कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोग निवारण योजना बन्दै

बिरामी खोज्दै स्वास्थ्यकर्मी
रोग निवारण योजना बन्दै
देवनारायण साह

मोरङ — गत आर्थिक वर्षमा १ हजार २ सय ३५ क्षयरोगी पत्ता लगाएर उपचार गराइरहेका छन् । ९ सय ६५ बिरामी स्वास्थ्यकर्मीले खोजी गरिरहेका छन् । जिल्लास्थित १७ वटै स्थानीय तहले क्षय र कुष्ठरोग निवारण अभियान सञ्चालनका लागि योजना बनाउन थालेको छ ।

रोग निवारण योजना बन्दै

जिल्ला जनस्वास्थ्यका क्षय कुष्ठरोग अधिकृत रामनरेश ठाकुरका अनुसार विश्व स्वास्थ्य संगठनको ‘एआरटीआई’ सूत्रअनुसार जिल्लामा २ हजार २ सय बिरामी हुनुपर्ने हो । त्यसमध्ये गत आवमा १२ सय ३५ बिरामी पत्ता लगाएर नियमित औषधि सेवन गराइरहेका छौं । उनले चालू वर्षमा बाँकी बिरामी पत्ता लगाउने काम भइरहेको उनले बताए ।

‘उपचारका लागि आउनेको खकार जाँचमा क्षयरोगका कीटाणु फेला परेपछि उनको परिवारका प्रत्येक सदस्य र छिमेकीलाई जाँच गरेर नयाँ रोगी पत्ता लगाइरहेका छौं,’ उनले भने, ‘खकारमा कीटाणु भएका एक बिरामीले बर्सेनि १० देखि १५ जनालाई रोग सार्ने गरेकाले शंका लागेकालाई तत्काल खकार जाँच गराउनुपर्छ । क्षयरोगको उपचार सरकारले नि:शुल्क गर्दै आएको छ ।’ विश्व स्वास्थ्य संगठनको सूत्रअनुसार विराटनगर महानगरपालिका क्षेत्रमा क्षयरोगका ६ सय बिरामी हुनुपर्नेमा गत वर्ष २ सय ५ र चालू वर्षको हालसम्ममा ३८ मात्रै फेला परेको जनस्वास्थ्य कार्यालयको तथ्यांकले जनाएको छ ।

जिल्लामा रहेका ४८ ड्रग रेसिस्ट क्षयरोगका बिरामीमध्ये १६ जनालाई नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरस्थित अस्पताल चोकमा सञ्चालन गरेको डीआर होस्टेलमा राखेर उपचार गराइरहेको उनी बताउँछन् । ‘नजिकको स्वास्थ्य संस्थाबाट औषधि ल्याएर नियमित सेवन गर्न नसक्नेलाई होस्टेलमा राखेर उपचार गर्ने व्यवस्था छ,’ उनले भने, ‘होस्टेलमा सन्तुलित आहाराका साथै नियमित औषधि सेवन गराएर रोग निको पर्ने गर्छौं ।’

जिल्लामा गत वर्षसम्ममा कुष्ठरोगका १ सय ३४ बिरामी रहेको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ । अधिकृत ठाकुरले ०७० देखि सरकारले कुष्ठरोग निवारणका लागि शरीर जाँच अभियान सुरु गरेको बताए । ‘कुष्ठरोगको नयाँ बिरामी फेला परेपछि उनको परिवार र छिमेकीका प्रत्येक सदस्यको शरीर जाँच गरेर रोग पत्ता लगाउने अभियान थालिएको छ,’ उनले भने, ‘कुष्ठरोगी फेला परे व्यक्तिको परिवारका अन्य सदस्यमा शरीर जाँचमा त्यो रोग पत्ता नलागे पनि सर्न सक्ने सम्भावनालाई ध्यान दिई रोकथामका लागि औषधि खुवाइरहेका छौं ।’

स्वास्थ्यसम्बन्धी अधिकार स्थानीय तहलाई प्राप्त भएकाले अहिले जिल्लास्थित प्रत्येक तहले क्षय र कुष्ठरोग निवारण अभियानका लागि योजना बनाइरहेका छन् । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले क्षय र कुष्ठरोग निवारणका लागि अन्य व्यक्तिमा फैलिनबाट रोक्न योजनाबद्ध रूपमा अगाडि बढने बताए ।

‘यहाँका निजी अस्पतालमा पनि उपचार गराइरहेका रोगीको अभिलेखीकरण गरेर नि:शुल्क उपचार व्यवस्था तत्काल गर्छौं,’ उनले भने, ‘क्षयरोग र कुष्ठरोग अरूमा सर्ने भएकाले उक्त रोगका बिरामीले तत्काल नि:शुल्क उपचारका लागि नजिकका स्वास्थ्य संस्था तथा महानगरमा सम्पर्क गर्न आग्रह छ ।’ उनले रोगको परीक्षण नै नगरी औषधि किनेर खाने प्रवृत्ति नियन्त्रणका लागि योजनाबद्ध रूपमा अभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित : पुस १८, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?