कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजधानी माग्दै रिले अनशन

पर्सा — प्रदेश राजधानी माग गर्दै शुक्रबारदेखि रिले अनशन सुरु गरिएको छ । प्रदेश २ को राजधानी वीरगन्जमा हुनुपर्ने मागसहित १२ जना नेता–कार्यकर्ताले घण्टाघर चोकमा अनशन थालेका हुन् । उनीहरूलाई वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगीले फूलमाला लगाइदिएर अनशन सुरु गराएका छन् ।

राजधानी माग्दै रिले अनशन

कांग्रेस, एमाले र माओवादी केन्द्र आबद्ध नेता–कार्यकर्ता र केही सामाजिक अभियन्ता अनशन बसिरहेका छन् । राजधानीका विषयमा मधेससवादी दलका नेता भने मौन छन् । उनीहरूले जनकपुरलाई प्रदेश २ को अस्थायी राजधानी बनाउने सरकारी निर्णयको खुलेर विरोध गरेका छैनन् । यस्तोमा मेयर सरावगीको समर्थनलाई भने अर्थपूर्ण रूपमा हेरिएको छ ।

उनले वीरगन्जलाई प्रदेश २ को राजधानी बनाउन गरिएको अनशनमा आफ्नो र महानगरपालिका कार्यालयको समेत समर्थन रहेको बताए । ‘महानगरको बोर्ड बैठकले पनि वीरगन्जलाई प्रादेशिक राजधानी बनाउन सम्बन्धित निकायमा समन्वय र सिफारिस गर्ने निर्णय गरेको छ,’ उनले भने ।

कांग्रेसका पूर्वसांसद सुरेन्द्रप्रसाद चौधरी, एमालेका बसरुद्धिन चौधरी, एमालेकै शम्भुप्रसाद गुप्ता, तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, ओमप्रकाश सर्राफ, कमल चौगार्इं, दुर्गा क्षेत्री, रुदल ठाकुर, वृजेश्वरप्रसाद चौधरी, सञ्जयकुमार सर्राफ, महमुद अन्सारी र रञ्जु दाहाललगायत अनशनमा बसेका छन् ।

काभ्रेमा पनि आन्दोलन

काभ्रे– काभ्रेलाई प्रदेश ३ को राजधानी माग गर्दै स्थानीय आन्दोलित भएका छन् । यहाँ क्रियाशील राजनीतिक दल, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, उद्योग वाणिज्य संघ र नागरिक संघसंस्थालगायतले संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरूले बनेपामा दबाबमूलक र्‍याली आयोजना गरे ।

‘रूपन्देही उपयुक्त’

बुटवल– जिल्लामा क्रियाशील राजनीतिक दलले प्रदेश ५ को राजधानी रूपन्देहीलाई बनाउन अञ्चलस्तरीय पहल थाल्ने निर्णय गरेका छन् । शुक्रबार भएको सर्वदलीय बैठकले जनघनत्व, भौतिक संरचना तथा अन्य सबै हिसाबले राजधानीका लागि रूपन्देही उपयुक्त हुने ठहर गर्दै अभियान थाल्ने निर्णय गरेको छ ।

कांग्रेस जिल्ला सचिव रामकृष्ण खाँणले राजधानीका लागि नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाचीसँग पहिलो चरणमा समन्वय गरी दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको बताए । बैठकमा उद्योग वाणिज्य संघ, यातायात व्यवसायीका साथै विभिन्न संघसंस्थाको सहभागिता थियो ।

प्रकाशित : पुस २३, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?