कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेखकलाई ’कात्तिके दान’

दीपक परियार

काठमाडौँ — ठूलो नाङ्लोमा सयपत्री माला । मालाको बीचमा दियो । नाङ्लोको बीटैभरि मिलाएर राखिएका हजारहजारका नोट । तिहार झल्काउन यति भए पुगिहाल्यो । तिहारकै छेकोमा सोचे न सम्झेको १ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउँदा लेखक तीर्थ गुरुङ अक्क न बक्क परे ।

लेखकलाई ’कात्तिके दान’

उनको उपन्यास ‘पाठशाला’ माथि परिचर्चा गर्ने कार्यक्रममा बोलाइएका समीक्षक गुरुङ सुशान्त र साहित्यकार तीर्थ श्रेष्ठले मुखामुख गरे । भैलोलाई दिइने दान सम्झाउने गरी गुरुङ साहित्यिक मञ्च नेपालले उनलाई शनिबार पोखरामा नगद सहित सम्मान गरेको हो । जुन सम्मानबारे उनी आफैं अनभिज्ञ थिए ।

कार्यक्रमको सुरुआतमा मञ्चकी सचिव रोशनी गुरुङले सहयोग गर्नेको फेहरिस्त पढेर सुनाइन् । सूचीमा ५ देखि २० हजार रुपैयाँसम्म सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाको नाम थियो । मञ्चकी अध्यक्ष गौरी तमुले कार्यक्रमको खर्च कटाएर बचेको रकम लेखकको सम्मान स्वरुप प्रदान गरेको बताइन् । गुरुङ संस्कार अनुसार फेटा गुथाइन् । भांग्रा लगाइदिइन् र नाङ्लो भरि पैसा टक्रयाइन् । भनिन्, ‘लेखन अझैं सशक्त बन्दै जाओस्, हाम्रो शुभकामना ।’

समीक्षक गुरुङ सुशान्तले ठट्टा गरे, ‘अघिसम्म मुड ठिक छैन भन्नुभएको थियो, अबपो ठिक भयो कि ?’ तीर्थले भने, ‘यसबारे मलाई केही थाहा थिएन । म अहिले अर्कैअर्कै भावनामा छु ।’ सुशान्तले मदन पुरस्कार मनोनयनमा पर्न सफल कृति ‘पाठशाला’ को रचनागर्भ खोतले । लेखकले आफू १४ वर्ष निजी विद्यालयमा पढाएपछि विदेश गएर फर्किएको प्रसंग सुनाए । संरक्षण कविता आन्दोलन, पोखरेली युवा सांस्कृतिक परिवारका विभिन्न कार्यक्रममा सहभागी हुँदा साहित्यमा आकर्षित भएको उनले बताए । ‘तीर्थ श्रेष्ठ दाइका कविता सुनेर कविता लेख्न थालेको थिएँ,’ उनले भने, ‘तर आजकल कविताले बजार नपाउने देखेकोले उपन्यासमा मोडिएँ ।’ उनले बिकाउँ भन्दा पनि समसामयिक मुद्दालाई उपन्यासमार्फत उठान गरेको उल्लेख गरे ।

समीक्षक गुरुङ सुशान्तले भाषिक साहित्यलाई माथि उठाउन संवादलाई बढाउनुपर्ने विचार राखे । साहित्यको मूलधारमा स्थापित हुन जनजाति समुदाय आक्रोससहित आउनुपर्ने उनले सुझाए । ‘अहिले भइरहेको बहसलाई बैचारिक र चिन्तनमूलक बनाउनुपर्छ,’ उनले भने, ‘प्रशंसा र चाकडीमात्रै भन्दापनि आलोचनात्मक बन्नुपर्छ ।’ कार्यक्रमका प्रमखु अतिथि प्राज्ञ तीर्थ श्रेष्ठले नेपाली साहित्यमा गैरमातृभाषिको योगदान बढी भएको चर्चा गरे । गैरमातृभाषि साहित्यकारका रुपमा गुरुङले पाठशालाजस्तो उत्कृष्ट उपन्यास दिएको उनले बताए ।

प्रकाशित : कार्तिक १८, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?