कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब पेपरलेस साहित्य

‘यसले कागजको खपतलाई कम गरी प्रकृतिको विनाश हुनबाट जोगाउँछ । अबको समय नै डिजिटलको हो ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — न प्रिन्ट गर्ने झन्झट, न पानी वा केहीले बिगार्ने डर  । नयाँ प्रविधिको विकाससँगै अहिले पुस्तकमा पनि ई–बुकको अवधारणा विकसित हुँदै गइरहेको छ  ।

अब पेपरलेस साहित्य

कागजी पुस्तकभन्दा अनलाइन पढ्नेको संख्या बढदै गइरहेको आफ्नो मुलुकको अनुभव सुनाउँदै नेपालमा पनि ई–बुक प्रभावकारी हुन सक्ने चिनियाँ प्रकाशनविज्ञहरूले सुझाएका छन् ।


नेपाल प्रज्ञा प्रतिष्ठान र चिनियाँ संस्कृति तथा अनुवाद अध्ययन सहयोग केन्द्रले राजधानीमा अनुवाद तथा प्रकाशनसम्बन्धी गरेको ‘काठमाण्डु फोरम’ को अन्तिम दिन बुधबार पुस्तक प्रकाशनको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै चिनियाँ प्रकाशनविद्हरूले पेपरलेस पुस्तकतिर नयाँ पुस्ताको आकर्षण लोभलाग्दो बन्दै गएको औंल्याएका हुन् ।


चिनियाँ अनलाइन प्रकाशनविज्ञ चेन मिङका अनुसार सन् २०१७ मा अनलाइनबाट बिक्री भएका साहित्यिक कृतिहरूले सात खर्बभन्दा बढी चिनियाँ युआन रोयल्टी संकलन गरेको छ । डिजिटल रूपमा रेकर्ड रहने भएकोले यसले रोयल्टी वितरणमा पनि सघाउ पुर्‍याएको उल्लेख गर्दै उनले नेपाल पनि यतातिर जान सके स्रष्टालाई रोयल्टीको न्यायसँगै प्रकाशकलाई पनि उत्तिकै आर्थिक फाइदा पुग्ने बताए ।


‘यसले कागजको खपतलाई कम गरी प्रकृतिको विनाश हुनबाट जोगाउँछ,’ उनले भने, ‘अबको समय नै डिजिटलको हो ।’


अर्की प्रकाशनविज्ञ ग्यो वाईले पुस्तक व्यवसाय बौद्धिकतासित जोडिएको र यसको माध्यमबाट नै संसारलाई चिन्न र चिनाउन सकिने बताइन् । चीनले विश्वमा आफूलाई चिनाउन खुल्ला नीति लिएको चार दशक पुगेको र यस अवधिमा संगठित रूपमै चिनियाँ प्रकाशन, अनुवाद र प्रचारप्रसारमा सक्रिय रूपमा प्रविधि अपनाएर अगाडि बढिरहेको पनि उनले जनाइन् ।


चिनियाँ संस्कृतिविद् हाङ झोयुका अनुसार पुस्तक भनेको सभ्यता हो । ‘हामीले पुस्तकमार्फत एकअर्काका समाज र संस्कृतिलाई जोड्न सक्छौं,’ उनले भने, ‘अझ प्रविधि पनि मिसियो भने सजिलो हुन्छ ।’ उनले गत वर्ष चीनमा यस्तै सम्मेलन भएको, त्यसमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीसमेत सहभागी रहेको र त्यसैको निरन्तरताको रूपमा ‘काठमाण्डु फोरम’ हुन सकेकोमा खुसी पनि व्यक्त गरे ।

प्रकाशित : कार्तिक १६, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?