कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीनजुरे फेदीमा साहित्य–सांस्कृतिक मेला

चन्द्र कार्की

काठमाडौँ — गुराँसको राजधानीको प्रवेशद्वार तीनजुरेको फेदी वसन्तपुरमा यति बेला साहित्यिक जमघट चलिरहेको छ । जंगलै राताम्मे हुने गरी फुलेका गुराँसले पर्यटक आकर्षित गरिरहेको नयाँ वर्षको यो मौसममा साहित्यिक जमघटले पनि आन्तरिक पर्यटकलाई लोभ्याइरहेको छ । 

तीनजुरे फेदीमा साहित्य–सांस्कृतिक मेला

प्रकृतिलाई मूल विषयवस्तु मानेर साहित्य सृजना गर्न तेह्रथुमसहित संखुवासभा, धनकुटा, ताप्लेजुङ र पाँचथरदेखिका कविकवयित्रीहरू वसन्तपुरमा भेला भएका छन् । साहित्यमा चासो राख्नेहरूको पनि उत्तिकै उपस्थिति छ । २८ प्रजातिका गुराँस फूलले मनमोहक बनाएको यो क्षेत्रमा आयोजित तीनदिने भेलामा सर्जकहरूले रचना सृजना र वाचन गर्नेछन्, सृजन कौशल पनि सिक्नेछन् ।


यस्तो साहित्यिक जमघटको यहाँ पहिलो पटक भइरहेको हो र यसको मेलो लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङले मिलाइदिएका हुन् । कार्यक्रममा उनी आफैं पनि सहभागी छन् । कार्यक्रमका लागि नगरपालिकाले स्रोत जुटाइदिएको छ ।


लालीगुराँस नगरपालिकाले जिल्लामै पहिलो पटक आयोजना गरेको साहित्य सृजना सप्ताह कार्यक्रममा प्राध्यापक डाक्टर टंक न्यौपाने, प्राध्यापक डाक्टर गोपाल भण्डारी र कवि प्रह्लाद पोखरेलसमेतको सहभागिता छ ।


सहभागीहरूले कथा, निबन्ध कविता, नियात्रा, हाइकु लेखन लगायतका साहित्यसम्बन्धी विचार मन्थन गर्नेछन् भने यस्ता साहित्यिक सृजना कसरी लेख्ने भनेर समेत सिक्नेछन् ।


त्यसका लागि प्रा.डा. न्यौपाने र प्रा.डा. भण्डारीले चार दिनसम्म वसन्तपुरमै रहेर सहभागीहरूलाई प्रशिक्षित गर्नेछन् । साहित्यको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने भएकाले प्रकृतिसँग घुलमिल हँुदै साहित्य सृजना गर्न प्रा.डा. न्यौपानेले सहभागीहरूलाई अनुरोध गरे । प्राकृतिक र सांस्कृतिक सम्पदालाई केन्द्रभागमा राखेर साहित्य सृजना गर्न सके यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अर्का प्रा.डा. भण्डारीले बताए ।


साहित्य सृजनामा स्थानीय तह र स्वयम् नगरप्रमुखले नै चासो देखाएको भन्दै प्रा. न्यौपानेले नगरप्रमुख माबोहाङको प्रशंसा गरे । ‘अब यस पर्यटकीय क्षेत्रको साहित्यले टुसाउने मौका पाउनेछ,’ कार्यक्रमको उद्घाटनपछि डाक्टर न्यौपानेले भने, ‘पर्यटनसँग साहित्यलाई सँगै जोडेर लैजान सकियो भने यो क्षेत्रको पर्यटन व्यवसायसमेत मौलाउनेछ ।’


पहाडको जैविक विविधता, पर्यावरण, मनमोहक गुराँसेजंगल, पोखरी, नागी र चौर, हिमाली र लेकाली जनजीवन, संस्कार र संस्कृति, वन्यजन्तु तथा जडिबुटीलाई पनि समेटेर साहित्य सृजना गर्नुपर्नेमा सहभागीहरूबीच एकमत देखियो । साहित्यको माध्यमबाट ग्रामीण पर्यटनमा ठूलो सहयोग पुग्ने भएकाले नगरपालिकाले नै साहित्यिक कार्यक्रम गरेको नगरप्रमुख माबोहाङले बताए ।


कार्यक्रममा स्थानीय पुराना कवि केशरबहादुर खडका, सिंहराज खडका, कृष्ण दाहाल, लालीगुराँस नगरपालिका क्षेज्ञभित्रका नेपाली विषय शिक्षक, साहित्य सृजनामा रुचि राख्ने विद्यार्थी र साहित्यमा चासो राख्ने सर्वसाधारणसमेतको उपस्थिति छ ।


पहाडमा बसोबास गर्ने गुरुङ, राई, लिम्बू, मगर, शेर्पालगायतका जातजातिका संस्कारमा आधारित भएर साहित्य सृजना गर्न सके यहाँको साहित्यिक सम्भावना थप बलियो हुने नगरप्रमुख माबोहाङले बताए ।


प्रकाशित : वैशाख ७, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?