२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

पूर्वाञ्चल क्षेत्रीय प्रशासनमा ताला 

धनकुटा — प्रदेश राजधानी माग गर्दै पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा आन्दोलित धनकुटावासीले बिहीबार ताला लगाएका छन् । विभिन्न विरोध कार्यक्रमसहित स्थानीयले दोस्रो दिन पनि आमहडताल जारी राखे । हडतालले सबै क्षेत्र ठप्प छ ।

पूर्वाञ्चल क्षेत्रीय प्रशासनमा ताला 

प्रदेश १ को राजधानी माग गर्दै एक महिनादेखि आन्दोलित धनकुटावासीले आन्दोलनलाई थप सशक्त पार्दै गएका छन् । यसैक्रममा जिल्लामा दुई दिनदेखि आमहडताल आहान गरिएको छ । कोसी राजमार्गको धरान(धनकुटा खण्ड ठप्प छ । बिहानैदेखि बन्दकर्ताले धनकुटाको जिरो प्वाइन्ट, देब्रेबास, आत्मारा ढाट, कागते, निगालेलगायत स्थानमा प्रदर्शन गरे । धनकुटाबाट चल्ने सबै सवारी बाहिर जान सकेनन् ।

बजार, पसल, कलकारखाना ठप्प रहे । माग पूरा गर्न बेवास्ता गरिएको भन्दै आन्दोलनलाई थप सशक्त पारिने आन्दोलन परिचालन समिति संयोजक सुन्दरबाबु श्रेष्ठले बताए । राणाकालदेखि हालसम्म मुख्य प्रशासनिक थलोका रूपमा रहेको धनकुटामा पर्याप्त भौतिक पूर्वाधार रहे पनि उपेक्षा गरिएको उनीहरूको भनाइ छ । यसैबीच आन्दोलनकारीले पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा ताला लगाएका छन् । सहरी विकास डिभिजन कार्यालयमा ढुंगा प्रहार गरिएको थियो ।

आन्दोलनकारी काठमाडौंतिर

धरान– प्रदेश १ को राजधानी बनाउन माग गर्दै उपमहानगर उपप्रमुख मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा काठमाडांै पुगेको सर्वपक्षीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुटारमा भेटेर प्रतिनिधिमण्डलले पत्र दिएको हो । राजधानीका लागि धरानको भौतिक पूर्वाधार, पर्यावरण, ऐतिहासिकता, पहिचान, प्रदेशवासी नागरिकको सहज आवगमन र तत्काल कार्यालय सञ्चालनका लागि सुविधा सम्पन्न भवन रहेको टोलीले प्रधानमन्त्रीलाई जानकारी गराएको छ ।

भण्डारीका अनुसार प्रधानमन्त्रीले सर्वदलीय सहमति खोज्न आफूले बैठक आहान गर्ने आश्वासन दिएका छन् । प्रतिनिधिमण्डलले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि ज्ञापनपत्र बुझाएको छ । कार्कीले १ नं. प्रदेशको राजधानी धरानमा राख्ने अभियानप्रति आफ्नो ऐक्यबद्धता रहेको बताएको टोलीले जनाएको छ ।

प्रकाशित : पुस २१, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?