कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्रज्ञा प्रतिष्ठानहरू गाभ्नु हुन्न’

कान्तिपुर संवाददाता

काठमाडौँ — विभिन्न स्रष्टाहरूले नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान भागेर एउटै बनाउन नहुने बताएका छन् ।

‘प्रज्ञा प्रतिष्ठानहरू गाभ्नु हुन्न’

नेपाल ललितकला पत्रकार समाजले शुक्रबार राजधानीमा गरेको ‘प्रज्ञा–प्रतिष्ठानको औचित्य र नियुक्ति प्रक्रिया’ विषयक अन्तरक्रियामा वक्ताहरूले प्रज्ञा–प्रतिष्ठान गाभ्नुभन्दा पनि थप गर्नेतर्फ सरकार लाग्नुपर्ने बताएका छन् ।

जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले ‘२०६२/६३ को जनआन्दोलनमा कला, साहित्य र सांस्कृतिक क्षेत्रले खेलेको भूमिका स्वरूप प्रज्ञा–प्रतिष्ठानहरू पाएको’ बताउँदै यसलाई कुनै पनि हालतमा गाभ्ने नहुने दाबी गरे । ‘नयाँ ढंगले मुलुक अघि बढेपछि आवश्यकता र औचित्यकै आधारमा तीनवटा प्रज्ञा–प्रतिष्ठान स्थापना भएका थिए,’ उनले भने, ‘सरकारले बजेट भाषणमार्फत गाभ्ने भनेर गरेको घोषणा प्राज्ञिक हितविपरीत छ ।’ अध्यक्ष राईले बरु प्रतिष्ठानहरूमा प्राज्ञिक क्षेत्र बुझेको मान्छे पठाउनुपर्ने तर्क गरे ।

नेपाल प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलले कर्मचारीतन्त्र हाबी भएकै कारण तीन प्रज्ञा–प्रतिष्ठानलाई एक ठाउँमा गाभ्न नहुने धारणा राखे । सरकारले कला, साहित्य, संस्कृतिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने पनि उनले बताए । नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली कलाको संरक्षण र सम्बद्र्धन गर्न सके मुलुकको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाल ललितकला मञ्चका अध्यक्ष लालकाजी लामा, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल लगायतले मुलुकको कला–संस्कृतिलाई विश्वमा चिनाउने थलोलाई गाभ्न नहुने धारणा राखे ।

प्रकाशित : श्रावण १९, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?