कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘घाम खोज्दै काठमाडौं !’

नेपाल लिटरेचर फेस्टिभल
दीपक परियार

लेखनाथ — कवि श्रवण मुकारुङ र अभिनेता दयाहाङ राई भोजपुरमा वल्लो डाँडा र पल्लो डाँडाका हुन् । श्रवणको घरमा एकाबिहानै घाम झुल्किन्छ । र, साँझसम्म बस्छ । दयाहाङको डाँडामा मट्ठै घाम पर्दैन ।

‘घाम खोज्दै काठमाडौं !’

आख्यानकार बुद्धिसागरले श्रवण, दयाहाङ र घामको प्रसंग सुनाउँदा फेवाताल किनारको रुखमुनि पनि घाम थिएन । लिटरेचर फेस्टिभलको दोस्रो दिन उनी गफिएका थिए– दयाहाङ र अर्का अभिनेता एवं लेखक खगेन्द्र लामिछानेसँग ।

‘सहर, साथी र सपना’ मा तीन मनुवा खुब नोस्टाल्जिक बने । अभाव सम्झिए । भोक सम्झिए । अनेक किस्सा सुनाए । उपलब्धिमा घमन्ड गरेनन् । दयाहाङले १८ वर्षको हुँदा पहिलोपल्ट गाडी देखेको सुनाए । ‘गाउँमै छँदा कविता, कथा लेख्ने ठिटोलाई काठमाडौंसम्म केले डोर्‍यायो ?’

बुद्धिसागरको प्रश्नमा दयाहाङको जवाफले दर्शकश्रोतालाई स्तब्ध बनायो— ‘जुन ठाउँमा घामै अबेला लाग्छ त्यहाँका मानिसले देख्ने सपना पनि धमिला हुन्छन् । बच्चामा नदेखेका, नअटाएका धेरै चीज थिए । त्यही हुटहुटीले काठमाडौं आएँ । यहाँं आउने सपना घाम खोज्न पो थियो कि ?’

पोखरा पढ्न बसेका स्याङ्जाका खगेन्द्रले ५ हजार आईसी बोकेर काठमाडौं हान्निँदा कुनै दिन घरलाई उऋण पार्छु भन्ने सोचेका थिएनन् । परिवार ऋणले थिचिएपछि जब उनले विदेश जाने निधो गरे, बुबाले भने, ‘काम गर्न पनि कोही विदेश जान्छ ? विदेश त घुम्न जाने हो ।’ उनी प्रभावित भए । तीन वर्ष घर फर्केनन् । बीबीसी मिडिया एक्सनमा जागिर खाए । घरको ऋण एकै दिनमा तिरे । बुबाबाट जस्तै उनी अचेल सामान्य मानिसबाट प्रभावित हुन्छन् ।

‘म आफ्नो फिल्म हेर्दा आफैं रुन्छु, लेख्दा पनि रुन्छु,’ एउटा प्रसंगमा उनले भने, ‘आफैंलाई मन पर्‍यो भने अरूलाई पनि मन पर्छ जस्तो लाग्छ ।’

कालीकोटबाट पत्रकारिता पढ्न काठमाडौं झरेपछि बुद्धिसागर अभावबाट गुज्रिए । पाका लेखकसँग संगत बढाए । भोकै हुँदा उनलाई जीवनकै सबैभन्दा ओरालो क्षण भएको महसुस भयो । सोचे– एक दिन ओरालोको अन्तिम विन्दु आउँछ र उकालो लागिन्छ । त्यही आशाले सिकायो– भोगाइ नै ठूलो सम्पत्ति हो ।

मीटू : आफैं बोल्नुपर्छ

सन् २००८ मा पहिलोपल्ट फिल्ममा अभिनय गर्दा ऋचा शर्मालाई कोही पाको पुरुषले काँधमा थपथपायो र भन्यो, ‘के छ ? कस्तो चल्दै छ ?’ उनले बनावटी हाँसो फ्याँक्दै भनिन्, ‘ठिकै छु ।’ चारपाँच वर्षपछि उनलाई थाहा भयो– त्यो पनि यौन हिंसा नै रहेछ ।

फेस्टिभलको दोस्रो दिन उनले भनिन्, ‘त्यस्ता घटना धेरै छन् । मलाई पनि धेरैपल्ट परेको छ ।’ नेपाली फिल्म क्षेत्र सानो भएकाले ‘एकै ठाउँ काम गर्नु छ, कसैले समर्थन गर्दैन कि’ भन्ने डरले यहाँ मीटू अभियानले गति नपाएको उनले बताइन् ।

लेखिका सावित्री गौतमसँगको संवादमा प्रा. सुरेश ढकालले शक्ति, पद र पैसाको दुरुपयोग गरेर यौन हिंसा भइरहेको स्विकारे । तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले लैंगिक हिंसा भनिरहँदा महिला वा पुरुष हिंसा मात्रै बुझ्नु उचित नभएको बताइन् ।


संगीत पनि

साँझको मौसमलाई गायिका वर्तिका एम राई र गायक अजर जंगमका गीतले तताए । अन्तरक्रिया भनिए पनि माहोल तताउन कवि नवराज पराजुलीले सुरुमै गाउन लगाए । गितार समाएर अजर जंगमले गाए बुबा दीपक जंगमको गीत– तिमीलाई म के भनूँ... । वर्तिकाले लोकप्रिय गीत ‘नजिक..’ सुनाइन् । दर्शकश्रोताले स्वर मिलाए ।

वर्तिकाले केही आफ्नै र केही देखेका भोगाइलाई गीतमा उतार्ने गरेको सुनाइन् । ‘जिन्दगीले हिसाब माग्छ, घटाउ भने तिमीलाई...’ गायक अजर जंगमले कभर गीतलाई एक हदसम्म सकारात्मक रूपमा लिनुपर्ने बताए ।


साहित्यकारदेखि राजनीतिज्ञसम्म

फेस्टिभलमा आइतबार पहिलो सेसन थियो, ‘सय वर्षपछिको नेपाल’ । यो सेसनमा पत्रकार/लेखक सुधीर शर्मा र अर्थविद् विश्व पौडेलले अन्तरक्रिया गरे । सेसनमा उनीहरूले सय वर्षपछिको नेपालको अनुमान त गरे नै, अहिले भइरहेका विकास एवं राजनीति आदिका कारण विकासमा पछि परेको नेपालका विषयमा पनि चर्चापरिचर्चा गरे ।

दोस्रो सेसन थियो, ‘क्यान नेपाल बी द (इन्टेलेक्चुअल) सलोन अफ साउथ एसिया ?’ हरीश नाम्बियर, मोहम्मद हनिफ र कनकमणि दीक्षितले अन्तरक्रिया गरे । यो सेसनकी प्रस्तोता थिइन्, रम्यता लिम्बू । ‘आर्ट अफ एक्टिभिज्म’ शीर्षकमा मञ्जुश्री थापासँग अस्मिना रञ्जितले छलफल चलाइन् ।

तेस्रो सेसनमा भिजिट नेपाल, २०२० बारे संवाद भयो । ‘किन घुम्ने नेपाल ?’ शीर्षकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, उद्योगी सुरज वैद्य र आङछिरिङ शेर्पाले अन्तरक्रिया गरे । कार्यक्रमका प्रस्तोता थिए, सुजित महत ।

‘रेमिट्यान्स साहित्य : दु:खदेखि दु:खसम्म’ सेसनमा गणेश गुरुङ, उमा सुवेदी र जनकराज सापकोटाले वैदेशिक रोजगारीका दु:ख, व्यथा एवं पीडाबारे संवाद गरे । यसका प्रस्तोता थिए, दिनेश काफ्ले ।

‘मधेस : आन्दोलनदेखि आख्यानसम्म’ शीर्षकमा शिवानीसिंह थारू, बसन्त बस्नेत र गणेशप्रसाद लाठले अन्तरसंवाद गरे । गिरीश गिरीले आन्दोलनदेखि आख्यानसम्म मधेसको अवस्था खोतले ।

‘द आर्ट अफ राइटिङ’ शीर्षकमा मञ्जुश्री थापा र प्रज्वल पराजुलीसँग मुना गुरुङले अन्तरसंवाद गरिन् । उनीहरूले लेखनकला एवं शैलीका विविध पक्षमाथि चर्चा गरे । ‘कविताको कोरियोग्राफी’ शीर्षकमा विप्लव ढकाल, विप्लव प्रतीक र रमेश क्षितिजसँग सरस्वती प्रतीक्षाले छलफल चलाइन् । उनीहरूले कविता लेखनका विविध पक्षबारे चर्चा गरे । कविता लेख्नुअघिका रोचक तथ्य पनि प्रस्तुत गरे ।

प्रकाशित : पुस ९, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?