कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

“अनि भुइँचालो खिचेँ”

काठमाडौँ — उनी डकुमेन्ट्री बनाउन चाहन्थे । स्टोरी र लोकेसन रेडी थियो, लमजुङमा । तर, तीन वर्षअघि २०७२ वैशाख १२ गते आएको विनाशकारी महाभूकम्पले जमिन मात्रै उथलपुथल पारेन, फिल्ममेकर गणेश पाण्डेको डकुमेन्ट्री लोकसन र स्टोरी पनि उथलपुथल पारिदियो ।

“अनि भुइँचालो खिचेँ”

अचानक भूकम्प आएपछि गणेश लमजुङ छोडेर भूकम्पका फुटेजहरू खिच्नतिर लागे । केही आफैंले खिचेका, केही भेटिएका र केही किनिएका फुटेजहरू सम्मिश्रण गरी डकुमेन्ट्री बनाए, ‘भाग्यले बाँचेकाहरू’ । भूकम्प गएको पीडादायी क्षणको स्मृतिमा मंगलबार मार्टिन चौतारीको हलमा यही डकुमेन्ट्री देखाइयो ।


उनले बनाएको डकुमेन्ट्री भूकम्पको बारेमा हैन । भूकम्पमा परी बाँच्ने र बचाउनेहरूको कथा हो । भूकम्प गएको भोलिपल्ट, राजधानीमा भत्किएका मन्दिरमा पनि जोखिम मोलेर पूजा गर्दै, ढोग्दै हिँडेका भक्तहरू देखेर गणेश भावुक बनेछन् । ‘भूकम्पले मन्दिर ढाले पनि मानिसभित्रको मनको आस्था ढाल्न नसक्दो रहेछ,’ उनले भने, ‘त्यसपछि मैले यसैलाई क्यामेरामा कैद गर्ने सोच बनाएँ ।’ योजनाअनुसार उनी भूकम्पले क्षति पुर्‍याएका भग्नावशेषहरूमा डुल्दै गए, जोखिम मोलेर उद्धारमा जुटदै गरेकाहरूको दृश्य पनि खिच्दै गए । तर एक सातापछि उनको डकुमेन्ट्रीको एंगल चेन्ज भयो । ‘मन्दिर त निर्जीव चिज हो, सम्पदा त ढिलो चाँडो बनिहाल्छ,’ उनले भने, ‘भूकम्पमा परेर पनि चामत्कारिक रूपमा बाँचेकाहरूको कथा किन डकुमेन्ट्रीमा नदेखाउने ? भावी पुस्ताका लागि पनि यो ऐतिहासिक दस्तावेज हुने सोचेँ ।’ यसपछि उनले भूकम्पमा परेर उद्धार गरिएका पात्रहरूको फलो गरे । पात्रहरू त फेला पारे तर, थुप्रै दु:ख पाए । यस्तै पात्रहरूमध्ये एक हुन्, अर्घाखाँचीका भूकम्पपीडित ऋषि खनाल । जसको बारेमा खिच्न लाग्दा टिचिङ अस्पतालका डाक्टरहरूले मनाही गरे । ‘लुकेर खिचेको हो उनको स्टोरी त,’ मार्टिन चौतारी डकुमेन्ट्री फिल्म सोपछि गणेशले भने ।


५५ मिनेट लामो डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको महाभूकम्पमा परेर बाँच्न सफल ऋषिलगायत भूकम्पमा परेर पनि आश्चर्यजनक रूपमा नयाँ जीवन पाएका ७ जना नेपालीको कथा छ । यो डकुमेन्ट्री अंग्रेजी, पोर्चुगिज, जापनिजलगायत १३ वटा अन्तर्राष्ट्रिय भाषामा अनुवाद भइसकेको पाण्डेले जानकारी दिए । त्यस्तै, यसले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ भने ३२ वटा देशमा ६० वटा महोत्सवहरूमा यो डकुमेन्ट्री छानिएर प्रदर्शन गरिएको थियो । नेपाल र बेलायतबीच मैत्रीसम्बन्ध कायम भएको दुई शताब्दी पार गरेको अवसरमा बेलायतको संसद्मा पनि यो डकुमेन्ट्री प्रदर्शन गरियो ।


मुलुकमा योभन्दा अघि पनि ठूलाठूला भूकम्प आएको भए पनि त्यति बेला नागरिकले पाएको दु:ख झल्किने सामग्री नभएकोले नै अहिलेको भूकम्पमा धेरैले ज्यान गुमाएको गणेशले दाबी गरे । त्यति बेलाको असली दु:ख देख्न र हेर्न पाएको भए, मानिस केही सजग हुन्थे भन्ने उनलाई लाग्छ । उनले यो डकुमेन्ट्री फिल्महरू कुनै अवार्ड पाउने उद्देश्यले भने नबनाएको दाबी गरे । यो डकुमेन्ट्री हेरिसकेपछि ऋषिलाई १२ लाख सहयोग भयो । अर्का भूकम्पपीडित हेटौंडा प्रिया विकको खुट्टा हाल्ने प्रोसेस हुँदै छ । भक्तपुरका सोनिस अवालले फ्रीमा पढ्न पाउने भएका छन् । स्कुल बनेका छन्, च्यारिटीबाट रकमहरू उठ्ने क्रम बढेको छ । यो देख्दा उनलाई खुसी लाग्छ ।


नेपालका डकुमेन्ट्रीहरू विदेशमा राम्रो मान्न थालिएको उनले जनाए । ‘हाम्रो केही लाख खर्चिएर बनाइएको डकुमेन्ट्रीले विदेशमा करोडौं खर्चिएर बनाइएका डकुमेन्ट्रीसँग प्रतिस्पर्धा गर्नुपरेको छ,’ उनले भने, ‘तर थोरै लागतमा बने पनि राम्रो क्वालिटीको काम गर्न सक्छौँ भन्ने भएको छ ।’ तर नेपालमा डकुमेन्ट्री पोलिसी भने नभएको उनले दाबी गरे । भने, ‘नेपालको सरकार धेरै फिक्सन केन्द्रित छ । न चलचित्र विकास बोर्डसँग पोलिसी छ, न त डकुमेन्ट्रीका लागि फन्ड नै । यहाँसम्म कि नेपालमा कतिवटा डकुमेन्ट्री र फिल्म बनिरहेका छन् भन्ने पनि थाहा छैन ।’ सानो लगानीमा बनेका फिल्म र फिल्ममेकरहरूलाई प्रोत्साहन गर्ने खालको नीति बनाउनुपर्नेमा उनले जोड दिए ।


भूकम्पले अधुरै रहेको लमजुङबारे सोचेको विषयमा केही समयपछि डकुमेन्ट्री बनाउने योजनामा छन् उनी । ‘विषय एकदमै राम्रो र इन्ट्रेस्टिङ छ,’ उनले भने, ‘चाँडै नै सुरु गर्छु होला ।’

प्रकाशित : वैशाख १२, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?