कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोटो काठमाडौंमा विभेदविरुद्धका प्रश्न

कान्तिपुर संवाददाता

काठमाडौँ — दुई चुल्ठी कपाल बाटेका एक हूल युवती । तिनको गलामा फूलको माला छ । कुर्ता–सुरुवाल र फ्रक–सुरुवाल लगाएका छन् । ती कतै जान लागेको प्रतित हुन्छ । छेउमा अन्य बच्चीहरू पनि छन् जो बिदाइ कार्यक्रम हेर्न आएझैं लाग्छ । बच्चीहरू दुई छेउ भएर उभिएका छन्, बीचमा ढुंगा ओछ्याइएको बाटो छ ।

फोटो काठमाडौंमा विभेदविरुद्धका प्रश्न

यो दृश्य सन् १९६६ को हो । स्थानचाहिँ डोटीको सिलगडी गाउँ । त्यहाँका युवतीहरू काठमाडौं आउन लागेका रहेछन् । एसएलसीपछिको अध्ययनका लागि उनीहरू दुई हप्ता पैदल हिँडेर काठमाडौं निस्किनुअघि गाउँमा त्यसरी बिदाइ गरिएको रहेछ । डोटी–काठमाडौंको ८ सय किलोमिटर दूरी पार गर्न लागेका युवतीहरू घोसेमुन्टो लाएर उभिएका देखिन्छन् । यो दृश्य तस्बिरमा कैद छ । उक्त तस्बिर शुक्रबारबाट सुरु भएको ‘फोटो काठमाडौं’ मा हेर्न सकिन्छ ।


गोमती श्रेष्ठले नेपाल पिक्चर लाइब्रेरीलाई प्रदान गरेको तस्बिरलाई ‘सार्वजनिक जीवनमा महिला : महिलावादी स्मृतिको एक पहल’ शीर्षकअन्तर्गत महोत्सवमा राखिएको छ । यो शीर्षकभित्रका तस्बिरहरूले नेपाली महिलाको विगत स्मरण गराउने महोत्सव आयोजक फोटो सर्कलकी नयनतारा गुरुङ कक्षपतीले बताइन् । ‘महिलाको राजनीतिक संघर्षदेखि शिक्षाका लागि तिनले तय गरेको यात्रा र हिंसाविरुद्ध महिलाको विरोधजस्ता कुरा यो शृंखलामा छन्’, उनले भनिन्, ‘यी महिलाका ऐतिहासिक दृश्यले स्वतन्त्रताको मुद्दालाई मजबुत बनाउन सघाउने अपेक्षा गरेका छौं ।’


पाटन दरबार क्षेत्र, धौगल, नाकाबाही र ठमेलको छाया सेन्टरमा महिलावादी स्मृतिको एक पहल शीर्षकभित्रका तस्बिर प्रदर्शन गर्नुका साथै यसबारे छलफलका कार्यक्रम हुनेछन् । कात्तिक ३० सम्म चल्ने फोटोग्राफी महोत्सवमा यसपालि महिलाका मुद्दा धेरै प्रस्तुत भएका छन् । पितृसत्ता, पहिचान, लिंग, यौनिकता र शक्ति विषयमा महोत्सव केन्द्रित रहेको छ । ‘कन्फ्रन्टेसन’ शीर्षकको प्रस्तुतिमा बुनु ढुंगानाको श्रव्य, दृश्य र मल्टिमिडिया अनुभव अवलोकन गर्न पाइनेछ ।


‘महिलाका लागि छुट्याइएका निश्चित मूल्य–मान्यताप्रति मैले प्रश्न गर्न खोजेकी छु’, बुनुले भनिन्, ‘हामी शुद्ध हुनुपर्छ रे, पवित्र रहनुपर्छ रे । दसैं आउँदैछ, महिनावारी भए टीका लगाउनु हुँदैन रे । यस्ता मान्यताप्रति मेरो प्रश्न छ ।’ उनले आफू र आमासँगको सम्बन्धलाई पनि प्रस्तुत गर्न खोजेको बताइन् । दुई पुस्ताबीच हुने मतान्तरलाई रचनात्मक तरिकाले अभिव्यक्त गर्न खोजेको उनको भनाइ थियो । पाटनको खापिछेंमा उनका कलेक्सन हेर्न सकिनेछन् ।


महोत्सवमा नेपाल, भारत, बेलायत, स्विट्जरल्यान्डलगायत देशका आर्टिस्टका तस्बिर/भिडियो कृति मुख्य आकर्षण रहेका छन् । तिनले लैंगिक विभेद, पहिचान, अभाव र पितृशत्ताका पिरलोबारे देश–विदेशको विद्यमान अवस्थाबारे चित्रण गरेका छन् । ‘देयर आर नो होमोसेक्सुअल्स इन इरान’ शीर्षकको तस्बिरमा स्विट्जरल्यान्डका लरेन्स रस्टीले इरानमा समलिंगी समुदायले खेप्दै आएको समस्या उतारेका छन् । यस्तो सम्बन्धलाई त्यहाँ स्वीकार नगर्ने मात्र होइन मृत्युदण्डकै सजाय दिने गरिएको छ ।


महोत्सवमा तस्बिर प्रदर्शनीसँगै विभिन्न कार्याशाला, विषयगत छलफल, स्लाइडसो प्रर्दशनी, पोर्टफोलियो रिभ्यु, मिक्स–मिडिया रेजिडेन्सी र इन्क्युबेटर कार्यक्रमहरू पनि हुनेछन् । नेपाली दर्शकको दृश्य साक्षरता बढाउन महोत्सव आवश्यक रहेको ‘कला तथा शिक्षा कार्यक्रम’ विधाका निरञ्जन कुँवरले बताए । ‘दर्शकले प्रर्दशनीलाई गहिरो र समीक्षात्मक ढंगले हेर्न सकून् भनेर यो कार्यक्रम राखेका हौं’, उनले भने, ‘यसमा आर्ट वर्कसप, टिचर सेमिनारहरू हुनेछन् ।’


महोत्वसलाई दुई चरणमा विभाजन गरिएको छ । पहिलो चरणमा अमर कन्वर, दिवसराजा केसी, नयनतारा कक्षपती, कीपा मास्के, इरिना गिरी, सोनामचोकी लामा, श्रीधरलाल मानन्धर, लुसिया डेभ्रिज, प्रशित स्थापितलगायतका काम देख्न सकिन्छ । कात्र्तिक ९ बाट थप ६ वटा प्रदर्शनीसहित महोत्सवको दोस्रो चरण सुरु हुने अवतग गराइएको छ । त्यसमा लरेन्स रस्ती, सोहरब हुरा, रबिन ह्यामण्डसँगै मदन पुरस्कार पुस्तकालयबाट लिइएका तस्बिरको संकलन अवलोकनका लागि खुला गरिनेछ ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?