कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोदावरीमा यातायात सकस

‘जनप्रतिनिधि आएको ७ महिना बितिसक्यो तर समस्या भने जस्ताको त्यस्तै छ’ 

ललितपुर — पुराना र थोत्रा गाडी, त्यसमाथि कच्ची सडक छ । यहाँको दनुवारबस्ती यस्ता सार्वजनिक यातायातमा झुन्डिएर कष्टकर यात्रा गर्न बाध्य मात्र छैनन्, खहरे बसपार्कसम्म पुग्न घण्टौं पैदल हिँड्नुपर्छ ।

गोदावरीमा यातायात सकस

ललितपुर मिनिबस व्यवसायी संघले दनुवार बस्तीभन्दा पर कटुवाल दहसम्म बस लैजाने र बस थप्ने योजना कागजमा सीमित छ । गोदावरी नगरपालिका–८ डुकुछाप बेंसी टोलका श्रीनाथ दनुवार भन्छन्, ‘रोजागारीको सिलसिलमा ९ वर्ष बिदेसिएँ ।’ ‘लामो समय मेलेसिया बसाइका क्रममा गाउँ नगरमा परिणत भएछ, जनप्रतिनिधि आएको पनि ७ महिना बितिसक्यो,’ उनले भने, ‘तर समस्या भने जस्ताको त्यस्तै छ ।’

ललितपुर मिनिबस व्यवसायी संघ ललितपुरका अध्यक्ष नीररत्न नेवाले गतिलो सडक नभएकाले कटुवाल दहसम्म बस पुर्‍याउन नसकेको दाबी गरे । ‘इन्चार्जलाई सडकको निरीक्षण गर्न पठाउँछौं,’ उनले भने, ‘सबै ठीक भएमा दुइटा बस थप्ने योजना छ ।’

लगनखेल–डुकुछापको दूरी १० किमिमात्र छ । लगनखेलबाट यहाँ दैनिक ५ वटा मात्र बस चल्छन् । त्यो पनि हिउँदमा मात्र । बा२ख १३९४ नम्बरको थोत्रो बस २०७५ असोज मसान्तमा २० वर्ष पुग्छ । उक्त बसका चालक प्रकाश बस्नेतले पुराना बस भएकाले कहिले बसको पट्टा बिग्रिने, कहिले के समस्या आउने हुँदा नियमित सञ्चालनबारे भन्नै नसक्ने गरेको बताए । ‘कच्ची सडक भएकाले डुकुछापसँग जोडिएको बुङमती बसपार्कसम्म पुग्न पनि एक घण्टा लाग्छ,’ उनले भने ।

काजोल दनुवारलाई २ वर्षीया छोरीलाई अस्पतालमा लैजान खहरे बसपार्कमा बस पर्खिरहेको अवस्थामा भेटियो । ‘घरबाट साढे १० बजे निस्केकी थिएँ, यहीँ १२ बजिसकेको छ,’ उनले भनिन्, ‘उपचार गराएर फर्कंदा साँझ बस नपाउने समस्याले पैदल हिँडेर राति घर पुग्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार साँझ बुङमती बसपार्क चल्ने सार्वजनिक यातायातमा आउनुपर्छ । ‘बुङमतीबाट गाउँसम्म पुग्न झन्डै दुई घण्टा पैदल हिँड्नुपर्छ,’ उनले सुनाइन् । अनिता दनुवार भने घरायसी सामान किनेर फर्कंदा फर्पिङ चल्ने बसमा आउन बाध्य हुने बताउँछिन् । ‘भारी बोकेर फर्पिङको अप्ठ्यारो बाटो हिँड्नुपर्छ,’ उनले भनिन् ।

दनुवार मात्रै एक सय ६५ घरधुरी छन् । दुनुवारको बाहुल्य भएको बस्तीमा अन्य समुदायको पनि समस्या उस्तै हो । देवीचौर पुग्ने दुईवटा रुट छन् । चापागाउँ–टीकाभैरव–देवीचौर–धुसेल सडक र भैंसेपाटी–बुङमती–डुकुछाप–देवीचौर सडक । अहिले देवीचौर हुँदै घुसेलसम्म दैनिक एउटा मात्र बस चल्छ । कटुवाल दहमा बसपार्क भएको खण्डमा दुर्गम पहाडी भेगका देवीचौरवासीलाई पनि यातायातको सुविधा पुग्नेछ । यातायातको समस्या समाधान गर्न पहिला सडक सुधार गर्नुपर्ने स्थानीय चणीदेवी आधारभूत विद्यालयका शिक्षक विष्णुहरि दनुवार भन्छन्, ‘जनप्रतिनिधि निर्वाचित भएपछि गाउँमा अवलोकनमा आएका छैनन् ।’ उनले यातायातमा सिन्डिकेटका कारणले पनि समस्या भएको बताए । ‘समयमा बस नछुट्ने मात्र नभई बेलैमा नआउने चालकको मनपरी छ,’ उनले भने ।

जिल्लाको दक्षिण पश्चिम भेगमा मात्र भनई दक्षिणपूर्वी भेगमा पनि समस्या उस्तै छ । बस व्यवसायीको सिन्डिकेटका कारण गोदावरी नगरपालिकाको गोदामचौर, विशंखुनारायण र गोदावरीका यात्रुले पनि समस्या खेपिरहेका छन् । बस व्यवसायी संघद्वारा सञ्चालित सार्वजनिक यातायातका साधन तोकिएको समयमा सञ्चालन नहुनु, साँझ गन्तव्यसम्म नपुग्नु इत्यादिले यात्रु हैरान छन् । संघले बिहान ५ देखि बेलुका ८ बजेसम्म बस सञ्चालनको समय तोकेको छ । तर, बेलुका ७ बजेपछि लगनखेल बसपार्कमा सवारीसाधन भेट्न मुस्किल हुन्छ । बेलुका लगनखेलबाट गोदामचौर र विशंखुनारायणका लागि छुट्ने गाडी गन्तव्यमै नपुगी ठैब चोकबाटै फर्किन्छन् । यसले उक्त क्षेत्रका स्थानीयवासी मर्कामा छन् ।

बस व्यवसायी संघका अनुसार तोकेको समयसम्म बस सञ्चालन गर्न लगनखेल, लेले, चापागाउँ, लुभु, बुङमतीलगायत क्षेत्रका बसपार्कमा ३४ कर्मचारी खटाइएका छन् । तर तोकिएको समयावधिसम्म कर्मचारीले बस समयमा आउजाउ गरेको छ/छैन, समयावधिसम्म बसेको छ/छैन निगरानी गर्दैनन् ।

प्रकाशित : पुस २०, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?