाैं । १९३० को दशकमा भोजपुरको नेपालेडाँडा, सिम्ले गाउँमा जन्मिएकी योगमायाले निरंकुश राणाशासनको विरोध मात्र गरिनन्, अशिक्षित नेपाली समाजलाई संगठित गरी मर्न र मार्नसमेत तयार पारिन् ।

यस्ती वीरांगनाले उचित सम्मान भने पाउन नसकेको भनेर बेलाबेलामा साहित्य प्रसंग निस्कने गरेको छ । तिनै योगमायाका बारेमा स्थलगत रिपोर्टिङबाट तथ्यहरू संकलन गरेर साहित्यकार नीलम कार्की ‘निहारिका’ ले ‘योगमाया’ उपन्यास लेखेकी छन् । नेपाल पर्यटन बोर्डमा नीलमकी आमा र अमेरिकी समाजशास्त्री बार्बरा निम्रीले उपन्यासको आइतबार लोकार्पण गरे ।


योगमाया ‘योगवाणी’ का माध्यमबाट नेपाली साहित्यमा त्यसबेला नै प्रवेश गरेको बार्बराले बताइन् । ‘योगमाया विज्ञान र इतिहासभन्दा पनि महान् थिइन्,’ उनले भनिन्, ‘विज्ञानले पत्ता लगाउन नसकेको गहिराइ आख्यानीकरण गर्दा भेट्न सकिन्छ ।’ पछिल्लो समय योगमायाका बारेमा धेरै खोजी र लेखहरू आइरहेको देख्दा योगमायाबारेको सूचनामा इँटा थपिएको उनले बताइन् ।


नीलमले इतिहासलाई आख्यानीकरण गरेको समालोचक प्रा. कृष्ण गौतमले जनाए । ‘पहिले ठूलाबडाको मात्रै इतिहास लेखिन्थ्यो । जनताको इतिहास कमै लेखिए । त्यसमा पनि महिलाको इतिहास त नगण्य मात्रामा लेखिएका छन्,’ उनले भने, ‘यो कृतिले जहानियाँ शासनको विरोधमा योगमायाको भूमिका र उनीहरूले गरेको समानताको संघर्षका बारेमा लुकिरहेको इतिहासलाई अहिलेको समाजमा साक्षात्कार गराउन सफल छ ।’


नीलमले उपन्यास लेखन शैलीलाई डिकन्स्ट्रक्सन गरेको डा. सावित्री कक्षपतीले बताइन् । उनले भनिन्, ‘नीलमले विगतलाई समातेर अहिलेको समाजसँग कथालाई जोडेकी छन् ।’ कार्यक्रममा नीलमले योगमायाको जन्मस्थान, विवाह गरेर गएको घर, पानी भर्ने पँधेरा, ध्यान गरेको ठाउँ र जल समाधि लिएको ठाउँसम्म गरेको भ्रमण र खोज समेटिएको डकुमेन्ट्री समेत देखाइएको थियो । उनले खोजका क्रममा नयाँ तथ्यहरू अगाडि आएको बताइन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?