१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

‘गुल्मीबाट उठेको ठिटो’

कान्तिपुर संवाददाता

ललितपुर — पढ्न स्कुल थिएन । बत्ती र बाटो नहुँदा दैनिक गुजारामै चुनौती थियो । तर, कुलचन्द्र गौतमको संघर्षलाई यी कठिनाइ तगारा बनेनन् । गौतम निरन्तर संघर्षकै फलस्वरूप संयुक्त राष्ट्रसंघको उच्च ओहदामा पुगे, युनिसेफको उपल्लो निकाय चहारे ।

‘गुल्मीबाट उठेको ठिटो’

गुल्मीको कमै सुनिने गाउँबाट उठेका उनै गौतमले जीवन संघर्ष र अनुुभूति समेटेर पुस्तक निकालेका छन्– ‘ग्लोबल सिटिजन फ्रम गुल्मी : माई जर्नी फ्रम दी हिल्स अफ नेपाल टु दी हल्स अफ दी युनाइटेड नेसन्स’ ।


उक्त पुस्तक कुपण्डोलको होटल हिमालयमा मंगलबार संस्कृतिविद् सत्यमोहन जोशी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, गायिका आनी छोइङ डोल्मा, संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि भेलेरी जुलिएडले सार्वजनिक गरे ।


राष्ट्रसंघका पूर्व उपमहासचिव र युनिसेफका पूर्व कार्यकारी उपनिर्देशकसम्मको जिम्मेवारी सम्हालिसकेका गौतम आफैंमा सफलताको भिन्न कथा साबित भएको उल्लेख गर्दै संस्कृतिविद् जोशीले उनका भोगाइ सबैका लागि मूल्यवान् हुन सक्ने बताए । परराष्ट्रमन्त्री ज्ञवालीले ‘एउटा व्यक्तिको परिचयले नै सिंगो राष्ट्रलाई विश्वसामु चिनाउन सफल हुने’ बताउँदै यसका लागि गौतम अब्बल उदाहरण बनेको सुनाए । श्रममन्त्री विष्टले गौतम र आफ्नो गाउँ सँगै भएको बताउँदै पुराना दिनहरूको सम्झना गरे । जुलिएडले गौतमका संघर्षहरू पढेर छक्क परेको बताइन् । ‘मान्छेले चाह्यो भने केही पनि असम्भव छैन भन्ने कुरा उहाँको जीवनीले सिकाउँछ,’ उनले भनिन् ।


संविधानविद् नीलाम्बर आचार्यले पुस्तकमा गौतमको आफ्नो कथासँगै तत्कालीन समय, परिवेश र विचारहरूको कथा पनि जोडिएको खुलाए । गौतमले ‘विशाल नेपाल’ को अर्थ बृहत् सोच ठान्नुपर्ने बताउँदै साँघुरो सोचले विकासको बाटो खुुम्च्याउने औँल्याए ।


उक्त पुस्तकमा नेल्सन मन्डेला, आङ सान सुकी, बिल गेट्स, एडवार्ड सेभर्नात्जेदेखि थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेज सम्मका गौतमका रोचक भेटघाटका प्रसंग पनि उल्लेख छन् । विशिष्ट कूटनीतिज्ञ र विकास अभियन्ताका हैसियतले गौतम अहिले पनि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा सक्रिय छन् ।


प्रकाशित : श्रावण २३, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?