कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकेन्द्र गुरुङका एकैसाथ दुई कृति

पोखरा — लमजुङको क्व्होलासोंथर गाउँपालिका ६, पसगाउँ घर भइ बेलायतमा बसोबास गर्दै आएका एकेन्द्र गुरुङका दुइ कृति एकसाथ सार्वजनिक गरिएको छ ।

एकेन्द्र गुरुङका एकैसाथ दुई कृति

बेलायत बसेर लेखेका लेख संग्रह ‘मनका तरंगहरु’ र गीति संग्रह ‘धर्तीमा जून’ एकसाथ सोमबार पोखरामा लोकार्पण गरिएको हो । तमु धीं युकेका सल्लाहकार समेत रहेका उनी गुरुङ गीत र साहित्य लेखनमा ख्याती कमाएका व्यक्ति हुन् ।


गुरुङ साहित्य मञ्च नेपालले प्रकाशनमा ल्याएको मनको तरंग १ सय ५५ पृष्ठको छ । धर्तीको जून १ सय २८ पृष्ठको छ । मनका तरंगमा उनले गुरुङ जातिको संस्कार, संस्कृति, चालचलन, परम्परा, साहित्यसंगीत, व्यक्ति परिचय, आदिवासी जनजातिका अधिकार र सम्भावना, घलेगाउँ, सिक्लेसलगायत गाउँ भ्रमणका अनुभव, संघसंस्थाको परिचयलगायत संगालेका छन् । धर्तीको जून गीतिसंग्रहमा २० वटा गुरुङ भाषाका गीत र ८५ वटा नेपाली भाषाका गीत समावश छन् । गुरुङ भाषाको गीतलाई नेपालीमा अर्थ्याइएको छ । ‘प्रवासमा रहँदा सपनामा गाउँनै देख्छु । काफल, ऐसेलु खाएको देख्छु । त्यसैले जन्मभूमि नेपाल फर्केर बाल्यकालदेखि अहिलेसम्मको अनुभवलाई संगालेर किताव निकालें’ ६४ बर्षका उनले भने ।


उनको दुई कृतिको प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख गणेशबहादुर गुरुङले एकसाथ लोकार्पण गरे । ‘भाषा र साहित्यले पहिचान जोगिन्छ । साहित्य र कलासम्बन्धी प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारीमा छौं’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले भने । एकेन्द्र गुरुङ आफ्ना सोल्टी र सहपाठी समेत रहेको स्मरण गराउँदै उनले भने, ‘देशविदेश जहाँ बसेपनि भाषा, कला, साहित्य र संस्कृति विर्सन हुँदैन । हाम्रो पहिचान भनेको यही हो ।’


उनले गुरुङको लिखित इतिहास नभएको र किंवदन्तिको आधारमा इतिहास खोज्न गाह्रो हुने बताए । ‘गुरुङको इतिहास छैन । थुंगाथुंगा मिलाए माला बुनेझैं भाषा, कला, साहित्य र संस्कृतिलाई एकीकृत गर्नुपर्नेछ’ उनले भने । प्रदेशमा बोलिने नेपाली बाहेकका मुख्य भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सकिने व्यवस्था संविधानले गरेपनि गुरुङ भाषाको लिपि नहुँदा समस्या भएको उनले बताए । उनले प्रदेशको नामांकरणको लागि जिल्लाहरुमा सुझाव संकलन भइरहेको र सुझावको आधारमा प्रदेश सभाको दुइतिहाइ मतले नाम राखिने उनले बताए ।


तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङले एकेन्द्र गुरुङको कृतिले उनलाई भन्दा गुरुङ, जनजातिमात्रै नभएर सिंगो नेपालीलाई चिनाएको बताए । ‘हामी जहाँ भएपनि, जहाँ बसेपनि हाम्रो भाषा, कला, संस्कारसंस्कृति र नेपालको माया छ’ एक हप्ते क्व्होलासोंथर अध्ययन भ्रमण सकेर फर्केका उनले भने, ‘हामीले अंग्रेजी–नेपाली–गुरुङ भाषाको त्रिभाषीय पुस्तक (गुरुङ हेरिटेज) प्रकाशन गर्ने तयारी गरेका छौं ।’


तमु सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजी गुरुङले भाषा, कला र संस्कारसंस्कृतिलाई कसैले विर्सन नहुने बताए । ‘मनका तरंगहरु’ को समीक्षा गर्दै लेखक एकेन्द्र गुरुङका साथी उपन्यासकार एवं पत्रकार बद्रिविनोद प्रतीकले भाषा, कला र साहित्यको माध्ययमबाट जन्मभूमिप्रतिको माया कृतिमा भेटिएको बताए । ‘धर्तीमा जून’ गीतिसंग्रहको समीक्षा गर्दै पाठशालाका लेखक तीर्थ गुरुङले जनजिब्रोमा झुण्डिने गीतले भाषा र संस्कारसंस्कृति जगेर्नामा टेवा पुग्ने बताए । फिल्मकर्मी तथा मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले लेखक एकेन्द्र गुरुङको परिचय दिँदै उनीद्धारा रचित ‘प्रेतन रोधींरी’ बोलको गीत गुरुङ समुदायमा सर्वाधिक लोकप्रिय बन्न सफल भएको बताए । मावाली गाउँ क्व्होलासोंथर ९, गिलुङमा जन्मिएका उनी १ बर्ष आफ्नै गाउँ पसगाउँ र १४ बर्ष मावाली गिलुङको स्कुलमा प्रधानाध्यापक गरी प्रवास गएको उनले बताए । सन् १९९६ मा हङकङ गएका एकेन्द्र सन् २००८ देखि बेलायतमा बस्छन् । गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी गुरुङले संस्थाका प्रमुख सल्लाहकार समेत रहेका एकेन्द्र गुरुङको सिर्जनाले योगदानले गुरुङको मात्रै नभई नेपाली भाषा, कला र साहित्यको क्षेत्रमा योगदान पुगेको दावी गरिन् ।


प्रकाशित : वैशाख ११, २०७५ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?