कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नातिकाजीको सम्झना

काठमाडौँ — बिहान प्राय: ढिलो उठ्ने राजेशपायल राई शनिबार भने ‘सबेरै’ उठे । संगीतकार नातिकाजीको स्मृति सभा भएकाले उनी साढे एघार बजेतिर लैनचौरस्थित राष्ट्रकवि माधवप्रसाद घिमिरेको निवास पुगे ।

नातिकाजीको सम्झना

‘बिहान–बिहान उठ्न साह्रै गाह्रो,’ उनी ठट्टा गर्दै गेटबाट भित्र छिरे ।


राजेशपायलले नातिकाजीको संगीतमा झन्डै एक दर्जन गीत गाएका छन् । अर्को साल ती पुराना गीतहरूको एल्बम सार्वजनिक गर्ने योजनामा पनि छन् । ‘रेडियो नेपालतिर छन् होला हाम्रा गीत,’

उनले भने, ‘सबै जम्मा पारेर एल्बम बनाउँछु ।’


नातिकाजीको ९३ औं जन्मजन्यतीका अवसरमा भने उनले नातिकाजीको ‘कसोरी आँखा जुधे...’ गीत सुनाए । उनलाई नातिकाजी स्मृति समाजले नातिकाजी राष्ट्रिय संगीत पुरस्कार समेत प्रदान गर्‍यो । पुरस्कारबापत पाएको ११ हजार रुपैयाँ उनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्ने बताए । उनीसँगै गीतकार सुवासचन्द्र ढुंगेल, गायिका मीना निरौला लगायतलाई पनि संगीत पुरस्कार दिइएको थियो ।


समाजले गायक एलपी जोशीलाई नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान प्रदान गर्‍यो । गायक प्रसाद श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, गीतकार डा. भोला रिजाल, गायक रमेश ताम्रकार, गीतकार अरुण सायमि र पत्रकार पुष्करलाल श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान’ दियो । द्विराज शर्माले भने नातिकाजी स्मृति समाज योगदान सम्मान प्राप्त गरे । स्रष्टाहरूलाई राष्ट्रकवि घिमिरेले सम्मान तथा पुरस्कार हस्तान्तरण गरे ।


स्मृति समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले नातिकाजीको सम्मान र उनका सिर्जनाको व्याख्या, विश्लेषण र चिन्तनका लागि समाज स्थापना गरेको बताए । समारोहमा नातिकाजीले संगीतबद्ध गरेका ‘फूलको थुंगा बगेर गयो...’, ‘आजै र राति के देखेँ सपना...’ लगायत गीत प्रस्तुत गरिएका थिए ।

प्रकाशित : पुस २, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?