कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘जीवन झुसिलकीराको संघर्षजस्तै’

पर्वत पोर्तेल

कालिम्पोङ (भारत) — खासमा मनोज बोगटीले कथाकारिताबाटै साहित्य लेखनी थालेका थिए । सन् ९० को दशकतिरै उनको पहिलो कथा अखबारमा छापिएको थियो ।

‘जीवन झुसिलकीराको संघर्षजस्तै’

‘जीवनमा पहिलोपल्ट लेखेकै कथा हो,’ मनोजले भने । कथा सँगालो नै प्रकाशित गर्न भने मनोजले दुई दशक पर्खनुपर्‍यो । त्यसबीचमा करिब आधा दर्जन जति कविता कृति प्रकाशनमा समय खर्चिएका थिए ।


मनोजको पहिलो कथा सँगालो ‘लाइफ : अ बटरफ्लाई’ यसै साता काठमाडौंमा सार्वजनिक भयो । कृति सार्वजनिक गर्न मनोज श्रीमती भक्ति र कवि राजा पुनियानीसहित त्यता पुगेका थिए ।


अहिले आफ्नै थातथलोमा, दार्जिलिङका नाम चलेका सर्जकहरूलाई साक्षी राखेर उनले कथा सँगालो सार्वजनिक गरे । कृतिकारसँग कवि राजाले करिव एक घण्टा संवाद पनि चलाए । संवादका क्रममा मनोजले आफ्नो कथाकारिताका केही रोचक र लुकेका पक्षहरूको खुलासा गर्न पनि भ्याए । ‘मैले पहिला कथाबाट लेख्न सुरु गरेको हुँ, बीचमा कविताले तान्यो । अहिले पुन: कथाले तानेको छ,’ कथा लेखनीबारे मनोज भन्दै थिए ।


खासमा मनोज किन कथा लेखनमै तानिए त ? कवि राजाले प्रश्न तेस्र्याउन नभ्याउँदै मनोज बोले, ‘कतिपय कुराहरू, पीडाहरू यस्ता हुँदा रहेछन्, जुन पीडा कविताले बोल्न सक्दो रहेन छ । कवितामा व्यक्त गर्न नसकेका कुरा कथाबाट भन्ने प्रयत्न गरेको हुँ ।’


मनोजले कथालाई आम मान्छेसम्म पुग्ने सहज बाटो पनि ठान्छन् । ‘कविताभन्दा कथाबाट अभिव्यक्ति गर्न सहज हुन्छ मलाई,’ उनले भने । उनी जीवनलाई पुतलीसँग दाँज्छन् । पुतली बन्न एउटा झुसिलकीराको संर्घषको बखान गर्छन् । झुसिलकीराको संघर्षलाई आफ्नै जीवनको संघर्ष मान्छन् ।


दार्जिलिङमा हस्तक्षेपी आन्दोलन थालनी गर्नेहरूमध्येका मनोजलाई भुइँमान्छेहरूको कथाले बारम्बार चिमोट्छ । चिया बगानका श्रमिकहरूको भोको पेटले तान्छ । दार्जिलिडमा वर्षौंदेखि तात्दै र सेलाउँदै गर्ने अनिर्णीत गोर्खाल्यान्ड आन्दोलन, भारतीय नेपालीको पहिचानको संकटजस्ता मुद्दाहरू उनको मानसपटलमा सधैं घुमिरहन्छन् । त्यही विषयलाई उनी साहित्य सिर्जनाका विषयहरू बनाइदिन्छन् ।


यसपटक भने उनले गाउँका कथाहरू मात्रै भनेका छैनन् । सहरिया जनजीवनका पीडा पनि बोलेका छन् । तेस्रोलिंगीलगायतका पक्षमा पैरवीसमेत गर्न भ्याएका छन् ।

प्रकाशित : वैशाख २६, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?