कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मस्तिष्क हैन, मनका सिर्जना’

पुस्तक

काठमाडौँ — केहीअघि कवि वसन्त चौधरीले एउटै कविता कृति नौवटा भाषामा ल्याएका थिए । नेपालीसँगै अंग्रेजी, तामाङ, हिन्दी, नेवार, मैथिली, बंगाली, भोजपुरी र मारवाडी भाषामा प्रकाशित ‘वसन्त’ माथि मंगलबार राजधानीमा अन्तरक्रिया गरियो ।

‘मस्तिष्क हैन, मनका सिर्जना’

समालोचक डा. सावित्री मल्ल कक्षपती, डा. लक्ष्मणप्रसाद गौतम र कुमारी लामाले वसन्तको कृतिमाथि

टिप्पणी गरे ।


कक्षपतीले एउटै कृति नौ भाषामा आउनु नै उपलब्धिमूलक रहेको बताउँदै चौधरीका अधिकांश रचनामा सकारात्मक भाव भेटिने दाबी गरिन् । ‘दिमागले नभई मनले लेखेका कविताहरू कृतिमा छन्,’ उनले भनिन्, ‘सरल तर गहिरो जीवनदर्शन वसन्तका कवितामा भेटिन्छ । हरेक प्रेमिल रचनाभित्र दार्शनिकता लुकेको पाइन्छ ।’


डा. गौतमले वसन्तका कविताहरूमा अभिव्यक्त प्रेमभाव खहरे खोलाजस्तो नभएको दाबी गरे । कविताहरूमा शालीन र एकनासको प्रेमिल अनुभूति पाइने बताउँदै केही कविता भने सौन्दर्य अलिक कम देखिएको टिप्पणी गरे । लामाले कविताहरू प्राय: प्रेमभावले भरिएको बताउँदै ‘प्रेमको दायरा र कल्पनाशीलता भने फराकिलो पाएको’ दाबी गरे । उनले चौधरीलाई ‘प्रेममा मात्रै लेखनलाई सीमित नराखी अन्य सामाजिक विषयवस्तुतिर पनि लाग्न’ सुझाइन् ।


यी सबै सल्लाह र सुझाव मनन गर्दै चौधरीले चाहिँ आफू संयोगले साहित्यमा आएको सुनाए । ४० को दशकदेखि कलम चलाउन थालेका उनले मनमा आएका भावनालाई उतार्दै जाँदा साहित्य लेखनतिर तानिएको बताए । ‘म साहित्यका धेरै नियम र पक्षहरू बुझदनँ,’ उनले भने, ‘तर, मनमा आएको

कुरा लेखिहाल्छु ।’


दिल्लीबाट ‘चाहतों के साये में’

हालै कवि चौधरीको पछिल्लो कविता संग्रह ‘चाहतों के साये में’ नयाँ दिल्लीमा लोकार्पण गरिएको छ । बलिउडका वरिष्ठ गीतकार समीर ‘अनजान’ ले गत शुक्रबार कविता संग्रहको सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ । ‘चाहतों के साये में’ टाइम्स ग्रुप बुक्सले छापेको हो । कृतिमा चौधरीले हिन्दी र उर्दू मिश्रित भाषामा लेखेका कविता, गीत, गजल तथा नज्महरूलाई समेटेका छन् ।


पुस्तकसँगै चौधरी लिखित सात गीत समेटिएको सीडी एल्बम पनि सार्वजनिक गरिएको विज्ञप्तिमा जनाइएको छ । एल्बममा बलिउडका चर्चित गायक/गायिका सोनु निगम, श्रेया घोषाल, रूपकुमार राठौड र मोहित चौहानको स्वर रहेको छ ।


नयाँदिल्लीस्थित होटल हयात रिजेन्सीको सभाहलमा आयोजित समारोहमा केही गीतको म्युजिक भिडियोसमेत प्रदर्शन गरियो । गीतकार समीरले चौधरीको पुस्तक सरल र श्रोतामुखी रहेको बताए । कवि एवं भारतको उत्तराखण्ड राज्यका पूर्वमुख्यमन्त्री रमेश पोखरियाल ‘निशंक’ ले ‘कवि चौधरीको कृति नेपाल–भारत सम्बन्ध बलियो बनाउने दिशामा महत्त्वपूर्ण कदम बन्न सक्ने’ दाबी गरे ।


भारतका वरिष्ठ कवि, साहित्य समीक्षक एवं समालोचक बालस्वरूप राही तथा हंसराज कलेजका प्राचार्य डा. रमाले ‘चाहतों के साये में’ माथि विद्वत् टिप्पणी गरे ।


कवि चौधरीले आफ्ना धेरै रचना प्रेम र इच्छामा डोहोरिएको भए पनि त्यो स्त्री र पुरुषबीच प्रेम र इच्छा मात्रै नभई त्योभन्दा पर रहेको बताए । ‘चाहतों के साये में’ लाई यही असार ११ गते भारतको मुम्बईमा समेत लोकार्पण गरिने टाइम्स ग्रुप बुक्सले जनाएको छ ।

प्रकाशित : असार ६, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?