कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालुवाटारमा महाकविका गीत

कान्तिपुर संवाददाता

काठमाडौँ — सुरुमै युवा गायक निर्मल पनेरुले गाए, ‘कुन मन्दिरमा जान्छौ यात्री...।’ रविन शर्माको स्वरमा धेरैअघि रेकर्ड भएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो गीतले माहोललाई सांगीतिक बनायो ।

बालुवाटारमा महाकविका गीत

पाका गायक रामकृष्ण दुवालले महाकविकै बालकविता ‘नटिप्नु हेर कोपिला...’ गाउँदा गायक सञ्जय तुम्रोकले नारायणगोपालको स्वरमा सजिएको ‘मुनामदन’ खण्डकाव्यको ‘ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस्...’ प्रस्तुत गरे । मुना र मदनको विछोडको कथा गीतबाटै सुनेर भावुक बनेको माहोललाई कवि एवं संस्कृतिविद् तुलसी दिवसले देवकोटाकै ‘बागले बच्चा किन खान्छ ?’ कविता सुनाएर जुझारु बनाइदिए ।


दर्शक/श्रोता मात्रै हैन, प्रधानमन्त्री केपी ओली स्वयं जुझारु बने कविता र गीत सुनेपछि । अस्वस्थताका कारण सम्बोधन नगर्ने हिसाबले कार्यक्रममा उपस्थित ओलीले कार्यक्रम स्थलमै डा. अरुण सायमीले नबोल्न गरेको आग्रहलाई जित्दै बोले, ‘देवकोटाजस्तो बौद्धिक ज्ञानयुक्त विलक्षण कवि मैले विश्वमै देखेको छैन । उहाँ प्राकृतिक प्रतिभा हो, मूलबाट फुटेर खसेको छाँगोजस्तै हुनुहुन्थ्यो ।’ यसपछि प्रधानमन्त्री ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौं डिल्लीबजार, धोबीधारास्थित जन्मघर सरकारले किनेर संग्रहालय बनाउने घोषणा गरे ।


प्रधानमन्त्री ओलीकै अग्रसरतामा महाकवि देवकोटाको ११०औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले लक्ष्मीपूजाको दिन प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रम गरेको थियो, जहाँ ओलीले बिरामीपछि पहिलो पटक सार्वजनिक मन्तव्य दिँदै देवकोटाको घरलाई संग्रहालय बनाउने घोषणा गरेका हुन् । उनले देवकोटाका परिवारसँग कुरा गरेर उपयुक्त मूल्यमा भग्नावशेषको अवस्थामा रहेको सो घर खरिद गरी ‘रोक्टोफिटिङ’ गरेर संग्रहालय बनाउने बताए । ‘देवकोटाका पुराना वस्तुहरू पनि संकलन गर्नेछौं,’ उनले भने, ‘उहाँ कसरी पलेटी कसेर लेख्नुहुन्थ्यो भन्नेसम्मका स्मृति झल्काउने छौं । तर, चुरोटको ठुटोचाहिँ राख्ने छैनौं ।’


चुरोटकै कारण देवकोटा क्यान्सर भएर बितेका कारण ओलीले अन्य साहित्यकारहरूलाई चुरोटदेखि टाढै बस्न सुझाए । महाकविको जन्मघर हाल जीर्ण अवस्थामा छ भने नजिकैको नयाँ घरमा छोरा पदमप्रसाद देवकोटा बस्दै आएका छन् । विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिएका र विसं २०१६ भदौ २९ गते दिवंगत महाकावि देवकोटाका ‘मुनामदन’, ‘सुलोचना’, ‘शाकुन्तल’ ‘पहाडी पुकार’ लगायत दर्जनौं लोकप्रिय कृति प्रकाशित छन् ।


प्रधानमन्त्री ओलीले आफूभन्दा ४२ वर्षअघि जन्मिएका महाकवि देवकोटालाई दिवंगत भएको भोलिपल्टदेखि मात्र राम्रोसँग चिनेको सुनाए । ‘विद्यालय पढ्दा देवकोटाको निधनमा शिक्षकहरू रोएको देखेपछि उहाँप्रति जिज्ञासा बढेको थियो,’ उनले भने, ‘पछि ‘मुनामदन’ खण्डकाव्य पढ्दा आफैं रोएँ ।’


उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित गायक भक्तराज आचार्यसमेत उपस्थित कार्यक्रममा कवि तुलसी दिवसले पहिलो पटक प्रधानमन्त्री स्वयंको चासोमा महाकविलाई यसरी सम्झिनु निकै सकारात्मक रहेको र सिंगो स्रष्टाहरूमा खुसी तरंगित गरेको दाबी गरे ।


कार्यक्रममा गायक रामेशले देवकोटाकै ‘सुुनको बिहानी...’ गाए भने विप्लव ढकाल, प्रभा भट्टराई, कोमल वली, लक्ष्मण गाम्नागे, डा. देवी नेपाल, भुवनहरि सिग्देल, नरनाथ लुइँटेल लगायतले देवकोटाका गीत र कविता सुनाए । देवकोटामाथि नै विद्यावारिधि गरेका महादेव अवस्थीले देवकोटाको योगदानको चर्चा गरे । ‘साहित्यिक व्यक्तित्वको सम्मानमा प्रधानमन्त्रीले दिनुभएको चासोबाट हामी उत्साहित छौं,’ प्रतिष्ठानका अध्यक्ष विजय सुब्बाले भने ।


त्रिमूर्तिमा काव्यसभा

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जयन्तीका उपलक्ष्यमा सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा रचना वाचनसहित काव्यसभा गरियो ।


कवि मनिराज जोशी, भगवती बस्नेत, यादव भट्टराई र ललिता दोषीले देवकोटाको सम्झनामा कविता सुनाएको कार्यक्रममा त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसार्इं, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेसनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.ठाकुर पराजुली, त्रिमूर्ति निकेतनका कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईंले महाकवि देवकोटाको साहित्यिक योगदानको चर्चा गरे ।

प्रकाशित : कार्तिक २५, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?