कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्रष्टा–पाठक सवाल–जवाफ

कृष्णप्रसाद गौतम

सुर्खेत — ‘मैले संघर्ष, कलाकारिता, गीत–संगीतलाई समेटेर आत्मकथा तयार गरेँ, पाठकले मन पराइदिनुभयो,’ पत्नी वियोगको पीडामा रहेका मदनकृष्ण श्रेष्ठले छलफलको सुरुमै भने, ‘मसँग जे थियो, त्यसैलाई आत्मकथामा ढालेँ ।’

स्रष्टा–पाठक सवाल–जवाफ

फाइनप्रिन्टले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गरेको एकदिने घुम्ती साहित्यिक शिविरमा स्रष्टा र पाठकबीचको सम्बन्ध नजिक बनाउने माहोल बन्यो । त्यसमा धेरैको आकर्षणका केन्द्र थिए– ‘महको म’ का लेखक एवं हास्य कलाकार मदनकृष्ण श्रेष्ठ ।

झन्डै एक घण्टा उनी पुस्तक र साहित्यकेन्द्रित भएर बोले । छलफलकै क्रममा आफ्ना गीतसमेत सुनाएका मदनकृष्णको प्रस्तुतिले पाठक र दर्शकलाई मन्त्रमुग्ध बनायो । उनीसित पाठकले भावना साटासाट गरे । आयोजकले उनी र मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेको छलफललाई सुरुमै राखेका थिए । न्यौपानेले पनि आफ्ना भोगाइहरू दर्शकलाई सुनाए ।

दोस्रो छलफलमा ‘भुइयाँ’ का लेखक यज्ञश र पत्रकार कलेन्द्र सेजुवालको छलफल पाठकका लागि रोचक बन्यो । ‘कसैको कथाले छोएमा मात्र लेखकका लागि त्यो साहित्य हुन्छ,’ यज्ञशले भने, ‘मैले पनि आफ्नो भोगाइ पुस्तकको रूपमा पाठकलाई दिएको हुँ ।’ उनले साहित्यमा स्तरीय लेखनी अनिवार्य भएको बताए । तेस्रो सत्रमा भएको ‘माङगेना’का लेखक युग पाठक र रेशम विष्टको छलफलमा पाठक उत्तिकै उत्साही देखिन्थे । ‘नेगेटिभ कुराबाट पनि केही कुरा सिक्न सकिन्छ,’ पाठकले भने, ‘साहित्यलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा लेखकमा निर्भर हुन्छ । हामीले पाठकलाई केही न केही दिनैपर्छ, अनि मात्र त्यो साहित्य सफल हुन्छ ।’

मदन पुरस्कार विजेता अर्का लेखक महेशविक्रम शाहले आफ्नो पछिल्लो कथा संग्रह ‘भुइँखाट’ बारे पाठकको जिज्ञासा मेटाए । उनीसँग छलफलमा सहभागी थिए, दिनेश गौतम । महोत्सवको अन्तिम छलफल थियो– शिवानी सिंह थारू र दिव्यराज खड्काको । ‘काठमाडौंमा एक दिन’ की लेखिकाको प्रस्तुति पनि रमाइलो बन्यो । ‘म सुरुमा पात्रलाई जन्म दिन्छु । अनि उसको कथालाई साहित्यको संरचनामा ढाल्ने प्रयास गर्छु,’ थारूले भनिन्, ‘त्यसैका आधारमा कथालाई बगाउँछु ।’ कार्यक्रममा पाठकले खुलेरै आफ्ना जिज्ञासा राखे । पहल असिम, ऋषि शर्मा सुदामा, महेन्द्र चन्द महासागर, विद्या निर्दोष पहाडी लगायतका गजलले कार्यक्रमलाई थप रोचक बनायो ।

तन्नेरी चासो–सुर्खेत र हाम्रो पुस्तक पसलको सहकार्यमा घुम्ती महोत्सवको आयोजना गरिएको हो ।

प्रकाशित : वैशाख १७, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?