कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साधक सम्मान र कविता वाचन

काठमाडौँ — वरिष्ठ कवि वैरागी काइँला सुनाउँदै थिए–रातोनीलो रंग–बिरंगको भेटको एक रातकस्तो कस्तो हजुरसितको भेटको एक रात ...नेपाली वाङमय परिषद्, नेपाली प्रतिभा प्रतिष्ठान बेलायत, जसराज किराती प्रतिभा प्रतिष्ठानले राजधानीमा शुक्रबार पाँच काव्यसाधकलाई सम्मान गर्दैगर्दा तिनैमध्येका गद्य कविताका लागि कवि काइँला यसरी भिन्न शैलीमा प्रस्तुत हुँदै थिए ।

साधक सम्मान र कविता वाचन

सम्मान ग्रहणपछि कविहरूले तीन–तीन कविता पनि वाचन गर्नुपर्ने अघोषित सर्त थियो । कवि काइँला आफ्ना चर्चित कविताभन्दा पनि मुक्तकशैलीका सिर्जना सुनाए ।


कविले फरकफरक शिल्प र शैलीको प्रयोग गर्न सिक्नुपर्ने उल्लेख गर्दै कवि काइँलाले भने, “मैले चार लाइनको कविता लेख्न सिकेँ । त्यसपछि दुई लाइनको, अनि एक लाइनको मात्रै कविता लेखेर साथीलाई सुनाएको त उसले ‘यो शीर्षक भयो, कविता के हो, सुनाऊ’ भनेपछि फेरि लेखिनँ ।”


सम्मानित हुने कविहरूमा तुलसी दिवस, जसराज किराती, मञ्जुल र तोया गुरुङ पनि थिए । कविता लामा–छोटा नहुने र कविले सम्मानको लागि मात्रै कविता नलेख्ने उल्लेख गर्दै दिवसले समयअनुसार नै कविले कविताका स्वरुप र विचारहरू परिवर्तन गर्दै लानुपर्ने बताए । उनले ‘मौन जुलुस’, ‘अवतार’ र ‘बाघचाल’ कविता सुनाए । उनले कवितामा विम्बमार्फत सामाजिक आन्दोलनका क्षणदेखि समाजमा व्याप्त असमानता र विभेदमाथि व्यंग्य कसे ।


जसराजले ‘सायद तिम्रो पनि’, ‘ट्याम्के, परशु र म’ र ‘उदास मनको भुमरीभित्र’ कविता सुनाए । मञ्जुलले २०२४ मा लेखेको कविता, युगकवि सिद्धिचरण श्रेष्ठमा समर्पित र आमाबारे लेखिएको कविता सुनाए । सरल र सहज भाषामा लेखिएका मञ्जुलका कवितामा प्रकृति, माया र स्नेहभित्र सामाजिक विकासको चेत प्रस्तुत गरिएको थियो । तोयाले ‘ल्हामु’, ‘आदि’ र ‘मनोरोग’ कविता सुनाइन् ।


कवि मोमिलाले पाँचै कविका कविता कथाजस्तो भन्दा पनि बढी सूत्रात्मक रहेको टिप्पणी गरिन् । वाङमय परिषदका अध्यक्ष शशी लुमुम्बुले आधुनिक नेपाली कविताका क्षेत्रमा योगदान दिएबापत कविहरूलाई सम्मान गरेको बताए । उनले भने, ‘देशमा भएका परिवर्तनहरूमा उहाँहरूका सिर्जनाले पनि सहयोग गरेका छन् । रचनालाई समाजसँग जोडेर प्रस्तुत गर्नुभएकोले सम्मान गरेका हौँ ।’

प्रकाशित : भाद्र ३०, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?