कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

परम्परा बचाउन बाँसुरी दिवस 

गणेश राई

काठमाडौँ — खासगरी पूर्वी पहाड दुधकोसी र सुनकोसी गडतिर आसपासका बस्तीहरुमा साउन १५ का दिनबाट बाँसुरी बजाउने चलन छ । किराती वाम्बुले राई रस्तीबस्तीमा यो चलन रहेको थियो ।

परम्परा बचाउन बाँसुरी दिवस 

यो लोकपरम्परा पुस्तान्तरण हुन सकसको स्थिति आएपछि वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाले परम्परा ब्युाताउन ‘बाँसुरी दिवस’को घोषणासहित निरन्तता दिदैआएको छ ।


समाजले ललितपुरको महालक्ष्मी नगरपालिका–१, इमाडोल नयाँ बस्तीमा मंगलबार दोस्रो पटक बाँसुरी दिवसको आयोजना गरेको हो । इमाडोलमा आयोजित कार्यक्रममा बडाजित राई, जीवन राई र विकास राई (सौगात)ले राम्दले, चाम्दो, लौलौ भाकामा बाँसुरी बजाएका थिए भने मोतीलाल राई र विष्णु माइला राई मादल बजाएर साथ दिएका थिए । यसै दिन ओखलढुंगाको हिलेपानी भञ्ज्याङ र उदयपुरको कटारी बजारमा सामूहिक बाँसुरी बजाएर दिवस मनाएका संस्थाका अध्यक्ष गजुरधन राईले जनाएका छन् ।


‘हाम्रो परम्परा, लोकसंस्कृति पुस्तौपुस्तासम्म निरन्तर रुपमा हस्तान्तर, पुस्तान्तरण गर्ने काम गौरवपूर्ण छ,’ अध्यक्ष राईले भने, ‘विकट गाउँमा जन्मे-हुर्केका हामी मातृभाषाबाहेक नेपाली भाषा बोल्न नजानेर डोकोमुनि लुकेर बस्ने समुदायका मानिस हौं । अब हामी पुर्खाको नासो सबै मिलेर जगेर्ना गर्नुपर्छ भनेर अघि बढेका हौं ।’ उनले संस्थाको वार्षिक कार्यतालिकामा बाँसुरी दिवस, ढ्वाङकुम चाड र वाम्रास स्थापना दिवसमा मातृभाषा कविता गोष्ठी गर्दै आएको समेत बताए । तथ्यांकअनुसार वाम्बुले (ओम्बुले) भाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० जना रहेका छन् ।


समारोहमा वाम्बुले भाषाका कोशकार अविनाथ राईले बाँसुरी लोकसंस्कृतिबारे अध्ययन, अनुसन्धान र दस्तावेजीकरण महत्वपूर्ण हुने बताए । पूर्व इनस्पेक्टर भुवनसिंह राईले संस्कृतिले समाजलाई चलायमान राख्ने बताए ।


त्यसैगरी किरात राई सांस्कृतिक कलाकार संघका अध्यक्ष जनक राईले पुर्खाले कृषि कर्म गर्दा बाजागाजा बजाउँदा समय खेरजाने भएकाले धानरोपाइँ पछिमात्र बजाउन मिल्ने मान्यताको सिर्जना गरेको बताए । ‘मनोरञ्जन गर्ने परम्परा बाँसुरी परम्परा हो,’ उनले भने, ‘बर्खामासमा काम गर्नु पर्छ भनेर असार, साउनमा काम गर्न नदिने पुर्खाले परम्परा बसाए । यसको संरक्षणमा जुट्न सराहनीय छ ।’ दुई दशकयता किरात राईहरुको सांस्कृतिक अभियान निरन्तर रहेको उल्लेख गर्दै त्यसको प्रभाव समाजमा देखिन थालेको बताए ।


लोकमान्यता

किराती समुदायमा सांस्कृतिक मौलिक बाजा ढोल, झ्याम्टा, चमर, सिकिरी आदि हुन् भने मनोरञ्जनको साधनमा बाँसुरी, मुरली पर्दछन् । किरात राई जातिभित्र २८ भाषा बोल्ने समुदाय पर्दछन् । युवा संस्कृतिकर्मी बडाजित राईका अनुसार वाम्बुले राई समुदायमा साउने संक्रान्तिदेखि दुईसाता भगवान गुफा बस्छ भन्ने मान्यता छ ।


‘त्यतिखेर नङ काट्न, कपाल काट्न हुँदैन,’ परम्परागत मान्यताबारे उनी भन्छन्, ‘महिलाले कपाल कोरेमा भुइँमा झार्न हुँदैन, घरको छानोमा सिउरिने चलन छ । ठूलो स्वरले कराउन हुँदैन । ठूलो आवाज आउन कुनै बाजागाजा बजाएर होहल्ला गर्न हुँदैन । देउता रिसाउाछन् भन्ने मान्यता छ ।’ त्यस अवधिमा मादललगायत बाजागाजा केही बजाउँदैनन् ।


जब साउन १५ गते लाग्छ, त्यस दिनदेखि कालो मैलो, अँध्यारो हट्छ भनिन्छ । त्यस दिनदेखि किराती वाम्बुले समुदायमा नयाँ रौनक छाउँछ । समाजका तन्नेरीहरु आगेनोको माथि ध्वासे बलोमा या खोल्मो छानोमा सिउरिएर जतनसाथ राखेका बाँसुरी, मुरली झिकेर बजाउन तम्सिन्छन् । गाउँघर, बनपाखा, खोलानाला, दुधकोसी र सुनकोसी नदी गडतिर गुन्जिने गरी बजाउन थाल्छन् । मायाप्रिती या विरह, मनै हर्ने भाकाहरु बजाउँछन् । लोकभाका जोकसैले नक्कल गरेर बजाउान तम्सिन्छ । त्यसैगरी एकल र जोर मुरली बजाउँछन् । वाम्बुले भाषामा बाँसुरीको भाका–

बास्दै ह्याँमु उङ ल्वाङ्मे (बस है फुपु म गएँ)

नाठोचे लिम्साक उङ ब्लाङ्मे (अर्को साल फर्केर म आउनेछु)


सिंगापुर पुलिस फोर्सबाट अवकाशप्राप्त मोतीलाल राई यी भाका सम्झिन्छन् । तन्नेरीले निगालो, मालिङ्गो बाँसको टुप्पोलाई बाँसुरी, मुरली खिप्ने र दार काठको ठेडी हालेर बजाउने गर्दछन् । ‘हाम्रो पालामा गाई, बाख्राको गोठालो गर्दै एकान्तमा बाँसुरी, मुरली, बिनायो खिप्ने चलन थियो,’ उनी सम्झिन्छन्, ‘साउन १५ देखि पाखापर्वत, खोलाशुंखला गुन्जायर बाँसुरी बजाउने परम्परा थियो, तर अब नयाँ पुस्तामा त्यस्तो झल्को पाउने छाडिएको छ । तैपनि हाम्रो परम्परालाई ब्युँताउने प्रयास जारी छ ।’

प्रकाशित : श्रावण १५, २०७५ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?